केन्द्रीय संस्करण
टिप्पणी

‘धन्य, बुबा र दाजु मरेकाले यो दिन देख्नु परेन’

काँग्रेस ‘कुरूक्षेत्रका योद्धा’ शशांक, प्रकाशमान र विमलेन्द्र निधिहरु चाहिँ के भन्लान् कुन्नि ?

person explore access_timeपुस १८, २०७६ chat_bubble_outline1

सभापति शेरबहादुर देउवा र ‘वरिष्ठ’ नेता रामचन्द्र पौडेलले आफ्नो गौरवशाली पार्टी नेपाली काँग्रेसलाई सशक्त बनाउँदै लैजानु भएको छ ! तस्बिरले ज्यादा वर्णन गरोस्–

काँग्रेसभित्रको किचलोले लोकतान्त्रिक शक्तिको मात्र हैन, लोकतन्त्रकै साखमा समेत बाह्र बज्न लागेका बेला मेरा मित्र विष्णु निष्ठुरीले पुस १२ गते दिउँसो १२ बजेर १२ मिनेट हुनै लाग्दा फेसबुकमा पोस्ट गरेको स्टाटस र तस्बिर हो यो ।

हजार शब्दले वर्णन गर्न नसकिने कुरा एउटा तस्बिरले बताउँछ भनिन्छ । कवि पृष्ठभूमिका लोकतान्त्रिक योद्धा निष्ठुरीको स्टाटससहितको यो तस्बिर त्यही स्तरको तर बिम्बात्मक छ ।

झन्डै ‘दुई तिहाइ’ शक्तिसाथ सत्तामा पुगेको चिपरिचित प्रतिद्वन्द्वीले झम्टिसकेको छ, प्रतिपक्षमा खुम्चिएको काँग्रेसका नेताहरु भने आपसमै सिँगौरी खेलिरहेका छन् !

भाइ फुटे, गवाँर लुटे भन्ने उखान सम्झाउँछ दृश्यावलीले ।  

मन, वचन र कर्मले नै लोकतन्त्रवादी निष्ठुरी नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष हुन् । राजा ज्ञानेन्द्रको निरङ्कुश शासन हटाएर मुलुकमा लोकतन्त्रको उज्यालो ल्याउने बेला (२०६२–२०६५) मा उनले महासङ्घलाई कुशलतापूर्वक नेतृत्व गरेका थिए ।

लोकतान्त्रिक व्यवस्थामा पूर्ण बहुमतको जनउत्तरदायी सरकार र सरकारका गतिविधिमाथि निरन्तर खबरदारी गर्ने सशक्त प्रतिपक्ष हुनु स्वस्थकर मानिन्छ । अहिले पूर्ण बहुमतको सरकार त छ, अन्तरपार्टी कलहमा ‘घाचर घोचर’ भएको प्रतिपक्षले लोकतान्त्रिक मूल्यमान्यता अनुरूपको भूमिका खेल्न नसक्दा त्यो जनउत्तरदायी हैन, दम्भी देखिन थालेको छ ।

यस्तो परिप्रेक्षमा सार्वजनिक निष्ठुरीको चिन्तापूर्ण स्टाटसले मलाई पनि काँग्रेसका बारेमा घोत्लिन उक्साएको थियो ।

तर चार दिनपछि काँग्रेसले दशकौँदेखि ‘राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’ मनाउँदै आएको पुस १६ गते आउँदै थियो । बीपी कोइराला निर्दलीय पञ्चायती व्यवस्थाको अत्यन्तै अनुदार कालखण्डमा, ज्यान हत्केलामा राख्दै राष्ट्रवादी शक्ति र प्रजातन्त्रवादी शक्ति मिल्नुपर्ने नारासाथ २०३३ साल पुस १६ गते भारत प्रवासबाट स्वदेश फर्किएका थिए । सोचेँ, यो ऐतिहासिक दिवसमा कतै काँग्रेस नेताहरुमा अन्तरपार्टी कलह सुल्झाएर पार्टीको उज्ज्वल भविष्य सुनिश्चित र लोकतन्त्रको रखबारी गर्ने सद्बुद्धि आइहाल्छ कि !

