केन्द्रीय संस्करण
देसैँ विशेष

एक वर्षको हुँदा जेलमा टीका लगाएँ...

‘दसैँ हिन्दुको पर्व होइन, नेपालीहरुको विशेष पर्व हो’

person explore access_timeअसोज २१, २०७६ chat_bubble_outline0

काठमाडौँ– नेपाली राजनीतिमा संस्कारी नेताको पहिचान बनाएका नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माको दसैँ मनाउने तरिका केही भिन्न छ । उनी चडपर्वलाई कार्यसँग जोडेर मनाउनुपर्नेमा जोड दिन्छन् । उनी दसैँ मनाउने कुरा दुई तरिकाले विभाजन गर्छन्, समाजको साथमा र परिवारको साथमा ।

उनले भने, ‘चाड पर्व आउँदै गर्दा खाने पिउने रमाउने कुरा त छँदैछ, राजनीतिक रूपमा भाषणा गर्ने कुरा पनि हुन्छ । तर आफ्नो हरेका कर्मले समाजलाई के बल पुग्छ भन्ने कोणबाट हेरिनुपर्छ भन्ने मेरो मान्यता छ ।’

श्रीमतीजी छोरा–छोरी, दाजु–भाउजू, काका–काकी बडाबा–बडाआमा, मामा–माइजूसँग रमाइलो गर्ने भेटघाट गर्ने हार्दिकता बढाउने कुरामा नै दसैँ–तिहार, छठलगायतका पर्व मनाउने प्रचलन रहेको उनी बताउँछन् । सहरका नाममा हराउँदै गएको हार्दिकता र भाइचारप्रति प्रवक्ता शर्मामा चिन्तित छन् । ‘गाउँ र सहरको दसैँको कुरा गर्दा समाजमा सद्भाव, प्रेम र भाइचाराको अभिवृद्धिलाई मुख्य रूपमा हेर्नुपर्छ,’ उनले भने, ‘सहर बन्यो संस्कार बनेन भने, गाउँमा बाटो बन्यो तर गाउँले आत्मीयता भत्कियो भने, ठूला घर बने तर पारिवारिक विश्वासमा धाँजा फाट्यो भने भौतिक प्रगति मात्रैले जीवन खुसी र रमाइलो हुँदैन । त्यसको केही अर्थ रहँदैन । गाउँमा पाइने आत्मीयता र भाइचारा सहरमा देखिँदैन ।’

बाल्यकालको दसैँ

बाल्यकालको दसैँ सम्झिँदै गर्दा प्रवक्ता शर्मा आफू एक वर्षको हुँदा जेलमा रहेका बुबाको हताबाट टीका लगाइएको किस्सा सम्झन छन् ।

‘जिन्दगीमा मलाई दसैँको कुरा गर्दा, मेरो स्मृतिमा नभएको, उहाँले (हजुर बाब–आमा) सुनाउनु भएको कुरालाई सम्झने हो भने बाल्यकालमा बाबु दसैँको टिकी भनेर लाउँदै गर्दा झापाको चन्द्रगढी जेलमा टीका लगाएको थिएँ ।’

‘म २०२७ सालको पुसमा जन्मिएँ,’ उनी भन्छन्, ‘त्यसकै चैतमा राजनीतिक कारणले पिताजी जेल पर्नुभयो । त्यतिबेला काँग्रेसको जिल्ला कमिटीमा हुनुहुन्थ्यो । २०२८ सालको दसैँ जुनबेला म १ वर्षको पनि भएको थिइनँ । त्यसबेला हजुरबा, हजुर आमा, फुपूहरू र बडाबासहित चन्द्रगढीमा जेलमा गएका थियौँ । र बुबालाई उहाँहरुले टीका लाइदिनुभयो । बुबाबाट पनि अरुले टीका ग्रहण गरे । विश्वप्रकाशले पनि जेलमा रहेका पितासँग काखमा रहेर टीका भनेर लगाएको थियो ।’

दसैँभन्दा दुई तीन कुरा मनोविज्ञानमा आउने गरेको उनी सम्झिन्छन् । ‘घरबाट १७ किलोमिटरमाथि गएपछि शान्तिनगरमा हाम्रो मूल घर छ । त्यो ठाउँमा हजुरबा हजुरआमा बस्नुहुन्छ । कहिले दसैँ आइपुग्छ र त्यो ठाउँमा कहिले पुग्ने भन्ने हुन्थ्यो । त्यहाँ जाँदै गर्दा तलको कुरुङ खोलामा पानी बगेको आवाज, त्यो कुहिरो र त्यो वातावरणको बीच हजुरआमा हजुरबाले कति खेर टीका लगाइदिनुहुन्छ, कति पैसा दिनुहुन्छ होला भन्ने त्यो खालको मनोविज्ञान थियो,’ उनले भने ।

