केन्द्रीय संस्करण
मेरो जीवन

१८ हजार 'प्रकरण'पछि काठमाडौँ छिरेका रोमी गौचन, जो दुईपटक मन्त्री भए

‘राजनीतिमा लाग्नु सायद मेरो भुल हो कि !’

person explore access_timeसाउन १०, २०७७ chat_bubble_outline0
फोटोः सुवास श्रेष्ठ

रोमी गौचन थकाली नेपाली काँग्रेसका नेता हुन् । पार्टीभित्र स्पष्ट वक्ताका रूपमा उनी चिनिन्छन् । गिरिजाप्रसाद कोइरालको सङ्गतमा लामो समय काम गरेका उनलाई पार्टीभित्र इमानदार कार्यकर्ताका रूपमा सबैले चिन्छन् । 

गिरिजाप्रसाद कोइरालाले थकालीलाई अति गोप्य कार्यको जिम्मेवारीसमेत दिएका थिए । दुई पटक मन्त्री र पटक पटक सांसद बनेका थकाली मुस्ताङ जिल्लामा लोकप्रिय मानिन्छन् । मुस्ताङ जिल्लामा काँग्रेसको झण्डा गाड्नेदेखि लिएर विकास प्रवेश गराउने श्रेय उनलाई नै जान्छ । थकालीको अहिले पनि मुस्ताङको लेतेमा होटल छ । यो उनको पुर्ख्यौली थलो हो भने व्यवसाय पनि पुर्ख्यौली नै हो ।
 

नेपाली काँग्रेस राजनीतिमा विभिन्न उतारचढाव पार गर्दै अगाडि बढेका थकाली लोकतन्त्रप्रति आउने अड्चनप्रति चिन्ता व्यक्त गर्दछन् । राजनीतिमा धेरै जोखिम मोलेर, मर्न सधैँ तयार रहँदै अगाडि बढेका उनको विद्रोही स्वभाव पनि रहेको छ । उनै गौचनको जीवनका विभिन्न पाटा रातोपाटीको ‘मेरो जीवन’ स्तम्भमा उनकै शब्दमा ।

मेरो खाना 
मकैको च्याँख्ला, जौ तथा फपरको पिठोको ढिँडो, लोकल च्याउ, टुसाको तरकारी र जिम्बु झानेको सिमीको कालो दाल मेरो फेबरेट खाना हो । मेरो गाउँको खाना अहिले काठमाडाँैमा पनि सधैँ यही खान्छु । 

मेरो मननपर्ने खाना त्यस्तो केही छैन । चिल्लो बढी खान्नँ । मासु सकेसम्म कम खान्छु । साथीभाइ, परिवार लगायतसँग रेस्टुरेन्ट जान्छु । रेस्टुरेन्टमा मैले खाने कफी, माछा, सिजलर, थकाली खाना आदि हुन् । अर्गानिक, भेजिटेबल र सलाद धेरै मनपर्छ । 

पकाउन धेरै रुचि छ । म जन्मिनुभन्दा ३ वर्ष अगाडि बुबाले गाउँमा पर्यटकीय होटल खोल्नु भएको रहेछ । होटलका लागि आजभन्दा १०, १५ वर्ष अगाडिसम्म कुक, वेटर राख्ने चलन थिएन । हामी आफैले पकाउनुपथ्र्याे । चाइनिज, इटालियन, कन्टिनेन्टल लगायत मैले बनाउन नजान्ने कमै खाना होला ।

मेरो फिट्नेस 
फिट्नेसका लागि सजक छु । नियमित योगा गर्छु । सानैदेखि दैनिक करिब ५० मिनेट ध्यान गर्ने बानी छ । कुनै दिन ध्यान गर्न पाइन भने दिनभर उकुसमुकुस हुन्छ । 

पछिल्लो दिनहरुमा रामदेवको अलालाम बिलालाम, प्राणायम पनि नियमित गर्छु । फिजिकल थेरापी पनि नियमित छ । घरमा एक्सरसाइजका सामान  काठको घुमाउने, ट्रेडमिल र मसाजर छ ।

