केन्द्रीय संस्करण
दसैँ विशेष

न्यायाधीश सपना प्रधान मल्लको दसैँ अनुभव : ‘दक्षिणा गुम्ने डरले महिनावरी भएको नै भनिनँ’

person explore access_timeअसोज २१, २०७६ chat_bubble_outline1
मदन ढुङ्गाना

रातोपाटी

सपना प्रधान मल्ल कुनै समय चल्तीकी महिला अधिकारकर्मी थिइन् । अधिवक्तासमेत रहेकी मल्ल महिला अधिकारका विषयमा धेरै आवाज उठाउनेमध्ये एक थिइन् ।

२०६४ सालमा भएको संविधानसभाको निर्वाचनपछि उनी समानुपातिक कोटाबाट सभासद्समेत बनिन् ।

लामो समय अधिवक्ता भएर काम गरेकी मल्ललाई न्यायपरिषद्ले सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गर्यो ।  

त्यसपछि २०७३ साल साउन १७ गते उनी सर्वोच्च अदालतमा न्यायाधीश नियुक्त भइन् । अहिले पनि उनी सर्वोच्च अदालतमा न्यायाधीशकै रूपमा कार्यरत छिन् ।

न्यायालयहरू घटस्थापनाको दिनदेखि कोजाग्रत पूर्णिमासम्म बिदा रहने गर्छ । यद्यपि बन्दी प्रत्यक्षीकरणको रिट भने हेर्नुपर्ने भएकाले शनिबार र विजयदशमीको दिनबाहेक अन्य दिन न्यायाधीश पनि काममै खटिनुपर्ने हुन्छ । तर सबै न्यायाधीश काममा नआउनुपर्ने भएकाले अधिकांश न्यायाधीशलाई छुट्टी पनि मिलेको छ ।

यसै सन्दर्भमा न्यायाधीश सपना प्रधान मल्लको दसैँ अनुभव र यस वर्षको दसैँ योजनाका सन्दर्भमा गरिएको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।

असोज १३ गते सोमबार रातोपाटीको टोली प्रधानलाई भेट्न उनकै निवास पुग्दा उनी नवलपरासीस्थित घर जाने तयारी गर्दै थिइन् ।

यस वर्षको दसैँमा अदालतमा टीकापछिको समय जिम्मेवारी आएकाले चाँडै नै गाउँ गएर फर्कने तयारीमा थिइन् उनी ।

त्यसैले पनि उनीसँग लामो समय थिएन । दसैँ विशेष कुराकानी गर्ने भनेपछि उनले थोरै समय उपलब्ध गराएकी थिइन् ।

हामीले सुरुमै सोध्यौँ कि यस पटकको दसैँको योजना के छ ? उनले सरल उत्तर दिइन्, ‘मेरो गाउँ नवलपरासी हो । गत वर्ष मेरो ससुराको निधन भयो, त्यसपछि गाउँ लथालिङ्ग अवस्थामा पनि छ । त्यसकारण केही आन्तरिक व्यवस्थापन पनि गर्नुपर्ने छ । म गाउँ जाने र पारिवारिक भेटघाट गर्ने नै छ । दसैँ सामान्य तरिकाले मनाउनेछु । न्यायाधीश भएपछि जीवन पनि फरक तरिकाले बिताइँदो रहेछ । त्यसकारण म सामान्य पारिवारिक व्यक्तिका रूपमा दसैँ मनाउनका लागि गाउँ जाँदैछु ।’

हामीले अर्को प्रश्न गर्यौँ, दसैँ कत्तिको रमाइलो लाग्छ ? उनी थोरै मुस्कुराइन् । अनि जवाफ दिइन्, ‘दसैँ रमाइलो नै लाग्छ । छुट्टी हुने भएकाले रमाइलो हुनु स्वाभाविकै हो, केही आराम पनि गर्न पाइन्छ ।’

‘दसैँ यसकारणले पनि रमाइलो लाग्छ कि सबै परिवार तथा साथीभाइलाई भेट्ने भएकाले पनि रमाइलो हुन्छ । कतै घुम्न जाने हो भने पनि अवसर सिर्जना हुन्छ । त्यसकारणले पनि मलाई दसैँ रमाइलै लाग्छ ।’

