केन्द्रीय संस्करण

किसिम किसिमका मित्रता

मित्रताका सम्बन्धमा हाम्रा ऋषिमुनिहरु

personaccess_timeFeb 05, 2020 chat_bubble_outline0

मित्रताको महत्वबारे वैदिक साहित्यमा यत्र तत्र उल्लेख भएको पाइन्छ । हाम्रा ऋषिमुनिहरु विश्ववन्धुत्वको भाव राख्थे । र पनि मित्रताका सम्बन्धमा सम्वेदनशील थिए । “हामी आपसमा मिलेर हिँडौं, मिलेर बोलौं । सङ्गच्छध्वम्, सम्वदध्वम्, ऋग्वेद (१०। १९१।२)।” “हामी आपसमा मित्रका नजरले हेरौँ, हेरियूँ । मित्रस्य चक्षुसा समीक्षे, समीक्षामहे, यजुर्वेद (३६।१८))” “जुन मित्र उत्तम छ, सङ्गतयोग्य छ, राम्रो व्यवहार गर्छ, त्यससँगको मित्रता उत्तम हुन्छ । यः सखा सुशेवः अद्वयुः । सामवेद (६४९)।” “सवै दिशाविदिशाहरु मेरा मित्र बनुन् । सर्वा आशा मम मित्रम् भवन्तु । अथर्ववेद (१९।१५।६)।”

ऋषिहरुले पौराणिक साहित्यमा पनि विभिन्न दृष्टान्त दिएर मित्रताको बखान गरेका छन् । महाभारतमा किसिम किसिमका मित्रताका दृष्टान्त पाइन्छन् । मित्रता समान तहमा दिगो हुन्छ भन्ने भाव पनि पाइन्छ । वर्गीयताका दृष्टान्त पनि पाइन्छ । जस्तै आचार्य द्रोण र राजा द्रुपदकाबीचको मित्रता । वर्गीयताबाट माथि उठेको अगाध किसिमको मित्रताको दृष्टान्त पनि छ । जस्तै कृष्ण र सुदामाबीचको मित्रता । तह मिल्नेहरुका बीचको अटूट मित्रताको दृष्टान्त पनि छ जस्तै कृष्ण र अर्जुनका बीचको मित्रता । कृतज्ञता र मतैक्यताका आधारमा बनेको प्रगाढ मित्रताको दृष्टान्त पनि छ जस्तै दुर्योधन र कर्णका बीचको मित्रता ।

मित्रताका सम्बन्धमा विभिन्न शास्त्रकार र नीतिकारहरुका भनाइ यस्ता छन्—

“हाम्रा शरीरका हातहरु, आँखाका परेलाहरु विना विचार विना निर्देशन निरन्तर रुपमा हाम्रा शरीर र आँखाका हितमा जसरी क्रियाशील रहन्छन् असल मित्र हाम्रो हितमा त्यसरी नै क्रियाशील रहन्छ । कराविव शरीरस्य नेत्रयोरिव पक्ष्मणि । अविचार्य प्रियं कुर्यात्तन्मित्रं मित्र मुच्यते ।”

“शुद्धता, त्यागभावना, शुर्‍याइँ, सुखदुःखमा समान साथ, कार्यदक्षता, मायाममता र सच्चाइ असल मित्रका लक्षणहरु हुन् । शुचित्वम् त्यागिता शौर्यम् सामान्यम् सुखदुःखयोः । दाक्षिण्यम् चानुरक्तिश्च सत्यता च सुहृत्गुणाः ।”

“जसले समयमै सावधान बनाएर मित्रलाई पापकर्म गर्नुबाट रोक्छ, हितकारी काममा लाग्न प्रेरणा दिन्छ, गोप्य कुरा अरुमा प्रकट गर्दैन, राम्रा राम्रा कुराको बखान गरिहिँड्छ, आपत्तिका समयमा साथ छोड्दैन, आवश्यकताका क्षणमा आफूसँग जो भएको दिएर सघाउँछ, त्यही नै असल मित्र हो । पापान्निवारयति योजयते हिताय । गुह्यान्निगूहति गुणान्प्रकटीकरोति । आपद्गतं च नजहाति ददाति काले । सन्मित्रलक्षणमिदं प्रवदन्ति सन्तः ।”

“रोग लागेका समयमा, अर्थसङ्कट पर्दा, विदेशमा पथरा पर्दा र कुनै पनि चिन्ताले तहसनहस हुँदाका समय जसलाई भेट्दा ओखति भेटेजस्तो हुन्छ त्यो असल मित्र हो । व्याधितस्यार्थहीनस्य देशान्तरगतस्य च । नरस्य शोकदग्धस्य सुहृद्दर्शनमौषधम् ।”

“घरपरिवारमा आमा, श्रीमान्श्रीमती, सहोदर दाजुभाइ दिदीबहिनीमाथि र स्वयम् आफूमाथिभन्दा पनि बढी विश्वास गर्न सकिने स्वाभाविक पात्रता जसमा छ त्यो साँच्चिकै मित्र हो । नमातरि नदारेषु नसोदर्ये नचात्मनि । विश्वास स्तादृशः प्राप्यः यादृक् मित्रे स्वभावजे ।”

(संस्कृत भाषामा ‘सुहृत्’ शब्दको तात्पर्य ‘राम्रो मनको व्यक्ति’ अर्थात् ‘असल मित्र’ हो )

प्रस्तुति—एसआरएन

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
Loading comments...