केन्द्रीय संस्करण
जनयुद्धको रजत वर्ष

एक माओवादी लडाकुको जनयुद्ध संस्मरण : म समाजलाई उज्यालो दिन हिँडेको मान्छे अहिले आफै अन्धकारमा छु

personaccess_timeFeb 13, 2020 chat_bubble_outline0
मदन ढुङ्गाना

रातोपाटी

माघ २९ गते भीमसेनगोलास्थित एउटा सामान्य घरको चौथो तलामा खाटमा बसिरहेका भेटिए एक व्यक्ति । दुवै हात गुमाएका र एउटा आँखा पूर्णरूपमा बिग्रिएको तथा अर्को आँखा पनि काम नलाग्ने अवस्थामा पुगिसकेका एक व्यक्ति आफ्नै घरमा बस्दा पनि चस्मा लगाएर बसिरहेका थिए ।

भीमसेनगोला मन्दिरबाट केही तल रहेको सानो गल्लीबाट उनको डेरासम्म पुर्याउनका लागि उनकै छोरी लिन आएकी थिइन् ।

उनी थिए, जयबहादुर न्यासुर अर्थात् जेबी दाइ ।

उनी तत्कालीन माओवादीले सुरु गरेको सशस्त्र युद्धको एकजना सिपाही थिए । जो यतिबेला दुवै हात र आँखा गुमाएर आफ्नो बाँकी जीवन बाँचिरहेका छन् ।

२०५२ साल फागुन १ गतेबाट सुरु भएको माओवादी जनयुद्धमा उनी त्यसको १ वर्षपछि होमिएका थिए । माओवादी आन्दोलनकै क्रममा घाइते र अपाङ्ग बनेका उनलाई भेट्न हामी उनको डेरा खोज्दै पुगेका थियौँ । हालको नेकपा लगायतका दलहरुले २५औँ जनयुद्ध दिवस मनाइरहेका समयमा माओवादी आन्दोलनका घाइते ‘जनमुक्ति सेना’ र माओवादी लडाकुहरु यतिबेला जनयुद्ध र वर्तमान स्थितिलाई कसरी विश्लेषण गर्छन् त भनेर हामी उनलाई भेट्न पुगेका थियौँ ।

बाहिर प्लास्टर पनि नगरिएको एउटा ४ तले घरको चौथो तलामा रहेको कोठामा उनी पुग्दा उनी हल्का मुस्कुराए । मदन ढुङ्गाना भन्ने व्यक्ति तपाईं नै हो ? उनले कुराकानीको सुरुवातमै सोधे । हजुर म नै हो । म नै हो तपाईंलाई भेट्न आएको व्यक्ति । मलाई चिन्नुहुन्छ र ! उनले नचिनेको तर नाम सुनेको कुरा बताए ।

केही समय सामान्य औपचारिक कुराकानी भएलगत्तै हामीले उनीसँग कुराकानी सुरु गर्‍यौँ ।

हामीले उनको वर्तमान अवस्था (घाइते हुनुको कारण) बारे सोध्दै कुराकानीको सुरुवात गर्‍यौँ ।


‘चैत २८ गते हामीले रोड सेबोटेज गर्नुपर्ने गरी निर्देशन आयो । त्यहीअनुसार हामी हेटौँडाको कमाने ८ मा कार्यक्रम गर्दै थियौँ, त्यहाँ बम विस्फोट भयो र म घाइते भएँ । हामीले त्यहाँ आमहड्तालको अवज्ञा गर्ने एक टेम्पोमा सुतली बम राखेका थियौँ । पहिले टेम्पोमा भएका सबै यात्रीहरुलाई ओराल्यौँ । अनि चालकलाई पनि जानकारी दिएर तत्काल गाडीबाट निस्कन भन्यौँ । तर ती चालक सबै यात्रु ओर्लेपछि हतारहतार टेम्पोमै गए र उक्त बम निकालेर फाले । त्यो बम बाहिर पड्कँदा मानवीय क्षति हुनसक्ने ठानेर म उक्त बमलाई भित्रै राख्नका लागि बोकेर जाँदै थिएँ, त्यो सुतली बम मेरो हातमा नै पड्कियो ।'


