केन्द्रीय संस्करण
मेरो जीवन

नेपाली नोटका डिजाइनर सुन्दर श्रेष्ठको जीवन : हातैले डिजाइन गरेको हुँ भन्दा विदेशी छक्क परे

person explore access_timeअसार ६, २०७७ chat_bubble_outline0

अहिले नेपालमा रुपैयाँ ५ देखि १००० सम्मका जति पनि नोटहरु प्रचलित छन् ती सबैको डिजाइनर हुन् सुन्दर श्रेष्ठ । उनले १ र २ को सिक्काको समेत डिजाइन गरेका थिए । नेपाल राष्ट्र बैङ्कमा ३० वर्षे जागिरे जीवन बिताएका श्रेष्ठले डिजाइन रहेको तीनवटा नोट र एक सिक्का विश्व प्रसिद्ध अन्तर्राष्ट्रिय समाचार पत्र ‘टेलिग्राफ’ले ‘वर्ल्ड मोस्ट ब्युटिफुल करेन्सी’को सूचीमा समेत राखेको छ ।

पाल्पा सदरमुकाम तानसेनको वसन्तपुर टोलमा विसं २०१७ मा जन्मिएका श्रेष्ठ फिल्मको प्रचार सामग्री पोस्टर, पम्प्लेटलगायतको डिजाइन भित्र्याउने पहिलो व्यक्ति पनि हुन् । उनले २०४३ मा निर्माण भएको फिल्म ‘सन्तान’बाट प्रचार सामग्री पोस्टर, पम्प्लेट लगायतको डिजाइन नेपालमै सुरुवात गरेका थिए । त्यस अगाडि यो काम भारतमा हुने गर्दथ्र्याे ।

अहिलेसम्म नेपालमा जति पनि साना तथा ठूला पर्दाका फिल्म बनेका छन् तीमध्ये ९५ प्रतिशतको प्रचार डिजाइनर काम उनको हातबाट भएको छ ।

श्रेष्ठ चित्रकार पनि हुन् । सानैदेखि चित्र कोर्न मनपराउने उनले कोरेका विभिन्न चित्र अन्तर्राष्ट्रिय क्षेत्रमा पनि बिक्री वितरण हुँदै आएका छन् । नेपाली नोटको डिजाइन पनि श्रेष्ठले हातैले गरेका थिए । उनको यो प्रतिभाको कारण जर्मनीको पैसा छाप्ने छापाखानाले उनलाई त्यहीँ बस्न राम्रो अफरसमेत दिएको थियो । देशको मायाले आफूले त्यो अफर अस्वीकार गरेको श्रेष्ठले बताए । यिनै नेपाली नोटका डिजाइनर सुन्दर श्रेष्ठको जीवनका विभिन्न पाटा रातोपाटीको ‘मेरो जीवन’ स्तम्भमा खोतल्ने प्रयास गरेका छौँ ।

मेरो खाना

साधारण दालभात, तरकारी र अचार नै मेरो मनपर्ने खाना हो । खसीको मासु धेरै मनपर्छ । मन नपर्ने खाना अहिले त्यस्तो केही छैन । रेस्टुरेन्ट साथीभाइ, परिवार लगायतसँग जान्छु ।

बच्चाहरु रेस्टुरेन्टको मम रुचाउँछन् । त्यसैले रेस्टुरेन्टमा धेरै खाने भनेकै मम हो । मलाई पकाउन आउँछ, रुचि पनि छ । खसीको मासुलगायत सबै प्रकारका परिकार मीठो पकाउन सक्छु ।

मेरो फिट्नेस

बिहानको समय अलि अल्छी लाग्ने भएकाले म फिट्नेसका लागि त्यस्तो केही गर्दिनँ । कहिलेकाहीँ चावहिलदेखि पशुपतिसम्म मर्निङवाक जान्छु ।

मेरो पहिलेदेखि अहिलेसम्म पनि मध्यपान, धूमपान लगायत कुनै पनि लत नभएकाले एक्सरसाइजको आवश्यकता पनि परेको छैन ।

मेरो पोसाक

धेरै प्रयोग गर्ने पोसाक क्याजुल ड्रेस नै हो । यसमा पनि टिसर्ट, जिन्स पाइन्ट बढी मनपर्छ । फर्मल कार्यक्रम तथा विशेष सभासमारोहमा जानुपर्दा राष्ट्रिय पोसाक दौरासुरुवाल र कोटपाइन्ट प्रयोग गर्छु ।

म आफू रङसँग खेल्ने मानिस भएकाले परिहन कलर यस्तै मनपर्छ भन्ने छैन । सबै कलरको पहिरन प्रयोग गर्ने गरेको छु । हरियो रङले भने आँखामा सितल दिन्छ ।