पश्चिमी वायुले कठ्याङ्ग्रिएको यो मध्य पुसमा काँग्रेस नेताहरुले झन् तुषारापात पो गराए । अन्तरपार्टी किचलो सुल्झाउने त परको कुरा, सभापति देउवाले बोलाएको पदाधिकारीहरुको बैठक वरिष्ठ नेता पौडेलले बहिष्कार गरे । अनि १७ गते डाकिएको केन्द्रीय कार्यसमितिको बैठकमा पनि नजाने र समानान्तर बैठक बस्ने समाचार पो आयो ।

अनि मलाई लाग्यो, अब काँग्रेस कहलका बारेमा केही न केही त लेख्नै पर्छ ।   

संसदमा होस् कि पार्टीमा सर्वमान्य लोकतान्त्रिक पद्धति भनेको अल्पमतको कदर गर्दै बहुमतले गरेको निर्णय सबैले पालना गर्ने हो । तर, हाम्रो मुलुकमा लोकतन्त्रको पर्याय पार्टी रहदै आएको काँग्रेसमा बहुमतले अल्पमतको कुरै नसुन्ने र अल्पमतले बहुमतको निर्णय नै नमान्ने अचम्मको अड्डीको द्वन्द्व पो चलिरहेको छ !  

आधुनिक नेपालमा भएका तीन ठूला राजनीतिक परिवर्तनको नेतृत्व र त्यसलाई संस्थागत गर्ने श्रेयसमेत सँगालेको छ काँग्रेसले । बिडम्बना चाहिँ के भने, तीनवटा आमनिर्वाचनमा बहुमत प्राप्त गरे पनि प्रत्येकपल्ट उसले निर्धारित कार्यकाल सरकार चलाउन पाएन, सकेन । 

राणा शासन फाल्ने २००७ सालको क्रान्ति होस् कि राजाको सक्रिय नेतृत्वको निर्दलीय पञ्चायत फाल्ने २०४६ सालको जनान्दोलन वा गणतन्त्र नेपालको ढोका खोल्ने २०६२/६३ को जनान्दोलन किन नहोस्, सबैको नेतृत्व काँग्रेसले ग¥यो । ती राजनीतिक परिवर्तन संस्थागत गर्ने सफलता पनि काँग्रेसलाई नै प्राप्त भएको छ ।

२००७ सालको परिवर्तन अनेक सरकार बन्दा पनि संस्थागत हुन सकेको थिएन, २०१५ सालमा काँग्रेस नेता सुवर्ण शमशेर राणाको नेतृत्वमा गठित अन्तरिम सरकारले मुलुकमै पहिलो आमनिर्वाचन गराएर त्यो अभिभारा सम्पन्न ग-यो ।

त्यस्तै, २०६२/६३ को जनआन्दोलन पश्चात काँग्रेस अध्यक्ष एवम् प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले सशस्त्र विद्रोही माओवादीलाई शान्ति प्रक्रियामा ल्याउनुभयो । तर, २०६४ को संविधानसभा निर्वाचनले काँग्रेसलाई सत्ताच्युत गरायो । पहिलो संविधानसभा संविधान बनाउन अक्षम भयो भने झन्डै एकदशकका बीच बनेका अनेकौँ सरकार पनि सङ्क्रमणकाल अन्त्य गर्न असफल रहे । अन्ततः काँग्रेस सभापति सुशील कोइराला नेतृत्वको सरकारले २०७२ असोजमा संविधान जारी गराएर लोकतान्त्रिक गणतन्त्र संस्थागत गराउन सफलता पायो ।

यसअघि २०४६ सालको परिवर्तनपछि काँग्रेसका कार्यवाहक अध्यक्ष कृष्णप्रसाद भट्टराई नेतृत्वमा बनेको अन्तरिम सरकारले एक वर्षमै संविधान बनाई जननिर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गरेको गौरव पनि काँग्रेसकै खातामा सुरक्षित थियो ।

परिवर्तनको नेतृत्व कुशलतापूर्वक गर्न सक्ने, परिवर्तनलाई संस्थागत गराउन पनि सफल हुने काँग्रेस आखिर किन पूर्ण बहुमत हुँदा पनि जनादेश अनुरूप पाँच वर्ष सरकार चलाउन सक्दैन ?