प्रवक्ता शर्माले १ सय ५० जनापछि टीका लगाउँदाको क्षण सम्झँदै भने, ‘फेरि मेरो पालो १५० जना जनाले टीका लगाइसकेपछि आएथ्यो । ठूलो परिवार थियो । १३ दाजुभाइ २ दिदीबहिनी, त्यसमा हुर्के बढेर बाँचेका ८ जना दाजुभाइ र २ जना दिदीबहिनी थिए । त्यत्रो परिवारको टीका लगाउँदा मेरो १५० जनापछि मात्र पालो आउँथ्यो । टीका लगाइसकेपछि त्यत्रो माहोलले अर्के रोमाञ्चकता मिल्थ्यो ।’

बाल्यकालमा टीका लागाइसकेपछि पिङमा चढेर अरूले मच्चाएको र आफूले मच्चाउने गरेको स्मृतिमा पुग्छन् उनी । ‘टीका लगाइसकेपछि शान्ति आदर्श माध्यमिक विद्यालयको ग्राउन्डमा रहेको पिङमा चढेर अरूले मच्चाएको हेर्न, आफूले मच्चाउने गरिन्थ्यो । वास्तवमा बाल्यकालको दसैँ निकै रोमाञ्चक भएको अनुभूति हुन्छ,’ प्रवक्ता शर्माले भने, ‘दसैँ–तिहार मनाउँदै गर्दा मलाई बाल्यकालमै फर्किनुपर्छ । मलाई अहिले पनि दसैँ, वा कुनै पर्व मनाउँदै गर्दा जन्मदिन मनाउँदै गर्दा बाल्यकालमै फर्किनुपर्छ । मेरा छाराछोरी जस्तै म बन्नुपर्छ भन्ने लाग्छ अहिले पनि ।’

बाल्यकालमा दक्षिणा स्वरूप पाएको पैसाको अहिले कुनै मूल्य नभए पनि त्यतिबेला पैसा दिने हातबाट प्राप्त हुने आशीर्वादको जीवनमा अहम् भूमिका रहेको प्रवक्ता शर्माको बुझाइ छ ।

‘मेरो सम्झना भएअनुसार बाल्यकालमा हामीलाई दक्षिणा स्वरूप ५ पैसा, १० पैसा अलि ठूलो हुँदा २५ पैसा दिएको याद छ । ७,८ वर्षको हुँदा १ रूपयाँको नोट पाएको पनि मलाई याद छ,’ उनले भने, ‘अहिले त्यो पैसाको कुनै मूल्य छैन । तर त्यो पैसा दिने हातबाट प्राप्त हुने आशीर्वादको मेरो जीवनमा अहम् भूमिका छ ।’ खुसी हुन कुनै चाडपर्व नै आउनुपर्छ भन्ने मान्यता नरहेको भन्दै परिवारमा हरपल खुसी हुने मनोविज्ञानको विकास गरिएको उनी बताउँछन् ।

‘दसँैमा विशेषतः म, छोरी स्वीकृति, छारो शीर्षक अनि श्रीमती कविता हुन्छौँ । त्यहाँ पुगेपछि म मेरो कुराको पछि होइन उनीहरुका कुराको पछि लाग्छु । खुसीका साथ रम्ने र रमाइलो गराउने प्रत्यन रहन्छ मेरो,’ उनले भने, ‘तर खुसी हुन कुनै चाडपर्व नै आउनुपर्छ भन्ने मान्यता होइन । खुसी त हरपल हुने हो भन्ने मनोविज्ञान छ हाम्रो परिवारमा ।’

नयाँ लुगा र मीठो खाने कुराका हिसाबले दसैँ व्यग्र प्रतीक्षाको चाड बन्छ नेपालीका लागि । दसैँ कहिले आउला, नयाँ लुगा फेर्न, विभिन्न प्रकारका मीठा–मीठा परिकार खान पाइएला, टीका थापेसँगै दुई चार रूपैयाँ जोहो गरिएला भन्ने आस बढ्छ नै होला । यस्ता रहरलाग्दा किस्सा सबैको हुन्छन् । तर प्रवक्ता शर्मालेको दसैँ भने अलि भिन्न छ । उनी भन्छन्, ‘हामीमा दसैँमा नयाँ लुगा किन्ने भन्ने कुराले त्यति प्राथमिकता पाउँदैन । किन भने मेरी छोरीले झापाको रेडियो सरगममा बालकार्यक्रम चलाउँछिन् । उनलाई दसैँ भनेको नयाँ लुगाका लागि होइन । नयाँ संस्कृति, नयाँ संस्कारका लागि हो भन्ने मनोविज्ञान बनाइएको छ ।’