म क्यापको सौखिन ब्यक्ति हुँ । घरमा जहिले पनि ४०, ५० वटा क्याप छ । मेरो पहिरन जहिले पनि श्रीमतीले किनिदिने भएकोले बार्षिक पहिरन खर्च थाहा छैन । त्यस्तै २५, ३० हजारको पहिरन लाग्छ होला ।

मेरो अध्ययन

अध्ययन रुचिको विषय हो । तर पछिल्लो समय पुस्तक त्यति पढ्ने गरेको छैन । पत्रपत्रिका, अनलाइन समाचार भने धेरै पढ्छु ।

व्यक्तिगत जीवनी, मानिसको सङ्घर्षका कथा समेटिएको पुस्तक, आत्मकथा, उपन्यास अध्ययन रुचिका विषय हुन् ।

मेरो फुर्सद

जीवनमा गाह्रो विषय भनेको फुर्सद निकाल्न भएको छ । बिहान ८ बजे घरदेखि अफिस निस्किन्छु । राति ९ बजेतिर घर फर्किन्छु । दिनभर पूरै व्यस्त हुन्छु ।

शनिबार, बिदाको दिन केही फुर्सद हुन्छ । यो समय परिवारलाई दिने, फिल्म हेर्ने, साथीभाइ भेट्ने र सामाजिक कामका लागि सदुपयोग गर्छु ।

मेरो खेलकुद

खेलकुदमा धेरै रुचि छ । टिभीमा धेरै खेलकुद नै हेर्छु । फुटबल असाध्यै मनपर्छ । स्कुल पढ्दा म फुटबल, बक्सिङ, कराँते लगायतको राम्रो खेलाडी थिएँ । खेलका विभिन्न प्रतियोगितामा भाग लिन्थे । पुरस्कार जित्थेँ । अहिले खेल्न भ्याउदिनँ । सक्दिनँ पनि होला । हेरेरै चित्त बुझाउँछु ।

मेरो मोबाइल

अहिले मसँग एउटा सामसुम ब्रान्डको एटप्लस मोबाइल छ । फोन गर्ने, उठाउने, फेसबुकमा साथीभाइ, आफन्तको जन्मदिन विस गर्नेलगायत कामका लागि प्रयोग हुन्छ । म त कलाकार मानिस, बाटोमा हिँड्दा केही राम्रो चिज देखेँ भने फोटो पनि यसैबाट खिच्छु ।

मेरो टिभी

टिभी बिहान बेलुका दुवै समय हेर्छु । रातको ११ बजेसम्म टिभी हेर्ने बानी छ । बिहानको समय बढी समाचार हेर्छु । बेलुका समाचार, खेलकुद र अन्य गतिविधि हेर्छु । खेलकुदमा पनि फुटबल, कुस्ती धेरै मनपर्छ ।

मेरो चलचित्र

चलचित्र हेर्न मनपर्छ । हलमै गएर र घरमा पनि चलचित्र हेर्छु । यो लकडाउनको समय घरमा बसेर साउथ इन्डियन फिल्म धेरै हेरेँ । एक्सन फिल्म हेर्न मनपर्छ ।

हिन्दी, नेपाली, अङ्ग्रेजी सबै प्रकारका फिल्म हेर्छु । पहिलो प्रथामिकता नेपाली फिल्मलाई दिन्छु । पछिल्लो समय हेरेको फिल्म ‘छ माया छपक्कै’ हो । मेरो पेसा पनि फिल्म क्षेत्रसँग सम्बन्धित भएकाले धेरैजसो नेपाली फिल्म हेर्न बोलाउँछन् । बोलाएको बेला भ्याएसम्म जान्छु ।

मेरो पेसा

पेसाले म डिजाइनर र आर्टिस्ट हँु । सानैदेखि आर्ट मनपथ्र्योे । त्यसैले यही पेसा रोजेँ । सानोमा बुबाहरुले नागको फोटो बनाएर टाँसेको हेरेर बनाउँथेँ । गर्दै जाँदा यसैमा रुचि भयो । मेरो आर्ट कलाको कोही गुरु छैन ।

सानोमा बुबाको देखेर सुरु गरेको आर्ट स्कुलमा पनि जारी राखे । आर्टबाटै मैले स्कुलमा, अन्तर जिल्लालगायत विभिन्न पुरस्कार पनि जितेको छु । बिस्तरै बिस्तारै मेरो पेसा नै आर्ट भयो ।