कारण केवल अन्तरपार्टी लोकतान्त्रिक मूल्यमान्यता पालना नगर्ने काँग्रेस पार्टी प्रवृत्ति र नेताहरुमा जाग्ने सत्ताको चरम भोक हो ।

***

संसदमा होस् कि पार्टीमा सर्वमान्य लोकतान्त्रिक पद्धति भनेको अल्पमतको कदर गर्दै बहुमतले गरेको निर्णय सबैले पालना गर्ने हो । तर, हाम्रो मुलुकमा लोकतन्त्रको पर्याय पार्टी रहँदै आएको काँग्रेसमा बहुमतले अल्पमतको कुरै नसुन्ने र अल्पमतले बहुमतको निर्णय नै नमान्ने अचम्मको अड्डीको द्वन्द्व विगतदेखि वर्तमानसम्मै चलिरहेको छ ।   

***

कुन्नी कसलाई हो, पोल्टामा खट्टे हुँदासम्म निद्रा पर्दैन भनिन्थ्यो, त्यस्तै रहँदै आएको छ काँग्रेसको चाला पनि । सत्तामा पुग्नासाथ काँग्रेसका नेता–कार्यकर्तामा विनाश निम्त्याउने ‘विपरीत बुद्धि’ पलाएको पाइन्छ ।

राजा महेन्द्रलाई सैन्यबलमा २०१७ साल पुस १ गतेको हर्कत गराउने, आफ्नै पार्टीको सरकार अपदस्थ र जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालासहितका नेताहरुलाई जेल हाल्न उक्साउने अरू कोही हैन, काँग्रेसकै नेताहरु थिए– डा. तुलसी गिरी, विश्वबन्धु थापाहरु ।

उसो त राजा महेन्द्रले ‘कु’ गर्दैछन् भन्ने चर्चा महिनौँदेखि चल्दा पनि त्यसलाई असफल पार्न काँग्रेसकै धरोहर नेता बीपी कोइराला असफल भएका होइनन् ?

२०४८ सालको आमनिर्वाचनमा सुविधाजनक बहुमत ल्याएको काँग्रेसले किन तीन वर्षमै मध्यावधि निर्वाचनमा होमियो ? कसैले छत्तीसेलाई दोषी ठान्लान्, कसैले चौहत्तरेलाई । कसैकसैले तत्कालीन प्रमुख प्रतिपक्षी नेकपा एमालेलाई पनि दोषारोपण गर्छन् । पक्कै पनि, त्यतिखेरको एमाले उदण्ड थियो, संसदीय प्रजातान्त्रिक पद्धतिमा अभ्यस्त थिएन । सरकार गठन भएको सय दिन पनि नहुँदै एमालेले बितण्डापूर्ण आन्दोलन गरेकै हो । तर, सरकार नै ढाल्ने हैसियतमा थिएन एमाले । त्यसैले छत्तीसे वा चौहत्तरे, भट्टराई वा कोइराला जो भए पनि त्यो घटनाको दोषी त आखिर काँग्रेस नै हो ।

पार्टी एउटै भए पनि छत्तीसे र चौहत्तरेमा बाँडिएको काँग्रेसले मध्यावधि निर्वाचनमा बहुमत गुमायो, प्रमुख प्रतिपक्षी नेकपा एमाले सबैभन्दा ठूलो दल बन्यो । मनमोहन अधिकारीको नेतृत्वमा एमालेले अल्पमतको सरकार बनायो, जुन नौ महिनाभन्दा टिकेन ।

त्रिशंकु संसदबाट त्यसपछि बनेका थरिथरिका मिलिजुली सरकारहरुका पालामा भएका अनेक कर्तुतले संसदीय व्यवस्थाकै बदनाम गरायो । त्यतिबेला सरकार टिकाउन वा गिराउनकै लागि भेडाबाख्रा सरह सांसदहरुको खरिद बिक्री भएनन् कि ? जम्बो मन्त्रिपरिषद् बनाइएन् कि ? सांसदहरूलाई प्राडो पजेरो वितरण गरिएन कि ? के मात्र भएन त्यतिबेला ? चरम राजनीतिक अस्थिरता भएको त्यहीबेला, २०५२ फागुन १ गतेदेखि भूमिगत नेकपा माओवादीले सशस्त्र विद्रोह थाल्यो ।  

०५०/०५५ सालमा बाउन्न घुस्सा त्रिपन्न थप्पड खाएपछि काँग्रेस चेतेको देखियो । काँग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले पार्टीमा सम्पूर्ण एकताका लागि महत्त्वपूर्ण कदम चाले, भावी प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई हुने घोषणा गरेर । परिणामस्वरूप २०५६ सालको आमनिर्वाचनमा काँग्रेसले पूर्ण बहुमत पायो, भट्टराई प्रधानमन्त्री पनि बनाइए ।

