केन्द्रीय संस्करण
फिचर

दाह्री भाइको चिया घर : चियाको चुस्कीसँगै जोशिला र रसिला कविताको मजा

person explore access_timeसाउन १७, २०७७ chat_bubble_outline0

मेरो बुवाको मुटु त्यति कठोर नभइदिएको भए सायद 
मलाई लडाउन बसेका थुप्रै नामहरुसँग 
यति चाँडै परिचित हुन्न थिएँ होला सायद

यी पंक्ति कुनै कविको होइन, न त कुनै गीतकारको नै । यो त एउटा रंगकर्मी बटुवाको पंक्ति हो, जो अनेक हन्डर खेप्दै व्यावसायिक यात्रामा निस्किएको छ । आफ्नै भूमिमा पहिचान खोज्दै, स्वक्रान्ति गर्दै आफ्नै माटोमा पाखुरा सुर्काउन उद्दत ‘दाह्री भाइ’को पंक्ति हो यो ।

बुवाको दुःख र संघर्षका गाथालाई यसैगरी अनेक रुपरङले कोर्छन् दाह्री भाइ । आफूले पाएका हन्डर त बुवाले खेपेका हन्डर र संघर्षका अगाडि हात्ती र कमिलाको कुरा गरेजस्तै लाग्छ उनलाई ।

दाह्री भाई अर्थात् प्रकाश दाहाल । बानेश्वरस्थित हाइल्यान्ड बीन कफी शपमा उनलाई भेट्दा कफी शपका सञ्चालक अर्जुन र दुर्गासँग ठट्टा गरे, ‘दाई कफी पँैचो खाउँ ल, म तपाईलाई मिठो चिया खुवाउँछु नि हो, पूर्वको ।’

पूर्वेली लवजमा उनको रङ्गकर्म र व्यावसायिक छोटो यात्राको लामो कथा सुन्ने अवसर जुरेको थियो मलाई । सुरुमै उनले भनिहाले, ‘दिदी चिया पिउन कहिले आउनुहुन्छ ? पूर्वतिर आउँदा ‘दाह्री भाईको चिया घर’ छिर्न नबिर्सिनु नि, ल ? काठमाडौंकै अनामनगरमा पनि छिट्टै खुल्दै छ । पूर्वको चियालाई विश्वभर पु¥याउने चाहना पो छ त हौ ।’

‘महाकवि लक्ष्मीप्रसाद देवकोटाले यसै भनेका होइनन्– उद्देश्य के लिनु उडी छुनु चन्द्र एक । उद्देश्य विनाको हामी भनेको बाटो बिराएको बटुवाजस्तै हौँ,’ प्रकाश भन्छन्, ‘उद्देश्य लिएर हिँडेको छु दिदी, एकदिन त्यहाँ पुग्नु छ ।’

२६ वर्षका प्रकाशलाई ‘ओम’ नाम निकै प्यारो लाग्दो रहेछ । कारण खुलाउँदै उनले भने, ‘जन्म साइतले जुराएको नाम त्यसमाथि ‘ॐ’ भनेको ब्रम्हाण्ड । यत्रो ब्रम्हाण्ड नै समेटिएको नामलाई महत्व नदिएर प्रकाशको पछि लागेँ, मेरो वास्तविक नाम त ओम नै हो ।’

ओमबाटै पहिचान बनाउन हिँडेका उनी आजभोलि ‘दाह्री भाइ’ले चिनिन थालेका छन् । उनीजस्तै झापाका स्वतन्त्र युवाहरु पनि एक भएका छन् । सानाठूला व्यवसायका लागि कोशिस गरिरहेका छन् । आफूजस्तै यूवाहरु जो गाउँबाट शहर छिर्ने अनि शहरबाट विदेश भासिने चलन छ, यस्तो पलायनलाई रोक्न प्रयास गर्दै गरेको ओम बताउँछन् ।

युवाहरुलाई आफ्नै माटोमा पौरख गरौँ भन्ने सन्देश दिन कफी शपको टेबल ठटाउँदै उनी निस्फिक्री यस्तो गीत गाउँछन्–

उठ हे युवा, जुट हे युवा

यो देश जगाउनु छ ।

पाइला उचाली पाखुरा सुर्की

यात्रा त लामो छ......।।

ओम झापामा उत्पादित चियाको प्रवद्र्धनमा लागेका छन् । सोही क्रममा उनले ‘दाह्री भाइको चिया घर’ खोलेका छन् । चियाका पारखीका लागि चिया घर उत्कृष्ट गन्तव्य बन्न सक्छ ।