यीभन्दा पनि कडा खालको बेड मनपर्छ । म खाटमा बिरलै सुत्छु । सानैदेखि दुःखमा हुर्केको भएर होला कम्बो, गुन्द्री र भुइँमा सुत्न मनपर्छ ।

मेरो पोसाक
सट, पाइन्ट, टिसर्टलगायत फर्मलभन्दा पनि इन्फर्मल पहिरन मलाई मनपर्छ । कटनको पहिरन मेरो रोजाइमा सधैँ पर्छ । फर्मल कार्यक्रम, सभासमारोहमा जानुपर्दा कोट पाइन्ट प्रयोग गर्छु ।

गाढा खालको स्काई ब्लु, सेतो, डिप, क्रिमकलर पहरनमा मनपर्ने रङ हुन् । चहकिलो, बुट्टेदार कहिलै मन परेन ।

कटन शतप्रतिशत हुनुपर्यो ब्रान्डेड हो होइन मतलभ हुँदैन । कालोटोपी नियमित लगाउँछु । टाउकोमा कपला रोप्ने इच्छा छ ।

त्यो नक्कल पार्नका लागि होइन । सामान्य देखिन हो । हाम्रो थकाली समुदायमा बाहिरबाट आउने पाहुनाले गिफ्ट दिने चलन छ । त्यसले गर्दा कहिलेकाहीँ मात्र सपिङ गर्नुपर्छ । त्यसैले पहिनमा धेरै खर्च हुन्न ।


    
मेरो अध्ययन
अध्ययन एकदमै मनपर्छ । मेरो अफिस र घर नै किताबले भरिएको छ । अहिले जताततै बौद्धिकता खोजिने भएकाले अध्ययनमा विशेष रुचि छ । 

राजनीतिमा लागेपछि इतिहास, एकाउन्ट, अर्थशास्त्र बढी चाँहिदो रहेछ । विद्यार्थी जीवनमा त्यो अध्ययन नभएकाले अहिले यस्ता पुस्तक, फिलोसोफी, धार्मिक ग्रन्थहरु पढ्छु । 

रामायणको भाषा एकदमै मनपर्छ । बुद्धिस्ट, राजनीतिक विषयका किताब बाहिर आएका छन् भने खोजेर, किनेर पढ्छु ।

दैनिक रातिको १०ः३० देखि १ बजेसम्म मेरो अध्ययनको समय हो । हालै अध्ययन गरेर सकाएको किताब ‘हाउ डेमोक्रेसी फेल्स’ भन्ने हो । रिपब्लिक इन नेपाल, माउस किङ ग्रास रुट भन्ने किताब अहिले पढ्दैछु ।

मेरो फुर्सद 
फुर्सद भयो भने छटपटी हुन्छ । त्यसैले आफूलाई व्यस्त राख्छु । जनताले, उच्चतहका नेताहरुले विश्वास गर्छन् । उनीहरुले समूहगत छलफल, विचारका छलफलमा बोलाउँछन् । 

अहिले मेरो दैनिक २ सयदेखि ३ सय फोन कल आफ्नो जिल्लाका व्यक्तिहरुसँग हुन्छ । चाहे उनीहरु जुनै पार्टीका हुन् । समस्या, विचार बुझ्ने गर्दछु ।

म ग्रासरुट लेबलबाट उठेको भएकाले मलाई त्यस्तैको बढी चिन्ता लाग्छ । आजको दिनसम्म मैले आराम गर्नुपर्छ । यो आराम गर्ने दिन हो भनेर बसेको छैन । 

मेरो खेलकुद 
खेलकुद मनपरे पनि अहिले खेल्न सकिन्न । पहिले युवा अवस्थामा खेल्थेँ । मुस्ताङमा खेलकुदको एउटा चर्चित संस्था छ खेलकुद तथा संस्कृतिक विकास सङ्घ । त्यसको संस्थापक अध्यक्ष भएर १४ वर्षसम्म चलाएँ ।

२०५६ संसदमा निर्वाचित भएपछि त्यसबाट राजीनामा दिएको थिएँ । पहिले मेरो फुटबल र भलिबल फेबरेट खेल थियो ।

