केन्द्रीय संस्करण
दसैँ विशेष

बैङ्कर्सको दसैँः मोबाइल बैंकिङ्गबाट दक्षिणा

person explore access_timeअसोज २०, २०७६ chat_bubble_outline0
टुना भट्ट

रातोपाटी

नेपालीहरुको महान चाड दसैँले घर आँगन ढाकिसकेको छ । हरेक वर्ग, समुदाय र पेशामा आबद्धहरु आ–आफ्नो गक्ष र क्षमताअनुसार नै दसैँ मनाउँने गरेका छन् ।

पारिवारीक जमघट, मिठा मिठा पकवान, नयाँ लुगा, नयाँ पैसा (नोट)ले दसैँको झल्को दिने भएपनि अहिले समय परिवर्तन भएको छ । दसैँको विदालाई कतिले देश विदेश भ्रमण गर्ने समयको रुपमा पनि प्रयोग गर्न थालेका छन् ।

सधैँजसो व्यस्त हुने अनि चाडबाड अथवा बिदाको दिनमा पनि सेवामा खटिनु पर्ने भएकाले बैङ्कर्सहरुको लागि दसैँ बिदा अझ बढी महत्त्वपूर्ण हुने गरेको छ ।

बैङ्कहरुले ३६५ दिन नै सेवा दिने उद्घोष गरेसँगै दसैँ विदामा पनि बैंकिङ्ग सेवा सुचारु गर्नुपर्ने हुन्छ । यही बीचमा पनि नेपालका केही चर्चित बैङ्कर्सहरुको दसैँ अनुभव र योजनाबारे हामीले कुराकानी गरेका छौं ।

‘पुस्तक पढेर दसैँको सदुपयोग गर्छु’

किरणकुमार श्रेष्ठ, सिईओ राष्ट्रिय वाणिज्य बैङ्क

राष्ट्रिय बैङ्कका प्रमुख कार्यकारी अधिकृत (सिईओ) किरणकुमार श्रेष्ठ यस वर्षको दसैँ पूजापाठ, पारिवारीक भेटघाट र पुस्तक पढेर मनाउने योजनामा छन् । गत वर्ष बाहिर घुम्न गएपनि यस पटक भने पारिवारीक वातावरणमै दसैँ मनाउने श्रेठको योजना छ ।

“हिन्दुहरुको महान चाड दसैँ । पुर्खादेखि चलिआएको यो चाड सांस्कृतिक धरोहरका रुपमा मनाउँदै आएका छौँ । यो हाम्रो पहिचान पनि हो । त्यसैले परम्परागत तरिकाले नै मनाइन्छ ।

विशेषगरी दसैँमा देवीका शक्ति पीठहरुमा पूजा आराधना गरिने हुँदा म पनि सप्तमीदेखि नवमीसम्म काठमाडौं भित्र रहेका देवीको मन्दिरहरुमा पूजा आजामा सरिक हुन्छु । मेरो पुख्र्यौली घर संखुवासवाको चैनपुर हो । परिवारजनहरु सबै यतै भएकाले उता गइँदैन । काठमाडौंमै दसैँ मनाइन्छ ।

नेवारी संस्कृतिमा हुर्किएकाले नेवारी परम्पराअन्तर्गत नै सप्तमी देखि नवमीको दिन सम्म नेवारी भोजमा सामेल भइन्छ । हाम्रोमा दाजुभाईहरुको आलोपालो भोज गर्ने चलन छ । त्यसरी नै एकअर्कासँग मिलेर दसैँ मनाइन्छ ।

अरु बेला प्राय व्यस्थ जस्तै रहने हुँदा पुस्तक पढ्ने फुसद नै हुँदैन । तर यस वर्ष दसैँको विदालाई सदुपयोग गर्दै केहि पुस्तकहरु पढ्ने योजनामा छु । बजारमा आएको सि जिङ पिङको विचार धारा, अर्के खम्बुको किताब, योगमाया लगाएतका दुई चारवटा पुस्तकहरु पढ्ने भनेर छुट्याएको छु । टिकाको भोलिपल्ट धरानमा रहेको ससुराली सम्म जाने योजना पनि छ ।”