नानीदेखि लागेको बानी भनेझैँ, एक वर्ष नबित्दै काँग्रेसमा फेरि कचिङ्गल सुरु भयो । भट्टराईलाई १० महिनामै सत्ताच्युत गराएर सभापति कोइराला आफै प्रधानमन्त्री बने ।

कोइरालाको त्यो कार्यकाल झनै दुःखद् रह्यो । २०५८ जेठ १९ गते राजदरबारमा आम हत्याकाण्ड भयो । राजा वीरेन्द्रको वंश विनाश भएको त्यो हत्याकाण्डपश्चात अधिराजकुमार ज्ञानेन्द्र राजा भए । आफैले श्रीपेच पहि¥याइ दिएको राजासँग पचास दिन पनि पट्खाएन प्रधानमन्त्री कोइरालाको ।

साउनको पहिलो साता कोइराला राजीनामा गर्न बाध्य भएपछि शेरबहादुर देउवा प्रधानमन्त्री बने । तर, राजा ज्ञानेन्द्रको जालमा फस्न पुगे देउवा । दस महिना नबित्दै उनले पार्टी निर्णय लत्याएर प्रतिनिधिसभा विघटन गरी मध्यावधि निर्वाचन घोषणा गराए । पछि पार्टी नै फुटाए र अन्ततः मध्यावधि निर्वाचन गराउन असमर्थता जनाएर राजा ज्ञानेन्द्रलाई सक्रिय हुने ढोका खोलिदिए ।

समग्रतामा भन्दा, फेरि एकपल्ट काँग्रेसको अन्तरपार्टी किचलोको मूल्य राष्ट्रले चुक्ता गर्नु प-यो ।

त्यसयताका राजनीतिक उपक्रम हुन्– २०६२/६३ को जनआन्दोलन, प्रतिनिधिसभा पुनस्र्थापना, सशस्त्र विद्रोही माओवादीसँग शान्ति सम्झौता, संविधानसभा निर्वाचन, राजतन्त्रको अन्त्य र गणतन्त्र नेपाल स्थापना तथा नेपालको संविधान निर्माण ।

र, रोचक कुरा यी सबै काम काँग्रेसको नेतृत्वमा सम्पन्न भएका हुन् । 

हामी नेपालीको सौभाग्य, लोकतन्त्रका लागि निरन्तर लड्ने नेपाली काँग्रेसजस्तो जुझारु पार्टी पाइएको छ । अनि काँग्रेसकै कुबुद्धिका कारण पटक पटक लोकतन्त्रमा ग्रहण व्यहोर्नु हामी नेपालीको नियति बनेको छ ! थाहा छैन, यो उज्यालो र अध्याँरोको चक्र कहिलेसम्म घुमिरहने हो ?

परम्परा के थियो भने काँग्रेसजन पार्टीलाई सत्तामा हुँदा ‘कुरूक्षेत्र’ बनाउँथे, प्रतिपक्षमा पुग्दा ‘इन्द्रप्रस्थ’ बनाउन जुट्थे । तर, अहिले काँग्रेसका नेता–कार्यकर्ता सत्तामा नहुँदा पनि पार्टीलाई ‘कुरुक्षेत्र’ बनाउन ‘कटिबद्ध’ छन् । सभापति शेरबहादुर देउवा र ‘वरिष्ठ’ नेता रामचन्द्र पौडेल स्वयं र तिनका पिछलग्गुहरु एक अर्काे पक्षलाई ‘देखाइदिने’ दाउमा छन् ।

कस्तो होला त देउवा वा पौडेल पक्षले एक अर्कालाई देखाइ दिँदा देखिने दृश्य ?