धेरै मासु खानुपर्दा हैरानी 

उनले अझ अगाडि बढेर भनिन्, दसैँ रमाइलो त रमाइलो नै हुने भयो नै । तर धेरै मासु खाइने त्यसले समस्या पार्छ । जहाँ गए पनि मासु खानुपर्ने बाध्यताले अलिकति अप्ठ्यारो पनि हुन्छ । किनभने उमेरअनुसार शरीरले पनि सबै कुरा पचाउँदैन । तर कतिपय ठाउँमा जानैपर्छ, टीका थाप्नैपर्छ र खानै पनि पर्छ । जाँदासम्म त ठीकै लाग्छ, तर खानुसमेत पर्दा चाहिँ अलि गाह्रो लाग्छ ।’

बच्चा हुँदाको दसैँ धेरै रमाइलो

हामीले उनको विगतको दसैँ अनुभव पनि जान्न चाह्यौँ । हामीले सोध्यौँ, बच्चा बेलाको दसैँ रमाइलो कि युवावस्था वा अहिलेको ?

उनले उत्साहित हुँदै भनिन्, ‘दसैँ त बच्चा बेलाकै रमाइलो नि ।’

उनले अझै प्रष्ट पारिन् । ‘दसैँ त बच्चा बेलाको धेरै रमाइलो । किनभने स्कुलमा छुट्टी हुन्थ्यो । अनि घर जान पाउने, बुबा आमासँग भेट्न पाउने ।’

‘हाम्रो परिवार ठूलो थियो । ठूलो बुबा, सानो बुबा, बुबाका सन्तानहरू, फुपूहरू थुप्रै, बाजेका सन्तानहरू पनि थुप्रै हुनुहुन्थ्यो । त्यसकारण सबैसँग भेट्न पाउने । छुट्टी भएपछि बाटोदेखि नै रमाइलो हुन्थ्यो । सबै बच्चाहरू सँगै जान्थ्यौँ ।’

‘त्यतिबेला यातायातको राम्रो सुविधा थिएन, कहिले ट्रकमा जानुपथ्र्यो । अझ हामी परासी जाँदा त नारायणीमा डुङ्गा पार गरेर जानुपर्ने । त्यसकारण पनि डुङ्गा पार गर्ने र समूहमा बच्चाहरूसँग जानु नै सबैभन्दा रमाइलो विषय हुन्थ्यो ।’

दक्षिणा सबैभन्दा रमाइलो

उनले बाल्यकालको दसैँ रमाइलो हुनुको मुख्य कारण चाहिँ दक्षिणा भएको सुनाइन् ।

उनले भनिन्, ‘बाल्यकालको दसैँको अर्को रमाइलो पक्ष भनेको त दक्षिणा नै हो । हाम्रो घरमा हरेक ठूला व्यक्तिले सानालाई टीका लगाइदिएर दक्षिणा दिन्थे । आफू सानो हुँदा सबैले टीका लगाएर दक्षिणा दिन्थे । आफूलाई सबैभन्दा फाइदा हुन्थ्यो । पहिलो कुरा त फाइदा नै हेरिन्थ्यो, दक्षिणाको फाइदा । त्यसकारण पनि बाल्यकालको दसैँ खास महत्त्वपूर्ण र रमाइलो हुन्थ्यो ।’

दसैँमा मात्रै नयाँ लुगा पाइन्थ्यो

बाल्यकालको दसैँ रमाइलो र महत्त्वपूर्ण हुनुको अर्को कारण चाहिँ नयाँ लुगा लगाउन पाउनु रहेको प्रधानको अनुभव छ । उनले सुनाइन्, ‘दसैँ रमाइलो हुने अर्को कारण चाहिँ नयाँ लुगा नै हो । त्यति बेलाको दसैँमा नयाँ लुगा लगाउन पाइन्थ्यो । त्यतिबेला जहिले पनि लुगा किन्ने भन्ने हुँदैनथ्यो, दसैँमा मात्रै लुगा किनिन्थ्यो ।’