‘नयाँ लुगा किनेपछि दसैँ आए जस्तो लाग्छ’

रोशन न्यौपाने, सिईओ, एनआइसी एशिया बैङ्क

एनआईसी एशिया बैङ्कका प्रमुख कार्यकार अधिकृत रोशन न्यौपाने दसैँ भनेर ढुक्कले बस्न नपाउने भएका छन् । एक त पदिय दायित्व अर्को जोखिम । यी दुवै पक्षले उनको दसैँ अलि अलि अफिसियल अलि अलि पारिवारीक हुने भएको छ ।

“मेरो पुख्र्यौली घर रसुवा हो । हामी दसैँ मान्न उतै जान्छौं । वुवा आमा गइसक्नु भयो तर म भने नवमीको दिन तिर मात्रै जान्छु । जान त अहिलै मन छ । गाउँको पिङ निकै मिस हुन्छ । पदिय जिम्मेवारी वहन गर्दै गर्दा यस्ता कुराहरु माया मार्नु पर्ने हुन्छ । मैले अहिलेको दसैँमा आफ्नो बैङ्क र ग्राहकलाई नै बढी प्राथमिकता दिनेछु ।

दसैँ भन्नासाथै गाउँको दसैँ निकै याद आउँछ । बच्चादेखिको साथीभाई, आफन्त भेट हुने भएकाले गाउँ जसरी पनि जाने गरेको छु ।

बैङ्कले ३६५ दिन नै सेवा दिने भएकाले हाम्रो सेवामा कहि कतै कमि नहोस भनेर खटिएका छौं । अष्टमी सम्म त म आफै पनि अफिस आउनेछु । सेनाको जागिर र बैंकिङ्ग उस्तै उस्तै नै छ । हामी ग्राहकको सेवामा खटिनुपर्ने भएकाले दसैँको केही समय कार्यालयमा त केही समय परिवारसँग विताउनेछौं ।

फेरी लामो समय कार्यालय बन्द हुँदा साइवर अपराध बढ्ने सम्भावना पनि उत्तिकै हुन्छ त्यसको लागि पनि हामीले सतर्कता अपनाउनुपर्छ ।

पेशागत रुपमा बढी सक्रिय हुनुपर्दा परिवारमा अलि दुरी बढ्दो रहेछ । त्यसैले दसैँको विदामा भने समय दिने विचार गरेको थिए तर यो पाली परिवारलाई पूरा समय दिन नसक्ने भएको छु । किन भने हामीले आफ्नो ग्राहक सेवालाई नै बढी प्राथमिकता दिएका छौं । हाम्रो लागि हाम्रा ग्राहक पनि परिवार हुन् ।

नयाँ लुगा किनेपछि बल्ल दसैँ आएजस्तो हुन्छ मलाई । केटाकेटी घरपरिवार सवैको लागि नयाँ लुगा किन्ने गर्छु । ट्रेडिसनल लुगा मलाई मन पर्छ दसैँमा पनि म अरु भन्दा अलि ट्रेडिसनल देखिन्छु ।

घरमा नवदुर्गाको पूजा हुन्छ । परम्परा देखि चल्दै आएको बलि प्रथालाई हाम्रो परिवारले पनि निरन्तरता दिएको थियो । अहिले भने रोकिएको छ । मलाई बली दिने नदिने भन्दा पनि पशु बध ठिक हो या होइन भन्ने बारे बहस भैदिए हुन्थ्यो जस्तो लाग्छ । हुन त म मांसाहारी नै हुँ तै पनि पशुबध राम्रो होइन ।

दसैँको टिकालाई मैले विशेष महत्वका साथ लिन्छु । ठूलाबडाको अर्शिवाद बढी महत्वपूर्ण हुन्छ । तै पनि दसैँमा टिकासँगै पाउने दक्षिणाको महत्व अर्कै हुन्छ ।