उनले यसरी बेलिबिस्तार लगाए ।

‘माओवादी आन्दोलन तीव्र रूपमा अगाडि बढिरहेको थियो । २०५३ चैत १५ गतेबाट म पनि माओवादीमा आन्दोलनमा होमिएँ । म जनयुद्धकै क्रममा घाइते भएँ र यो अवस्थामा पुगेँ । २०६१ चैत २८ गते मकवानपुरको हेटौँडा ८ कमानेमा दुर्घटना भएको हो । म भूगोलमा काम गरे पनि सेनाको काम पनि गर्नुपर्दथ्यो । म प्राविधिक टोलीमा पनि थिएँ । म अर्वान टिमको कमान्डर थिएँ ।’

उनी अगाडि बढे, ‘माओवादीले २०६१ चैत २१ गतेदेखि ३० गतेसम्मका लागि आमहड्तालको आह्वान गरेको थियो । २५ गतेसम्म राम्रैसँग आमहड्ताल भयो । तर त्यसपछि गाडीहरु चल्न थाले । तत्कालीन सरकारले गाडी चलाउनेलाई दैनिक प्रोत्साहन भत्ता भन्दै ४ हजार दिने घोषण गर्‍यो । त्यसपछि चैत २६ गतेदेखि गाडीहरु पनि चल्न थाले ।

मैले अघिल्लो दिन नै केही मजदुरहरुलाई भेट गरी गाडी नचलाउन आग्रह पनि गरेँ । तर उहाँहरुले मान्नुभएन ।’

‘चैत २८ गते हामीले रोड सेबोटेज गर्नुपर्ने गरी निर्देशन आयो । त्यहीअनुसार हामी हेटौँडाको कमानेमा कार्यक्रम गर्दै थियौँ, त्यहाँ बम विस्फोट भयो र म घाइते भएँ । हामीले त्यहाँ आमहड्तालको अवज्ञा गर्ने एक टेम्पोमा सुतली बम राखेका थियौँ । पहिले टेम्पोमा भएका सबै यात्रीहरुलाई ओराल्यौँ । अनि चालकलाई पनि जानकारी दिएर तत्काल गाडीबाट निस्कन भन्यौँ । तर ती चालक सबै यात्रु ओर्लेपछि हतारहतार टेम्पोमै गए र उक्त बम निकालेर फाले । त्यो बम बाहिर पड्कँदा मानवीय क्षति हुनसक्ने ठानेर म उक्त बमलाई भित्रै राख्नका लागि बोकेर जाँदै थिएँ, त्यो सुतली बम मेरो हातमा नै पड्कियो । त्यसपछि यो दुर्घटना भएको हो । म दुर्घटनामा परेपछि अरु साथीहरु पनि आत्तिनु भयो । म घाइते भएपछि मैले अरु साथीहरुलाई त्यहाँबाट तत्काल रिट्रिट हुन निर्देशन दिएँ र उहाँहरु भाग्नुभयो ।’

उनी अझै अगाडि बढ्दै भने, ‘त्यसपछि मलाई तत्कालीन शाही सेनाले कब्जामा लियो । सुतली बम भएको कारण मेरो हातमा सामान्य चोट मात्रै लागेको थियो । आँखामा चाहिँ त्यति बेला नै चोट लागेको हो ।

तर शाही सेनाको कब्जामा परेपछि मलाई उपचार गर्न पनि दिइएन । हेटौँडामा सामान्य उपचार गरे हुने अवस्थामा थियो मेरो हात । तर सेनाले मेरो उपचार गर्नै दिएन । उपचार गर्न लागेको डाक्टरलाई यसको हात काटेर फाल्ने हो उपचार नगर्नु भनेर धम्की दियो । त्यसपछि मलाई भरतपुर मेडिकल कलेजमा लगियो । त्यहाँ पनि १८ दिन मेरो हातको उपचार भएन । अनि मेरो हात कुहियो र भरतपुरको सरकारी अस्पतालमा लगेर मेरो दुवै हात काटियो ।’

उनले थप भावुक हुँदै रातोपाटीलाई सुनाए, ‘म जेठको २३ गते अस्पतालबाट डिस्चार्ज भएँ र मलाई डीएसपी कार्यालय ल्याइयो । त्यसपछि मलाई अझ बढी यातना दिन थालियो । तर म पक्राउ परेको कुरा आईसीआरसीले थाहा पायो र म बाँच्दिनँ भन्ने लागेपछि उनीहरुले आईसीआरसीको रोहबरमा मलाई छाडिदिए ।’

