केन्द्रीय संस्करण
डाक्टरका कुरा

बाथरोग के हो ? कसरी बच्ने ?

डा. दिपा शाहको यस्तो छ हेल्थ टिप्स (भिडियो)

person explore access_timeमाघ २९, २०७६ chat_bubble_outline0
शम्भु दंगाल

रातोपाटी

हाम्रो शरीरमा विभिन्न प्रकारका रोगले समय समयमा हामीलाई आक्रमण गर्छ । त्यस्ता रोगहरुका बारेमा थाहा नहुँदा हामीहरु आत्तिने गर्छौँ । समयमै रोगको पहिचान नहुँदा बेला–बेलामा समस्या आइपर्छ । हाम्रो शरीरमा देखापर्ने विभिन्न प्रकारका रोगहरुमध्ये बाथ पनि एक हो । खासगरी मानिसको शरीरमा हुने रोग प्रतिरोधात्मक पद्धतिमा भएको असन्तुलनका कारण यो रोग लाग्ने चिकित्सकहरुको भनाइ छ । यसै सन्दर्भमा हामीले बाथरोगका क्षेत्रमा लामो समयदेखि कार्यरत वरिष्ठ बाथरोग विशेषज्ञ दिपा शाहसँग कुराकानी गरेका छौँ । प्रस्तुत छ उनीसँगको कुराकानी ः

बाथरोग कस्तो प्रकारको रोग हो ?

शरीरमा रोगसँग लड्न सक्ने ‘इम्युन सिस्टम’ अर्थात् रोग प्रतिरोधात्मक क्षमतामा गडबडी आएपछि उत्पन्न हुने रोग हो बाथ । शरीरले रोगसँग लड्ने रसायनहरु निकाल्दा त्यसले जब शरीरका विभिन्न जोर्नीहरुमा असर पु¥याउँछ, त्यही हानीले पु¥याउने रोग नै बाथरोग हो ।

बाथरोगका लक्षणहरु

झन्डै २ सय किसिमको बाथरोग हुन्छन् । यीमध्ये केही बाथरोग धेरैजसो मानिसमा देखिने हुन्छ । कुनै कुनै बिरलै देखिने किसिमको पनि हुन्छ । सामान्यतया बाथरोगमा जोर्नी दुख्ने लक्षण मुख्य हो । बाथरोग लागेका ९० प्रतिशतमा देखिने लक्षणमा सामान्यतया जोर्नी दुख्ने नै हुन्छ । जोर्नी सुन्निने, रातो हुने समस्या हुन सक्छ ।

जोर्नीबाहेक शरीरका अन्य भागहरुमा जस्तै, फोक्सोमा लाग्यो भने दम आउने, अक्सिजन घट्दै जाने, हातखुट्टाहरु निलो हुँदै जाने, खकार लाग्ने, खकारमा रगत देखिने हुन्छ । किड्नीमा बाथरोग लागेको छ भने पिसाबबाट रगत जाने, पिसाबबाट प्रोटिनहरु जाने, त्यसले गर्दा जिउहरु दुख्ने त्यस्तो समस्याहरु देखिन सक्छ ।

मस्तिष्कमा बाथरोग लागेको छ भने मिर्गी रोग लाग्ने वा बेहोस हुने समस्याहरु देखिन सक्छ । कुन अङ्गमा बाथरोग लाग्छ, त्यस अनुसार फरक फरक लक्षण हुन सक्छ । छालामा बाथ रोग भयो छालामा दागहरु आउने, अलिकति प्रेसर पर्ने बित्तिकै निलो दागहरु देखा पर्ने, हात चिसो भएपछि निलो हुने समस्याहरु देखापर्छ ।

बाथरोगले कपालदेखि नङ्सम्म असर गर्ने हुन्छ । कपाल झ¥यो भने पनि एक किसिमको बाथरोग लाग्यो भनेर बुझ्दा हुन्छ । मेरुदण्डको बाथरोग लाग्यो भने आँखा रातो हुने समस्या हुन्छ । मुखमा घाउ आउने, अल्सर हुने भयो भने बाथरोग लागेको हुन सक्छ । कानको कुर्कुरे हाड कुहिँदै जाने, दुख्ने, सुन्निने समस्या पनि एक किसिमको बाथरोगबाट हुन सक्छ । यो कुन चाहीँ अङ्गमा लाग्छ, त्यस अनुसार लक्षण देखापर्छ ।

कसरी उपचार गर्न सकिन्छ ?