मेरो चार जना दिदी बहिनी पाँच जना दाजुभाई, टिकाको दिन साँझ कसले कति पैसा जम्मा गर्यो भनेर गन्ने गर्दथ्यौ । म सानो भएकाले थोरै दक्षिणा दिने सवैले । गन्दा मेरै थोरै हुने । अनि राएरै भएपनि बुबासँग मागेर दाई दिदीको भन्दा धेरै बनाउनु पर्थ्यो मलाई । रुन्छ भनेर पनि बुबाले थपिदिनु हुन्थ्यो । त्यो क्षण जति रमाइलो त के होला र ।

सहजताको हिसावले नोट सजिलो भएपनि डिजिटल प्रविधिको प्रयोग गर्नु उचित हुन्छ । यो दसैँमा मैले पनि मोबाइल बैंकिङ्गबाट दक्षिणा दिने सोच बनाएको छु । हामीले मोबैंकिङ्ग अफर पनि ल्याएका छौं, मोबैंकिङ्गबाट दक्षिणा ट्रान्सफर गर्दा एक सय थपिदिने योजना छ । म आफू पनि डिजिटल प्रविधिको प्रयोग गरेर दक्षिणा दिँदैछु र तपाईंहरुलाई पनि नोटको प्रयोग न्यूनिकरणमा सरकारलाई साथ दिनको लागि डिजिटर प्रविधिको प्रयोग गर्न आग्रह गर्दछु ।

‘घरमा सेल पाकेपछि मात्रै दसैँ आए जस्तो हुन्छ’

महेश ढकाल, एक्टिङ सिईओ ग्लोबल आईएमई बैङ्क

ग्लोबल आइएमई बैङ्कका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत महेश ढकाललाई घरमा सेल पाकेपछि बल्ल दसैँ आएजस्तो लाग्छ । साथीभाई आफन्त जमघट गरेर दसैँ मनाउने याजना ढकालको छ ।

“मेरो पुर्ख्यौली घर स्याङ्जाको फापरथुम हो । गाउँघरको सम्झना धेरै आउँछ । १०÷१२ वर्ष देखि परिवार काठमाडौंमै भएकाले दसैँ यतै मनाउने गर्छौं । मूख्य रुपमा दसैँ परिवारसँगनै मनाउछु । र, सँगसँगै विभिन्न संस्थामा आफूसँगै काम गरेका साथीहरुसँग भेटघाट हुन्छ दसैँमा, मेरो लागी यो सबैभन्दा महत्त्वपूर्ण पक्ष हो दसैँको ।

मेरो परिवार ठूलो छ । दाईको घरमा खसी काट्नु हुन्छ । पारिवारीक जमघट दाजुभाईको घरहरुमा पालै पालो हुन्छ । खसीका विभिन्न परिकार बन्छ । विशेष गरेर कवाव निकै मन पर्छ मलाई । हरेक दसैँमा अस्टमी वा नवमीमा एकदिन आफन्त साथीभाइ मिलाएर ठूलो जमघट गर्ने गरेको छु । वास्तवमा त्यो जमघट जति रमाइलो अरु के होला र ?

मलाई सेल नपाकेसम्म दसैँ आएजस्तै लाग्दैन । आमाले नवमीको दिन सेल पकाउनुहुन्छ अनि बल्ल दसैँ आएजस्तो लाग्छ । सानामा हातमा सेलको बाला लगाएर डुलेको निकै याद आउँछ । दसैँमा नयाँ लुगा चाहिँ जसरी नि किन्छु नानीदेखि लागेको बानी हो यो र टिकाको दिन लगाउँछु ।

दसैँको टिका ठूली आमाकोमा लगाउँछौं  सवैजना पालैपालो लगाउँदा २÷३ घण्टानै लाग्छ । कहिले काँही त घरको टिका नसक्दै आफन्तहरु आईसक्नु हुन्छ । सानामा दक्षिणाको महत्व निकै हुन्थ्यो । जसको घरमा धेरै दक्षिण पाईन्छ त्यहाँ पहिला पुगिन्थ्यो भने अहिले समय अनि उमेरसँगै सवै परिवर्तन भयो । छोरा छोरी दक्षिणा जम्मा गर्न नयाँ नयाँ व्याग बोकेर बस्छन् त्यो देख्दा निकै रमाइलो लाग्छ र आफ्नो बालापन याद आउँछ ।