जनयुद्धको सपना र वर्तमान स्थिति

अहिले घाइते अवस्थामा सामान्य जीवनयापन गर्न पनि कठिनाइ परिरहेको अवस्थामा रहेका जेबी दाइलाई जनयुद्धको सपना र वर्तमानको परिस्थितिबारे सोध्यौँ ।

उनले भने, ‘पहिलेको अवस्थामा जतिबेला म जनयुद्धमा लागेँ, त्यतिबेला युद्धमा जानु बाध्यता जस्तै थियो । किनभने त्यतिबेला गाउँमा चरम शोषण थियो, उत्पीडन थियो । गाउँका सामन्तहरुले सोझा जनताहरुलाई चर्को मूल्यमा ब्याजमा लगाउने । एक सय रूपैयाँका ६ महिनाका लागि ३ देखि ६ पाथीसम्म ब्याज लिने र गरिबहरु सधैँ अनिकालमै बाँच्नुपर्ने अवस्था थियो । सावाँ र ब्याज तिर्न नसकेपछि कतिपय जनताका जग्गा त्यही साहुकोमा बन्धकी राख्नुपर्ने अवस्था थियो भने कतिपय साहुले त्यो जग्गा आफ्नो नाममा समेत गराइसकेका थिए ।

यस्ता समस्या भएपछि म यी सब टुलुटुलु हेरेर बस्न सकिनँ । त्योबाहेक माओवादी जनयुद्ध सुरु भएपछि तत्कालीन समयमा प्रहरीले व्यापक दमन सुरु गरेको थियो । रातारात प्रहरीहरु हाम्रा घरघरमा आउँथे र यातना दिन्थे । प्रहरीले कतिसम्म गर्‍यो भने घरमा श्रीमती सुत्केरी भएर सामान किन्न बजार गएर फर्किएका एकजना बोल्न नसक्ने लाटो व्यक्तिलाई समेत गोली हानेर मारिदियो । त्यो सब देखेपछि म चुपचाप बस्न सकिनँ र युद्धमै जानुपर्ने निर्णयमा पुगेँ । समाजको त्यो अन्धकार हटाउनै पर्छ र उज्यालो दिनुपर्छ भनेर म पनि युद्धमा होमिएँ । 

हामीले जेबी दाइलाई अर्को प्रश्न गर्‍यौँ, ‘तपाईं जुन सपना बोकेर युद्धमा जानुभएको थियो, त्यो सपना र युद्ध पूरा वा सफल भयो कि असफल त ?’

उनी केही भावुक बने । भने ‘युद्ध एक हदसम्म सफल भएकै हो । तर अहिले पुरानो जुन रोगका विरुद्ध हामी लडेका थियौँ, अहिले फेरि त्यही अवस्था आइसकेको छ । हामी तत्कालीन समयमा भ्रष्टाचार र शोषणका विरुद्ध लडेका थियौँ, अहिले फेरि त्यही अवस्था आइसकेको छ । यो सब देख्दा चित्त बुझाउने वातावरण छैन ।’

जेबी दाइ भावुक बनेपछि हामीले विषयान्तर गर्न खोज्यौँ र परिवारका सदस्य तथा पारिवारिक अवस्थाबारे कुराकानी गर्न खोज्यौँ । उनले भने ‘मेरो परिवारमा ४ जना छोरी र हामी श्रीमान श्रीमती गरी ६ जना छौँ । एक छोरीको पोहोर विवाह भयो । अहिले हामी ३ छोरी र श्रीमान श्रमिती बसिरहेका छौँ ।’


१८ वर्ष वा मास्टर डिग्रीसम्म निःशुल्क पढाउने भनेर सरकारले घोषणा गरेको थियो । तर न १८ वर्षमा मास्टर डिग्री पास गर्न सकिन्छ न त राज्यले हामीलाई घाइतेको प्रमाणपत्र नै उपलब्ध गराएको छ । त्यसकारण हामीले राज्यले दिने भनेको छात्रवृत्ति पनि प्राप्त गर्न सकेनौँ’ जेबी दाइ थप भावुक बने ।


