केन्द्रीय संस्करण
सहाना प्रधानको जीवनी- ४

सहाना प्रधानले म्यान्मामा भोगेको कष्ट

person explore access_timeसाउन १७, २०७७ chat_bubble_outline0

सहाना प्रधानका बुबा शङ्करलाल प्रधानले नेपालीको बाहुल्य भएको ठाउँ रोजेर म्यान्माको प्यिन ऊ ल्विनमा आफ्नो कर्म थलो बनाएका थिए । म्यान्मालाई त्यतिखेर बर्मा भनिन्थ्यो भने प्यिन ऊ ल्विनलाई मेम्यो भनिन्थ्यो । त्यतिखेर प्यिन ऊ ल्विन पुगेपछि नेपाल पुगेजस्तै मानिन्थ्यो । साथै अहिलेसम्म पनि त्यो ठाउँमा नेपालीको जरा हल्लिएको छैन । सहानाकालीन समयमा त्यस नगरीको वरिपरि छेउभित्तामा ९९ वटा जति नेपाली गाउँ बस्ती थिए । त्यस बेलादेखि अहिलेसम्म पनि त्यस ठाउँमा विशिष्ट कोटिको नेपाली बस्ती नै मौजुद रहेको पाइन्छ । सहानाकालीन प्यिन ऊ ल्विन नगरीको अर्को एउटा विशेषता पनि थियो; त्यो के हो भने नेपालीले थापेका पसलहरूका साइनबोर्ड नेपाली र बर्मिज भाषामा लेखिएका हुन्थे । अनि अहिलेसम्म पनि नेपालीहरूबाट स्थापना गरिएका सामाजिक तथा धार्मिक संस्था र नेपाली पाठशालाहरूका साइनबोर्डमा समेत नेपाली भाषाकै प्रयोग हुँदै आएको छ ।

प्यिन ऊ ल्विन म्यान्माको अत्यन्तै रमणीय पर्यटकीय पहाडी ठाउँ पनि हो । सहानाकाली समयदेखि अहिलेसम्म त्यस ठाउँलाई फूल सहर पनि भन्ने गरिन्छ । २०२६ साल चैत २३ गते राजा महेन्द्रको म्यान्माको राजकीय भ्रमणको सन्दर्भमा वर्मेली नेपालीहरूलाई भेट्नका लागि उनी त्यही सुन्दर नगरीमा पनि पुगेका थिए । राजाले त्यतिखेर त्यहाँका नेपालीहरूलाई श्रीपशुपतिनाथको प्रतिमा उपहार दिएका थिए । त्यही प्रतिमालाई जिली राखेर पछिल्ला दिनमा त्यहाँका नेपालीले त्यहाँ भव्य, आकर्षक र सानदार श्रीपशुपतिनाथको मन्दिर बनाएका थिए । पछिल्ला दिनहरूमा प्यिन ऊ ल्विनमा हिन्दू मन्दिरहरू बढ्दै गए तापनि सहानाहरू भएकै बेलामा नै त्यस ठाउँलाई नेपालीहरूको पवित्र जग्गा भनेर चिनिन्थ्यो ।

सहाना प्रधानको बाल्य अवस्था म्यान्माको प्यिन ऊ ल्विनमा नै बितेको थियो । उनी म्यान्मा जाँदा पाँच वर्ष लागेकी थिइन् । उनी निरन्तर बाह्र वर्षसम्म म्यान्मामा नै बसिन् । त्यतिन्जेलसम्ममा उनलाई म्यान्मा नै आफ्नै देश हो भन्ने लागिसकेको थियो । त्यतिखेरसम्म उनलाई उनको देश नेपाल हो भन्ने पनि थाहा थिएन र उनले आफू नेपाली भएको बेहोरा पनि बिर्सिसकेकी थिइन् । उनलाई म्यान्माबाट अन्त कतै जाने मन पनि थिएन र म्यान्मा छोडेर अर्को ठाउँमा पुगिएला भन्ने सोच पनि थिएन । उनका लागि म्यान्मा नै उनको देश थियो । बाल्यकालमै नेपालबाट पलायन पारिएकी उनीभित्र नेपालको कुनै टड्कारो छाप पनि देखिँदैनथ्यो । उनी मन, वचन र कर्मैबाट म्यान्माकै माटोमा लहसिसकेकी थिइन् ।

नेपालको जहानियाँ राणा सरकारले चार जनालाई सहिद बनाएको घटना सहाना आफूले पढेको स्कुलमा नै सुनेकी थिइन् । त्यस घटनाले म्यान्मा पनि हल्लिएको थियो । त्यही हल्लाइको कम्पन त्यहाँका तमाम विद्यार्थीको मनमस्तिष्कमा छरिएको थियो । त्यसपछि सहानाका घरमा पनि नेपालबारे चर्चाउपचर्चा भइरहन थाल्यो । अनि मात्र सहानाले नेपाल भनेको आफ्नो देश रहेछ भन्ने थाहा पाएकी थिइन् । त्यसपछि नेपालको प्रेममा उनका मनमस्तिष्कमा कुरा मडारिन थालेको थियो । 


