केन्द्रीय संस्करण
सहाना प्रधानको जीवनी- १६

सहाना प्रधानको जागिरमा आगो

person explore access_timeकात्तिक ८, २०७७ chat_bubble_outline0

सहाना प्रधान आफ्नो प्राध्यापकीय सेवामा सधैँ दत्तचित्त भएर लागिरहेकी हुन्थिन् । उनका लागि उनका विद्यार्थी अति प्रिय हुन्थे । आफ्ना विद्यार्थीको पढाइको श्रीवृद्धिका लागि मात्रै उनको मन गएको हुन्थ्यो । उनी आफ्नै शैक्षिक निष्ठामा बाँधिएकै बेला २०३२ सालमा देशमा विद्यार्थी आन्दोलन चर्किरहेको थियो । त्यस बेला उनीप्रति विद्यार्थी भड्काउनेमा शङ्का भइरहेको थियो । उनलाई विविध ठाउँबाट धम्की पनि जान थालेको थियो । उनको जागिर जाने झन्डै पक्कै भइसकेको थियो । उनले यो कुरा थाहा पाएपछि उनी धेरै तनावमा रहिन् । त्यसपछि उनी आफ्नो जागिर बचाउका लागि रजिस्टारसमक्ष पुगिन् । त्यति बेला रजिस्टारचाहिँ जगतमोहन अधिकारी थिए । रजिस्टार अधिकारी भन्नु सहानाका भिनाजु मनमोहन अधिकारीका भाइसमेत भएकाले उनले उनले आफ्नो जागिर थाम्न अधिकारीसमक्ष केही अनुनय र विनय पनि गरिन् । तर आफूले पनि यस मामलामा केही गर्न नसक्ने भनेर अधिकारीले सहानालाई जबाफ दिएका थिए । अधिकारीका संवाद सुनेर सहाना अब मेरो जागिर जाने नै भयो भनेर पानीपानी भएकी थिइन् । अनि केही दिनपछि उनका घरमा अवकाशको पत्र पनि पुग्यो । त्यो पत्र पढेर उनी छाँगाबाट खसेसरी भइन् ।

प्राध्यापक सहाना प्रधानले २०१८ सालदेखि कलेजमा पढाउन थालेकी थिइन् । एमए पास गरेपछि उनले सुरुमा नै त्रिचन्द्र कलेजमा पढाउन थालेकी थिइन् । साथै सरकारी नर्मल तालिम स्कुलमा पढाएको अवधि पनि जोडिने त्यस बेला त्रिभुवन विश्वविद्यालयको नियम थियो । त्यसैले थप पाँच महिनासम्म मात्र पनि उनी विश्वविद्यालयको सेवामा टिक्न सकेकी भए उनले आजीवन पेन्सन पाउने थिइन् । तर बीसौँ वर्ष शिक्षासेवा गर्दा पनि उनका हातमा केवल सुन्ना मात्र परेको थियो । वास्तवमा प्राध्यापन पेसाबाट अचानक हात धोएपछि उनलाई सारै नमज्जा लागेको थियो । त्यस घटनाले उनी एक्लै बसेर रोएकी थिइन् । प्राध्यापनकै सेवामा रहन नपाएपछि आवासगृहमा बस्ने उनको हक पनि थिएन । त्यतिखेर उनका छातीमा बेजोडको बाँडले प्रहार गरेको उनीमा अनुभूत भएको थियो ।  

सहाना प्रधानको जागिर खोसिएको खबर अरूहरूबाटै पुष्पलालले भारतमा नै थाहा पाइसकेका थिए । त्यो सूचना पाएपछि उनले उतैबाट सहानालाई पत्र लेखेर पठाएका थिए— ‘म अत्यन्तै खुसी छु । अब तिमी स्वतन्त्र भयौ र हामी सँगसँगै भएर काम गर्न सक्छौँ ।’ सहानाका पतिले उनको असहाय अवस्थामा ढाडस दिन उनलाई भनेका त थिए । तर व्यवहारमा सहानालाई धेरै कष्ट थियो । त्यतिखेर उनी के गरौँ र कसो गरौँ भन्ने अवस्थामा पुगिसकेकी थिइन् ।

पञ्चायती व्यवस्थाको बिरोध गर्नेहरूमध्ये २०३२ सालमा त्रिभुवन विश्वविद्यालयबाट सहानासँगै सेवाबाट बर्खास्त हुनेहरूमा वासुदेवचन्द्र मल्ल, हिरण्यलाल श्रेष्ठ, अर्जुननरसिंह केसी, दुर्गा पोखरेल, केदारभक्त माथेमा, पीताम्बर दाहाल, राजेश्वर आचार्य लगायत सत्र जना प्राध्यापक थिए । जागिरबाट हटाइएपछि सहानाको जीवनमा चाहिँ अचाक्ली चोट परेको थियो । त्यस व्यथामा डुबेर उनी धेरे दिनसम्म रोएकी थिइन् ।   

