केन्द्रीय संस्करण

व्यङ्ग्य–जय मिठाई !

person explore access_timeकात्तिक १९, २०७६ chat_bubble_outline0

  संस्कृत भाषामा ‘मिष्ट’ र प्राकृत ‘मिट्ठ’ हुँदै नेपालीमा ‘मीठो’ रूपमा सबै मानिसको जिब्राभर झुण्डिएको यो शब्दमा ‘आइ’ प्रत्यय लागेर ‘मिठाई’ बनेको रहेछ । गुलियो वा मीठो स्वादको अनेक प्रकारका खाद्य परिकार  हलुवाई, रोटी, मिष्टान्न बुझाउँछ यो नाम पदवर्गको शब्दले । विशेष गरेर हाम्रा पर्व, उत्सव, देव तथा पितृकार्यमा यसको उपस्थिति जरुरी छ, किनकि गणेश भगवान र ब्राह्मणका लागि सक्खर, लड्डु अनिवार्य चाहिन्छ नै । माघे सङ्क्रान्ति लगायतका पर्वमा घिउ चाकुको गुणगान कत्रो छ ।  तीज, दसैँ, तिहार, छठ, उभौली, क्रिसमस, अतिथि सत्कार सबै प्रकारका चाड र दैनिकीलाई बहार बनाउने मिठाई मानव जीवनको विशिष्ट खाद्यान्न हो । 

तिहारजस्तो पर्वमा त मिठाई दिदीबहिनी र दाजुभाइका लागि स्वागत तथा मङ्गलको समेत वस्तु मानिन्छ । मिठौरे मुख, तितौरे कर्म । जहाँ गुलियो त्यहीँ बाहुन भुलियो । मिश्रीको गुलियो र कागतीको अमिलोले बिगार गर्दैन । यस्ता खालका कहावतले पनि मिठाईको राजकाज आदि युगदेखि नै चलेको भेटिन्छ । आजभोलि बजारमा हरेक वस्तुमा मिसावटको घामट चर्किएको छ । अल्छी तिघ्रो स्वादे जिब्रो धेरै मान्छेहरूको बानी नै छ । नाना नामधारी स्विट एवं चाट भण्डारमा मिठाई बनाउने कार्खाना अँध्यारो कोठा, पानी र हिलोको डुबान, लामखुट्टे, भुसुना, माउसुली र साङ्लाहरूको बिगबिगीले रछ्यान जस्तै भेटिन्छ । 
आँखाका लागि राम्रो देखाउन नक्कली विषादी रङको प्रयोग भरमारै गर्ने चलन छ भने जिब्रामा स्वाद जगाउन विभिन्न खाले स्वास्थ्यलाई प्रतिकूल हुने केमिकलहरू मिसाइन्छ । 

सरकारको ‘खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, महानगर, उपमहानगर, नगर, कतिपय गाउँपालिका, उपभोक्ता अधिकारकर्मीसमेत अरू बेला गुँडुलिएर तन्द्रामा बसेका हुन्छन् भने चाडपर्वको बेला निरीक्षणको अभिनय गरेर जागा भएको देखाई आफ्नो गर्जो टार्छन् । 

सम्बन्धित निकायका मनुवा  नजराना लिन एक्टरको भूमिका रच्ने क्रम गणतन्त्र कालमा त झन् सिस्नुझैँ मौलियो बा ! अनुगमनको ड्रामा मञ्चन गरेर केही किलो रसबरी, लड्डू, चमचम, लालमन, पेडा नष्ट गरेको खबर मिडियामा गुडिया बनाएर नचाउँछन् पनि । ‘वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग’ सुधारको निर्देशन कडा भाषामा प्रचार गराएर कैयौँ ब्यापारीसित व्यभिचारमार्फत गतिलो तरिकाले आफ्नो चाडबाडलाई उजाड हुन दिँदैनन् । कैयौँ क्याटरिङ एवं कुकिङ सर्भिसले आफ्नो कार्खानामा सेवा क्षेत्रभन्दा बाहिर गएर मिठाई आपूर्ति गर्दा पनि सम्बन्धित निकाय देखेको नदेख्यै गरेर कमिसनकै मिसनमै रगमङाएको घिनलाग्दो व्यवहार पहिलाभन्दा पनि घनिभूत छ । यस्ता क्याटरिङ भ्याटमा दर्ता भए पनि हजारौँको कारोबार सादा मेमोको भरमा भइरहेको छ । नबुझेका बिचरा उपभोक्तालाई यो भ्रष्ट लीला के थाहा ?