समाजलाई उज्यालो दिन हिँडेको मान्छे आफँै अन्धकारमा बाँचिरहेको छु

‘मेरो आँखाको उपचारका लागि हामी काठमाडौँमै बस्नुपर्ने बाध्यतामा पर्‍यौँ । मेरो आँखाको अवस्था अहिले झन् झन् नाजुक हुँदै गएको छ । एउटा आँखा त पहिले नै पूर्णरूपमा बिग्रिएको हो । अर्को आँखा पनि अब बिस्तारै देख्न नसक्ने हुँदै गएको छ । म समाज र संसारलाई उज्यालो दिन्छु भनेर हिँडेको मान्छे अहिले आफैँ यस्तो अन्धकारमा बसिरहेको छु । मेरो आर्थिक अवस्था पनि त्यस्तै नै छ । महँगी यति धेरै छ । मेरी श्रीमतीले पहिले भत्केको पुलमा तरकारी बेच्थिन् र हाम्रो दैनिकी चलिरहेको थियो । अहिले त सरकारले भत्केको पुलमा बसेर तरकारी बेच्न पनि बन्देज लगाइदियो ।’

उनीले थपे, ‘राज्यले दिने भनेको अरू केही सुविधा छैन । मलाई जीवन निर्वाह भत्ता भनेर मासिक ६ हजार २ सय रूपैयाँ दिन्छ । हेरचाह गर्ने व्यक्तिलाई पनि त्यही रकम दिन्छ र मासिक १२ हजार ४ सय रूपैयाँ आउँछ । राज्यले दिने भनेको त्यति रकम हो ।’

छात्रवृत्ति दिइएन

‘छोरीहरुलाई जसरी हो हामीले पढाइरहेका छौँ । मैले छात्रवृत्तिका लागि पनि धेरै स्थानमा धाएँ । तर मैले उक्त छात्रवृत्ति पाउन पनि सकिनँ । जिल्ला शिक्षा कार्यालयमा पनि ४ पटक धाएँ । तर जनयुद्धको घाइते वा द्वन्द्वपीडितको प्रमाणपत्र ल्याउन भन्यो, जुन हामीलाई राज्यले दिएकै छैन । त्यो प्रमाणपत्र नभएपछि हामीले छोरीको अध्ययनका लागि छात्रवृत्ति पाउन पनि सकिएन ।’

‘१८ वर्ष वा मास्टर डिग्रीसम्म निःशुल्क पढाउने भनेर सरकारले घोषणा गरेको थियो । तर न १८ वर्षमा मास्टर डिग्री पास गर्न सकिन्छ न त राज्यले हामीलाई घाइतेको प्रमाणपत्र नै उपलब्ध गराएको छ । त्यसकारण हामीले राज्यले दिने भनेको छात्रवृत्ति पनि प्राप्त गर्न सकेनौँ’ जेबी दाइ थप भावुक बने ।

घाइते बनेपछि पार्टी सहयोग र हेर्ने नजर

हामीले जेबी दाइलाई घाइते भएपछि पार्टीले कसरी हेर्‍यो भनेर सोध्यौँ । उनले यसरी बेलिबिस्तार लगाए ।

‘घाइते भइसकेपछि माओवादी मात्रै होइन, अन्य पार्टीले पनि आफ्ना कार्यकर्तालाई हेरेको छैन । ७ सालमा क्रान्ति गर्दा भएका घाइतेहरुलाई काँग्रेसले पनि हेरेको रहेनछ । मेरो पार्टीले पनि मलाई केही हेरेको छैन । पार्टीबाट भनेर हामीलाई केही सहयोग गरेको छैन । राज्यले पनि हामीलाई गर्नुपर्ने व्यवहार गरेको छैन । हामी आमूल परिवर्तनका लागि भन्दै लडेको मान्छे, गणतन्त्र, धर्म निरपेक्षता र सङ्घीयताका लागि भन्दै लड्यौँ । यी सब भए । जनताको छोराछोरी राष्ट्रपति बन्ने दिन आए । देश सङ्घीयतामा गइसक्यो तर यसका लागि लडेका हामीहरुका लागि राज्यले केही पनि गरेको छैन ।’

