केन्द्रीय संस्करण

मन र मान्छेहरु

person explore access_timeकात्तिक १६, २०७६ chat_bubble_outline0

-सुनीलबाबु श्रेष्ठ 

एउटा मन 
जहाँ कलिला आशाहरु मरिरहेका हुन्छन्
र निराशाका काला बादलहरु मडारिरहेका हुन्छन् 
यस्तो लाग्छ 
समुद्री तुफानी छालहरुका बीचमा बसेर 
केवल मृत्यु मात्र पर्खिरहेका हुन्छन् मान्छेहरु 

बिहानीसँगै आउने यी अखबारहरु 
यही मृत्युका ठुल्ठुला खबरहरु छाप्न 
उत्रिरहेका छन् प्रतिस्पर्धामा
र आतङ्कित बनाइरहेका हुन्छन् हरेक दिन मनहरु 
पढेर अखबारहरु 
काँपिंरहेको हुन्छ शरीर 
एकनासले एकोहोरिन्छ मष्तिस्क 
र सोचिन्छ कहिले आफ्नै मृत्युको समाचार 
छापिने हो यी अखबारका पानाहरुमा

हिंस्रक मान्छेहरुको निकुञ्जमा 
तिमीलाई जसले पनि चिथोर्न सक्छ 
घाइते बनाएर रक्ताम्य बनाउन सक्छ 
तिम्रो खुट्टा काटिन सक्छ 
जिब्रो थुतिन सक्छ
दिनदहाडै आतङ्कको भरमा 
कुनै अबोध नारीहरुको अस्मितामाथि धावा बोलिनसक्छ 
हाट बजारका राँगा खसी जस्तै 
मान्छेहरुको भीडभाडमा चट्ट काटिन सक्छौ 
पोखिएको तिम्रो आलो रगतले 
अमूर्त चित्र बनाएर 
कोही पनि सफल चित्रकार बन्न सक्छ यहाँ 
 
किनकि हराउँदै जाँदैछ यहाँ
मानवीय संवेदनाहरु 
हराउँदैछ सभ्यता बस्तीहरुमा 
बनिरहेका छन् पत्थर मान्छेहरु
मृत्युमा उत्सव मनाउन 
बानी परिरहेका छन् मानिसहरु ।
 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...