केन्द्रीय संस्करण
सरोकार सन्दर्भ : महिलाविरुद्ध हिंसा उन्मूलनका लागि अन्तर्राष्ट्रिय दिवस (नोभेम्बर २५–डिसेम्बर १०)

‘अनुहार खुला राखेर हिँड्दा पहिले जस्तै हेरिदिए हुन्थ्यो !’

एसिड पीडित संगीताको मार्मिक कथा : एउटा दुर्दान्त अपराध, जसले उनको जिन्दगी बदलिदियो !

person explore access_timeमंसिर १०, २०७७ chat_bubble_outline0

 

 

काठमाडौं । अपराध सम्बन्धी टेलीश्रृङ्खला ‘सावधान इन्डिया’ नछुटाई हेर्थिन्, संगीता पुलामी मगर । तर, उनले त्यहाँ एसिड आक्रमणको कथा देखिनन् । एसिड आक्रमणबारे उनलाई थाहा थिएन ।  शान्ति निकुञ्ज मावीमा पढ्थिन् । बसन्तपुरबाट भित्रपट्टि झोंछेमा डेरा थियो ।

एसएलसीको तयारी गरिरहेको बेला ट्युशन सेन्टरमा संगीताको जीवनमा चिताउँदै नचिताएको घटना भयो । रामेछाप फुलासीका जीवन बिकले बैनी उमेरकी संगीतालाई एसिड छ्यापेर भागे । एसिडका छिटा सहपाठी सीमा बस्नेतको अनुहारमा पनि पर्‍यो । सँगै रहेकी हिमु मुखर्जी चाहिँ धन्न जोगिइन् ।

‘मम्मी... मलाई पोल्यो !’ ०७१ फागुन १० मा ट्युसन गएकी संगीता चिच्याउँदै डेरा पुगिन् । आमा चमेलिले मुखमा पानी छ्यापिदिइन् । तर, पोल्न कम भएन ।

‘सीमा चिच्याउँदै भागेपछि म पनि कराउँदै घर आएछु’ ६ बर्षअघिको त्यो कहालीलाग्दो क्षण संझदै संगीता भन्छिन्– ‘कत्तिबेला ज्याकेट खोलेर फालेँछु, शरीरको दायाँतिरको मासु खसेको मैले थाहा पाएको थिएँ !’

जीवनले फ्याकेको एसिडले उनको दायाँ अनुहार, पाखुरा र कम्मरको भाग जलाउँदै थियो । वीर अस्पतालमा एउटा इन्जेक्सन लगाएपछि चिकित्सकले चमेलीलाई भने– ‘हामी सक्दैनौ, छोरी बचाउने भए अर्को अस्पताल लानुस् ।’

रामेछापको खनियापानीबाट आएर काठमाडौंमा पसिना बगाएर जीवन निर्वाह गरिरहेकी चमेली र प्रेम पुलामीका दम्पत्ति भन्नासाथ दुई–पाँच हजार निकाल्न सक्ने अवस्थामा थिएनन् । चमेली सिनामंगलस्थित विश्रान्ती क्याटरिङमा काम गर्थिन् । क्याटरिङ साहूसँग उनले फोनमा हारगुहार गरिन् । धन्न साहु सहयोगी निस्किए । संगीतालाई उपचारका लागि सिनामंगल स्थित काठमाडौं मेडिकल कलेजमा भर्ना गरियो ।

‘वीरको इमर्जेन्सीबाट हिँडेर गएको याद छ, त्यसपछि होश आउँदा म केएमसीको बेडमा थिएँ’– संगीताले विगत सम्झँदै रातोपाटीलाई सुनाइन् ।

काठमाडौं मेडिकल कलेजमा लामो उपचार चल्यो । उपचारका लागि सबैभन्दा ठूलो प्रश्न पैसाको थियो, निम्न वर्गीय पुलामी परिवारका लागि खर्च जुटाउन सम्भव थिएन । जेनतेन अस्पतालबाट डिस्चार्ज भइसकेपछिको समय संगीताका लागि झन पीडादायक रह्यो ।

काठमाडौं मेडिकल कलेजमा लामो उपचार चल्यो । उपचारका लागि सबैभन्दा ठूलो प्रश्न पैसाको थियो, निम्न वर्गीय पुलामी परिवारका लागि खर्च जुटाउन सम्भव थिएन । जेनतेन अस्पतालबाट डिस्चार्ज भइसकेपछिको समय संगीताका लागि झन पीडादायक रह्यो ।