फुटबलमा इन्जिनियरिङ क्याम्पसको राम्रो खेलाडी थिएँ । अहिले भने खेलकुदमा विश्वकप फुटबल र क्रिकेटका गेमहरु हेर्छु ।

मेरो मोबाइल
मसँग आइफोन ब्रान्डको एउटा मोबाइल छ । यो मोबाइल छोराको मित जो नेपाल एयरलाइन्समा क्याप्टेन छन् । उनले हङ्कङबाट ल्याइदिएका हुन् ।

फोन गर्ने, सामाजिक सञ्जाल चलाउने, अनलाइनमा समाचार पढ्ने, युट्युब हेर्ने लगायतमा लागि मोबाइल प्रयोग हुँदै आएको छ ।

म मोबाइल बिरलै किन्छु । अरूले गिफ्ट दियो भने फेर्छु । फेरेको मोबाइल म पनि अन्य कसैलाई गिफ्ट दिएकै हुन्छु । 

मेरो टिभी 
टिभी मेरो साथी हो । फुर्सद भयो कि हेर्छु । दिउँसो १, २ बजेको समय र बेलुका ९ बजेसम्म म देश विदेशका समाचार हेर्छु । आजतक, सीएनएन लगायत टिभी च्यानल कहिलै छुटाउँदिन ।

पहिले बीबीसी धेरै हेर्ने । अहिले नेपाली च्यानल पनि धेरै उत्कृष्ट  छन् । ती फेरिफेरि हेर्छु । टिभीमा इन्डियन आइडियल, सारेगमप लगायत गायन र नृत्यका रियालटी सोसमेत हेर्न मनपर्छ । 

मेरो चलचित्र
चलचित्र घरमा धेरै हेर्छु । हलमा गएर पनि हेर्छु । पाएसम्म नेपाली हेर्छु । हिन्दी फिल्म भने हलमा भन्दा घरमै हेर्छु ।

‘गरम मसला’ हलमा हेरेको पछिल्लो हिन्दी फिल्म हो । नेपाली फिल्म ‘कबड्डी’का सबै सिक्वेल मुस्ताङको मेरो घरमा सुटिङ भएकाले हलमा गएर हेरेको छु ।

अहिलेसम्म हेरेको फिल्ममध्ये मनपरेको नेपालीमा ‘वासुदेव’ हो । कथा राम्रा भएका फिल्म हेर्न मनपर्छ ।

मेरो भाषाशैली
भेडागोठ चराएर, खेती किसानी गरेर हुँर्किएको मानिस हुँ । मेरो स्वर नै ठूलो छ । यसलाई साथीहरुले अपव्याख्या समेत गरेका पनि छन् । हाम्रो थकाली समुदाय भाषामा केयर गर्ने समुदाय पनि हो । यो सुधार्ने कोसिसमा छु ।

जब म २०५६ मा परराष्ट्र सायक मन्त्री भएँ त्यो बेला थाहा भयो लिट्रेचर र भाषाको शैली अङ्ग्रेजीमा झन् धेरै खोज्नुपर्दाे रहेछ । 

शिष्ट भाषा र सम्मानजनक भाषा पहिले सामान्ती भाषा भन्ठान्थेँ, होइन रहेछ भन्ने अहिले बुझेँ । त्यसैले पनि म सकेसम्म नरम भाषा प्रयोग गर्ने कोसिस गर्छु ।

तर पनि प्रष्ट वक्ता भएको हिसाबले मेरो भाषा अलि खरो चाहिँ छ है । वाक्यांश सम्मानजनक नै हुन्छ । जोडले बोल्ने भएकाले कतिपयलाई झोक्किएको, खरो लाग्दो रहेछ ।

मेरो प्रेम 
२०४२ सालमा मुमाले खोजेको केटीसँग मागी विवाह गरेको थिएँ । विवाहपछि मात्र उनीसँग प्रेम बस्यो । मुमाले खोजिदिएको भएकाले विवाह अगाडि उनलाई देखेको थिइनँ । 