बाथरोगका अनेक प्रकार हुन्छन् । कुन किसिमको बाथरोग लागेको छ, सोहीअनुसार यसको उपचार गरिन्छ । बाथरोगको उपचारका लागि हामीले दुई–तीन किसिमको सिद्धान्त हेर्नुपर्ने हुन्छ । यो रोग प्रतिरोधात्मक क्षमतामा गडबडीका कारण लाग्ने रोग हो । यो रोगको उपचारमा सिद्धान्ततः हामीले रोेग प्रतिरोधात्मक क्षमताको सन्तुलन मिलाउन सक्नुप¥यो अर्थात् यसलाई सन्तुलनमा राख्नुप¥यो ।

आम मानिसको बुझाइमा के छ भने रोगसँग लड्न सक्ने शक्ति कमजोर भयो भने बाथरोग लाग्छ भन्ने सोच छ, त्यो गलत हो । बाथरोग रोग प्रतिरोधात्मक क्षमतामा असन्तुलन भएपछि त्यसले चाहिने ठाउँमा आक्रमण नगरीकन नचाहिने ठाउँमा आक्रमण गरिरहेको हुन्छ । गलत ठाउँमा काम गरिरहेको हुन्छ, त्यसले गर्दा यसको उपचार पनि फरक फरक तरिकाले हुन्छ ।

बाथरोगको एउटा समूहको औषधी हुन्छ, बिरामीको जोर्नी दुखाई कम गर्ने औषधी । यस्ता औषधीहरु पनि फरक फरक हुन्छन् । समूहअनुसार औषधी पनि फरक फरक हुन्छ । बाथरोगमा रोग प्रतिरोधात्मक पद्धति मिलाउनुपर्ने खालका औषधीहरु पनि हुन्छन् । आजभोलि बायोलोजिकल एजेन्ट भनिने औषधी पाइन्छ, जसले रोग प्रतिरोध क्षमतालाई विषेश जोड दिएर काम गर्छ । यसमा रोगअनुसार विभिन्न किसिमले उपचार हुन्छ ।

जस्तो धेरैलाई यूरिक एसिडको बाथरोग हुने गरेको छ । जनमानसमा के छ भने बाथरोग भन्ने बित्तिकै यूरिक एसिड भनेर बुझ्ने चलन छ । मैले सधैँ भन्ने गरेको छु, यूरिक एसिड भनेको बाथरोग हो तर सम्पूर्ण यूरिक एसिड भनेकै बाथरोग चाहीँ हैन ।

यूरिक एसिडको बाथरोगमा हामीले नदुख्ने औषधीहरु, यूरिक एसिड घटाउने औषधी दिन्छौँ । विभिन्न किसिमको बाथरोगमा विभिन्न किसिमका औषधीहरु दिन्छौँ ।

अन्य रोगसँग बाथरोगको सम्बन्ध

तपाईले सुन्नुभएको होला, डायबिटिज भएको मान्छेलाई प्रेसर हुने सम्भावना बढी हुन्छ । थाइराइड भएको मान्छेलाई फलानो रोग लाग्न सक्ने बढी सम्भावना हुन सक्छ । त्यस्तै, बाथरोग भएको मान्छेलाई अरु रोग पनि हुन सक्छ । तर सामान्यतया बाथरोग भएको मान्छेलाई यही रोग हुन्छ भन्ने चाहीँ हुँदैन ।

