केन्द्रीय संस्करण
दसैँ विशेष

अभिनेत्री साम्रज्ञीका दसैँका १२ किस्सा

person explore access_timeअसोज २१, २०७६ chat_bubble_outline0
कुवेर गिरी

रातोपाटी

पछिल्लो समयकी हिट एन्ड हट हिरोइन् हुन् साम्राज्ञी राज्यलक्ष्मी शाह । उनी अभिनित फिल्म ‘रातो टीका निधारमा’ अहिले प्रदर्शन भइरहेको छ । गत १० गते शुक्रबारबाट प्रदर्शनमा आएको यो फिल्म दर्शकका लागि दसैँ उपहार भनेर ल्याइएको हो ।

‘ड्रिम्स’बाट अभिनयमा भित्रिएकी साम्राज्ञीका अहिलेसम्म ८ फिल्म प्रदर्शनमा आएका छन् । ‘तिमीसँग’ र ‘मारुनी’ बाहेक सबै हिट भएका छन् । ‘रातो टीका निधारमा’मा भने प्रदर्शनरत रहेकाले यसै भन्न सकिन्न ।

फिल्ममा साम्राज्ञी भए फिल्म हिट भन्ने मान्यता पनि छ । त्यसैले त उनलाई फिल्ममा खेलाउन निर्माता निर्देशक मोटो रकम तीर्नसमेत तयार हुने गरेका छन् ।

फिल्म क्षेत्रकी हिट हिरोइन साम्राज्ञीको चाडपर्वसँग विशेष लगाव रहने गरेको छ । दसैँ आफ्नो मनपर्ने चाड भएको बताउँछिन् । भन्छिन्, ‘हरेक दसैँ मेरो रमाइलो हुने गरेको  छ ।’ उनी विगतका दसैँका १२ किस्सा यसरी सम्झिन्छिन् ।

डिमान्ड गर्थें

दसैँ एकदमै मनपर्छ । दसैँ एउटा त्यस्तो पर्व हो, जसले काम, अध्ययन लगायतको सिलसिलामा वर्षभरि बाहिर रहेका परिवारलाई भेट गराउँछ । दसैँले मेरो परिवारका सदस्यलाई पनि एक ठाउँमा भेला गराउने गरेको छ ।

हामी जति परिवार भएर बाँडिए पनि दसँैमा खानदानको जो जेठो छ त्यसको घरमा सबै जम्मा भएर दसैँ मनाउने चलन छ । यो परम्परा शाह, राणा र कार्की परिवारमा मात्र होला सायद । त्यसैले पनि दसैँमा छुट्टै रमाइलो हुन्छ ।

सानैदेखि दसैँ भन्ने बित्तिकै नयाँ लुगा लगाउने चाडको रूपमा मेरो बुझाइ रह्यो । दसैँ आउन लागेको चर्चा चल्ने बित्तिकै म नयाँ लुगाको डिमान्ड गर्थें । मेरा लागि लुगा नकिनिदिएसम्म परिवारले शान्ति पाउँदैन थिए ।

धेरै दक्षिणा दिने मामुको मामा

दसैँमा टीका लगाउँदा धेरै खाम आउँथ्यो । त्यो खाम जति धेरै भयो त्यति धेरै पैसा होला भनेर म एक्साइटेड हुन्थेँ । केही खाम मामुलाई राख्न दिन्थेँ । मामुले बिर्सिनु होला भनेर पटक पटक सम्झाउँथँे । सङ्कलन भएको पैसा समय समयमा गन्थेँ । त्यो पैसा आफूले खर्च गर्दैन थिए । मामुलाई नै दिन्थेँ ।