‘त्यतिबेला दसैँमा काठमाडौँमा लुगा किन्दा जाडो सुरु भइसकेको हुन्थ्यो । त्यसकारण त्यतिबेला कम्प्लिट सेट पाइन्थ्यो । कपडा, स्वेटर, जुत्ता आदि सबै सेट पाइन्थ्यो । त्यसकारण रमाइलो हुन्थ्यो ।’

दिदीहरूको जडौरी धेरै लगाएँ

उनले कान्छी हुनुको पीडा पनि सुनाइन् । ‘मेरो त दिदीहरू मात्रै हुनुहुन्थ्यो । अरू बेला सधैँ दिदीको जडौरी मात्रै लाउनुपर्ने, दसैँमा मात्रै आफ्नो नयाँ लुगा लगाउन पाइन्थ्यो । त्यसले पनि दसैँ कहिले आउलाजस्तो हुन्थ्यो र रमाइलो लाग्थ्यो ।’

‘तर पनि मुख्य कुरो चाहिँ काठमाडौँबाट परासी गएर आफ्नो बच्चा बेलाका साथीहरू, परिवार र आफन्तसँग भेटघाट र खेलवाड नै सबैभन्दा रमाइलो लाग्थ्यो ।’

‘मेरो आफ्नो घर र मामाघरमा पनि बजै शक्तिशाली हुनुहुन्थ्यो । आर्थिक अधिकार पनि उनीहरूलाई अलि बढी नै थियो । त्यसकारण उहाँहरूले छोरीलाई अलि बढी नै माया गर्नुहुन्थ्यो । दक्षिणा पनि छोरीहरूलाई अलि बढी नै दिनुहुन्थ्यो ।’

दक्षिणा गुम्छ भनेर महिनावरी भएको कुरा लुकाएँ

प्रधानले बाल्यकालको दसैँ र दक्षिणाका अर्को रोचक घटना पनि सुनाइन् । उनले भनिन्, ‘जब म किशोरी भएँ, त्यतिबेला महिनावारीको समय पनि सुरु भयो । मलाई के याद छ भने एक पटक म दसैँको समयमा नै महिनावारी भएँ । पर्यो आपत । टीका नलगाउँ भने आफ्नो त्यत्रो दक्षिणा गुम्ने डर, लगाउँ भने पनि कसरी लगाउने, के भनेर लगाउने ? पाप र धर्मका नाममा भगवानको त्रास पनि त थियो, त्यसमाथि भगवतीको टीका ? त्यो द्वन्द्वले धेरै तनाव दिन्थ्यो ।’

‘यद्यपि पापको डरले भन्दा पनि दक्षिणाको लोभ र विद्रोही चेतले टीका लगाउने नै निर्णय गरेँ । एउटा दसैँमा महिनावरी भए पनि त्यो कुरा कसैलाई नभनी टीका लगाएँ र दक्षिणा जोगाउने काम गरेँ ।’

‘त्यतिबेला नै मलाई के लाग्थ्यो भने म समाजको नराम्रो पक्षलाई च्यालेन्ज गर्ने व्यक्ति हो । किनभने मलाई त्यतिबेला नै लाग्थ्यो कि यो अविश्वास र सामाजिक कुरीति मात्रै हो । हामीले सानैमा स्वास्थ्य शिक्षा पनि पढेका थियौँ । प्रजनन स्वास्थ्य के हो ? किन मासिक श्राव हुन्छ भनेर हामीले पढेका थियौँ । त्यो त स्वास्थ्यको नियमित प्रक्रिया थियो भन्ने हामीलाई थाहा थियो । त्यसकारण मैले महिनावारीलाई चुनौती दिएर दसैँको टीका लगाएँ । समाजको नराम्रो पक्षलाई चुनौती दिने मेरो बच्चदेखिकै विद्रोही स्वभावको मान्छे हुँ म ।’

दक्षिणाको पैसा खाना र पुस्तकमा खर्च

प्रधानले दसैँमा ‘धेरै’ पैसा दक्षिणा पाइने कुरा बताएपछि हामीले सोध्यौँ कि त्यो ‘दक्षिणाको पैसा केमा खर्च गर्नुहुन्थ्यो ?’

