केन्द्रीय संस्करण

कोरोनाभाइरस ऊहान डायरीः प्रियजनहरु कुनै हेरचाह बिना मरेको देख्दा

person explore access_timeफागुन २, २०७६ chat_bubble_outline0

हुबेईको मध्य चिनियाँ प्रान्तमा रहस्यमयी नयाँ भाइरस देखिएका सुरुवाती दिनमा अस्पतालमा शैय्याको कमी भएका कारण पनि यो व्यापक रुपमा फैलिएको बताइएको छ । अर्थात्, कति बिरामीले उचित हेरचाह पाउन सकेनन् ।

ऊहानका दुई स्थानीयले बीबीसीसँगको कुराकानीमा कोरोना भाइरसले आक्रान्त शहरमा आफ्ना बिरामी प्रियजनलाई अस्पतालमा उचित स्वास्थ्योपचार दिलाउनका लागि भोगेको कष्टदायी अनुभव साझा गरेका छन् ।

‘हजुरबुवा, रेष्ट इन पिस’ सियाओ ह्वाङ्ग

ह्वाङ्गलाई सानैदेखि उनका हजुरबुवा हजुरआमाले हुर्काएका थिए । उनको आमाबुवाको उनी सानै हुँदा मृत्यु भएको थियो ।

आफ्ना ८० वर्षका हजुरबुवा हजुरआमाले आफ्नो वृद्ध अवस्था निकै शान्तिपूर्ण ढङ्गले व्यतित गर्न सकून् भन्ने ह्वाङ्गले आशा राखेका थिए ।

तर १५ दिनको अन्तरालमा उनका हजुरबुवाको कोरोनाभाइरसले ज्यान लियो । अब उनकी हजुरआमाको स्वास्थ्य अवस्था निकै गम्भीर छ ।

ह्वाङ्गका हजुरबुवा हजुरआमालाई जनवरी २० मा स्वासप्रश्वाससम्बन्धि समस्या देखियो । उनीहरु जनवरी २६ सम्म अस्पताल जान सकेनन् । ऊहानमा २३ जनवरीदेखि सार्वजनिक यातायात पनि ठप्प भएपछि उनीहरु चाँडो अस्पताल जान नसकेका हुन्  ।

जनवरी २९ मा उनीहरु नोभेल कोरोना भाइरसबाट ग्रस्त भएको पुष्टि भयो । तर त्यसको तीन दिनपछि मात्रै उनीहरुलाई अस्पतालमा भर्ना लिइयो ।

अस्पतालमा कुनै खाली शैय्या थिएनन् । उनका हजुरबुवा–आमालाई असाध्यै ज्वरो आएको थियो र सास फेर्न समस्या भइरहेको थियो तर उनीहरुलाई करिडोरका सिट प्रदान गरियो । उनले अस्पतालसामू याचना गरे, त्यसपछि उनले लामो कुर्सी र फोल्डिङ बेड पाए ।

‘डाक्टर, नर्सलाई देख्नै पाइँदैन,’ ह्वाङ्गले आफ्नो डायरीमा लेखे । ‘डाक्टरबिनाका अस्पताल चिहानजस्तै हुन् ।’

उनको हजुरबुवाको मृत्यु हुनु अघिल्लो दिन, ह्वाङ्ग आफ्ना हजुरबुवा–आमासँग करिडोरमा थिए । उनले भने, ‘हजुरबुवा बेहोसीमा बोलिरहनुभएको छ भन्ने कुरा हजुरआमालाई थाहा नहोस् भनेर म त्यतिबेला हजुरआमासँग निरन्तर बोलिरहेको थिएँ ।’

उनको हजुरबुवाको मृत्यु हुने तीन घण्टाअघि मात्रै उनले शैय्या पाए । ह्वाङ्ग अन्तिम समयसम्म पनि हजुरबुवाको साइडमा थिए ।

उनले चीनको ट्वीटर प्लेटफर्म वेइबोमा लेखे, ‘हजुरबुवा, रेष्ट इन पिस । स्वर्गमा कुनै पीडा हुँदैन ।’

‘थुप्रै बिरामी अन्तिम अवस्थामा एक्लै बस्न बाध्य छन् । परिवारका सदस्यले आफ्नो प्रियजनलाई अन्तिम पटक हेर्नसमेत पाउँदैनन् ।’

उनकी हजुरआमा अस्पतालमा रोगसँग लडिरहेकी छिन् । हजुरआमासँग उनले जतिसक्दो समय बिताइरहेका छन् ।

