केन्द्रीय संस्करण

दलित बस्तीमा ‘घुर’: जाडो छल्ने सहारा

person explore access_timeमंसिर २६, २०७६ chat_bubble_outline0
file photo

–गोपालप्रसाद बराल

महोत्तरी । सडक गल्लीमा फालिएका प्लाष्टिक, झुत्रा कपडा र शीतले भिजेका पतिङ्गर बटुलेर आगो सल्काएपछि त्यसबाट निस्कने धुवाँको मुस्लोबीच हात फैलाएर यहाँका दलित बस्तीका बासिन्दा न्यानो खोजिरहेका छन् ।

 मङ्सिर मध्ययता थुरथुर कमाउने पश्चिमी सिरेटो लगातार बहिरहेपछि न्यानो कपडा र पोषिलो खानेकुरा नहुँदा दलित बस्तीका बासिन्दा बाक्लो धुवाँको मुस्लो निस्कने ‘घुर’ (पात पतिङ्गर बटुलेर बालिएको आगोलाई यहाँ घुर भनिन्छ) वरिपरि बसेर न्यानो खोज्ने गरेका हुन् । गरिबीले न्यानो लुगाको जोहो गर्न नसकेपछि  निकै धुवाँ आउने ‘घुर’मै गरीब बस्तीका दलितले न्यानो खोज्नुपरेको हो । 

स–साना पराले झुप्रा भएका बस्तीपिच्छे अहिले यसरी बालिएका ‘घुर’ नै यहाँ जाडोबाट बच्ने उपलब्ध उपाय हो । खासगरी एकैठाउँ गुजुमुजु देखिने पराले झुप्रा बनाएर झुरुप्प बस्ने महोत्तरीका मुसहर, चमार, दुसाध, बाँतर, डोम, मेस्तर र खत्बेलगायतका दलित जाति समुदायको बस्तीमा एउटा ‘घुर’ वरिपरि बुढाखाडा, बालबालिका र महिला एकै ठाउँ हात फैलाएर न्यानो खोजिरहेका भेटिन्छन् । 

किशोर र तन्नेरी यी बस्तीमा देखिँदैनन् । १३/१४ वर्षको भएपछि कामका लागि भारतको पञ्जाब, हरियाणा जाने दलित बस्तीको आम प्रचलनले किशोर र तन्नेरी नदेखिएका हुन् । ‘बस्तीमा हाम्रा भाइ–भतिजा, छोरा छैनन् हजुर’, जिल्लाको भङ्गाहानगरपालिका–४ पलारको बतराही बस्तीको माझमा बालिएको ‘घुर’ छेउमा बसेका पाका उमेरका चौठी बाँतरले लामो खोकीबीच नै भने, ‘उनीहरु त पञ्जाब गएछन् ।’ किशोर र तन्नेरी पञ्जाब नगए मुखमा माड नलाग्ने चौठीको थप भनाइ थियो । 

महोत्तरी सहितका पूर्वी मध्यतराईमा वर्षेनी हिउँदमा शीतलहरको कहर हुने गरेको छ । यद्यपि यता अहिले नै शीतलहर भने आएको छैन, तर चिसो भने निकै बढेको यस्तो बेला न्यानो कपडा लगाउनुपर्ने, घर बाहिर ननिस्कने र पोषिलो र ताजा खानेकुरा खानुपर्ने स्वास्थ्यकर्मी बताउँछन् । चरम गरिबी र अशिक्षाले आक्रान्त मुसहर, चमार, बाँतर, दुसाध, डोम, मेस्तर र खत्बे जातिको बस्तीमा उक्त सन्देश अझै आएको देखिँदैन । 

‘न्यानो लुगा लगाउने, जाडोमा घरबाहिर ननिस्कने, पोषिलो र ताजा खानेकुरा खानुपर्छ भन्ने नसुनेको होइन हजुर’, जिल्लाको औरही नगरपालिकाको टिम्कियास्थित दलित मुसहर बस्तीकी शनिचरी सादाले प्रश्न गर्दै भने, ‘सबै कुरा पैसाले नै गर्ने रे छ, अब जाडोमा बाहिर ननिस्कने भनेर घर बसे लालाबालाको मुखमा माड कसरी लाग्ला ?’ पछिल्ला तीन दिनयता चिसो बढेर बनिबुतो गर्न जान नसक्दा जाउलो खाने सर्दाम घरमा रित्तिएको शनिचरीको भनाइ थियो । 

चिसो सिरेटोबाट बच्न यहाँका बस्तीमा सल्काइएका ‘घुर’ ताप्दा श्वास प्रश्वासका बिरामी झन थपिएका छन् । ‘चिसोमा त्यसै पनि ससानाबालबालिका, महिला र बुढापाकालाई निमोनियाले गाँज्ने गर्छ’, जिल्ला अस्पताल जलेश्वरका मेडिकल सुपरिटेण्डेण्ट डा राजिब झा भन्छन्, ‘धुवाँ रुमलिएको घुर ताप्दा विषाक्त धुवाँले श्वासप्रश्वासको समस्या झनै बढाउँछ ।’ 

राम्ररी नसुकेको पतिङ्गर बाल्दा त्यसबाट निस्केको धुवाँले यस्ता बिरामी अझ बढेको स्वास्थ्यकर्मीको निष्कर्ष छ । खासगरी दलित बस्तीका बुढापाका, सुत्केरी महिला र स–साना बालबालिका रुघाखोकी, हाडजोर्नी दुख्ने र श्वासप्रश्वासका बिरामी बढेको डा झाले बताए । मङ्सिर मध्यदेखि छिप्पिँदै गएको चिसो झन्झन् बढ्दो क्रममा छ । पश्चिमी वायुको प्रभावले लगातार बगिरहेको चिसो सिरेटोले गर्दा बनिबुतो गरेर जीवन चलाउने गरीब श्रमिक सकसमा परेका छन् ।  

चिसो बढेसँगै खानपान, आहार व्यहारमा राम्रो ख्याल राख्न स्वास्थ्यकर्मीले सुझाएका छन् । घर वरपर सरसफाइ, खानामा सागपात र गेडागुडीको झोल र तातो पानीको प्रयोग र चिसो बढी हुने साँझ बिहान बाहिर ननिस्कँदा मात्र पनि चिसोबाट हुने समस्याबाट बच्न सकिने बर्दिवास अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा विधानचन्द्र झा बताउँछन् । 
    
वर्षेनी हिउँदमा भोग्दै आइएको यो समस्यामा पूर्वसजगताको कमी भएको यहाँका बुद्धिजीवी बताउँछन् । चिसोले बढी प्रभावित देखिएका गरीब र दलित बस्तीमा चिसो पतिङ्गरको ‘घुर’ विस्थापित गर्न राम्रो सुकेको दाउरा वितरणको चाँजो मिलाउन, स्वास्थ्यकर्मी टोली परिचालित गर्न र पोषिलो खानेकुराको जोहो गर्न स्थानीय तह (नगरपालिका र गाउँपालिका) ले पहलकदमी लिनुपर्ने बुद्धिजीवीले सल्लाह दिएका छन् ।
 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.