केन्द्रीय संस्करण
शनिवार विशेष

नगरकोटी यस्तै त हो नि ब्रो !

person explore access_timeपुस १९, २०७६ chat_bubble_outline1
कृष्ण आचार्य

रातोपाटी

कुमार नगरकोटी जसरी असामान्य छन् त्यसरी नै साहित्यिक कृतिमा उनका पात्रहरु पनि असमान्य हुन्छन् । उनको साहित्य समाजभन्दा बढी व्यक्तित्वमा केन्द्रीत हुन्छ । उनले उब्जाएका पात्रमा उनी आफै बगिरहेका हुन्छन् । अर्थात, कहिले उनी आफै पात्र बन्छन् त कहिले आफैजस्तो पात्र निर्माण गर्छन् ।

नगरकोटीले निर्माण गरेका पात्र सामाजिक पात्र होइनन् । किनकि ती पात्र समाजमा भेटिदैँनन् । ती पात्रको भेषभूषा, वस्त्र, खवाई र सिङ्गो जीवनशैली नै फरक हुन्छ । त्यसैले मानिसहरुलाई नगरकोटीका पात्र असाधारण लाग्नु स्वाभाविक हो ।

आफ्ना पात्रबारे नगरकोटी भन्छन्, ‘अरुलाई ठिक नलाग्ने । अरुले कहिल्यै नदेखेका र अरुलाई स्वीकार गर्न गाह्रो पर्ने पात्रहरु नै मेरा पात्र हुन् । पाठकलाई उसको कल्पनाभन्दा बाहिरको संसारमा घुमाउनु नै मेरो लक्ष्य हो । यस कुरामा म सफल र सन्तुष्ट दुवै छु ।’

मन र मस्तिष्कको फ्युजनबाट नगरकोटीको लेखाई आरम्भ हुछ । कहिलेकाहिँ मन र मस्तिष्क मिलेर गतिलो सहकार्य पनि गर्छन् । उनलाई लाग्छ, मनले कविता लेख्छ भने मस्तिष्कले निबन्ध । उनको लेखाईमा कविता र निबन्धभन्दा फरक विशेषता भेटिन्छ ।

अर्थात, मन र मस्तिष्कको संयोजन र मेलमात्र होइन त्यहाँ द्धन्द्ध पनि हुन्छ । त्यसपछि जे चीज नगरकोटी तयार पार्छन् त्यो पढ्नु मानिसको मस्तिष्कका लागि हानिकारक भइदिन्छ ।

अर्थात, नगरकोटीका रचनाले मानिसलाई फरक संसारमा लैजान्छन् । यदि पाठक त्यहाँ जान नचाहने हो भने उसलाई कठिन हुनसक्छ । आफूले बाँचिरहेको संसारभन्दा फरक संसारमा जान कसलाई पो सहज होला र ।

‘त्यसैले मेरा पुस्तक पढ्दा यो संसार छाडेर मैले बनाएको अर्को संसारमा जान पनि तयार हुनुपर्छ, नत्र उसलाई गाह्रो हुन्छ । उसको स्वास्थ्यमा असर पर्न सक्छ’ उनी हाँस्छन् ।

०००

नगरकोटीको अवतार कुनै साधु–सन्तको जस्तो हुन्छ । चोक, गल्ली होस् या बजार । उनलाई देखेर धेरै मानिस झुक्किन्छन् । कतिपय त आशिर्वाद थाप्न उनीसामू शिर निहुराउँछन् । नगरकोटी पनि त्यस्तालाई बिना हिचकिचाहट ‘जउ शम्भो’ भनिदिन्छन् ।

एकपटक उनी पाटनको कुमारी गल्लीमा हिँडिरहेका थिए । एउटा मानिस उनलाई बाबा सम्झिएर नमस्कार गर्दै आयो । उनले हात उठाएर आशिर्वाद दिए । तर, ती मानिसले टाउको छोएरै आशिर्वाद दिन लगाए । नगरकोटीले त्यसै गरे ।

ती मानिसले उनीसँग आफ्नो पारिवारीक समस्या राखे । नगरकोटीले ‘सबै भलो होस्’ भन्दै फेरि उनको शिरमा हात राखे । उसले गोजीमा हात हाल्यो । प्रसन्न मुद्रामा पाँच रुपैयाँको नोट झिकेर दक्षिणा चढायो । जुन नोट नगरकोटीले घरमा सजाएर राखेका छन् ।