उनले दक्षिणाको अधिकांश पैसा खाना र पुस्तकमा खर्च गर्ने गरेको बताइन् । उनले भनिन्, ‘हामी सानैदेखि काठमाडौँमै बसेर पढेको भएर धेरैजसो दक्षिणा खाने कुरामै खर्च गरिन्थ्यो । मलाई कलेज पढ्दा पनि कस्तो हुन्थ्यो भने केही खान त मन लाग्ने तर पर्याप्त पैसा पनि नहुने । भएको पकेट खर्चले भनेको कुरा खान सकिँदैनथ्यो । त्यस कारणले पनि मेरो धेरैजसो दक्षिणा खानकै लागि खर्च हुन्थ्यो ।’

प्रधानले अगाडि भनिन्, ‘म फेसनका लागि केही खर्च गर्दिनथँे । मेरा साथीहरू लुगा किन्ने, मेकअप गर्ने गर्थे । मेरो चाहिँ त्यस्तो बानी थिएन । म दक्षिणा वा खर्च चाहिँ मुख्यतः दुईवटा कुरामा गर्थे, किताब किन्ने र खानेमा । अहिले पनि त्यो बानी नियमित नै छ ।’

युवावस्थाको दसैँ जिम्मेवारीमै केन्द्रित

हामीले बाल्यकालको दसैँपछि युवावस्थाको दसैँ अनुभव पनि सुन्न चाह्यौँ । उनले युवावस्थाको दसैँ रमाइलोभन्दा पनि जिम्मेवारीमा बित्ने बताइन् । उनले भनिन्, ‘दसैँ त बच्चा बेलामै रमाइलो । तर जब म युवा अवस्थामा पुगे, त्यसपछि दसैँको रौनकमा बिस्तारै कमी आउन थाल्यो । जब म २५–२६ वर्षको भएको थिएँ, त्यतिबेला मेरो विवाह भइसकेको थियो । म घरमा बुहारी थिएँ । बुहारी भएपछि धेरै समय भान्सामै समय बिताउनु पथ्र्यो । बिहानैदेखि पकाउने, भाँडा माझ्ने, सरसफाइ गर्ने लगायतको काममै समय बिताउनुपथ्र्यो । अनि पूजाआजाका लागि पनि बढी नै समय खर्च गर्नुपथ्र्यो ।’ 

‘परिवारहरू सबैसँगै हुने भएकाले रमाइलो त हुन्थ्यो नै, त्यसभन्दा बढी जिम्मेवारी पनि हुन्थ्यो र जिम्मेवार बन्नुपथ्र्यो । त्यसकारण बच्चा बेलाको दसैँको रमाइलो जवान भएपछिको दसैँसँग तुलना गर्न नै सकिँदैन ।’

लङ्गुरबुर्जा खेल्दा धेरै रमाइलो

मतलब युवावस्थाको दसैँमा रमाइलो भएन त भन्ने हाम्रो प्रश्नमा मुस्कुराउँदै उनले भनिन्, ‘हामी दसैँको बेलामा लङ्गुरबुर्जा खेलाउँथ्यौँ । परिवारका सबै सदस्य बस्ने र लङ्गुरबुर्जा खेलाउने, त्यसले खुबै रमाइलो हुन्थ्यो । मैले विवाह गरेर आएको घरमा पहिले लङ्गुरबुर्जा खेल्ने वा तास खेल्ने केही गर्दैनथे । तर जब म बुहारी भएर आएँ, त्यसपछि मैले त्यहाँ पनि लङ्गुरबुर्जा खेल्ने र खेलाउने कामलाई निरन्तरता दिएँ । त्यसो गर्दा परिवारका सबै सदस्यलाई रमाइलो हुन्थ्यो, रमाइलो दिन्थ्यो ।’