दसैँमा घरमा सबैसँग टीका थापेपछि आमाको माइती फेमिली राणा परिवार, आफ्नै फ्यामिली पट्टीको शाह परिवारमा टीका लगाउन जान्छौँ । मेरो मामुको एउटा मामा हुनुहुन्छ जो रिटायर एआईजी पनि हो । उहाँले टीका लगाएर दक्षिणा पनि दिनुहुन्थ्यो । फेरि साइडबाट छुट्नै ५ सय पनि दिनु हुन्थ्यो । मलाई सबैभन्दा बढी दक्षिणा दिने व्यक्ति उहाँ नै हो ।

बाटो देखाउँथे

वीरगञ्जमा रहँदा सबै आफन्तसँग नजिक थियौँ । अहिले काठमाडौँमा हुँदा सबै टाढा भएजस्तो लाग्छ । दसैँमा मामुसँग टीका लगाउन आफन्तको घर जान्थे । म कहिल्यै ड्राइभ नगर्ने भएकाले गाडी मामुले चलाउनु हुन्थ्यो ।

ड्रइभको सिलसिलमा मामुले कहिलेकाहीँ बाटो झुक्किनु हुन्थ्यो । उक्त समय म मामुलाई त्यो गल्ली, अब यस्तो मोड आउँछ, त्योबाट दायाँ वा बायाँ भनेर बाटो देखाउँथे ।

फेभरेट ड्रेस

त्यस्तै ९ कक्षामा पढ्दै थिएँ । त्यो समय दसँै पहिरनका रूपमा परिवारले रातो कलरको वान पिस हाल्दिनुभएको थियो । त्यो पहिरन मेरो फेभरेट ड्रेस थियो । दसैँभन्दा केही अगाडि किनेको उक्त ड्रेस दसैँ पहिले नै लगाएर बजारमा हिन्थेँ । दिदीलाई फोटो खिच्न लगाउँथे । सबैतिर देखाएर हिँड्थे । त्यतिबेला खिचेको फोटो अहिले पनि मसँग छ । उक्त ड्रेस दसैँपछि स्कुलको विभिन्न कार्यक्रममा पनि प्रयोग गरेँ ।

कुर्ता किनेँ

पहिले पहिले दसैँ सधैँ मामुले पहिरन छान्न लगाएर किनिदिनु हुन्थ्यो । गत वर्ष र यो वर्षका आफैले किनेँ । गत वर्ष कुर्र्तासुरुवाल मात्र किनेकी थिएँ । यो वर्ष भने कुर्तासुरुवाल, लेहेङ्गा लिएकी छु । दसैँमा आफन्तले पनि पहिरन दिन्छन् रे भन्ने कहीँ कतै सुनेकी छु । तर यो उमेरसँग आफन्तले मलाई दसैँ पहिरन दिएको याद छैन ।

बच्चाहरूको छुट्टै मस्ती

दसैँमा हामी बच्चा पार्टीको छुट्टै मस्ती हुन्थ्यो । दसैँमा सबैको बिदा हुन्छ । दुई, तीन दिन टीका लगाउन हिँडेपछि जाने ठाउँ पनि सकिन्थ्यो । त्यसपछि आफन्त दाजुभाइ, दिदीबहिनी सबै  फोनबाट कम्युनिकेसन गथ्र्यौं । भेटौँ, बार्बिक्यु गराँै भन्ने कुरा हुन्थ्यो । हामी ठूलो भए पनि आफ्नो उमेरका सबै आफू बच्चा पार्टी भनेर भन्थ्यौँ । एक जनाको घरमा जम्बा हुन्थ्यौँ । आफै सेकुवालगायत मासुको परिकार गफ गर्दै, गीत गाउँदै, नाच्दै रमाइलो गथ्र्यौं ।

