केन्द्रीय संस्करण

कविता : झगडा

person explore access_timeपुस १९, २०७६ chat_bubble_outline0

–राकेश कार्की
        
झगडा कुनै खेल होइन
एउटाले जित्ने अर्कोले हार्ने
न त कुनै समयको पावन्दी नै हुन्छ
समय सकिएपछि सकिने
त्यहाँ कुनै रेफ्री पनि हुँदैन
फाउल गर्नेलाई पहेँलो र रातो कार्ड देखाउने
अथवा झगडाको मैदानदेखि निकालिदिने
न त त्यहाँ लाइन्स म्यानहरू नै हुन्छन्
बिग्रेका छुद्र बोलीले सीमा नाघे
खबरदारी गर्ने
मिली पो हाल्छ कि भनी थ्रो र पेनाल्टी दिने

एक्लै कहिले झगडा हुँदैन
झगडा हुनलाई दुई वा दुईभन्दा बेसी हुनैपर्छ
फ्रिवेको कारपुल लेन जस्तो
आआफ्नो बेट समूहको
बक्सिङको रिङ जस्तो
अथवा कुस्ती, जुडो, कराँतेको सङ्ग्राम जस्तो
झगडा त 
नराम्रो वचनदेखि चिच्याहटसम्मको
चोटपटकदेखि मृत्युसम्मको
अनि सुर्ताको आँसुदेखि डिभोर्ससम्मको
एउटा सानो यथार्थ हो
एउटा विशाल हकिकत हो

यसले आफूलाई, घरपरिवारलाई, छरछिमेकलाई
सम्पर्कमा आउने सबै भालाद्मी मानिसलाई
तीतो अनुभूति दिलाउँछ
सधैँभरिका लागि नबिर्साउने गरी

झगडा त ठूलो वैरी हो
बिगार्ने, तोड्ने, छुट्याउने
तहस नहस ध्वस्त पार्ने
माया प्रितीलाई
नाता, सम्बन्ध र दुई प्राणको बन्धनलाई

त्यसैले त झगडा
भरसक नगरेकै राम्रो
मुखमुखै जबाफ नफर्काएकै राम्रो
सन्त ज्ञानीले जस्तै 
एउटा गालामा हाने अर्को गाला थापेकै राम्रो
एकचोटिको जिन्दगीमा
सुर्ता गरेर आँसु नझारेकै राम्रो ।।

लस एन्जेलस

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
Loading comments...