यो वर्ष मैले दसैँको टिकासँगै मोबाइल बैंकिङ्ग प्रवर्धन गर्ने योजना पनि बनाएको छु । दसैँमा नयाँ नोटको खरिदमा राष्ट्रको ठूलो रकम बाहिरिने गरेको छ । हामी जस्तो सचेत व्यक्तिले यस्ता कुरामा ख्याल गर्न अत्यन्त जरुरी छ । त्यसैले यो पालि मोबाइल बैंकिङ्ग प्रयोग गर्ने जति सवैलाई मोबाईलबाटै रकम ट्रान्सफर गरेर दक्षिणा दिनेछु । हरेक कामको  सुरुवात आफैबाट हुनुपर्छ त्यसैले सर्वसाधारणकहाँ जानु पूर्व सचेतनाको लागि हामी सवै बैङ्कर्सले यो प्रयोग गर्न म अनुरोध पनि गर्छु ।”

‘सप्तमीदेखी बाहिरको खाना बन्द हुन्छ’

बन्दना पाठक, डेपुटी सिईओ, नेपाल क्रेडिट एण्ड कमर्स बैङ्क

नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैङ्कका नायम प्रमुख कार्यकारी अधिकृत, बन्दना पाठकको यो वर्षको दसैँ अलि खल्लो छ । कारण हो छोरा विदेशमा छ । तर पनि परिवारका अन्य सदस्यसँग र माइतीमा सवै जम्मा भएर दसैँ मनाउने योजना उनको छ ।

‘विवाह भएको नै ३८ वर्ष भयो । सँधै घरमा श्रीमानले जमरा राख्नु हुन्छ । अष्टमीमा कुल देवताको पूजा पर्दछ । पहिला पहिला बली दिने चलन पनि थियो तर अहिले हटाएका छौँ । मिठाईदेखि मासु सबै परिकार घरमै पकाउँछु म । पकाउन अनि आफन्तलाई खुवाउन निकै रमाइलो लाग्छ मलाई । सप्तमीबाट त बाहिर किनेको खाना खान बन्द नै हुन्छ ।

दसैँ पारिवारीक मेलको चाड हो त्यसैले यो समय बाहिर घुमफिर ठीक लाग्दैन मलाई । विदेशीएकाहरु त आफ्नो घर फर्केर आउँछन् भने हामी चाडबाडमा हिँड्नु त्यति राम्रो  लाग्दैन । दुईवर्ष अगाडि भने बाध्यताले गएँ । छोरो अमेरिकामा छ उसको छुट्टी मिल्दैन त्यसैले पनि दुई वर्ष अगाडी १६ वर्षपछि अमेरिका गएर छोरोलाई टिका लगाइदिए । तर यो साल भने बुहारी यही छिन् । चित्त बुझाएको छु ।

दसैँको टिकामा ठूलो जमघट हुन्छ घरमा । त्यसैगरी घरको टिका सकेर माइत जान्छु । मेरो माइतीमा पनि परिवार ठूलो छ । साखा सन्तान एकै ठाउँमा जम्मा भएर टिका लगाउने चलन भएकाले घर घर जानु पनि पर्दैन । माइतीको टिका सार्है रमाइलो हुन्छ । किनभने घरकी कान्छी छोरी म । सबैबाट टिका थाप्ने र दक्षिणा पनि लिन पाउँदा अर्कै खुसी लाग्छ त्यो वेला ।

दक्षिणा भन्नासाथै बच्चाबेलाको याद आउँछ । सवैभन्दा कान्छी सवैले दक्षिणा दिँदा धेरै हुन्थ्यो के गरुँ र कसो गरुँ हुन्थ्यो ।

