केन्द्रीय संस्करण

दशैँ र हतुवाली राईहरु

person explore access_timeअसोज २०, २०७६ chat_bubble_outline0

बर्खाभरी दशैँका लागि भनेर नकाटी नकाटी घाँस साँचेर राख्नु, गाउँभरिका लाठेहरु मिलेर त......ल खोलादेखी गाउँको सिरानसम्मको मुलबाटो चिरिच्याट्टै पारेर सफा गर्नु, अनि ब्यक्तिगत रुपमा मुलबाटोबाट सबैले आ-आफ्नो आँगनैसम्म बाटो र वरपर सफा गर्नु, घर आँगन लिपपोत गरि सिंगारेर सुन्दर बनाउनु, जंगल गएर बाबियो काटी ल्याई गाउँको बिचमा लिंगे पिङ् लगाउनु, घरदेखी टाढा शहर वा परदेश गएकाहरु फूलपाती वरपरसम्ममा घरमा टुप्लुकिनु आदि ईत्यादी यस्तै यस्तै। त्यो समयको दशैँ तयारी यस्तै गरि हुन्थ्यो। जतिबेला सञ्चारमा आम पहुँच थिएन। अर्थात सञ्चार प्रबिधिको बिकासले गाउँको मुहार देख्न पाएको थिएन। दुई तीन महिनामा हात लाग्ने चिठ्ठिबाट खवर आदान प्रदान हुन्थ्यो, सल्लाह समेत त्यसैमा हुन्थ्यो र त्यहिँ चिठ्ठिमा बोले अनुसार पूरा पनि गरिन्थ्यो। परदेशिहरुले परिवारसंग दुख सुखको साटफेर पनि त्यही चिठ्ठिमै हुन्थ्यो।

एक खालको सुखद समय थियो। आफ्नै वरिपरिका वा आँखाले प्रत्यक्ष देखिएका घट्नाहरु मात्रै चर्चामा आउँथे। नजिकैको शहर वा सदरमुकामतिरका खवर पनि रेडियो नेपालले दिने आवधिक समाचारको भरमा थाहा हुन्थ्यो चासो हुनेका लागि। नत्र देश देशावरका कुरा "छुँ मतलव" ।

अहिले त ओच्छ्यान छोड्न नपाई नै संसारभरका हालखवरहरु हातैमा आईपुग्छन हेरिमाग्न र पढिमाग्नका लागि। जसले मान्छेलाई तनाव, आक्रोश, पीडा, खुसी, जलन, ईर्ष्या, महत्वाकांक्षी आदि ईत्यादी बनाईरहेको छ। प्रबिधिको यो संक्रमणले हाम्रा चाडपर्वहरु पनि सौहार्द्धता, आत्मियता भन्दा बढी देखावटी, आडम्बरी र कस्ट्मेटिक बन्दै गैरहेका छन जसले गर्दा बाहिरबाट हेर्दा हाम्रो समाज जोडिएको देखिए पनि मनैबाट भने एक अर्कामा टुटिरहेको भेटिन्छ किनभने हरेक सम्बन्धहरु देखावटी छन् मात्रै होईन "गिभ एण्ड टेक" मा अडिएका छन्।

हाम्रो गाउँ मिश्रित जातजातीको बसोबास रहेको एउटा बिकट क्षेत्रमा पर्छ। माझकिराँत भनिए पनि हाम्रो सानो गाउँमा थुप्रै जातजातिहरु आपसी सद्भावका साथ बसेका छन्। सबै जातिले दशैँ तिहार उत्तिकै हर्षका साथ मनाउँछन र साकेन्वा(उभौली, उँधौली) मा पनि उस्तै गरि रमाउँछन् सबै मिलेर। नेपाल एकीकरण भैसक्नु अघि यो ठाउँ हतुवा राज्यका नामले चिनिन्थ्यो भनिन्छ। उक्त राज्यका अन्तिम किराँत राजालाई तत्कालिन गोर्खाली सेनाले परास्त गरि राजालाई बन्धक बनाएको भनाई प्रचलित छ। भाइ भारदारहरु कोहिले भागेर त कोहिले लुकेर आफ्नो ज्यान जोगाएको किंवदन्ती सुनिन्छ। सोही हारपछी लुक्दै, भाग्दै हतुवा राज्यका राजखलकहरु बर्तमान भारतको बिहार राज्य अन्तर्गत सुपौल भन्ने ठाउँमा बसोबास गरिरहेको कुरा त्रिभुवन बिश्वबिद्यालयका प्राध्यापक डा. बिष्णुसिंह राईले "खम्बुवानबाट हराएका सन्तान" नामक पुस्तकमा उल्लेख गरेका छन्। सोही युद्धमा पराजित भई आत्मसमर्पण गर्नेहरुलाई भने सोही राज्यभित्र गोर्खाली राजाले भने बमोजिम बसोबास गर्ने अनुमती दिईएको ईतिहास भेटिन्छ। जस अनुसार उनिहरुले दशैँ धुमधामका साथ मनाउनुपर्ने, तत्कालिन राज्यभित्रका सबै रैतिहरुलाई दशैँ अनिबार्य मान्न लगाउनुपर्ने जस्ता साँस्कृतिक अतिक्रमण गरियो। जसले गर्दा दशैँ पिच्छे हतुवा क्षेत्रका हरेक घरको बाहिरी भित्तामा रगतले पोतिएको हातको छाप लगाउनुपर्ने नियम राखियो भने तत्कालिन पराजित रजौटाहरुले धुमधामका साथ फूलपाती भित्र्याएर नवरात्रको पुजापाठ गरि दशैँ मनाउनु पर्ने भयो। सोही अनुसार, बर्तमान हतुवागढी गाउँपालिका वडा नं. २ लुङ्गिनमा रहेको वालाहाङ्ग (बान्तावाको एउटा पाछा) हरु अझै पनि धुमधामका साथ नवरात्रको पुजा गर्दै दशैँ मनाउँछन्।