***

योगेन्द्र विजय दाहाल

भविष्यको घटना अहिल्यै देखिने कुरा भएन, एउटा पुरानो दृश्य :

नयाँ बानेश्वरको फराकिलो सडकमा काँग्रेसका नेता कार्यकर्ताहरु एक आपसमा खेदाखेद र ढुङ्गा हानाहान गरिरहेका थिए । कोही घाइते हुँदा पनि अर्काे पक्षलाई आक्रमण गर्न उद्दत थिए भने कोही अभद्र नारा चिच्याइरहेका थिए ।

नजिकै, राजेन्द्र खरेलको घरमा रहेको पार्टी कार्यालय भने सुनसान थियो ।

यो २०५० सालको अन्त्यतिरको कुरा हो । काँग्रेसका नेतात्रय– गणेशमान सिंह सर्वाेच्च नेता थिए, कृष्णप्रसाद भट्टराई पार्टी सभापति र गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री थिए ।

भएको के थियो भने, एक वर्षभित्रै संविधान बनाएर आमनिर्वाचन गराउने अन्तरिम सरकारका प्रधानमन्त्री भट्टराई काठमाडौँ– १ मा नेकपा एमालेका महासचिव मदनकुमार भण्डारीसँग पराजित भएकाले कोइराला प्रधानमन्त्री बने । सरकार गठन भएको ६ महिना बित्दा नबित्दै कोइरालाले ६ जना बरिष्ठ मन्त्री हटाइ दिए ।

काँग्रेसमा त्यो घाउ बल्झिरहेकै बेला २०५० जेठ ३ गते चितवनको दासढुङ्गामा भएको जिप दुर्घटनामा मदन मारिए । त्यसैले २०५० माघको अन्त्यमा काठमाडौँ–१ मा उपनिर्वाचन हुने भयो । त्यो निर्वाचनमा पनि भट्टराई हारे, मदनकी पत्नी विद्यादेवी भण्डारीसँग । काँग्रेस पार्टीभित्रको ठूलो पङ्क्ति त्यो हार स्वीकार्न तयार भएन । भट्टराईले चुनाव हारेको हैन, प्रधानमन्त्री कोइराला पक्षधरहरुले अन्तर्घात गरेर उनलाई हराइयो भन्ने निचोड निकाल्यो ।

काँग्रेसले शीतल ताप्ने साझा रुख ‘फागुनमा आएको बाढी’ले बगाइदिएकाले काँग्रेसका नेता–कार्यकर्ताहरु चैते घाममा असिनपसिन हुँदै आपसमै भिडिरहेका थिए ।

काँग्रेसकै केही नेता कार्यकर्ता र शुभचिन्तक भने किनारा लागेर खिन्नातापूर्वक त्यो कुरूप दृश्य नियालिरहेका थिए । त्यसैमध्येका एक थिए– सङ्खुवासभा जिल्ला, मादी राम्बेनीका योगेन्द्र विजय दाहाल ।   

त्यसको उत्कर्षमा असारको अन्त्यतिर कोइराला सरकार ढल्यो ।

अढाई दशक बितिसक्यो, काँग्रेसले नयाँ बानेश्वरलाई ‘कुरूक्षेत्र’ बनाएको । तर त्यो कुरूप दृश्य नियालिरहेका योगेन्द्र विजय दाहालको खिन्न अनुहार मेरो आँखामै छ आज पनि । उनले खुइय गर्दै भनेका शब्दहरु मेरा कानमा गुन्जिरहेका छन्, ‘धन्य, मेरा बुबा र दाजुले यो दिन देख्नु परेन !’

****

सुनिल दाहाल र पूर्वसांसद लीलानाथ दाहाल

मेरो जीवन यात्रामा आएका एक महत्त्वपूर्ण पात्रको नाम हो सुनिल दाहाल ।

आठ वर्ष कारागार र आठै वर्ष भारत प्रवासमा बिताएका बीपी र गणेशमान ‘राष्ट्रिय एकता र मेलमिलाप नीति’ लिएर स्वदेश फर्केकै सेरोफेरोमा परिचय भएको हो सुनिल दाहालसँग, स्याङ्जाका डिल्लीरमण ढकालमार्फत ।

रमण दाइ र सुनिल दाहाल समवयी अनि एउटै विचारमा आबद्ध घनिष्ट साथीसमेत । त्यसैले सुनिल दाहाललाई मैले पहिलो भेटदेखि नै ‘सुनिल दाजु’ भनेँ ।

सुनिल दाजुसँग परिचय नभएको हुँदो हो त, मैले हिँडेको जीवन बाटो अर्कै पनि हुनसक्थ्यो । निर्दलीय पञ्चायती परिवेशमा हुर्केको मलाई स्वतन्त्रताको महत्ता बुझाउँदै नेवि सङ्घको सदस्य बनाएर प्रजातान्त्रिक आन्दोलनमा दाउने व्यक्ति सुनिल दाजु नै हो ।