त्यतिबेला काठमाडौँमा सत्यग्रह चल्दै थियो । मेरो ओहोरदोहोर गणेशमानजीसँग थियो । सो समय  म चालीस पचास हजार सजिलै झिक्न सक्थेँ ।

त्यसैले पनि अप्ठ्यारोमा रहेको एक शेर्पा परिवारलाई सहयोग गरेको थिएँ ।

त्यो समय उक्त परिवारकी एक केटीसँग मेरो प्रेम छ भनेर बाहिर हल्ला भएको आमाबाट थाहा पाएँ । आमाले सोध्नुभयो । म प्रेम विवाह गर्न सक्दिनँ, ढिलोचाँडो तपाईंले खोजेको केटीसँग विवाह गर्ने हो भनेर जवाफ दिएँ ।

मेरो कुरा सुनेपछि आमा र आमाभन्दा पनि बढी दिदी जो अहिले अमेरिका हुनुहुन्छ । उहाँहरुले केटी हेरेका छौँ विवाह गर भन्नुभयो । मैले विवाह गरेँ । मेरो श्रीमतीको परिवारले मलाई उनी म राम्रो केटो भनेर दिएको हो होइन मलाई थाहा छैन । तर राम्रो परिवार भनेर दिएको पक्कै होला ।

त्यतिबेला म बीपीको सङ्गतमा परिसकेको थिए । जातपातको विरोध गर्थें । धेरैले कम्युस्ट, विद्रोही भन्थे ।विवाहपछि मैले उनीलाई एउटा असल पत्नीको रूपमा पाएँ । म उनको राम्रो पति हुन सकेँ कि सकिनँ, थाहा भएन ।

तर उनी मेरो घरमा बुहारी, श्रीमती, आमाको,  सामाजिक अभियन्ताको सहयोगीको भूमिकामा पाएँ । सात जन्म तपस्या गर्दा पनि नपाउने श्रीमती पाएका कारण म अहिलेको यो स्थानसम्म पुग्न सफल भएको हुँ । 

मेरो राजनीति 
मेरो कर्म, धर्म जे भने पनि राजनीति हो । त्यो दिन राम्रोसँग याद छ । त्यस्तै २०३३ साल असार १२ गते हो । म मामाको घरमा ५० हजार पैसा पुर्याउन गएको थिएँ । 

त्यो समय रबरले पैसा गोलो पारेर बानेको थिएँ । हातमै पैसा लिएर दौडिएर जाँदा बाटोमा १८ हजार खसेछ ।

मामाले तिमीले कति लिएको भनेर भन्नुभयो । सबै छ मेरो जवाफ थियो । उहाँले तिम्रो पैसा आफै गन भनेर फालिदिनुभयो । गन्दा १८ हजार पुगेन । त्यसमा सानोखालको हजारको नोट १८ वटा थिए । सबै खसेछ । फर्किएर जाँदा पनि भेटिनँ । केही मानिसलाई सोधेँ पत्ता लागेन ।

मामाले हातमा लिएको पैसा कहाँ हराउँछ । यो काठमाडौँ पढ्न जाँदैछ । चोरेर लुकाएको भनेर ट्विस्ट गराउनुभयो । सो समय मेरो पैसाको म आफै चोर भएँ ।

गाउँमा सबैले चोरको दृष्टिले हेर्न थालेपछि एक मामाको छोरी पूर्णकुमारी शेरचनसँग २० रूपैयाँ लिएर काठमाडौँ छिरेँ ।

काठमाडौँमा अस्कल कलेज पढ्दासमेत यो कुराले बिझिरह्यो । क्लासमा कहिलेकाहीँ म चोर होइन भनेरसमेत चिच्याउँथे । म डिपे्रसनमा पुगिसकेको थिएँ ।

काठमाडौँमा खाना र बस्ने ठाउँको अभावमा रत्नपार्कमा धेरै पटक भोकै सुतेको छु । त्यसैले पनि म गरिब दुःखी हेर्न सक्दिनँ । उनीहरुप्रति धेरै दया जाग्ने कारण पनि यही हो । 

त्यस समय पञ्चायतमा राज्यको पदमा मेरा मामा पनि थिए । त्यसैले यो व्यवस्था ठीक रहेनछ भनेर विरोध गरेँ ।