जनयुद्धको मर्मलाई कुल्चेर नेताहरु पुरानै ढर्रामा गए

‘त्यतिबेलाको जनयुद्धको दृष्टिकोण र गर्ने व्यवहार र अहिले धेरै फरक छ । जनयुद्धको मर्मलाई हेर्ने हो भने यो देशमा भ्रष्टाचार हुँदैन थियो । यो देशका नागरिकहरु समान ढङ्गले बाँच्न सक्ने अवस्थामा रहने थिए । जीवनयापन सरल र सहज हुन्थ्यो भने आत्मसम्मानका साथ बाँच्ने दिन आउँथ्यो । सेवा सुविधाको वितरण राम्रो हुन्थ्यो र राम्रो जीवनयापन गर्ने अवस्थामा पुग्थ्यौँ । तर अहिले जनयुद्धको मर्मलाई कुल्चेर नेताहरु पुरानै ढर्रामा गइसकेका छन् ।’

उनी थप्छन्, ‘पहिलो जो बोल्न सक्दैन, हामी उनीहरुको पक्षमा लड्ने गथ्र्यौं । अहिले जो चाप्लुसी गर्छ, जो धेरै बोल्छ, उसको कुरा मात्रै सुनिरहेको हुन्छ । हामीजस्ता सोझा साझा गरिबहरुको पक्षमा बोलिदिने कोही छैन । राज्यले पनि हामीलाई केही हेरेको छैन ।’

नेताहरुको जीवनमा मात्रै परिवर्तन आयो

उनी आफ्ना नेताहरूप्रति पनि थप आक्रोशित बने । ‘जनयुद्धमा हुँदा उहाँहरुको विचार अर्कै थियो, व्यवहार समान थियो । उहाँहरुको स्पिड अर्कै थियो । अहिले खुला राजनीतिमा आएपछि हाम्रा कतिपय नेताहरु महँगो महलमा बस्ने र पजेरो चढेर हिँड्ने गरिरहेका छन् । हामीजस्ता घाइते सहयोद्धाहरुको पीडा सुन्ने फुर्सद उहाँहरुसँग छैन । जो फटाहा छन्, जो ठेकेदार छन्, उनीहरुसँग भेट्न र समय दिन हाम्रा नेताहरु आतुर छन् तर हाम्रा लागि समय दिन उहाँहरु सक्नुहुन्न ।’


जनयुद्धमा आफ्नो सहभागिताबारे जेबी गर्व पनि गर्छन् । उनी भन्छन्, ‘यदि साँच्चै जनयुद्ध भएको थिएन भने गाउँघरका कति मान्छे अहिले सुकुम्बासी नै भइसकेका हुन्थे होला । गाउँघरका शोषक र सामान्तले जनताका घरजग्गा कब्जा नै गरेर खाइसकेका हुन्थे होला । जनयुद्धले सामान्ती प्रथाको अन्त्य गराएको छ । गाउँघरमा गरिबसँग लिने महँगो ब्याज हटेको छ ।’


कहिलेकाहीँ त युद्ध लडेकामा पछुतो पनि लाग्छ

नेताले भेटका लागि समयसमेत उपलब्ध नगराएको प्रति उनी बोल्छन्, ‘कहिलेकाहीँ भेट्न गइयो भने पनि पहिलो कुरा त समय पाउनै गाह्रो हुन्छ । समय पाइहाले पनि हामीले हाम्रा सामान्य मागहरु जस्तै घाइतेको उपचार र जीवनयापनका कुरा गर्ने हो । तर त्यो पूरा हुन सकेको छैन ।

म पार्टी तथा देश र जनताका लागि लडेको मान्छे, मेरो बारेमा बोल्नुपर्ने त पार्टीले हो नि । तर उहाँहरुले केही गर्नु भएको छैन । भेटमा ‘हामी चिन्तित छौँ र माग राख्छौँ’ भन्ने तर पछि केही नगर्ने परिपाटी रहेकै छ । यो एकदमै गलत भइरहेको छ । कहिलेकाहीँ त लाग्छ मैले बेकारमा युद्ध लडेँछु । त्यो सम्झँदा पछुतो पनि लाग्छ ।’

उनी भन्छन्, ‘आफू सँगैका कमरेडहरु अहिले महलमा बसिरहेका छन्, गाडी चढेर हिँडिरहेका छन् । आफू चाहिँ दैनिक जीवन कसरी चलाउने र एकमुठी स्वास कसरी धान्ने भनेर चिन्तामै रहेको हुन्छु । जनयुद्धमा घाइते भएको म, उपचारका लागि पनि आफ्नो पुख्र्यौली सम्पत्ति बेच्नुपर्दा पीडा त हुन्छ नै ।