विगतका दसैँमा शर्मा परिवारले गाउँका अनाथ र असाह्य बालबालिकालाई नयाँ लुगा हस्तान्तरण गर्दै आएको छ । विगतका दसैँको स्मरण गर्दै उनले भने, ‘अष्टमीको दिन श्रीमतीजी केही कपडा किनेर ल्याउनु हुन्छ । अनि गाउँका अनाथ र असाह्य बालबालिका लागि छोरीको हातबाट दिन लगाउँछौँ । अनि छोरीलाई पनि हुँदो हो, म त एक मध्यम वर्गीय परिवारकी हुँ । बाबाले मेरो लुगाका लागि दसैँ कुरिरहनुपर्दैन भन्ने पर्दो हो । यसले छोरीमा हामीले आफूले मात्र लगाए, हँुदैन अरूलाई पनि दिनुपर्छ भन्ने मनोविज्ञान विकसित हुन्छ ।’

आफूमा केही कुरा थप्दै गर्दा अरूलाई हस्तान्तरण गर्ने मनोविज्ञानको विकास गर्नुपर्नेमा उनी जोड दिन्छन् । प्रवक्ता शर्माले भने, ‘कहीँ न कहीँ केही कुरामा डोनेट गरिन्छ । लुगामा हामीले हिसाब राख्छौँ । हाम्रो दराजभरी लुगा हुने कसैको आङ नाङ्गै हुने कुरा हुनुहुँदैन । आफ्ना बच्चा बच्चीलाई त्यही बुझाउनुपर्छ । चाहिएका मागहरु पूरा गर्ने प्रयत्न गर्नुपर्छ । आफूमा थप्दैगर्दा अरूलाई हस्तान्तरण गर्न मनोविज्ञान पनि राख्नुपर्छ ।’

दसैँलाई सरल र समान्य ढङ्गले मनाउनुपर्छ भन्ने आफूहरुको मनोविज्ञान रहेको भन्दै विशेष परिकार बनाउने चलन नरहेको उनी बताउँछन् ।

उनले भने ‘दसैँका लागि विशेष भनेर यही परिकार भन्ने चलन छैन । दसैँ आयो विश्वप्रकाशकोमा खसी काट्ने, भीड लगाएर खाने, दसैँकै लागि यो मिठाइ, त्यो रसवरी भन्ने खालको हुँदैन । दसैँलाई सरल र सामान्य ढङ्गले मनाउनुपर्छ भन्ने हाम्रो मनोविज्ञान छ ।’

शर्मा आफ्नो घरमा पाक्ने र लगाउने कुराले छरछिमेकलाई पर्ने असरबाट सजक देखिन्छन् । भन्छन्, ‘विश्वप्रकाशको घरमा के पाक्यो ? विश्वप्रकाशले के लगायो भन्दै गर्दा विश्वप्रकाशले जहिले के सोच्नुपर्छ भने उसको छरछिमेकमा कस्तो प्रभाव पर्छ भन्ने कुराको ख्याल राख्नुपर्छ । मेरा छरछिमेकी कोही बिज्नेसम्यान हुनुहुन्छ, कोही आर्मी हुनुहुन्छ, डीएसपी हुनुहुन्छ । छेउमै क्रिस्चियनको पनि घर छ । अर्को छेउमा तामाङको पनि घर छ । यस्तै अर्को छेउमा मधेसीको घर छ, दलितको घर छ, नेवारको घर छ । वरिपरि हाम्रो थुप्रै घर छन् । त्यसमा पनि कोही हामी खानपिन पुग्ने परिवार छ, कोही एकदम विपन्न अवस्थामा छ । त्यसैले हामी त्यस्तो सामन्तको मनोविज्ञान कसरी राख्ने ? सबैको परिवारमा एकै खालको हार्दिकता कसरी राख्ने, तडभडक नगरी संस्कार र संस्कृतिलाई स्वागत गर्ने भन्ने कुरामा केन्द्रित हुन्छौँ । लगाउने र पकाउने कुराको हिसाबले दसैँलाई भिन्न ढङ्गले हेर्दैनौँ ।’ तर उनका कति दसैँ छुटेका पनि छन् । छुटेका दसैँ कर्मसँग जोडेको उनी बताउँछन् ।  प्रवक्ता शर्माले भने, ‘दसैँको स्मृतिको कुरा गर्दा दसैँ छोडेको स्मृति पनि छ, रमझमका साथ मनाएको स्मृति पनि छ । हामीले पर्व मनाउँदा अरूलाई असर हुनुभएन, तडकभडक गर्नु भएन, आफ्नो कर्मलाई विर्सनु भएन ।’

दसैँलाई साझा कसरी बनाउने ?