सहाना प्रधानको जागिर खोसिएको खबर अरूहरूबाटै पुष्पलालले भारतमा नै थाहा पाइसकेका थिए । त्यो सूचना पाएपछि उनले उतैबाट सहानालाई पत्र लेखेर पठाएका थिए— ‘म अत्यन्तै खुसी छु । अब तिमी स्वतन्त्र भयौ र हामी सँगसँगै भएर काम गर्न सक्छौँ ।’ सहानाका पतिले उनको असहाय अवस्थामा ढाडस दिन उनलाई भनेका त थिए । तर व्यवहारमा सहानालाई धेरै कष्ट थियो । त्यतिखेर उनी के गरौँ र कसो गरौँ भन्ने अवस्थामा पुगिसकेकी थिइन् । त्यसपछि उनी भावनात्मक रूपले शिथिल हुँदै जान थालेकी थिइन् । त्यसै प्रसङ्गमा उनले बिलौना पनि गरिन्— ‘छोराछोरी दुवै जना स्नातक स्तरको अन्तिम परीक्षाका लागि पढ्दै थिए । यिनीहरूलाई अब कसरी पार लगाउने ? घर कसरी धान्ने ? आर्थिक समस्या कसरी टार्ने ?’ विश्वविद्यालयको जागिरले निर्धक्क घरसंंसार चलाइरहेकी सहानालाई जागिरबाट गलहत्याइएपछि उनको जीवनमा आर्थिक भुइँचालो नै आएको थियो । तर यति हुँदाहुँदै पनि उनले हरेसै चाहिँ खाइसकेकी थिइनन् । किनभने साहसको अर्को नाउँ ‘सहाना’ थियो । त्यसैले उनले हिम्मतै हार्न जानिनन् । त्यसपछि उनले ट्युसन पढाएर भए पनि घरखर्च चलाउन थालिन् । केही समयपछि साथीका घरमा कुखुरा पालेर पनि उनले आर्थिक जोहो गर्न थालेकी थिइन् ।

सहाना प्रधानले शिक्षासेवामा आफ्नो तन र मन अर्पेकी थिइन् । उनी प्राध्यापन पेसासँग गौरवीबोध गर्थिन् । उनका विद्यार्थीले पनि सहाना प्रधानजस्ता गुरुआमाका हामी चेलाचेली हौँ भनेर गौरव मान्थे । तर त्यति उच्चकोटिकी गुरुआमाको योग्यतामाथि त्यही शिक्षाले तीखो बाण प्रहार गरेको थियो । वास्तवमा नै उनी माथिल्लो स्तरकी गुरुआमा थिइन् । तर पञ्चायती व्यवस्थाले उनीमाथि राजनीतिक आरोप लगाएर तल्लो स्तरको खेला देखाएको थियो । प्राध्यापकमा हुने प्रायः सम्पूणर् गुण उनीमा मौजुद थियो । कलेजमा दशौँ वर्ष उनीसँगै प्राध्यापन गरेकी उनकी साथी चाँदनी जोशीले उनीबारे बयान पनि दिइन्— ‘सहाना दिदी कडा अनुशासनमा बस्न रुचाउँथिइन् । उनले आफ्नो राजनीतिलाई पेसामा घुसाउने काम गरिनन् । राजनीति उनको व्यक्तिगत दर्शन थियो । पेसा र राजनीतिलाई आआफ्ना ठाउँमा सुरक्षित राख्ने उनको क्षमता र गुण मैले पाएकी थिएँ । उनले हामीसँग खुलेर राजनीतिका कुरा निकालेको मलाई थाहा छैन ।’ तर अन्धाहरूले त्यस्ती समर्पित प्राध्यापकको जागिरमा अनायासै आगो लगाइदिएका थिए । अन्ततः त्यही दनदनी बलेको आगोले पञ्चायती शैलीलाई पनि खरानी पारिदिएको थियो ।     

सहाना प्रधानको प्राध्यापन सेवा राजाबाट सञ्चालित पञ्च सरकारको इकाइ अर्थात् त्रिभुवन विश्वविद्यालयले उखलेको बेहोरा पञ्चायत समर्थक कुनै पनि बुद्धिजीवीले मन पराएका थिएनन् । आफ्नो कार्यकालमा राजा वीरेन्द्रले राष्ट्रका नाउँमा कुनै त्यस्तो दूरदर्शी सोच अपनाएको देखिएको थिएन । राजा वीरेन्द्र दरबारलाई अयोग्य भाटहरूको भर्ती केन्द्र बनाउन नै सक्रिय देखिएका थिए । साथै तिनै दरबारीया भाटहरूको बुद्धिबाट उनी शासन परिचालनमा लागे । जसले गर्दा उनले राष्ट्रका नाउँमा समयको दुरुपयोग गर्नेदेखि बाहेक त्यतिसारो ठोस काम गरेको पनि पाइएन । बरु सहाना प्रधानहरूजस्ता निष्ठावादी प्राध्यापकहरूको जागिर खोसेर राजाको सरकारले नगर्नुको पाप गरेको थियो । त्यति राम्रो मानिएको पञ्चायती व्यवस्था पनि त्यसका सञ्चालकका गैरचेतनाले सहाना प्रधानहरूका रगतका आँसु चाखेको थियो । सहाना प्रधानहरू जस्तामाथि अन्याय गरिएका यस्ता अन्य धेरै तथ्य जोडिएर पनि त्यस व्यवस्थाले खरानी हुनुपरेको थियो ।

सहाना प्रधानहरूको प्राध्यापकीय सेवामा आगो लागेपछि बौद्धिक जगत्ले शासकलाई आआफ्नै ढङ्गले धिक्कारेका थिए । त्यही क्रममा उनीसँगै खोसिएका हिरण्यलाल श्रेष्ठले भने— ‘सहाना प्रधान आफ्नो कर्तव्यमा जुटेकी थिइन् । निष्ठाका कारण प्राध्यापन पेसामा उनको नाउँ चलेको थियो । तर उनी आफ्नो पेसाप्रति खुबै उत्तरदायी र इमानदार थिइन् । पुष्पलालप्रतिको रिसले उनको जागिर फाल्नुपर्ने कुनै कारणै थिएन । त्यस बेला उनीजस्ता निर्दोष प्राध्यापकको जागिर उखलेर सरकारले घोर अन्याय गरेको थियो ।’

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.