त्यो दसैँ खल्लो

त्यस्तै १२, १३ वर्षको थियो होला । इन्डियामा होस्टेल बसेर पढ्थे । एक वर्षको दसैँमा नेपाल आउन पाइनँ । मेरो ठूलो मामुको विवाह भारतमै भएको हो । उहाँको पूरै फ्यामिली त्यहीँ छ । नेपाल आउन नपाएको वर्ष ठूलोमामुकोमा दसैँ मनाए । तर आफ्नो घर वीरगञ्ज आउन नपाउँदा दसँै खल्लो लाग्यो । एक त म बच्चा थिए । होस्टेलमा हँुदा आमा जहिले पनि मिस गर्थें । ठुल्दिदी, बुबाहरुसँग हुर्किएँ । त्यो दसैँमा उहाँहरु नभेट्दा खल्लो भयो ।

मेरो खर्च छैन

दसैँमा मेरो खर्च हुँदैन । कमाउँछु मात्र । मैले गिफ्ट दिने भनेको भाइटीकामा भाइलाई मात्र हो । अहिलेसम्म दसैँमा कसैलाई केही दिएकी छैन । बरु अन्य समय दिने गरेको छु ।

रात तास खेलेर बित्थ्यो

वीरगञ्जको हाम्रो घरमा होटल छ । प्रायः दसैँमा आफन्त सबै त्यही जम्मा हुन्नुहुन्थ्यो । त्यही सबैजना टीका लगाउने, दसैँको स्पेसल मासु, भुटुन बनाएर खाने गथ्यौँ ।

रमाइलोका लागि ठूलोबुबा, मुमाहरु सबैजना तास खेल्नुहुन्थ्यो । मलाई तास खेल्न पनि आउँदैन । रात छिप्पिँदै जाँदा म सबैलाई तास खेलेकै ठाउँमा गुड नाइट भनेर सुत्न जान्थेँ । बिहान उठेपछि पनि उहाँहरुलाई त्यही ठाउँमा पाउँथे । उहाँहरुको केही रात त्यसरी नै तास खेलेर बित्थ्यो ।

मलाई भने अहिलेसम्म तास खेल्न आउँदैन । हेर्ने मात्र हो । पिङ खेल्न सानैदेखि मनपथ्र्यो । अहिले पनि मनपर्छ । इन्डियन स्कुल पढेर हुर्किएकी हुँ म । त्यहाँ कबड्डी खेल खेल्थँे । लङ्गुर बुर्जा, ओखर लगायत धेरै खेल अहिले दसैँमा खेलिँदो रहेछ । मलाई केही आउँदैन ।

भुटन फेभरेट आइटम

मेरो बुझाइमा दसैँ मासु खाने पर्व पनि हो । यो समय घरमा मासुकै परिकार धेरैथरी बन्छ । मेरी मामु लगायत धेरैजना रक्सी मनपराउनु हुन्छ । रक्सीमा रौ देखेर मलाई मन पर्दैन । मेरो मनपर्ने आइटम भनेको भुटन नै हो । भुटन धेरै खान्छु । भुटन मेरो फेभरेट आइट । मटन ठिकै खान्छु ।

दसैँ छुटाए गाली

मैले खाने पेय पदार्थ कोल्ड ड्रिङक्स नै हो । अन्य खाने गरेकी छैन । दसँैमा सिनियरहरुसँग हुने भएकाले अन्य ड्रिङ्क्स् खानेकुरो पनि हुँदैन । अहिलेसम्म दसैँमा घर छोडेर घुम्न भएकी छैन । दसैँ छुटाए गाली खाइन्छ ।

गढीमाई मन्दिर जानैपर्छ

हाम्रो कुलदेवता गढीमाई हुन् । वीरगञ्ज भएको समय दसैँमा गढीमाई मन्दिर जान कहिल्यै छुट्दैन । रुघा, खोकी, जरोलगायत सानोतिनो बिमारी भए पनि जानैपर्छ । कुलदेवताको मन्दिर भएकाले पनि हरेक दसैँमा मान्ने, पूजा गर्ने गर्छांै । पुस्ताँैदेखि यो चलन चलिआएको छ । काठमाडौँमा छँदा घरकै मन्दिरमा पूजा गर्ने गर्छु ।

 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...