दाह्री भाइको चियाको चुस्कीमा कविताको रस

‘पाइला पाइलामा लाग्ने ठेस त सामान्य हो,’ ओम भन्छन्, ‘अब त ठेलामै चिया बेच्छु भन्दैगर्दा चिया घरको कन्सेप्ट फु¥यो र तत्कालै सुरु पनि भयो । तर, संचालनको दोस्रो महिना मै चोट सहनु प¥यो लकडाउनको ।’

ओम पेशाले रङ्गकर्मी हुन । रङ्गकर्मले दुई छाक टार्न र कर्मलाई अगाडि बढाउन कठिन भएपछि सानै भए पनि व्यवसायतिर लाग्नैपर्ने बाध्यता भयो । केही साथीभाइलाई साथमा लिएर उनले झापाको विर्तामोडस्थित पाथीभरा सिने प्लाजासँगैको स्थानमा सुरु गरेका थिए ‘दाह्री भाइको चिया घर’ ।

रङ्गकर्मी ओमका थुप्रै प्रशंसक छन् । उनलाई विश्वास गरेरै बिर्तामोडका युवराज प्रसाईले चिया घरका लागि निःशुल्क जग्गा उपलब्ध गराइदिए । ओमसँग ४०–५० हजार रुपैयाँ जति थियो, त्यति पैसाले कसरी व्यवसाय सुरु होला ? अचम्म लाग्न सक्छ । तर ओमका अन्य चार जना साथीभाइले पनि लगानी थपे, चियाघरको संरचनाका लागि भने आफै मेहनत गरे । फालिएका टायर जम्मा गरी टेबल–कुर्सी बनाए । बाँस, पाललगायतको प्रयोग गरी कटेज डिजाइनको छाप्रो बनाए । वरिपरि, आँगनतिर गार्डेन निर्माण गरे अनि बोर्ड झुण्ड्याए ‘दाह्री भाइको चिया घर’ ।

ओम र उनका साथीहरुमा चिया घर सुरु गर्दाको खुसी कुनै फाइभ स्टार होटल सुरु गरेभन्दा कम थिएन । दाह्री भाइको चिया घर बिर्तामोडवासीका लागि पनि फाइभ स्टार चिया घरभन्दा कम थिएन । कारण थियो चियाको भेराइटिज अनि चियाको चुस्कीसँगै सुन्न पाइने ओमको कविता ।

आफ्ना ग्राहकलाई कविता सुनाएर मन्त्रमुग्ध पारिदिन्छन् ओम । स्थानीय चियाको स्वादका पारखीहरु उनको चिया घरमा नआउने कुरै भएन । चियाका भेराइटिज चिया घरको विशेषता हो । तर विडम्बना सञ्चालनामा आएको एक महिना आठ दिनमा मुलुक लकडाउनमा गयो ।

तर गत फागुन २ गतेबाट संचालनमा आएको ‘दाह्री भाइको चिया घर’ ले एक महिना मै एक लाखभन्दा बढी कलेक्सन गर्न सफल भयो । एक महिना मै ब्राण्ड बन्न सफल ‘दाह्री भाइको चिया घर’का लागि तगारो बन्यो लकडाउन ।

कफी कल्चरमा रमाइरहेको नेपाली समाज र युवा वर्गका लागि चिया कल्चर नौलो होइन । तर विदेशीका लागि भने नौलो हो । त्यसैले, विदेशमा रहेका साथीभाइ अनि आफ्ना अग्रजसँग उनले चिया प्रवद्र्धन र चियाघर विस्तारका लागि प्रस्ताव गर्न थालेका छन् ।

लकडाउन खुकुलो भएसँगै फेरि ओममा हिम्मत जुटेको छ । चिया सपना बोकेर उनी झापाबाट काठमाडौं आएका छन् । काठमाडौंकै अनामनगरमा ‘दाह्री भाइको चिया घर’ संचालनमा ल्याउँदै छन् । लगानी जुटाउँदै छन् अहिले ।

ओम भन्छन्, ‘बुवाका साइकल बनाउँदा खिएका हातलाई आराम दिन चाहन्छु । साइकल बनाउँदा छिया छिया परेका हातले आजभोलि फेरि खाजा घरको भाँडा मस्काएका छन् । म वहाँलाई जुठा भाँडाबाट पनि मुक्त गर्न चाहन्छु । त्यसैले सानै किन नहोस्, व्यवसाय थालेको छु । रङ्गकर्म त मेरो अङ्ग नै हो, गाउँघरका भाइबहिनीलाई नाटक पनि सिकाउँछु ।’