‘यो रोगको कुनै पनि प्रभावकारी औषधी छैनन् । डाक्टरले मलाई हिम्मत नहार्न भनिरहेका छन्,’ उनले भने ।

‘भाग्यले जे निर्धारण गरेको छ, त्यहि भोग्ने हो,’ उनले भने ।

फेब्रुअरी ७ देखि ह्वाङ्ग आफैं पनि बिरामी परेका छन् । उनलाई एक होटलमा दुई हप्ताका लागि क्वारेन्टाइनमा राखिएको छ ।

‘उनले खोक्दा रगत देखिन थाल्यो,’ दा चुन

जनवरीको सुरुवातमा दा चुनकी आमालाई ज्वारो आयो । त्यतिबेला उनको परिवारले चिसोका कारण त्यस्तो भएको अनुमान गरे । तसर्थ यसलाई साधारण लिए । उनीहरुले रहस्यमयी रोगबारे गाइँगुइँ त सुनेका थिए ।

तर उनको ज्वरो एक हप्ता बितिसक्दा पनि कम भएन । उनलाई स्थानीय क्लिनकमा खोपसमेत दिइएको थियो । जनवरी २० तारिखमा चिनियाँ अधिकारीले कोरोनाभाइरस मानिस मानिसबीच पनि सर्छ भन्ने निष्कर्ष निकाल्यो । त्यसपछि उनले आफ्नी आमालाई लिएर बिरामी राख्ने क्लिनिकमा गए ।

छातीको एक्सरे र रगत परीक्षणपछि डाक्टरले उनकी आमा नोभेल कोरोना भाइरसबाट संक्रमित भएको जानकारी दिए ।

‘अहिलेसम्म पनि मलाई यो कुरामा विश्वास नै लागेको छैन,’ दा चुनले भने ।

तर समस्या यत्तिमा मात्रै समाप्त भएन । डाक्टरले अस्पतालमा कोरोना भाइरस संक्रमणका लागि आवश्यक किट नभएकोले उनकी ५३ वर्षे आमालाई भर्ना गर्न नसक्ने बताए । जनवरीको अन्त्यसम्म परीक्षण किट आठ अस्पतालमा मात्रै उपलब्ध गराइएको थियो ।

‘अस्पतालका एक डाक्टरले मेरी आमालाई भर्ना गर्नका लागि उनीहरुसँग कुनै अधिकार नभएको बताए । स्थानीय स्वास्थ्य आयोगले संक्रमितका लागि शैय्या प्रदान गर्छ,’ २२ वर्षे उनले भने । ‘त्यसकारण डाक्टरले मेरी आमामाथि कोरोना भाइरसको संक्रमण परीक्षण गर्न सकेनन् र उनलाई शय्या उपलब्ध गराउन सकेनन् । ’

दा चुनका अनुसार यस्तो समस्या भोग्ने उनी एक्ला व्यक्ति होइनन् । विच्याट ग्रुपमा समावेश दुई सय सदस्यले यस्तै समस्या भोगेको बताएका छन् ।

उनका भाइ  अस्पतालमा खाली शय्या छ छैन भनेर घण्टौं लाइनमा बस्ने गर्थे । उनी आफ्नी आमासँग सधैं क्लिनिक धाउँथे । क्लिनिकमा जाँदा उनीहरुले बिरामीको परीक्षण अगावै वा भर्ना हुनु अघि नै अब्जर्भेसन रुममा मृत्यु भइरहेको देखे ।

‘शवलाई तन्नाले बेरेर पार्लरका कर्मचारीले बाहिर निकाल्थे,’ उनले भने, ‘उनीहरुलाई कोरोना भाइरसका कारण मृत्यु भएकाहरुको सूचीमा राखिने नराखिने कुरामा म अनभिज्ञ छु ।’

उनकी आमाको स्वास्थ्य थप जटिल बन्दै गइरहेको थियो । उनले खोक्दा रगत देखिन थालेको थियो र उनको पिसाबमा पनि रगत देखिन थालेको थियो ।

जनवरी २९ मा उनकी आमालाई अन्ततः अस्पताल भर्ना गरियो तर उनका अनुसार उनले उचित स्वास्थोपचार पाइरहेकी छैनन् । अस्पतालमा पर्याप्त स्रोत साधन पनि छैनन् ।

तर उनले आफ्नो हिम्मत भने गुमाएका छैनन् । भन्छन्, ‘मेरी आमालाई निको हुन्छ ।’

 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
Loading comments...