काठमाडौँ आएपछि नेपाल राष्ट्र बैङ्कमा चित्रकारका रूपमा जागिर खाएँ । त्यो समय चित्र बनाएर राष्ट्र बैङ्कका कोठाका भित्ताहरु सजाउँथे । अहिले पनि राष्ट्र बैङ्कको धेरै भित्तामा मेरा चित्रहरु झुन्डिएका छन् । राष्ट्र बैङ्कमा मैले तीस वर्ष आर्ट तथा डिजाइनमा जागिर खाएँ ।

अहिले चलन चल्तीमा रहेका ५ देखि १००० सम्मका नोट, १ र २ को सिक्का मैले नै डिजाइन गरेको हो । मैले डिजाइन गर्नुपूर्व पहिले नोट जुन देशमा छापिन्थ्यो । त्यही डिजाइन हुन्थ्यो ।

नोट डिजाइन गर्ने कुरो संवेदनशील विषय हो । त्यसैले जहाँ पायो त्यहीँ गर्न पनि मिल्दैन । मसिनो मसिनो कुरोमा पनि ध्यान दिनुपर्ने भएकाले जो पायो त्यहीले गर्न पनि सम्भव थिएन ।

त्यस्तै २०५३ सालमा तत्कालीन राजा श्री ५ वीरेन्द्रको गद्दी आरोहणको २५ वर्ष पुगेको अवसरमा २५० र २५ को नोट मैले डिजाइन गरेँ, जुन जर्मनीमा छापिएको थियो ।

त्यहाँको नोट छाप्ने काम्पनीले होलोग्राम कसरी राख्ने र डिजाइनमा थप परिमार्जन गर्न पनि सकिन्थ्यो भनेर मलाई बोलाएको थियो । त्यहाँ मैले थाहा पाएँ, पैसा डिजाइन गर्ने व्यक्ति विशेषज्ञता हासिल गरेका हुँदारहेछन् । त्यहाँ कलर, चित्र, साइज लगायत प्रत्येक विषयका विज्ञहरु हुँदारहेछन् । नेपालको नोट म एक्लैले, त्यो पनि हातले डिजाइन गरेको हुँ भन्दा त्यहाँ सबै छक्क परेका थिए ।

सो समय नेपालमा भर्खर भर्खर कम्प्युटर आएको थियो । मैले भने नोटको डिजाइन हातले नै गरेको थिएँ । जर्मनमा भने हरेक नोटका सबै काम कम्प्युटरले हुँदो रहेछ ।

हातले नोट डिजाइन गरेको कारण मलाई जर्मनमै बसेर काम गर्ने राम्रो अफर आएको थियो । मैले अस्वीकार गरेँ ।

अहिले बागबजारमा मेरो आफ्नो डिजाइनर अफिस आइडियल डिजाइनिङ छ । त्यो एक साथीसँग मिलेर २०४१ खोलेको हो । यो अफिसबाट २०४३ देखि नियमित फिल्मको पोस्टर, पम्प्लेटलगायत प्रचार सामग्री डिजाइन हँुदै आएको छ ।

फिल्म ‘सन्तान’बाट सुरु भएको यो कार्य अहिले पनि जारी छ । आइडियल खोल्नु अगाडि नेपाली फिल्मको सबै प्रचार सामग्रीको डिजाइन भारतबाटै हुन्थ्यो । पछिल्लो केही वर्षयता नेपाल आइडियलका अलवा अन्य केही डिजाइन अफिस खुलेका छन् । जसका सञ्चालकमध्ये केही मेरा चेला हुन् ।

मेरो दुःख

जीवन यात्रामा यो घडीसम्म मैले सुखभन्दा धेरै दुःख नै भोगेको छु । म ९ वर्षको थिए । बुबा बित्नु भयो । त्यसपछि मेरो सङ्घर्षको दिन सुरु भए ।

सङ्घर्षकै क्रममा ३ सय रुपैयाँ बोकेर पाल्पाबाट काठमाडौँ छिरेँ । काठमाडौँमा चिनजानको कोही थिएनन् । त्यसैले प्रतिदिन ८ रुपैयाँ तिरेर क्षेत्रपार्टीको एक लजमा बसेर सङ्घर्ष गर्दथेँ ।

राष्ट्र बैङ्कमा आर्टिसका रूपमा जागिर सुरु गरेपछि जीवन अहिलेको अवस्थामा ल्याउन सफल भए । म धेरै दुःख भोगेको मानिस हँु । अहिले भर्खर अलिअलि सुख भएको छ । दुःख गरेकाले नै अहिले सुखको अनुभूति गर्न पाएको हो । आफूले गरेको काममा अरूले नराम्रोभन्दा दुःख लाग्दो रहेछ ।