मेरो छोरोले ‘दाह्री भाइको चिया घर’ खोलेर व्यवसाय सुरु गरेको छ भन्दै बुवाले छाती चौडा बनाएको देख्दा ओमका आँखा भरिन्छन् । चिया घरलाई उत्कृष्ट ब्राण्डको रुपमा अगाडि बढाउन कस्सिएका छन् ओम ।

‘आमाको हातको गाँस खाएर व्यवसाय गर्नुजत्तिको आनन्द के होला र ?’ ओम भन्छन्, विदेशिएर दुःख पाएका युवाहरु अझ आफ्नै गाउँका साथीहरुको अवस्थाले खुब पीडा हुन्छ । राज्यले युवाहरुलाई स्वरोजगार बन्न प्रेरित गर्ने, रोजगारीका लागि अवसरहरु सिर्जना गर्ने हो भने कस्तो बन्दो हो मेरो देश ?’

चिया घरमा विभिन्न स्वादका चिया बन्छन् । इलाम, झापाको अर्गानिक चियाका पारखीका लागि यो उत्कृष्ट गन्तव्य हो । चियाका भेराइटिज अनि भेरियसनभित्र मिठा कविताका भाकासँगै आफ्नो भविष्य कोर्दै गरेका ओम चिया क्रान्तिमा छन् ।

 

मण्डला नाटक घर र कथाभित्रका ओम

झापा बाह्रदशी, गोलधापका ओमको अभिनययात्रा २०७१ सालबाट सुरु भयो । पत्रकारिता अध्ययनका लागि काठमाडौं आएका ओमले मण्डला नाटक घरमा वरिष्ठ कलाकार सुनिल पोखरेलसँग नाटक सिक्ने मौका पाए ।

हुन त झापाकै मनकामना कलेजमा प्लस टु गर्दैगर्दा पनि उनले नाटक गर्ने मौका पाएका थिए । दुई मिनेटको भूमिका निभाउने अवसर पाएका ओमलाई त्यही दुई मिनेटले स्थापित गरेको थियो । नाटकमा रुचि भए पनि नाटक सिक्नुपर्ने, अध्ययन गर्नुपर्ने विधा हो भन्ने चाहिँ उनले मण्डला थियटर पुगेरमात्रै थाहा पाएका थिए ।

काठमाडौंमा विजय घिमिरे (छिमेकका काका)को आश्रयमा बसेका ओमले सिजेएमसी कलेजमा पत्रकारिता पढ्दै गर्दा मण्डला र सुनिल पोखरेलबारे सुनेका थिए ।

काकासँग सुनिल पोखरेलको नाटक हेर्न मण्डला पुग्दा उनलाई को सुनिल पोखरेल ? को दयाहाङ राई ? पत्तो थिएन । मण्डलाको गेटभित्र छिर्दा केही क्षण त्यहाँको परिदृश्यले टोलाउन बाध्य पारेको अहिलेजस्तो लाग्छ ओमलाई ।

नाटक त गरेकै हो नि स्कूल कलेजमा । तर यस्तो पोस्टरै पोस्टर ? फिल्म चलेको हो कि नाटक ? चकित परेका थिए ओम । नाटक हेर्न पनि टिकट काट्नुपर्ने रहेछ भन्ने पनि त्यतिबेलै थाहा पाए । सुनिल पोखरेलको ‘रसोमन’ हेर्न भित्र छिरेका ओमलाई त्यहाँको दृश्यले यो ठाउँ छाडेर अन्त जान नसक्ने बनाइदिएको थियो ।

ओमले सुनिल पोखरेललाई भेटे । नाटक गर्छु पनि भने, तर नाजवाफ भएर फर्किए ।

स्नातक दोस्रो सेमेस्टरको परीक्षा सकेर ओम मण्डलातिर छिरे । ‘ढुंगा खोज्दा देउता मिले’ जस्तै मण्डलाले विद्यार्थी भर्ना लिइरहेको रहेछ, फटाफट फारम भरेर घर गए ओम ।

अडिसन भयो र पास पनि भए । भर्ना गर्न २० हजार चाहिएको पल सुनाउँदै ओम भन्छन्, ‘तीन महिनाको कक्षाको शुल्क २० हजार, सुरुमा बुझाउनु पर्ने १० हजार । तर कहाँबाट ल्याउनु ? बुवालाई भने । बाबुको मन न हो, भर्खरै कता खोजुँ साथीभाइसँग लिएर भर्ना गर, म खोजेर पठाउँछु भन्ने जवाफ आयो ।’ सापटी लिएरै उनले कला क्षेत्रको यात्रा सुरु गरे ।