जीवन र संगीताको परिवार ०६९ देखि एकै घरमा डेरामा बस्थे । तल, माथि कोठा थियो । त्यसबेला जीवन बिबिएस पढ्दै थिए । उनले संगीतालाई एकतर्फी प्रेम गर्थे । तर, संगीता सो कुरा स्वीकारिनन् । त्यसले दुई परिवारका बीच झगडा र विवादको बीउ रोप्यो । विवाद बढ्दै जाँदा जीवनको वुवालाई संगीताले हात हालिन् । घट्ना प्रहरीसम्म पुग्यो । आखिरमा दुई परिवारबीच मिलापत्र भयो । बाहिर हेर्दा झगडा साम्य भयो । तर त्यस घटनाबाट अपमानित महसूस गरेका जीवनले संगीताको परिवारसँग बद्लाको सोच पालिरहे । जीवनले आफ्ना नजिककाहरुलाई ‘चमेलीका छोरा छोरीलाई सबक सिकाउँछु’ भन्दै हिँड्न थाले ।

करिब डेढ वर्ष जीवनले फलामे रड बोकेर संगीता र भाई सन्तोषलाई पछ्याए । त्यो सफल नभएपछि उनले अपराधको तरिका बदले, फलतः संगीतामाथि एसिड प्रहार भयो । सो घटनाबारे अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरुका अनुसार ‘सावधान ईन्डिया’ सिरियलबाट जीवनले न्युरोडबाड एसिड ल्याएर संगीतालाई आक्रमण गरेका थिए । तर उक्त अपराधको तरिका सिरियल हेरेर सिकेका जीवनले अपराधीले अन्ततः दण्डित बन्नै पर्छ भन्ने कुरा चाहिँ सिकेनन् ।

जीवनले संगीतामाथि एसिड प्रहार गरेर ‘सबक सिकाउने’ दुस्कर्म दोस्रो पटकको प्रयासमा कार्यान्वयन गरेका थिए । पहिलोपटक प्लाष्टिकको बोत्तलमा राखेको एसिड पग्लिएपछि दोस्रो पटक सिसाको बोत्तलमा एसिड लिएर उनि संगीता खोज्न हिँडेका थिए । संगीता पनि ‘सावधान इन्डिया’ हेर्थिन् तर उनले त्यस्तो घटना आफ्नो जीवनमा घटित होला भनेर कल्पना नै गरेकी थिइनन् । वास्तवमा, उनले एसिड हानेका सिरियलका त्यस्ता घटनाहरुलाई खासै वास्ता पनि गर्दैनथिइन् । तर, जीवनले सोही टेलिश्रृङ्खलाबाट अपराधको ‘सिको गरेर’ संगीताको जीवन बर्बाद बनाए । 

घटनाबारे अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरुका अनुसार ‘सावधान ईन्डिया’ सिरियलबाट जीवनले न्युरोडबाड एसिड ल्याएर संगीतालाई आक्रमण गरेका थिए । तर उक्त अपराधको तरिका सिरियल हेरेर सिकेका जीवनले अपराधीले अन्ततः दण्डित बन्नै पर्छ भन्ने कुरा चाहिँ सिकेनन् ।

वास्तवमा, जीवनले त्यस्तो कुकर्म गर्ला भनेर संगीताले सपनामा पनि चिताएकी थिइनन् । उनीहरुको घरायसी विवाद पुलिससम्म पुगेर सम्झौतामा टुंगिएको थियो । तर जीवनमा हुर्किएको ‘बदला लिने’ र ‘सबक सिकाउने’ अपराधिक मनोवृत्तिले निर्दोष संगीतालाई अथाहा पीडाको दुश्चक्रमा धकेलिदियो ।

पहिले जस्तै हेरिदिए हुन्थ्यो !

आज नोभेम्बर २५ देखि महिलाविरुद्ध हिंसा उन्मूलनका लागि अन्तर्राष्ट्रिय दिवस शुरु भएको छ । महिला, बालवालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले यस दिवसलाई नेपालमा पनि ‘लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान’ तथा ‘महिला हिंसाविरुद्धको राष्ट्रिय दिवस’को रुपमा मनाउने  निर्णय गरेको छ । यसवर्षको अभियानको नारा छ –‘लैंङ्गिक हिंसा अन्त्यको प्रतिबद्धता : व्यक्ति समाज र सवैको ऐक्यवद्धता ।’