सरकारले बनाएको खाद्य ऐनले चैनको सास फेर्नै पाएको छैन । म्याद सकिएका र कीराले डेरा जमाइसकेका बेसन, आँटा, नकच्चरीका नाठाझैँ बनेर जनस्वास्थ्यमा हातपात गर्न विभिन्न मिठाईका झिल्के रूप लिएर तिल्के, चाउरे, डल्ली भुन्टीलाई डल्याउने र मुन्ट्याउने कुकाममा बढोत्तरीको रफ्तार तीव्र छ । यस्ता काला बेपारीलाई कारबाही गर्ने हौवा पिटाएर कौवा बन्ने सरकारी निकायका मानिस गणेशजस्ता भीमकाय बनेर दाय भाग हसुरेका दृश्यहरूले उपभोक्ताका आँखामा फुलो पारेको पार्यै छन् बा ! दण्डित हुने थुनिने काम पटक्कै छैन, मात्रै हल्लागुल्ला र कुरै मात्र बढी छ । अहिलेसम्म मिठाईको गुणस्तर परीक्षण गर्ने मेसिन नै सरकारसित छैन रे निर्देशन र विज्ञप्तिले केही लछार्पाटो लाउँदैन भनेर सम्बन्धित अधिकारीले मैसित कानेखुसीमा बताए, अस्ति भर्खर त्रिपुरेश्वरको एउटा नामुद स्विट भण्डारमा । 

कतिपय मिठाई भण्डारमा बासीतेसी र बिग्रिएका मिठाई ठूलो बाटामा ढड्याएर राखेको हुन्छ । त्यसमा छुचुन्द्रो, मुसा, भुसुना, ड्याङ्गो प्रसारक लामखुट्टे, विकासे साङ्ला झुम्मिएर दिसापिसाप उम्काई समाधीस्थ भएका हुन्छन् । त्यही फोहोरको डङ्गुरलाई कमसल तेलघिउ र चास्नीमा छड्काएर अलिअलि नरिवल छरी ताजा हलुवा भन्दै बेचेको र अनाथ उपभोक्ताले खाएर लगत्तै वाक्कट्यार्र हुँदै टेकु, ब्लुक्रस र नर्भीकतिर भर्ना हुन कुदेको बेहाल उत्तिकै छ । स्वास्थ्य माफिया र मिठाई माफियाको घाँटी पनि गजबले जोडिएको छ गाँठे !

  यी सबै कुरा सुन्दासुन्दै र जान्दा जान्दै पनि घरमन्त्रीको आदेशलाई परमादेश ठम्याएर बजार पुगी हजारका हजार हजम बनाएर विषादी रङका नामधारी मिठाई किनेर खसी पर्ने नियति यथावत् छ । जिब्राहरूमा एकछिन् गुलियो दिई पेटलाई ढुस्स बनाउँदै घाँटी पोलेर झुसिलो डकार र हेर्नै नसकिने खकार निकाल्दा अधोवायुभन्दा पनि दुर्गन्ध वायुपण्डलमा प्रवाहित हुन्छ । पेट कटक्क काटेर छातीका सबै भाग पोली ग्यास्टिकका बोतल किन्न मेडिकल हलमा मान्छेहरूको भलै लागेको हुन्छ कठै ! तर पनि चाडबाड र पर्वहरूमा  मिठाई खरिद गर्न वीर नेपाली लम्किरहेको छ । जति मिसावटको  भद्रगोल भए पनि हाम्रो पचाउने तागतमा अगस्ति ऋषि बसेका छन् ।

अनि त नेपाली बहादुर भुँडी ग्यास्टिकका महँगा झोलका डिब्बाको शरणमा गएर एउटा झोलामा ओखती अर्कोमा मिठाई   बोकेर हिँड्ने क्रम जारी छ । रोगको भय दिने मय दानवको जस्तो सुकुमार कलामा खारिएको नक्कली मिठाईलाई जय भन्दै निर्भय भएको अभिनयमा बुद्धू उपभोक्ता बन्ने सन्दर्भ जारी छ । भीषण रोगको घरलाई भोग गर्न चोकचोकमा जय मिठाई ! भन्नेको ताँती हेरेरै साध्ये छैन हजुर ! त्यसैले म पनि भ्यागुतोझैँ फुलेर भन्दैछु– जय मिठाई ! जय पर्व ! जय छठ ! जय तिहार ! जय माघे सङ्क्रान्ति, जय नव वर्ष !
 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...