नाटकमा मुख देखाउन नपाउँदा

नाटकको तालिम लिँदै जाँदा नाटकलाई शारीरिक, मानसिक, भोगाइ, सिकाइ सवैको समिश्रणको रुपमा पाए । नाटकमा उनको लगाव बढ्दै गयो । साना साना रोलहरुबाट अभिनय सुरु गर्दै गर्दा उनमा स्टेजमा अनुहार देखाउने रहर जाग्यो ।

पहिलो नाटक ‘जार भएको एउटा कथा’मा बाघको छोटो भूमिका पाए । बाघको मकुण्डो लगाएर बाघजस्तै अभिनय गरेका ‘बुचे’ ओमलाई अझै पनि उनका साथीभाइले ‘बुचे’ भनेर बोलाउछन् ।

ओमले बुबाका केही अनुत्तरित प्रश्नलाई रङ्गमञ्चभित्र खुवै खेलाए । बुबाले भन्नुहुन्थ्यो, ‘तैले मार्सल आर्ट गरिस्, कराँतेमा ब्ल्याक बेल्ट गरिस्, मेडल ल्याइस्, के पाईस् ? रेफ्रीमा फर्स्ट भइस्, पत्रकारिता गरिस्, नाटक गरिस्, के पाईस् ?’

यी सवै प्रश्नको जवाफ उनीभित्रका पात्रहरुले एक एक दिइरहे । उनी रङ्गमञ्चमा यसरी कनेक्ट भए कि भन्छन्, ‘रङ्गमञ्च र नाटक मेरो जीवन बुटी हो ।’

ओमले ‘माथापञ्चर’ हुँदै ‘सिंहदरवारको टेण्डर’मा सहायक निर्देशन गर्ने मौका पाएका थिए, जुन उनको लागि अर्को खुड्किलो बन्यो । त्यसपछि, ‘दाँतको डोब’ नाटकमा मुख्य भूमिका निभाउने अवसर पाएका ओमले रङ्गकर्मबाट साढे सात हजार कमाए । पहिलो पटक यति धेरै कमाएका थिए उनले । उनका लागि यो ठूलो रकम थियो ।

लगत्तै ‘थाङ्ला’मा गिद्धको भूमिका निभाए । जसमा उनले सिल्पी नाटकघरमा १२ फिटको उचाइबाट हामफालेका थिए । सानो भूमिकाका लागि पनि उनले १० हजार पाएका थिए ।

मण्डलाका तेस्रो व्याजका विद्यार्थी ओमले स्क्रिप्ट, निर्देशन, व्यवस्थापन, मार्केटिङ, पर्दा पछाडि, थिएटर सम्पूर्ण विभागको अनुवन राम्रै सँगाले मण्डलाभित्र । सुनिल पोखरेलसँगै पारिवारिक सदस्यजस्तो भएर ३ वर्ष बिताउँदा उनलै थुप्रै ज्ञान हासिल गर्ने अवसर पाए ।

रङ्गमञ्च भित्रको संघर्ष

सुनिल पोखरेलको ‘ज्ञ’ इन्स्टिच्यूटमा अभिनय सिक्दै उनीसँगै बसेका ओम तीन वर्षपछि भने बाहिरिए । साथीहरुसँग मिलेर उनले धापासीमा एउटा फ्ल्याट लिए र नाटक बनाउने योजना बुने । ‘लाटीको छोरो’ नामक नाटकको कन्सेप्ट तयार भयो । ‘लाटीको छोरो’बाट रङ्गमञ्चको अर्को यात्रा सुरु गरे ओमले ।

निर्माताको भूमिकामासमेत आफै रहेकाले आर्थिक भार उनीमाथि थियो । सरसापटी गरे, कलाकार हायर गरे, ४० दिनको अभ्यासपछि नाटक मञ्चनका लागि तयार भयो ।

काठमाडौंमा नाटक मञ्चन भयो, प्रतिक्रिया राम्रो आयो । तर खर्च उठाउन सकेनन् । कलाकारलाई कसरी पेमेन्ट गर्ने ? अब नाटकमा भन्दा बढी ओमको ध्यान, पेमेन्टमा जान थाल्यो । सवैसँग हारगुहार गर्दा पनि कतैबाट सापट पाएनन् । र अन्तिम विकल्पका रुपमा बुबालाई गुहारे । बुबाले खोजेर भोलिपल्टै एक लाख ५० हजार रुपैयाँ पठाइदिनुभयो भने एक लाख जति साथीहरुले सापट दिए ।