क्याप्टेन यज्ञबहादुर थापा र भीमनारायण श्रेष्ठलाई २०३५ साल माघ २६ गते फाँसी दिएको विरोधमा पर्चा छर्दा होस् कि बिपिन प्रसाईंको ढल्कुस्थित डेरामा भेला भएर २०३५/३६ को विद्यार्थी आन्दोलनको रूपरेखा कोर्दा, कुशल सङ्गठक सुनिल दाजुकै पछाडि पछाडि हुन्थेँ म ।

सुनिल दाजु नै हो, चाबहिलमा भाइको घरमा बसेका बीपी कोइराला र बखुन्डोलमा भान्जाको घरमा आश्रय लिएका कृष्णप्रसाद भट्टराईसँग मलाई पहिलो पटक र पटक पटक भेटाइदिने पनि । (किशुनजीकै आग्रहमा हामीले कति पटक त्यौडबाट तमाखु किनेरसमेत लागि दिएका थियौँ !)

सङ्घर्षका मोर्चामा सधैँ अघिल्लो पङ्क्तिमा रहने सुनिल दाजुका लागि प्रहरी हिरासत र जेल पानी पँधेरो सरह थियो । सुनिल दाजुको अनुहार हिस्सी परेको सुकोमल देखिएर के गर्नु ? दुब्लो पातलो ज्यानैभरि प्रहरी यातनाका डरलाग्दा निशाना थिए । त्यो देख्दा बिना भाउजू र हामीलाई बरु पीडाबोध हुन्थ्यो, प्रजातन्त्रका तपश्वी सुनिल दाजु स्वयंलाई भने त्यसको कुनै पर्वाह थिएन ।

यो छुट्टै कुरा हो,

नीर शाहको रचना र शम्भुजित बाँस्कोटाको सङ्गीतमा प्रकाश श्रेष्ठले गाएको साह्रै नै सन्देशमूलक गीत छ नि, ‘गहिराइमा डुब्दै नडुब, डुबिसकेका छौ भने मोती नटिपी नफर्क’ भन्ने । मैले पनि त्यस्तै निर्णय गरेँ ।

सुनिल दाजुले मलाई स्वतन्त्रताको समुद्रमा हेलिसक्नु भएकै थियो, ‘न सङ्घर्ष, न समर्पण’बाट ‘मोती टिप्न’ सकिन्न भन्ने लाग्यो मलाई । त्यसैले चालीसको दशकको सुरुमा रामराजाप्रसाद सिंहको ‘प्रखर प्रजातन्त्र’प्रति आकर्षित भएँ म । त्यसपछि सम्मान यथावत् रहे पनि सुनिल दाजुसँगको सङ्गत पातलियो ।

छोटो आयु रहेछ सुनिल दाजुको, मुलुकमा प्रजातन्त्र पुनःस्थापना हुनुभन्दा अघि नै, २०४४ असारमा ३४ वर्षकै उमेरमा रहस्यमय दुर्घटनामा निधन भयो ।

मैले सम्मान स्वरूप दाजु भन्ने तिनै सुनिल दाहालका एक मात्र सहोदर भाइ हुन्, योगेन्द्र विजय दाहाल ।

र, यो पनि भन्दिहालौँ– योगेन्द्र विजय दाहाल पूर्वसांसद लीलानाथ दाहालका कान्छा छोरा हुन् । काँग्रेस नेता लीलानाथ २०१५ सालको आमनिर्वाचनमा क्षेत्र नं. २२ बाट सूर्यबहादुर थापालाई हराउँदै प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए ।

सम्भ्रान्त परिवारमा जन्मेर पनि लीलानाथले २०११ सालमा सङ्खुवासभामा भएको किसान आन्दोलनको अगुवाइ गरेका थिए । उनी शिक्षाप्रेमी पनि थिए । मादी विद्यालयको संस्थापक सञ्चालक समिति सदस्य त थिए नै, विद्यालय भवन निर्माण गर्न उनले आफ्नो जग्गासमेत निःशुल्क प्रदान गरेका थिए ।