जस्तो, यूरिक एसिडको बाथरोगसँगै हामीले उच्च रक्तचाप भएको देख्न सक्छौँ, रक्तचाप उच्च भएको मान्छेमा यूरिक एसिडको मात्रा बढी पाइन्छ । यस्तै मिर्गौलाका रोगीहरुमा मिर्गौलाले राम्ररी काम गर्न नसक्दा यूरिक एसिडको मात्रा बढ्दै जाने र त्यसले गर्दा यूरिक एसिडको बाथ रोग हुन सक्छ ।

यूरिक एसिडको बाथरोगमा अर्को देखिन सक्ने साझा समस्या जिउमा बोसोको गडबडीको समस्या हो । यूरिक एसिडको बाथरोग भएकाहरुमा कलेजोमा बोसो धेरै जमेको देख्न सक्छौँ ।

नेपालमा बाथ रोगीहरुको अवस्था

यसबारेमा नेपालमा आधिकारिक रुपमा अध्ययन त भएको छैन तर हामीले काम गरेको आधारमा हेर्दा १० प्रतिशत जनसंख्यालाई कुनै न कुनै रुपमा बाथरोग भएको पाइएको छ । चाहे त्यो यूरिक एसिडको बाथरोग होस्, चाहे हड्डी खिइने बाथरोग होस् । यी लगायतका अन्य बाथरोग झन्डै १० प्रतिशत मानिसमा भएको पाइन्छ ।

बाथरोग लागेपछि उपचार गर्नका लागि पर्याप्त अस्पताल छैन । नेपालका प्रत्येक अस्पतालमा बाथरोगको उपचार हुँदैन । सरकारी अस्पतालमा वीर अस्पताल र पाटन अस्पतालमा मात्र बाथरोगको उपचार हुने गरेको छ । अरु केही निजी अस्पतालले उपचार गर्ने गरेका छन् । विगतका केही वर्षमा डाक्टरहरुको उपलब्धता बढ्दै गएको भए पनि अरु रोगको तुलनामा बाथरोगका डाक्टरहरुको संख्या कम नै छ ।

मुटुको रोग, पक्षघात, प्रेसर, सुगर भयो भने बाथरोगको लक्षण छिटो आउँछ । मान्छेमा सुगर, प्रेसर भयो भने मुटुमा असर गर्छ । त्यस्तो अवस्थामा डाक्टरलाई देखाउनुपर्छ भन्ने चेतनाको विकास मानिसमा भइसकेको छ ।

यो रोगको खतराको कुरा गर्दा थोरै प्रकारका बाथ रोगले मात्र मान्छेको ज्यानै लिने हो । अन्यथा अपाङ्गसम्म बनाउन सक्छ । धेरै मानिसमा मलाई बाथरोग लाग्यो भन्ने चेतना पनि छैन । रोग लागेपछि नियमित औषधी खानुपर्छ भन्ने जनचेतनाको पनि अभाव छ ।

बाथरोग कुन उमेर समूहका मान्छेलाई लाग्ने गर्छ ?

बाथरोग जन्मेको बच्चादेखि लिएर मृत्यु हुन लागेको वृद्धवृद्धासम्म जुनसुकै उमेरमा देखिन सक्छ । फरक यति हो, कुन किसिमको बाथरोग देखिन्छ । जन्मेको बच्चामा लुपसहरु देखिन्छ । यस्तै नौ, दश, बाह्र बर्षका बच्चाहरुमा पनि देखिन्छ । यस्तै १८ देखि ४० बर्ष उमेरसम्म रिमोर्टर आर्थराइटिस भन्ने हड्डीसम्बन्धी समस्या देखिन्छ । स्पाइनल आर्थोपाठी भन्ने १५ देखि ४० बर्षसम्म पुरुषहरुमा देखापर्छ ।  

४०–५० पुगेपछि हड्डी खिइने बाथरोगहरु देखापर्छ । जन्मेको बच्चादेखि लिएर वृद्धवृद्धासम्म कुनै पनि उमेर समूहमा बाथरोग देखिन सक्छ । महिला–पुरुष जसलाई पनि बाथरोगले सताउन सक्छ । कुन उमेर अनुसार कस्तो बाथरोग लाग्छ भन्ने मात्र फरक हो ।

निको हुने सम्भावना कति ?