• 

दोस्रो विश्वयुद्धताका सहानाहरू म्यान्मामा नै थिए । युद्धका कारण ज्यानकै ठूलो खतरा हुन्छ भन्ने कुरा उनीहरू बसेको प्यिन ऊ ल्विनमा तरङ्गित भएको थियो । त्यस खतराबाट जोगिन आआफ्ना घरछेउछाउमा ट्रेन्च खन्ने अभियान त छँदै थियो । त्यसै परिवेशमा सहानाका लागि उनलाई डुबाउने खाडल पनि तयारी भएको थियो । त्यतिखेर लडाकू हवाईजहाज देखा पर्यो भने घरीघरी उनी पनि अरूसरह ट्रेन्चमा पस्ने गर्थिन् । वास्तवमा त्यो समय साइरन बज्नेबितिक्कै सबैले ज्यान जोगाउन आआफ्नो खाल्डोमा पुगिहाल्नुपर्थ्यो । 

एक दिन सहाना आफ्नो भाइसहित डेरीबाट दूध लिएर आउँदै थिइन् । त्यसै बेला लडाकूविमानले आक्रमण गर्ने सङ्केतको साइरन बजेको थियो । बाटैमा भएको एउटा ठूलो रूखमुनि ती दिदीभाइ घुसे । त्यहाँ तिनीहरू रुँदै बसेका थिए । त्यतिखेर उनीहरूका दाजुले खोज्दै जाँदा उनीहरूलाई भेटेका थिए । अनि उनले आफ्ना भाइबहिनीलाई कुदाएर ट्रेन्चमा पुर्याएका थिए । खाल्डोभित्र बसेर पनि डरले सहाना रोइरहिन् । त्यस बेला आकाशवरिपरि दुई सयजति लडाकूविमान घरी तल र घरी माथि गरेर उडिरहेका सहानाले देखेकी थिइन् । ती विमानहरू तल आउँदै बम खसाउँथे र आकाशतिरै हुँइकिन्थे । त्यसै बेलामा बम बर्सेर उनले पढ्ने गरेको स्कुल पनि ध्वस्त भएको थियो ।

सहानाका घरवरिपरि बम खसेकोखसेकै गर्थ्यो । उनीहरू कानको जाली जान्छ भनेर कानमा रुवा खाँदेर खाडलमा टुक्रुक्कै बस्ने गर्थे । दिनहुँजसो लडाकूजहाजहरू घरै छुने गरी उड्ने गर्थे । त्यस्तो दृश्य हेरेर सहाना र साधना रुने र कराउने गर्थे । यति हुँदाहुँदै पनि उनीहरू जोगिएका भने थिए । प्यिन ऊ ल्विनमा बम र बारुदबाट जोगिन उनीहरू कहिले गाउँ भाग्ने र कहिले सहर पस्ने काम भइरह्यो । त्यो कारुणिक समयमा उनीहरूको होस नै हराइसकेको थियो ।

म्यान्मामा शान्तसँग बसेर जीवन निर्वाह गर्न पाइन्छ भन्ने सहानाका बुबा शङ्करलाल प्रधानको अभिप्राय थियो । तर त्यस बेलाको उनीहरूको अवस्था ‘चोक्टा खान गएकी बूढी झोलमा डुबेर मरी’ जस्तै भएको थियो ।

सहानाका परिवारले म्यान्मामा दिनहुँको आतङ्क खप्न सक्ने स्थिति नै थिएन । कतिखेर कसको ज्यान जान्छ भन्ने कुरा सोच्ने अवस्था पनि थिएन । त्यसैले सहानाका बुबाले आफ्नो र परिवारजनको ज्यान सुरक्षित गर्नका लागि म्यान्मा छोड्ने निणर्य गरे । त्यहाँ कमाएको सारा धनसम्पत्ति पनि उनीहरूले नेपाल ल्याउन पाएनन् । उधारो खानेहरूसँग पनि उनीहरूले पैसा उठाउने समय नै पाएनन् । त्यसैले उनीहरू त्यहाँबाट हिँड्ने दिन औषधालय, होटेल र पसल जेजति थियो उनीहरूका तीन जना कामदारहरूलाई समर्पण गरेका थिए । त्यतिखेर सहानाका बुबाले रुँदै उनीहरूलाई भनेका थिए— ‘यो पसल आजदेखि तिमीहरूकै भयो ।’ अनि पसलमा रहेको नगद मात्र लिएर उनीहरू त्यहाँबाट रातोरात हिँडेका थिए । त्यतिखेर उनीहरूले आफूहरूको मौजुद सम्पत्तिमध्ये दस प्रतिशत पनि जेथा आफूसँग ल्याउन सकेका थिएनन् । 

••

सहानाका बुबाले आफ्नो पसलमा एउटा टिनको खुत्रुके बाकस राखेका थिए । त्यस बाकसमा हरेक दिन पसलमा बस्नेले एक रुपियाँजति पैसा खसाउनुपर्ने चलन थियो । घरबाट आफ्नो पाइला निकाल्ने बेलामा सहानाले बाकस खोलेर हेरेकी थिइन् । त्यहाँ भएको कम्पनीका रुपियाँ उनले आफ्नो कट्टु्को इँजारमा घुसारेकी थिइन् । उनको इँजारघरमा चालिसवटाजति पैसा अँटेका थिए । त्यति पैसा राखेपछि उनको कम्मर भारी भएको थियो । तर पनि गाह्रो नमानी ती पैसा बोकेरै उनी केही दिन हिँडिरहिन् । दसौँ दिनको यात्रा पार गरिसकेपछि उनले त्यो पैसा चलाउन खोजिन् तर चलेन । अनि उनले त्यो सबै धातुमुद्रा बाटैमा फालेकी थिइन् ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.