यसअघि पनि सरकारले महिला हिंसा विरुद्धको दिवसलाई अभियानको रुपमा मनाउँदै आएको थियो । तर, दुर्भाग्यको कुरा, यो अभियानका व्यवहारिक प्रभाव अत्यन्तै कमजोर छ, यो औपचारिकता र ‘दस्तावेजीकरण’मा मात्रै सिमित छ ।

संगीता जस्ता धेरै दिदी–बहिनीहरु महिला हिंसाको शिकार भइरहेका छन् । एसिडले बिगारेको अनुहार छोपेर हिँड्न बाध्य भइरहेका छन् ।

हिंसाको शिकार भएको ६ बर्षपछि संगीताको जीवन फेरिएको छ । उनि अहिले कुमारी बैंकमा जागिर खान्छिन् । जिन्दगी केही सहज भएको छ तर, विगत संझेर उनि सँधै झस्किन्छिन् । विगत संझाउने पलहरुले उनलाई हरक्षण डर लाग्छ ।

बसन्तपुरबाट बानेश्वर आउँदा जाँदा सार्वजनिक माईक्रोवस वा बस चढ्छिन् । अनुहार खोलेर हिँड्दा सार्वजनिक यातायातमा चढ्नेहरुले एसिडले जलेको उनको अनुहार लगातार हेरिरहँदा उनलाई नरमाइलो लाग्छ । तर उनी आफैं ‘संसारकै रित यस्तो हो’ भनेर आफैंलाई चित्त बुझाएर सामान्य हुन खोज्छिन् ।

नयाँ बानेश्वर स्थित केएण्डके कलेजमा व्यवस्थापन संकायमा ब्याचलर पढ्छिन् संगीता । बसन्तपुरबाट बानेश्वर आउँदा जाँदा सार्वजनिक माईक्रोवस वा बस चढ्छिन् । अनुहार खोलेर हिँड्दा सार्वजनिक यातायातमा चढ्नेहरुले एसिडले जलेको उनको अनुहार लगातार हेरिरहँदा उनलाई नरमाइलो लाग्छ । तर उनी आफैं ‘संसारकै रित यस्तो हो’ भनेर आफैंलाई चित्त बुझाएर सामान्य हुन खोज्छिन् ।

‘अनुहार खुला राखेर हिँड्दा कत्तिपय मानिस लगातार घुरेर हेरिहन्छन्, त्यस्तो बेला नरमाइलो लाग्छ’ संगीताले रातोपाटीसँग भनिन्– ‘मानिसहरुले किन त्यसरी हेरेका होलान् । मलाई पनि पहिले जसरी नै सामान्य रुपमा हेरिदिएको र लिइदिएको भए कस्तो राम्रो हुन्थ्यो होला !’

पहिलो हेराइ सामान्य हो । संगीता त्यसलाई सामान्य रुपमा स्वीकार्छिन् । धेरैले सामान्य तरिकाले हेर्छन् । तर, केही मानिसहरुले भने अत्यन्तै अनौठो तरिकाले र घुरेर हेरेपछि संगीता फेसर विगत संझेर भक्कानिन्छिन् । तर उनलाई थाहा छ, यो स्वार्थी दुनियाँमा रोएर आफूलाई कमजोर देखाउनु हुन्न । त्यसैले उनी मन दह्रो बनाएर आफुलाई सम्हाल्छिन् ।

पितृसत्ताको प्रभुत्व र अहंकारका शिकार बनेका, संगीताजस्ता हिंसा प्रभावितहरुलाई समाजमा सामान्य जीवन जीवन अझै व्यवहारिक समस्याहरु छन् । संगीता भन्छिन्,  ‘विकसित समाजमा जस्तो सवैजनाले हाम्रो अवस्था र दुःख बुझिदिएको भए कत्ति राम्रो हुन्थ्यो होला ।’

परिवारको हौसला

भनिन्छ नि, ‘परिवारभन्दा ठूलो भर केहीको हुँदैन ।’ एसिड आक्रमणमा परेपछि संगीताको सामान्य जीवन र दिनचर्यामा महाभूकम्पन आयो । हिजो उनीसँग हिमचिम गर्ने र हाँसोखेलो गर्ने नजिकका साथीभाइरहरु पनि टाढिए ।समाजले जीवनसँगको ‘लभ चक्कर’ र ‘जातिय विभेद’को कारण देखाउँदै संगीतालाई नै गलत ठान्नहरु पनि बर्गेल्ती निस्किए ।  नखाएको विष पनि जबरजस्ती लाग्दा संगीताको चित्त कुँडिएको छ । धन्न, परिवारजनबाट उनले सँधै माया र हौसला पाएका छन् ।