यो रोग प्रतिरोधात्मक पद्धतिसँग सम्बन्धित भएकाले औषधी चलाईहाल्यौँ भने पनि तीन महिनामा तपाईलाई ठीक हुन्छ भन्न सकिँदैन । ९० प्रतिशतभन्दा बढी बाथरोग निर्मूल हुने खालको हुँदैन । कसै कसैले आजीवन नै औषधी खानुपर्ने हुन्छ ।

बाथ रोग सक्रिय छ भने उपचार गर्ने हो, सक्रिय छैन भने चाहीँ उपचार चाहिँदैन । सक्रिय नभएको अवस्थालाई निर्मूल भयो वा निको भयो भन्न पाइदैँन । तर बेलाबेला बाथ रोग लागेका ब्यक्तिहरु उपचारमा बस्नुपर्ने देखिएको छ । कतिपय बाथरोगहरु आफ्नो जीवनशैली मिलाउँदै गयो भने फेरि नदोहोरिएको पनि देखिएको छ ।

जस्तो गाउटी अथराइटिस, २५–३० बर्षको मान्छे, खानपानमा अव्यवस्थित, उसलाई यूरिक एसिड भयो भने हामी यूरिक एसिडको असरको उपचार गर्छौँ । त्यसपछि जीवनशैली सिकाउँछौं । ब्यायाम गर्नुप¥यो, खाना यस्तो खानुप¥यो, पानी धेरै खानुप¥यो भनेर, बेला बेला अल्ट्रासाउण्ड गरेर हेर्नुप¥यो भनेर सुझाव दिन्छौँ ।

जस्तो लुपस भन्ने बाथरोग लाग्यो भने कतिपयले थोरै समयमा औषधी खाएर पनि निको हुन्छ भने कतिपयले आजीवन औषधी खानुपर्ने हुन्छ । कतिपय बिरामी भने धेरै दिन बाँच्न सक्नुहुन्न, रोगले कति समय सताएको छ, त्यसमा पनि भर पर्छ ।

बाथरोगबाट बच्न हामीले अपनाउनुपर्ने सावधानी

अहिलेसम्मको अनुसन्धानले ठ्याक्कै यही कारणले बाथरोग लागेको भनेर भन्न सकिएको छैन । शरीरमा तीन–चार वटा समस्या आयो भने बाथरोग लागेको भन्ने आशंका छ । जस्तो वातावरणीय भयो, वंशाणुगत भयो वा शरीरमा रोग प्रतिरोध क्षमतामा गढबढ भएको छ भने त्यसले बाथरोग उत्पन्न हुने हो । त्यसकारण यही कुरा रोक्यो भने बाथ रोग निको हुन्छ भन्न सक्ने अवस्था छैन ।

के कारणले बाथरोग भएको छ भन्ने थाहा हुन सम्भव छैन । तर कतिपय गाउटी आथराइटिस्मा नियमित खाना खाने, प्युरिनको मात्रा कम गरिराख्नु भएको छ भने त्यस्तो अवस्थामा लाग्न सक्ने सम्भावना कम हुन्छ । यस बाहेक स्वस्थ वातावरणमा बस्ने, सकारात्मक सोचाई, ताजा खानेकुरा खाने, व्यायाम गर्ने ग¥यो भने वातावरणीय पक्षबाट लाग्ने रोगबाट बच्न सकिन्छ ।

हेर्नुहोस भिडियो 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
Loading comments...