अब उनको चाहना नाटक लिएर बिर्तामोड जाने थियो । अन्ततः ‘लाटीको छोरो’ नाटक बिर्तामोड पुग्यो । प्रचार प्रसार भयो र एक हप्तामा २५ शो देखाए ।

यो समयसम्म नाटकबाट उनले पाउने भन्दा गुमाउने धेरै भयो । ऋण लाग्दै गयो, आफ्ना कलाकारलाई जेनतेन पेमेन्ट गरे पनि साथीभाईसँग लिएको सापट तिर्न नसक्ने अवस्था उनको थियो । नाटकले त उनलाई थला पा¥यो । ऋण तिर्न नसकेर उनी लुकेर बस्नु पर्ने बाध्यता आइलाग्यो ।

चार महिनासम्म घरभित्रै बसे ओम । फोनसमेत उठाउन सकेनन्, जीवनकै सवैभन्दा खराव समय बिताउँदै थिए ओम । उनीमाथि फटाहा, भगुवाको ट्याग लगाउन सुरु भइसकेको थियो । 

विस्तारै आत्मबल बलियो बनाउँदै मोटिभेसनल बुकहरु पढ्ने, स्क्रिप्ट लेख्ने, कथा, कविता लेखेर आफूलाई सामान्य अवस्थामा ल्याउन कोसिस गरे । फेरि रङ्गमञ्च मै फर्कन चाहन्थे उनी, साथीभाईसँग लिएको सापटी फिर्ता गर्न चाहन्थे तर कसरी ?

नाटक ‘जीउँदो आकाश’का निर्देशक आरके मेहतासँग उनको सम्पर्क भयो । विराटनगर गुरुकुलसम्म पुगेर मेहतालाई भेटेर आफ्ना समस्या सुनाए । उनले मेहतासँग ‘जीउँदो आकाश’लाई विर्तामोड लैजाने र आफू पुनः बाँच्न चाहेको प्रस्ताव गरे, जसलाई मेहताले तुरुन्तै स्वीकार गरे । उनले फेरि मेहनत गरे । आफैले सुरु गरेको आर्ट स्टुडियोको नामबाट अनि जेसिस, उद्योग वाणिज्य संघको आयोजनामा नाटक मञ्चन भयो विर्तामोडमा । सोही समय ओमलाई लागेको थियो कि ‘म फेरि बाँचे’ ।

‘बुधबारेमा फ्लप, मंगलबारेमा हिट’ नाटक पनि विर्तामोडमा लगे । उनको अभिनयबाट प्रभावित केही फिल्मकर्मीहरुले फिल्ममा पनि लिए । पशुपति प्रसादमा पनि अभिनय गर्ने अवसर पाए ओमले । यतिबेला फेरि ओम ग्रुपिज्मको घेरामा परे ।

उनको आर्थिक अवस्था बारम्बार करियरको तगारो बन्दै आयो । ग्रुपिज्मकै कारण उनले सञ्चालन गर्ने नाटक रोक्ने, नाटकबारे हुने सेमिनारहरु रोक्ने प्रयत्नहरु भए । ओमले झापामा ६२ वर्षका वृद्धा आमाहरुदेखि बालबालिकासम्मलाई समेटेर वर्कशप आयोजना गरे । आमाहरुले आफैले नाटकमा अभिनय गरेर झापालाई नै चकित पारिदिए । ओम अहिले बालबालिका, युवादेखि आमाहरुका पनि गुरु बनेका छन् ।

रङ्गमञ्चमा पुनः फर्किएका ओमको आत्मविश्वास यसरी बढ्यो कि उनले जग्गा बैङ्कमा राखेरै ऋण झिके र तिर्नपर्ने ठाउँमा तिरे । त्यही मौकामा झापामा आर्ट स्टूडियो दर्ता पनि गराए ।

‘तर अझै पनि नजिकका साथीभाईसँग लिएको सापटी रकम तिर्न बाँकी नै छ,’ रसिला आँखा बनाएर उनले सुनाए । वास्तवमा आर्थिक अवस्थाले अगाडि बढ्ने ढोकामा कसरी तगारो लगाउने रहेछ भन्ने राम्रोसँग बुझेका ओमले रङ्गमञ्चसँगै व्यवसायलाई अगाडि बढाउने योजनाअनुरुप चिया घर खोले । ओमको अबको बाटो चिया क्रान्ति पनि हो । चियाको व्यावसायिक यात्रामा निस्किएका ओम ‘दाह्री भाइको चिया घर’लाई फैलाउँदै तगारो हटाउन चाहन्छन् ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.