कलेजको स्ववियुमा नेविसङ्घबाट सचिव जितेँ । बमपन्थीको दबदबा भएको ठाउँमा नेविसङ्घबाट जित्ने एक्लो थिएँ ।

बामपन्थीको गढमा नेविसङ्घको एक सचिवले जितेकोमा थाहा भए पछि बीपीलाई कौतुहल जागेछ । उहाँसँग भेट्ने अवसर मिल्यो । उहाँसँग भेटेपछि धेरै कुराको दिमागमा गहिरो छाप पर्यो । अनि म पूर्णरूपमा काँग्रेसमा होमिएँ ।

काँग्रेसमा लागेपछि म अन्याय, अत्याचार, छुवाछूतको विरोध गर्न थालेँ । मेरा क्रियाकलापले कतिले मलाई उग्रवादी भन्थे । ०४६ को आन्दोलमा भाग लिएँ । त्यो समय जुन घरमा सुतेँ भोलिपल्ट त्यही घरमा ढुङ्गासमेत हानेँ ।

०४६ को जनआन्दोलको समर्थन गरेर वक्तव्य निकाल्ने मुस्ताङ जिल्लाको म एक्लो व्यक्ति थिएँ ।

०४८ मा म मानव अधिकारको केन्द्रीय सदस्यसमेत थिए । त्यो समय म धौलागिरि अञ्चलको संयोजकसमेत भएँ । मानव अधिकार संस्थामा काम गरेको भएकाले मैले उक्त समय खुलेर काँग्रेसलाई भोट माग्न सकिनँ । काँग्रेसकै

साथीहरुले यो एमाले रहेछ भनेर प्रचारसमेत गरे । म पहिलेदेखि नै काँग्रेस थिएँ । तर पनि उनीहरुलाई देखाउन फेरि नेपाली काँग्रेसमा बनेँ । मैले चाहेको भए ०४८ मै सांसदको टिकट पाउँथे ।

तर ०५६ मा मात्र सांसदको टिकट मागेँ । नेपाली काँग्रेसको सांसदको रूपमा मुस्ताङ जिल्लाबाट निर्वाचित भएँ । त्यसपछि ०५७ मा फुलपावरसहित परराष्ट्र सहायक मन्त्री भएँ । यो समय दरबार, अमेरिका, मित्रराष्ट्र शक्तिहरु मिलाउने काम गरेँ । 

०५७ देखि ०७० सम्म नेपाली काँग्रेसको विभिन्न महत्त्वपूर्ण पदमा रहेर जिम्मेवारी सम्हालेँ । २०७० मा फेरि चुनाव लडेँ । जितेँ । यो समय वाणिज्य मन्त्री भएँ ।

वाणिज्य मन्त्री हुँदा राम्रा व्यपारीको सहयोगी बनेँ । नराम्रा व्यापारी, कर छर्ने लगायतको दुस्मन भए । मेरो यो कामले विरोधीले मन्त्रीबाट पनि हटाउन खोज पनि सकेनन् ।

भारत, चीन लगायत केही देशसँग देशको हितका खातिर व्यावसायिक महत्त्वपूर्ण निर्णय नै गरँे । डब्लूटीओमा देशलाई १०८ भित्र पार्न सफल भएँ । जुन रेकर्डमा हेर्नसमेत पाइन्छ ।

म मन्त्री भएर गएको मन्त्रालयमा पूर्वमन्त्रीले जे सेटअप गरेका थिए त्यसको चिया पकाउनेसम्म पनि फेरिन ।

हामीले कर्मचारीलाई कुनै पनि पार्टीको आक्षेपबिना काम गरायो भने राम्रो काम गर्दा रहेछन् भन्ने अनुभव पनि लिएँ ।

उक्त समय समय ग्रामीण अर्थतन्त्रलाई ध्यानमा राखेर केही कार्यक्रम बनाएको थिएँ । त्यो अहिले कोसेढुङ्गा सावित हुँदैछ ।