लीलानाथलाई सत्ताको निगरानी स्वीकार्य थियो, जेल स्वीकार्य थियो, निर्वासन स्वीकार्य थियो तर प्रजातान्त्रिक आस्थामा सम्झौता कहिल्यै स्वीकार्य भएन । उनको पनि प्रजातन्त्र पुनःस्थापना हुनुभन्दा सात महिनाअघि नै, पुत्र वियोगको पीडाबीच २०४६ भदौमा ७२ वर्षको उमेरमा इहलीला समाप्त भयो ।

काँग्रेसका नेतात्रय गणेशमान सिंह, गिरीजाप्रसाद कोइराला र कृष्णप्रसाद भट्टराई लीलानाथ दाहालको स्वास्थ्यस्थितिका बारेमा जानकारी लिँदै साथमा दाहालकी श्रीमती पुयण्कुमारी, छोरी सीता, पियुष र बुहारी कान्ता । 

 

लीलानाथले काँग्रेसका प्रतिबद्ध कार्यकर्ता र नैतिकवान नेताको छवि बनाएका थिए ।

अरू त अरू, लीलानाथले नै चुनावमा हराएका र सधैँ सैद्धान्तिक रूपमा विरोधी रहेका सूर्यबहादुर थापाले समेत उनलाई फराकिलो छाती भएको असल मानिस भन्थे ।

***

काँग्रेसको समग्र इतिहासमा लिलानाथ दाहाल असल मान्छे मात्र थिए, ठूला मान्छे हैनन् । न त उनका छोराहरु सुनिल दाहाल ठूला मान्छे भएका थिए, न योगेन्द्र विजय दाहाल नै ठूला मान्छे हुन सकेका छन् ।

बीपी कोइराला मानिस ठूलो हैन, असल हुनुपर्छ भन्थे । तर, बीपी स्वयं भने काँग्रेसका ठूला मान्छे थिए । काँग्रेसका ठूला मान्छेहरुमा सुवर्ण शमशेर राणा थिए, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला पनि थिए, शैलजा आचार्य थिइन् । सूर्यप्रसाद उपाध्याय, महेन्द्र नारायण निधि, सुशील कोइराला आदि पनि ठूला मान्छे नै थिए काँग्रेसमा ।

काँग्रेसमा अहिले ठूला मान्छे शेरबहादुर देउवा छन्, रामचन्द्र पौडेल छन्, कृष्णप्रसाद सिटौला छन् । शशांक कोइराला, प्रकाशमान सिंह र विमलेन्द्र निधिहरु पनि अहिले काँग्रेसमा ठूला मान्छे नै गनिन्छन् । किन पनि भने उनीहरु काँग्रेसको पछिल्लो ‘कुरूक्षेत्रका योद्धा’ हुन् । 

साँच्ची, शशांक कोइराला, प्रकाशमान सिंह र विमलेन्द्र निधिहरु अहिलेको आआफ्ना भूमिकाप्रति साँच्चै सन्तुष्ट होलान् ? कि अब बीपी कोइराला, गणेशमान सिंह र महेन्द्रनारायण निधिले देख्ने हैनन्, हामीले जे गरे पनि हुन्छ भन्ने ठान्छन् !

सम्भ्रान्त परिवारमा जन्मेर र आजन्म जागिर खाएर पनि डेरामा जिन्दगी काटिरहेका योगेन्द्र विजय दाहाल जस्ता इमानदार र पार्टीका असली शुभचिन्तकले मुलुकमा प्रजातन्त्रको उज्यालो आउनुअघि नै प्रजातन्त्रका सेनानी आफ्ना बाबु र दाजु मरेको पनि ठीक भएछ भन्नु पर्ने अवस्था हामीले सिर्जना गर्न हुन्न भन्ने शुद्धि काँग्रेस नेताहरुमा कहिले आउला ?

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

  1. Jan. 3, 2020, 4:51 p.m. Bidur Adhikari
    दाजु जीवेन्द्र तपाईले जसरी यो लेख लेख्नु भयो । काँग्रेस पार्टीको नेतृत्व तहमा रहनु भएका महान व्यक्तित्वहरुले यो लेख पढुन र चाडै मिलन भई एकजुट भएको काँग्रेस जनताले देख्न भेट् पाउँन शुभकामना मेरो पनि भनीदिनु होलो तपाईले भेटेका काँग्रेसी दाजु भाई दिदी बहिनीहरु सवैलाई लाई । उही काँग्रेसको निसन्देह भोटर बिदुर प्रसाद शर्मा अधिकरी ।
  2.  0 Reply

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
Loading comments...