युवावस्थाको दसैँ अनुभवपछि हामीले अहिलेको दसैँ अनुभव वा उत्साह आदिका बारेमा सोध्यौँ । उनले अहिले झनै जिम्मेवार भएर अगाडि बढ्नुपर्ने बताइन् । उनले भनिन्, ‘अब यतिबेलाको दसैँ अझै फरक छ । यतिबेला हामीले खर्चलाई पनि नियमित गर्नुपर्ने अवस्था छ । अनावश्यक खर्चहरू गर्नु पनि हुँदैन । अनि देश आफै नै धार्मिक निरपेक्षतामा गएको छ । हामीले दसैँलाई कसरी हेर्ने भनेर छुट्टीका नीतिहरू पनि फरक तरिकाबाट आइरहेका छन् । अनि दसैँमा पनि काम गर्नुपर्ने जिम्मेवारीहरू पनि छन् । मेरो पनि दसैँको ३ दिन अदालतमा जिम्मेवारी तोकिएको छ ।’

उनी अगाडि बढिन्, ‘समाजलाई पनि हामीले अलिकति सचेत बनाउनु आवश्यक छ । अनावश्यक खर्च गर्नु हुँदैन भन्ने सोचलाई अगाडि ल्याउनु जरुरी छ । यसलाई कसरी आफ्नै जीवनको अभ्यासबाट स्थापित गर्ने भन्ने कुरा पनि सोच्नु आवश्यक छ ।’

दसैँ धार्मिक पर्वभन्दा बढी सांस्कृतिक अभ्यास

दसैँलाई धेरैले हिन्दु धर्मको एउटा चाड मात्रै भनेर बुझेको भन्दै उनले यसलाई सांस्कृतिक अभ्यासका रूपमा बुझ्दा राम्रो हुने बताइन् । उनी भन्छिन्, ‘हामीले के बुझ्नुपर्छ भने दसैँ कुनै धर्मको आधारमा मात्रै गरिने अभ्यास होइन, दसैँ हाम्रो सांस्कृतिक अभ्यास पनि हो । हिजो धर्मका आधारमा सुरुवात भयो होला तर अहिले प्रत्येकको जीवनका सांस्कृतिक अभ्यास भइसकेको छ त्यो जुनसुकै धर्मको व्यक्ति किन नहोस् । जस्तो कि हामी सबै जात र धर्मकाले क्रिसमस मनाउँछौँ, बुद्धजयन्ती मनाउँछौँ । त्यसकारण दसैँलाई धार्मिक भन्दा पनि सांस्कृतिक र सामाजिक अभ्यासका रूपमा मनाउँदा ठीक होला जस्तो लाग्छ ।’

‘दसैँमा दिदीबहिनीहरू, परिवारका सदस्यहरूलाई बोलाउने, भेटघाट गर्ने र परिवार बाहिरको नातागोता, साथी र आफन्तसँगको सम्बन्धलाई कसरी बलियो बनाउने भनेर पनि यो पर्वलाई लिन सकिन्छ । अहिले पारिवारिक र सामाजिक सम्बन्धहरू छुटिरहेका हुन्छन् । त्यसलाई कसरी बलियो बनाउने, पुनस्र्थिपित गर्ने भनेर अवसर पनि हो दसैँ ।’

दसैँमा कृष्ण ऐयरको किताब पढ्ने योजना

न्यायाधीश भइसकेपछि सपना प्रधान मल्लको दैनिक लामो समय अध्ययनमै बित्ने गरेको छ । नेपाल तथा विश्वको न्याय प्रणाली, नजिर तथा घटनाबारे जानकार रहनै पर्छ । त्यसकारण यस पटक आफू कृष्ण ऐयरको जीवनमा आधारित पुस्तक पढ्न लागेको उनले बताइन् ।

‘मैले यस पटक कृष्ण ऐयरको जीवनमा आधारित भएर सलमान खुर्सिद र लोकेन्द्र मलिकले लेखेको पुस्तक ‘जस्टिस एट हार्ट’ भन्ने पुस्तक पढ्न लागेको छु । कृष्ण ऐअरको कार्यलाई खुर्सिदले आफ्नो पर्सेप्सनबाट टिप्पणी गर्नुभएको छ, विश्लेषण गर्नुभएको छ । मैले त्यो किताब किनेर ल्याएको छु र त्यो किताब पढ्छु ।’