मेरो सपना
अहिलेको सपनाभन्दा पनि चिन्ता बढी छ । आजसम्म आइपुग्दा हामीले २००७ सालभन्दा अगाडि र पछाडिको सबै क्रान्ति सम्झनुपर्ने हुन्छ । अहिलेसम्म जेजति क्रान्ति भए ती सबैको उपलब्धि हाम्रो अहिलेको संविधान हो । यो सबैले इमानदारीपूर्वक पूरा गर्न सक्यौँ भने सबै नेपालीको सपना पूरा हुन्छ । 

मेरो अहिलेको सपना भनेको नेतृत्व तहमा रहेका नेताहरुले जनताको सार्वभौमिकतालाई नारामा मात्र होइन व्यवहारमा उतारेको हेर्ने छ ।

मेरो गीतसङ्गीत
गीतसङ्गीत धेरै मनपर्छ, सुन्छु पनि । नेपालीमा नारायण गोपाललगायत सबै गायक गायिकाको सदाबहार क्लासिकल गीतहरु मनपर्छ ।

उम्लाओजनका गीत, पाकिजका गीत, नेपाली गजल अलि बढी सुन्छु । गीत लेख्छु पनि । गाउने रहर भए पनि स्वर छैन । नेपाली, हिन्दी, अङ्ग्रेजी सबै प्रकारका गीतहरु सुन्ने गरेको छु ।
 
मेरो भुल 
मानिस हुँ । जानी नजानी धेरै भुल भए होलान् ।  राजनीतिमा शत्रु धेरै कमाइँदो रहेछ । यसमा आएर पो भुल गरेँ कि ? 

पैसा चिन्न सकिनँ कि । सीधा बोल्नु, सत्य बोल्न खोज्नु पनि भुल होला कि । किनभने यस्तो बोली नेपाली समाज र नेतागणमा नपच्ने रहेछ ।

अध्ययन कम्प्लिट नगरी राजनीतिमा आउनु हुन्थेन कि ? यी सबै मेरो जीवनको ठूलो भुल हुन सक्छन्  ।

मेरो मापसे 
मापसे र धूमपान कहिल्यै गर्दिनँ । हाम्रो परम्परामा चढाउनुपर्ने, थोरै लिनुपर्ने हुन्छ । त्यस्तो समय औँलामा चोपेर मुखमा छर्किन्छु । 

नखाए पनि घरमा रक्सी भने टुट्दैन । पार्टीका साथीहरुले, कहिलेकहीँ बाहिरबाट आउने आफन्तले रक्सी दिन्छन् । घरमा पाहुना आएको समय त्यसको सदुपयोग गर्छु ।

मेरो रोग
भगवानको कृपाले अहिलेसम्म त्यस्तो ठूलो रोग केही छैन । अलिअलि अहिले ग्यास्ट्रिकले सताएको छ ।

केही अगाडि सुगरसमेत देखिएको थियो । नियमित औषधि सेवन र खानपानले कट्रोलमा आयो ।

मेरो राशि  
मेरो राशि मिथुन हो । ग्रहदशामा विश्वास लाग्छ । त्यसैले हेराउने, देखाउने गर्छु । पूजापाठ पनि धेरै गर्छु ।

मेरो मृत्यु
मृत्यु ध्रुव सत्य हो । यो कसैले टार्न सक्दैन । मर्नका लागि जन्मिएको हो । सो सबैलाई थाहा छ । 

म मृत्युका लागि जहिले नि तयार भएको मानिस हँु । मेरो राजनीतिमा सधैँ जोखिम मोलेर हिँड्ने, विद्रोही स्वभावसमेत छ । यसको कारणले पनि म परिवारालई मेरो कुनै पनि बेला हत्या हुन सक्छ । त्यसका लागि तिमीहरु तयार रहनु भनेर सधैँ भन्ने गर्दथेँ । कसैले नचिन्ने भएर एक सय वर्ष बाँच्नुभन्दा सबैले चिन्ने भएर ५० वर्ष बाँच्नु मेरो विचारमा राम्रो हो ।

आफूले गरेको राम्रो कामको माध्यमले मृत्युपछि पनि बाँच्न सकिन्छ । मबाट पनि त्यस्ता कर्म भएको होला ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.