दसैँलाई हिन्दुहरुको मात्र भनेर सीमित गरिने कुरामा उनको सहमती छैन ।

प्रवक्ता शर्माले भने, ‘यदि दसैँको टीका लगाउने कुरा हिन्दुको हो भने किन नरेन्द्र मोदीजीले टीका लगाउनु हुन्न । उहाँ पनि हिन्दु हो । किन लालकृष्ण अडवानी टीका लगाएको दृश्य कहिले देखिँदैन । हिन्दु त भारतमा पनि छन् । हामी एक चोटि सोचौँ त ? तर त्यहाँ टीका लगाउने नेपाली भाषी मात्र छन् ? यो हिन्दुको पर्व होइन, नेपालीहरुको विशेष पर्व हो ।’

सुदूरपश्चिको गौरा भनौँ वा सुदूरपूर्वको चन्डिया साकेलाको भनौँ त्यो वर्ष बनाउँदै गर्दा नेपालीपनका साथ मनाउने, नेपाली मनका साथ मनाउने मनोविज्ञान हुन जरुरी रहेको उनको बुझाइ छ । उनले भने, ‘हिजो होली मधेसको मात्र भनिन्थ्यो । होलीमा पहाड पनि रङले रङ्गिन्छ । यो अन्तरघुल जो छ यसमा हाम्रो प्रेम छ, यसमा हाम्रो पहिचान छ । यसमा नेपालको सङ्गो अस्तित्व गासिएको छ ।’

उनी नेपालीहरुल कुनै पर्वलाई जाति विशेषमा जोड्न नहुने तर्क गर्छन् ।

‘साकेला पर्व मनाउनलाई स्विजरल्यान्डमा जन्मेर हुन्न । नेपालको माटोमा राई आमाले जन्मदिएपछि पुग्छ । नेदरल्यान्डमा जन्मेर म्हः पूजा मनाउन होइन, नेवारी आमाको कोखबाट नेपाली भूमिमा जन्म लिनुपर्छ । यति भन्दै गर्दा पर्वहरुलाई जातिको सीमामा राखिनु हुन्न । दसैँ जस्तो पर्वलाई विवादास्पद बनाउने मनोविज्ञन पनि राख्नु हुन्न ।’

पर्वका नाममा कसैले कसैलाई अनादार गर्ने कुरामा उनको ठूलो विमति छ । ‘टीका जो लगाउनु हुन्छ ठीक छ, स्वागत छ । जसले टीका लगाउनु हुन्न, त्यो पनि स्वागत छ । त्यो आफ्नो कुरा हो । तर कसैले पनि कसैलाई अनादार गर्नुहुन्न,’ शर्माले भने ।

शर्मामा कुराभन्दा कर्मबाट बलियो रूपमा उभिने स्वभाव छ । गत वर्षको दसैँमा उनले झापाको बुद्धशान्ति चौरमा स्वास्थ्य शिविरमा सेवा सञ्चालन गरेका थिए ।

दसैँ विशेष कार्यक्रममा डाक्टर प्रज्ज्वल गौतमले ९३ वर्षीय उजिरमान दाहाल र डा. अवकेशर खड्काले ८६ वर्षीया टङ्कमाया दाहालको स्वास्थ्य परीक्षण गरेर कार्यक्रमको उद्घाटन गरेका थिए । शर्माले कार्यक्रममा तडकभडकको प्रतिस्पर्धा देखाएनन् । उनी चिकित्सक र स्वास्थ्य परीक्षण गर्न आएकासँग ओहोरदोहोर गरी रहे । यो एउटा उदहारण मात्र हो । तर यसपालि शर्माको दसैँ छैन । केही समयअघि काका बितेकाले उनी यस पटक दसैँको टीका लगाउने छैनन् । तर दसैँलाई सामाजिक कार्यसँग जोड्ने कुरा भने जारी रहने उनी बताउँछन् ।

 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...