उनको जीवनमा यस्ता घटना थुप्रै छन् । एकपटक नगरकोटी पाटनको एक गल्लीमा साथीसँग बसिरहेको थिएँ । एक महिला आइन् । साथीसँग विस्तारै आफ्नो श्रीमान् हराएकाले पत्ता लगाउन बाबाको सहयोगका लागि भनिदिन आग्रह गरिन् । नगरकोटीले उनीहरुबीचको सबै संवाद सुनिरहेका थिए । महिलाको नजिक गए र उनको श्रीमान्को नाम भनिदिए । महिला चकित परिन् ।

‘मैले साथीसँग भनेको सुनेर उनको श्रीमान्को नाम भनिदिएँको थिएँ’ नगरकोटी त्यो पल सम्झन्छन्, ‘तर ती महिला त मलाई ठूलै बाबा सम्झेर जयजयकार गर्न थालिन् ।’ नगरकोटीले एकछिन आँखा चिम्लिए र एक हप्ताभित्र श्रीमान् भेटिने कुरा ती महिलालाई सुनाए । साथै, आफूले घरमा गएर पाठ गरिदिनेसमेत बताए ।

धेरैपछि नगरकोटीको ती साथीसँग भेट भयो । उनले हाँस्दै ती महिलाको श्रीमान् भेटिएको र उनले नगरकोटीलाई भेट्न खोजेको कुरा सुनाएँ ।

नगरकोटीको जीवनमा घटेका यस्ता घटनालाई समेट्ने हो भने सिंगो किताब नै बन्छ । कति छन् कति । यसरी मानिसहरु बाबा भनेर उनीसँग आशिर्वाद माग्न आउँदा उनी आफू बाबा नभएको बताउँदैनन् ।

भन्छन्, ‘म खुसी साथ आनन्दपूर्वक बाँच्न चाहन्छु । मसँग कुनै कुराप्रति पनि नकार छैन । कसैले यो खत्तम हो, खराब मानिस हो भन्छ भने पनि म त्यसलाई स्वीकार्छु । मानिसले आफ्नो दृष्टिकोणबाट मलाई कसरी हेर्छन् भन्ने उनीहरुको व्यक्तिगत कुरा हो । म के हुँ र के होइन भन्ने मलाई थाहा छ, किन अरुसँग विवाद गर्दै हिँड्नुपर्यो ।’

०००

नगरकोटी मध्यरातमा काठमाडौँका गल्ली चाहर्छन् । रातको १२ बजोस् या १, उनलाई कुनै मतलब छैन । उनी बेसुर, बेताल र बेपर्बाह हिँड्छन् । काठमाडौँको रात्रीकालिन परिवेश नियाल्छन् । ठेलामा या सडक–पेटीमा बेच्न राखिएका चीज खाएर ती मानिसहरुसँग साक्षात्कार गर्छन् ।

अर्थात, नगरकोटीसँग जीवनको कुनै मापदण्ड नै छैन । कतिपय मानिसहरु उनलाई अनैतिक पनि भन्छन् । नगरकोटीलाई लाग्छ, नैतिकताको पनि कुनै मापदण्ड छैन । केही स्त्रीहरुसँगको सम्बन्धलाई उनी अनैतिकताको कडीमा बाँध्न चाहन्नन् ।

त्यसोभए मानिसहरु उनलाई किन अनैतिक भन्छन् त ?

नगरकोटी सुनाउँछन्ः मैले कानुन मिचेर केही गरेको छैन । आफूले गरेका कुरामा म इन्जोय गरिरहेको छु । यस्तो अवस्थामा मैले गरेका कामलाई लिएर कसैले मलाई तँ पापी होस् भन्छ भने हो म पापी नै हुँ । म जे हो त्यहि लेख्छु र त्यस कुरालाई लिएर कसैले मप्रतिको धारणा बनाउँछ भने केही छैन बनाओस् ।

उनले जीवनमा इन्योज गर्ने कुरा अरु पनि थुप्रै छन् । त्यसमध्ये एक हो, मसानघाट । उनले कैयौँ रात एक्लै मसानघाटमा बिताएका छन् । बिना डर, बिना त्रास र बिना सङ्कोच । कुनै समय नगरकोटी दिनबिराएर घाट पुग्थे । त्यहीँ रात बिताउँथे र बिहानीपख घर फर्कन्थे ।