‘परिवार र आफन्तको माया र हौसलाले मलाई समाजमा शिर ठाडो पारेर अगाडि बढ्न हिम्मत अझै बढेको अनुभव गरेको छु’ संगीता भन्छिन्– ‘एसिड आक्रमणको शिकार भएपछि मैले परिवारबाट थप आडभरोसा पाएका छु, आफन्तको बीचमा भेटघाट र सम्पर्क–छलफल बढेको छ, केही गुमाएर केही पाएजस्तो लाग्छ ।’

दुःखको कुरा, संगीताका लागि समाज र साथीभाइहरु चाहिँ परिवर्तन भएका छन् । जत्ति पहिला साथी बनाउन सहज थियो, अहिले सहज छैन् । ‘आफैंलाई पनि अरुसँग नजिक हुन असहज लाग्छ’ संगीता भन्छिन्– ‘बोलिहालौं जस्तो लाग्दैन, केही भन्लान् कि भनेजस्तो महसूस हुन्छ ।’

दुःखको कुरा, संगीताका लागि समाज र साथीभाइहरु चाहिँ परिवर्तन भएका छन् । जत्ति पहिला साथी बनाउन सहज थियो, अहिले सहज छैन् । ‘आफैंलाई पनि अरुसँग नजिक हुन असहज लाग्छ’ संगीता भन्छिन्– ‘बोलिहालौं जस्तो लाग्दैन, केही भन्लान् कि भनेजस्तो महसूस हुन्छ ।’

स्कुल पढेका साथीभाइ छुटेका छन् । एसिडले जलाएको मुहारको उपचार गराउँदा उनको पढाई एक बर्ष ढिला भयो ।

एसिडको दागको उपचार गराइरहनुपर्छ । फेसको आकार ल्याउन र अहिलेभन्दा थप राम्रो बनाउन काठमाडौं मेडिकल कलेजमा उनको उपचार जारी थियो । तर, अब उनले कीर्र्तिपुरमा उपचार गराउने भएकी छिन् ।

सरकारको काम कारवाहीको आलोचना र निन्दा भइरहेको अहिलेको बेलामा संगीता जस्ता एसीड पीडितहरुका लागि भने सरकार दाहिना भएका छन् । सरकारलाई धन्यवाद भन्नैपर्छ– एसिड आक्रमण प्रभावितको उपचार निःशुल्क गर्ने निर्णय गरेको छ । एसिड प्रभावितको उपचारका लागि कीर्तिपुर सहित देशभरका १७ अस्पताल तोकिएका छन् । त्यहाँ एसिडपीडितहरुको उपचार सरकारी खर्चमा निःशुल्क हुन्छ । 

‘अब कीर्तिपुर अस्पतालमा उपचार गराउने सोचेको छु’ संगीताले भनिन्– ‘सरकारले निःशुल्क उपचार गर्ने निर्णय गरेको हुनाले अब म जस्ता पीडितलाई अलिकति राहत भएको छ, खुसी लागिरहेको छ ।’

एसिडको दाग बसेको मुहारलाई घाम, धुलो र धुवाँबाट जोगाउनुपर्छ । त्यसकारण, बैंकको जागिर उनका लागि उपयुक्त हो । स्मरण रहोस्, उनलाई जागिर दिलाउन सामाजिक अभियन्ता उज्ज्वल विक्रम थापाले विशेष भूमिका खेलेका थिए । उनलाई जागिर प्रदान गर्ने कुमारी बैंकका सदासयता पनि स्मरणीय छ ।

सरकारका काम जनपक्षीय बन्न सकेन भनेर अधिकांश काम कारवाहीको आलोचना भइरहेको अहिलेको बेलामा संगीता जस्ता एसीड पीडितहरुका लागि भने सरकार दाहिना भएका छन् । सरकारलाई धन्यवाद भन्नैपर्छ– एसिड आक्रमण प्रभावितको उपचार निःशुल्क गर्ने निर्णय गरेको छ । एसिड प्रभावितको उपचारका लागि कीर्तिपुर सहित देशभरका १७ अस्पताल तोकिएका छन् । त्यहाँ एसिडपीडितहरुको उपचार सरकारी खर्चमा निःशुल्क हुन्छ । 

सीमालाई लाग्दो हो–‘संगीताले गर्दा...’