नयाँ नोट नभएसम्म दसैँ आए जस्तो नै नहुने । तर अहिले समय फेरिएको छ । अहिलेको बच्चाहरुको दक्षिणाको त्यति महत्व पनि देख्दिन म । म एक बैङ्कर भएको नाताले दक्षिणालाई अव डिजिटल्ली प्रयोगमा ल्याउन  सघाउनु पर्छ । बैङ्कहरुले यसको सुरुवात गरेका छन् । हामी सचेत व्यक्तिहरुले दक्षिणालाई डिजिटल प्रविधिबाट दिने हो भने नोट विग्रने समस्याको अन्त्य हुने थियो ।

‘दक्षिणा कल्चर विस्तारै हटाउँदै लैजानु पर्छ’

मनोज न्यौपाने, डेपुटी सिईओ सेञ्चुरी बैङ्क

सेञ्चुरी बैङ्कका नायव प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपानेलाई अहिलेको दसैँ पहिलेको जस्तो रमाइलो लाग्दैन । किन कि पहिला लामो विदा हुन्थ्यो प्रसस्त समय हुँदा परिवार, आफन्त, साथीभाई सवैसँग समय विताउँन पाइन्थ्यो । अहिले त दसैँ आयो आयो भन्दा सकिने भएकाले पारिवारीक रुपमै मनाउने योजना छ ।

“मेरो दसैँ सामान्य हुन्छ । परिवार, आफन्त, साथीभाई भेटघाट हुन्छ । पहिले जस्तो लामो विदा छैन तर पनि परिवारसँगै बस्छु । मलाई चाडबाडमा घुमफिर राम्रो लाग्दैन । चाडबाड भनेको नै पारिवारिक मेलको लागि बनाइएको जस्तो लाग्छ त्यसैले यो वेला घर छाडेर जाने होइन आउने हो । टाढा टाढा रहेकाहरु पनि दसैँ तिहारमा घर आउँछन् भने हामी हिडशनु ठिक लाग्दैन । घुम्नको लागि त अरु समय जति नी छ नी ।

दसैँमा बली दिनु राम्रो लाग्दैन मलाई, त्यही भएर घरमा काटमार हुँदैन तर मासु चाहीँ किनेर खाइन्छ । विभिन्न परिकार बन्छ घरमा । मलाई पकाउन त आउँदैन तर घरको अन्य काममा भने सघाउँछु ।

अझ विशेष गरेर दसैँमा टिकाको महत्त्व बढी भएकाले पनि ठूला बडाको आर्शिवाद थाप्नु मेरालागि महत्वपूर्ण पक्ष हो । तर, सानामा भने घरमा दिदीहरुलाई दक्षिणा दिँदा एकदम रिस उठ्थ्यो । टिका लगाउने वेला भएपछि कि मुख छोपेर कि त खाटमुनी लुकिदिन्थे । पैसा दिन्छु भनेपछि मात्र टिका लगाउँथे ।

दक्षिणा परम्परा परापूर्व कालदेखि चलिआए पनि यो वास्तवमा राम्रो पक्ष भने होइन जस्तो लाग्छ मलाई । यसले हुनेलाई सहज भएपनि नहुनेहरुलाई आर्थिक भार थोपर्ने काम गर्छ । निम्न आय भएकाहरुलाई दसैँ दसा नै हो । त्यसैले यो दक्षिणाको परम्परालाई चाहिँ विस्तारै हटाउँदै लैजानुपर्छ जस्तो लाग्छ मलाई ।

अर्को कुरा नयाँ नोटको छ । दसैँमा नयाँ नोटको माग ठूलो हुनेभएकाले सरकारले अरवौंको नयाँ नोट छाप्छ यो वेला । यसबाट राष्ट्रले ठूलो आर्थिक घाटा बेहोर्नुपर्छ । यसको न्युनीकरणको लागि भनेर हामीले (बैङ्कहरु)ले क्यासलेस दक्षिणाको अवधारणा अगाडी ल्याएका छौं । त्यसैले मैले पनि यो वर्षबाट डिजिटर प्रविधि (मोबाइल बैंकिङ्ग) दक्षिणा दिन सुरुवात गर्दैछु । सचेतनाको लागि भए पनि डिजिटल प्रविधिको प्रयोग गर्नेहरुबाट यसको सुरुवात गर्न जरुरी छ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...