सो ठाउँका वालाहाङ्ग राईहरु आफुलाई तत्कालिन हतुवा राज्यका राजाको सन्तान भनी दावी गर्दछन्। वालाहाङ्गहरुको एकल बसोबास रहेको एउटा बस्ती छ र केही बर्ष अघिसम्म गाउँको बिचमा एउटा दुर्गाघर थियो जहाँ फूलपातिका दिन पञ्चेबाजा सहित फूलपाती भित्र्याएर बिधिवत रुपमा दुर्गा स्थापना गरि लगातार दशैँभरी पुजा गरिन्थ्यो। गाउँभरिका मानिसहरु दुर्गा पुजा तथा दर्शनका लागि भन्दै भेला हुने गर्दथे। दुर्गाघरको बाहिरपट्टि रहेको ठूलो र खुल्ला चौरमा कोत बनाईएको थियो। सोही ठाउँमा नवमिको दिन बिहान बिधिपुर्वक पुजा गरि राँगोको बलि दिने गरिन्थ्यो, त्यसलाई गाउँमा "मार हान्ने" भनिन्थ्यो। गाउँभरिका मानिसहरु पनि आफ्नो परिवारको सु-स्वास्थ्य तथा मंगलका लागि भाकल गर्ने गर्दथे र नवमिकै दिन सोही कोतमा भाकल पूरा गर्ने भन्दै तोकिएको पशुपंछिहरुको बलि चढाउने गर्दथे।

केही बर्ष बित्यो अहिले, सो ठाउँमा उस्तै धुमधाम गरि पुजा गर्न छोडिएको। यद्यपि सो जातिहरु अझै पनि आफ्नै घरमा दुर्गा स्थापना गरि दुर्गापुजा भने गर्ने गर्दछन्। वालाहाङ्गहरु बाहेक सोही ठाउँको सिवाहाङ्ग पाछाको बान्तावाहरुले पनि अष्टमिको रात दुर्गा स्थापना गरि दुर्गापुजा गर्ने प्रचलन अद्यापी छ। यी बाहेक अन्य राईहरुले दशैँमा बिधिवत पुजा अर्चना गर्ने चलन छैन। केही दशक अघिसम्म भने घरको बाहिरी भित्तामा रगत पोतिएको हातको छाप भने लगाउने गरिन्थ्यो।

यो ठाउँमा सबै जातजातिले प्रायः दशैँ टीका भने लगाउने चलन छ तर राईहरुले भने दहि र चामल मिसाईएको सेतो रंगको टीका प्रयोग गर्ने गर्दछन्। यहाँनिर राईहरुको साँस्कृतिक प्रचलन पनि दशैँ टिकासंग जोडिएर आउने गर्दछ। बिहा गरेर गईसकेकी छोरिचेलिहरु पहिलो दशैँमा माईत आउँदा रितपुर्वक आउनुपर्ने चलन छ, जसलाई "नयाँ टीका" लाउने भन्ने गरिन्छ र यो नयाँ टीका दशैँमा मात्रै हुने गर्दछ। जसका लागि तोकिएको रित आवस्यक हुन्छ। यसरी हिन्दुहरुको चाड भनिएको दशैँ यहाँका गैर हिन्दु राईहरुको सँस्कृतिसंग पनि जोडिएको छ। यो कसरी हुन पुग्यो भन्ने बिषय समाजशास्त्रीहरुले दिमाग खियाउने शीर्षक हुनसक्छ तर यसलाई धार्मिक नजरले मात्रै नहेरी सामाजिक दृष्टिकोणले हेर्ने हो भने दशैँले सामाजिक मेलमिलाप, पारिवारिक मिलन अनि स्फुर्ती र उमंगको पर्वको स्थान लिन सक्दछ।

Title Photo: तत्कालिन हतुवा दरबारको पुनर्निर्मित भग्नावशेष (सैनिक क्याम्प राखिनु अगाडी) / तस्विर : क्वाङ् जु छो (बान्तावा भाषा अध्येता/कोरियाली नागरिक) 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...