सँगै ट्युसन सेन्टरमा पढ्न गएकी सीमा बस्नेतको शरीर पनि जीवनले छ्यापेको एसिडले जलायो । सीमा र जीवन बिकको बीचमा चिनजान र बाद–विवाद थिएन । तर, संगीताका माथि जीवनले गरेका अपराधिक दृष्कर्मका शिकार उनका साथी सीमा पनि बनिन् । संगीतालाई छ्यापेको एसिडका छिटा उछिट्टिएर सीमाको अनुहारमा परेको थियो ।

‘मेरो कारणले सीमाको शरिरमा एसिड पर्‍यो, उनलाई लाग्दो हो संगीताको कारण अलिकति भएपनि जिन्दगी ब्याक भयो’ संगीता भन्छिन्– ‘मलाई त फिल हुन्छ भने उसलाई त्यो कुराले भित्रभित्रै पक्कै घोच्छ होला ।’

तर, मान्नै पर्छ सीमाको मित्रता भावलाई पनि, उनले त्यसबारे संगीतासँग कहिल्यै गुनासो गरिनन् । दुनियाँले संगीताका बारेमा नानाथरि कुरा गर्दा सीमाले सधैं संगीतालाई साथ दिइन्, आड भरोसा दिइन् । सीमा अहिले भारतमा बस्छिन् । त्यहीँ जागिर खान्छिन् ।  

संगीता र सीमालाई एसिड छ्याप्ने जीवन अहिले जेलमा छन् । अदालतले उनलाई १० वर्ष जेल सजायको फैसला गरेको छ ।

आफ्नो जिन्दगी ‘बर्बाद पार्ने’लाई १० वर्ष कैद सजाय ‘निकै थोरै’ जस्तो लाग्छ संगीतालाई । ‘समाजले मलाई नै नराम्रो देख्छ, मेरो खुसीको आकाशमा बादल लागेको छ’ उनी भन्छिन्– ‘मलाई एसिडले पोले जस्तै अपराको गहिरो पीडाबोध उसलाई होस् भन्ने मेरो चाहना छ ।’

काठमाडौं उपत्यकामा संगीता र सीमामाथीको एसिड आक्रमणपछिको छैटौं बर्षमा सरकारले अध्यादेशमार्फत कडा कानुन ल्याएको छ । एसिड आक्रमण गर्नेलाई २० बर्ष कैद र १० लाख सम्म जरिवाना हुने कानुन लागु गरिएको छ ।

नयाँ कानुन पारित भएकोमा संगीता जस्तै एसिड प्रभावितहरु खुसी छन् । ‘अपराध गर्नुअघि अर्काको जिन्दगीसँग खेलबाड गरेँ भने मलाई कानुनले छाड्दैन भनेर सोच्न बाध्य बनाएको छ’ संगीता भन्छिन्–‘हामिलाई जे भयो, तर अब अरु दिदी–बहिनी यो हिंसामा नपरुन् ।’

‘हिंसा नसहौं’

हिंसामा नपरेको भए संगीता पनि अरु दौंतरी जस्तै कलेज जीवनमा हाँस्ने, खेल्ने र घुम्नेमा रमाइरहेकी हुन्थिन् । तर, हिंसामा परेपछि उनीसँग परिवारको साथ मात्रै छ । कलेजमा एक्लै हुन्छिन् ।

शैक्षिक क्षेत्रमा ‘फलामे गेट’ मानिने एसलएसली उनले साथीभाइसँगै हलमा बसेर दिन पाइनन् । अस्पतालबाट परिक्षा दिईन् । ‘मैले एसएलसी परिक्षा हुने हल देख्न पाएको छैन्,’ संगीता भन्छिन् ।

घर र समाजमा ‘इज्जत जाने’ डरले अझै धेरै मानिसहरु हिंसालाई चुपचाप सहेर, घटनालाई लुकाए बसेका हुन्छन् । एक किसिमले उनीहरु दोहोरो पीडाबोध रहन बाध्य भइरहेका हुन्छन्– समाजले दिने ‘प्रताडना’ अनि अपराधको शिकार बन्नुपरेको पीडा । यस्तो स्थितिलाई चिर्दै अगाडि आउन र चुपचाप सहेर नबस्न संगीता सबै हिंसा प्रभावितलाई आग्रह गर्छिन् । उनि भन्छिन्, ‘हाम्रो मौनताले अपराधीलाई हौसला मिल्छ, त्यसले झनै ठूलो अपराध निम्त्याउँछ । त्यसैले हामी सबैले साहस गरेर आफूविरुद्ध र समाजमा भइरहेका हिंसा विरुद्ध आवाज उठाऔं ।’

यस्तो छ तेजाब आक्रमणसम्बन्धी नयाँ कानूनी व्यवस्था

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.