कृष्ण ऐयर भारतीय न्याय प्रणालीमा अग्रणी र आदर्श व्यक्तित्वका रूपमा चिनिन्छन् । उनी भारतको सर्वोच्च अदालतको न्यायाधीशसमेत हुन् ।

ठूलाबाट टीका लगाएर आशीर्वाद लिने

न्यायाधीश सपना प्रधान मल्लले यस पटक पनि ठूला व्यक्तित्वबाट टीका लगाएर आशीर्वाद लिने योजना बनाएकी छिन् । ससुराको मृत्युपछि गाउँको घर लथालिङ्ग अवस्थामा रहेको भन्दै त्यसलाई व्यवस्थापन गर्ने पनि उनको सोच छ । उनी भन्छिन्, ‘हाम्रो गाउँ परासीमा छ । त्यहाँ गएर टीकाटालो गर्ने । मेरो फुपूसासू हुनुहुन्छ, उहाँलाई भेट्न जाने, टीका थाप्न जाने आदि गर्नेछु । अनि घरको व्यवस्थापन गरेर फर्कनेछु ।’

पिङ छाडेर मानिस मेसिनमा झुम्मिए

उनले आफ्नो पिङ अनुभव पनि सुनाउँदै पिङ लोप हुन लागेकामा चिन्ता पनि गरिन् । उनले भनिन्, ‘गाउँघरमा त अझै पनि पिङ देख्न पाइन्छ, खेल्न पाइन्छ । तर शहरमा बिस्तारै यो हराउँदै गएको छ । गाउँघरमा बाँस पनि पाइन्छ, डोरी पनि पाइन्छ । त्यसकारण त्यहाँ त्यति समस्या छैन ।’

‘तर शहर वा गाउँमा पनि पिङ बिस्तारै हराउँदै जानुमा कारण के हो भने पहिले खेल्ने माध्यम र साधन सीमित थिए, रमाइलो गर्ने माध्यम सीमित थिए । अहिले टिभी, मोबाइल लगायत अन्य विषयमा मान्छे अड्किन थाले । मानिसहरू मेसिनमा रमाउन थाले । मानिसहरू घरबाट टाढा हुने, परिवारबाट टाढा हुने र मेसिनमै अड्किन थाले । भेटघाट हुँदा कमसेकम परिवारमा मानवीय संवेदना त हुन्छ नि । मेसिन वा प्रविधिका कारण परिवारभित्र पनि मानवीय संवेदना खोज्नुपर्ने अवस्था आइसकेको छ । त्यसकारण दसैँ वा पिङ मानवीय संवेदना खोज्ने अवसर पनि हो । जहाँ सामूहिक सहभागिता, छिमेकीहरूसँग पनि भेटघाट हुन्छ र त्यो खोज्नु आवश्यक पनि छ ।’

दसैँको सपिङ

दसैँमा कत्तिको सपिङ गर्नुभयो भन्ने रातोपाटीको प्रश्नमा न्यायाधीश सपना प्रधान मल्लले आफ्नो लागि केही पनि सपिङ नगरेको बताइन् । उनले भनिन्, ‘मैले दसैँ सपिङ भनेर केही किनिनँ । आफूले दिनुपर्ने आफ्ना सहयोगीहरूलाई खर्च भनेर दिनेबाहेक दसैँका लागि भनेर अरू केही किनिनँ । गाउँ लैजानका लागि केही पूजाका सामग्री किनेको छु । अरू त्यस्तो केही पनि किनेको छैन ।’

‘बच्चा हुँदा दसैँमा नयाँ लुगा किन्ने भन्ने हुन्थ्यो, अहिले त बेलाबेलामा नयाँ लुगा लगाइरहेका हुन्छौँ । त्यसकारण मैले मेरो लागि केही किनिन् । मेरो घरको बहिनीहरू, सासूआमा र नन्दहरूलाई केही कपडाहरू किनेँ तर म, मेरो श्रीमान र छोराको लागि केही किनिनँ ।’

कमेन्ट

  1. Oct. 8, 2019, 11:41 a.m. Sunder Gurung
    Nyayadhish bhaye pachi ta daxina barsina lagyo hola ni, tyo ncell ko kura batai bujhiyo ni.
  2.  0 Reply

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...