यी सब सम्झँदा म भुङ्ग्रोमा हालेको जिउँदो माछा जस्तै हुन्छु । तर फेरि आफैलाई सम्झाउँछु । किनभने हिजो मैले आम नेपाली जनता र देशको मुक्तिका लागि बलिदान गरेँ । अब बाँकी रहेको जीवन संसारका प्राणीका मुक्तिका लागि खर्च गर्नेछु ।’

उनी भन्छन्, ‘अहिले हाम्रै पार्टीको सरकार छ । हिजो एकता नहुँदा त कमसेकम कहिलेकाहीँ पार्टीले हाम्रो कुरा सुन्थ्यो । अहिले त अब हाम्रा कुरा पनि सुन्दैनन् । पार्टी त एकता भएको छ तर भावानात्मक रूपमा एकता हुन सकेको छैन । किनभने मुख्य कुरो भनेको पद नै रहेछ । अरू सबै कुरा गौण रहेछन् । त्यसकारण पदलोलुपताका कारण हाम्रा कुरा सुनुवाइ हुने अवस्था रहेको छैन ।’

जनयुद्धको गर्व पनि गर्छु

जनयुद्धमा आफ्नो सहभागिताबारे जेबी गर्व पनि गर्छन् । उनी भन्छन्, ‘यदि साँच्चै जनयुद्ध भएको थिएन भने गाउँघरका कति मान्छे अहिले सुकुम्बासी नै भइसकेका हुन्थे होला । गाउँघरका शोषक र सामान्तले जनताका घरजग्गा कब्जा नै गरेर खाइसकेका हुन्थे होला । जनयुद्धले सामान्ती प्रथाको अन्त्य गराएको छ । गाउँघरमा गरिबसँग लिने महँगो ब्याज हटेको छ ।’

‘पहिले जन्मने बित्तिकै राजा भएर जन्मिन्थ्यो, अहिले त्यो पनि हटेको छ । जनयुद्धकै कारण काँग्रेस र एमालेहरु पनि अहिले यसरी यस अवस्थामा उभिएका छन् । अहिले आम श्रमिक वर्गहरुले शिर ठाडो बनाएर हिँड्ने दिन आएको छ । यो सबै जनयुद्धको उपलब्धि हो । म सबैलाई जनयुद्ध दिवसको शुभकामान दिन्छु ।’

विप्लवको सशस्त्र युद्धबारे

लामो समय मावोदी जनयुद्धमा होमिएका एकजना माओवादी लडाकुलाई हामीले विप्लवको जनक्रान्तिबारे सोध्यौँ । उनले भने ‘पहिले पनि प्रचण्डले जातीय राज्य, जनवाद र समानताको कुरा गरेर हामी आन्दोलनमा जोडिएका हौँ । यो सुन्दा राम्रो कुरा पनि हो । तर त्यो सम्भव छ कि छैन भनेर बुझ्नुपर्छ । युद्ध गर्न पहिलेजस्तो सहज छैन, झन् झन् कठिन बन्दै गएको छ ।’

उनी थप्छन्, ‘जनवाद ल्याउन त सकिन्छ तर पहिले आम जनताको साथ र सहयोग चाहिन्छ । अब फेरि सशस्त्र युद्ध गरेर जनवाद ल्याउने कुरा त्यति सहज छैन । विप्लवले फेरि युद्ध सुरु गरे भने मजस्ता घाइतेहरुको सङ्ख्या अझै बढ्छ । मलाई त हेरेन भने उनीहरुलाई पनि कसले पो हेर्ला र ! मेरै जस्तो हालत हुने हा भने किन आन्दोलन गर्नु । त्यसकारण अब फुटेर होइन, जुटेर मात्रै केही गर्न सकिन्छ । अब सबै जुटेर आफ्नो देश र जनताको विकासका लागि अगाडि बढ्नुपर्छ । अरू देशले चिनी छर्किएर हाम्रो देशमा लड्डु खाइरहेका छन् । त्यसकारण अब देशको आर्थिक उन्नतिका लागि सबै जना मिलेर अगाडि बढ्नुपर्छ ।’

(जयबहादुर न्यासुर अर्थात् जेबी दाइको भिडियो कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।)

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
Loading comments...