उनको घाट प्रेमलाई कतिले पागलपन पनि भने । तर, नगरकोटीलाई यस्ता कुरामा कुनै मतलब छैन । कसले के भन्छ, र कुन बाटो हिँड भन्छ त्यही गर्ने मध्येमा पर्दैनन् उनी ।

भन्छन्, ‘म घाटमा इन्जोय गर्छु । म त्यहाँ गएर के गर्छु या गर्दिन भन्ने कुरा महत्वपूर्ण होइन । सबैभन्दा महत्वपूर्ण कुरा त यो हो कि म जब घाटमा हुन्छु म त्यहाँ छु भन्ने कुरामै रमाइरहेको हुन्छु ।’ अर्को कुरा नगरकोटी कुरामा रमाउँछन्, उनी त्यही गर्न रुचाउँछन् ।

नगरकोटी घाटलाई मानिसको जीवनसँग पनि जोड्छन् । हरेक मानिसको जीवन घाट हो । तर मानिस त्यही घाटसँग डराइरहेको हुन्छ । त्रासमा बाँच्छ । अर्थात, ऊ आफ्नै जीवनसँग डराइरहेको हुन्छ ।

‘आफूसँग जे छ, आफू जुन अवस्थामा होइन्छ त्यही कुरामा रमाउन सक्यो भने मानिस जीवनमा कहिल्यै दुखी हुनु पर्दैन’ नगरकोटी एकछिन रोकिन्छन् र फेरि भन्छन्, ‘जस्तै म ।’

नगरकोटीलाई मानिसले दिने जीवनप्रतिको परिभाषा पनि चित्त बुझ्दैन । मानिसहरु आफ्नो जीवनलाई लिएर असन्तुष्टी पोखेको देख्दा उनलाई अचम्म लाग्छ । उनलाई लाग्छ हरेक मानिसको आ–आफ्नो अस्तित्व हुन्छ । र, हरेकले आफ्नो अस्तित्वलाई स्वीकार गर्नुपर्छ ।

भन्छन्, ‘तिम्रो भोगाई नै तिम्रो जीवन हो । मानिसहरु अरुले आफूलाई राम्रो भनिदियोस् भन्ने चाहना राख्छन् । तर, ममा त्यस्तो कुनै चाहना छैन । तिमी जे छौँ, त्यो तिमी हौँ । हरेकका आ–आफ्ना अस्तित्व हुन्छन् । हरेकले आफ्नो अस्तित्वलाई स्वीकार्नुपर्छ ।’

०००

नगरकोटीको जीवनमा कुनै लक्ष्य, सपना या लोभ छैन । जीवन जसरी अघि बढ्छ, उनी पनि त्यसमै तालमा ताल मिलाएर अघि बढ्न तयार छन् । उनलाई कसैसँग कुनै महत्वकांक्षा छैन । आफैसँग पनि । उनी एक्लोपन रुचाउँछन् । कोठामा एक्लै बसेर घन्टौँसम्म कापीका पानामा कलम दौडाउन पाउँदा उनलाई आनन्द आउँछ । अर्थात, कुनै सभा, समारोह, भोज होइन कि एकान्त र एक्लोपन सेलिब्रेट गर्ने मानव प्रजाति हुन् नगरकोटी ।

नगरकोटी प्रकृति प्रेमी मान्छे पनि होइनन् । कुनै सुन्दर ठाउँ देखेर दंग पर्ने खालको उनको स्वभाव छैन । उनलाई मानिसले बनाएका चिजहरु बढी प्रिय लाग्छन् । म्युजियम, आर्ट ग्यालरीतिर रमाउँछन् । मानव निर्मित कुराहरुमा बढी इन्जोय गर्छन् । अर्थात, उनी अरुभन्दा फरक छन् । उनी आफ्नो फरक संसार निर्माण गर्न चाहन्छन् । जसको नाम हुनेछ, नगरकोटी ल्यान्ड ।

उनी यस्तै त हो नि ब्रो !

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

  1. Jan. 4, 2020, 5:02 p.m. Matrika
    May you bless the God. शम्भो
  2.  0 Reply

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
Loading comments...