तर मैले कहिल्यै पनि त्यसलाई दुःख मान्दिनँ । त्यो दुःख मानेको भए म सायद अहिलेको अवस्थासम्म आउन सक्दिनथेँ ।

मैले केही दिन पहिले अभिनेत्री मनिषा कोइरालाको एक तस्बिर हातैले बनाएर फेसबुकमा राखेको छु । त्यसलाई धेरैले राम्रो भनेका छन् । यो अवस्थाले सबै दुःख भुलाउँदो रहेछ ।

मेरो गीतसङ्गीत

गीतसङ्गीत धेरै मनपर्छ, सुन्छु । जतिबेला रेडियो नेपाल मात्र थियो त्यो समय पनि रातको ११ बजेम्म पनि गीतसङ्गीत सुन्थेँ । मैले चलचित्रका लागि ४०, ४२ वटा गीत लेखेको छु । मैले लेखेको गीत हिट पनि छन् ।

सबै प्रकारका गीतसङ्गीत सुन्न मनपर्छ । टिभी, युट्युब, रेडियो, मोबाइल लगायत सबै माध्यमबाट गीत सुन्ने, हेर्ने गर्दछु ।

मेरो मापसे

धूमपान, मध्यपानको लत कहिल्यै बसेन । चिया भने धेरै खान्छु । दिनको २०, २५ कपसम्म पनि पुग्छ । चिया धेरै भएको कारणले एक पटक अल्सर भएर झन्डै मरेको थिएँ ।

मापसे नगरे पनि अचेल घरमा सजाएर राख्ने चलन आएको छ । मैले पनि विदेशबाट फर्किंदा ल्याएको रक्सी सजाएर राखेको छु । त्यो साथीभाइ घरमा आउँदा काम लाग्ने गरेको छ ।

मेरो भुल

जीवनमा जानीनजानी भुल धेरै भयो होला । भुल नगर्ने त मानिस नै हुँदैन । पछुताउनुपर्ने भुल भने गरेको छैन । नजानी नजानी कतिको चित्त दुखाए होला । तर जानेर अहिलेसम्म कसैको मन दुखाएको छैन ।

मेरो सपना

जीवनको अहिलेसम्मको यात्रा कुनै सपना बोकेर  गरेको छैन । काम गर्दै जाँदा जीवनको आवश्यकता पूरा हँुदै गयो । मैले नोटको डिजाइन गर्दा, बागबजारमा फिल्मको प्रचार सामग्रीको डिजाइन अफिस खोल्दा नेपालमा पनि यी काम हुन्छ भन्ने कसैले सोचेका पनि थिएन् । यी काम धेरैका लागि सपना जस्तो भयो । आगामी दिनमा यी काममा जसले जस्तो फड्को मारे पनि सुरुवात गर्नेमा मेरो नाम आउँछ नै ।

यो देशमा काम गरेर खाने वातावरण बनोस्, सबैले काम पाऊन्, देशको प्रगति होस् भन्ने आम नेपालीको जस्तो साझा सपना मेरो पनि एउटै छ ।

मेरो रोग

भगवानको कृपाले त्यस्तो ठूलो रोग केही छैन । युरिकएसिडले सताएको छ । सुगर पनि बोडरलाइनमा पुग्न लागेको छ ।

मेरो आमा सुगरको कारणले बित्नु भएको हो । डाक्टरले सुगर वंशाणु गत हो भनेका छन् । त्यसका लागि गुलियो खादिन । यो रोगको औषधि पनि खाँदैछु ।

मेरो राशि 

मेरो राशि सिंह हो । ग्रहदशामा विश्वास लाग्छ । ज्योतिष कहिलेकाहीँ हेराउने, देखाउने गरेको छु । बिहान नियमित पूजापाठ गर्छु ।

श्रीमतीको पनि भगवानप्रति निकै आस्था रहने गरेको छ । उनका कारणले पनि मन्दिर जानुपर्ने हुन्छ ।

मेरो मृत्यु

मृत्यु ध्रुव सत्य हो । जन्मिएपछि एकदिन मर्नैपर्छ । मानिसले एक दिन मर्नुपर्छ भनेर सोच्नुपर्छ । सबै आफै खाऔँ, आफै लाऔँ भन्ने जस्तो गर्नु हुँदैन । मरेपछि पनि अरूले यो मानिस ठीक थियो भन्ने कर्म गर्नुपर्छ भन्ने मेरो धारणा हो । सबैलाई मेरो एउटै अनुरोध छ ‘मरेपछि पनि सम्झने कर्म गरौँ ।’

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.