केन्द्रीय संस्करण
व्यक्तित्व

पूर्व सभासदको भिक्षु अवतार : कसरी बने सुनीलबाबु पन्त भिक्षु कश्यप ? (भिडियो)

person explore access_timeमंसिर ११, २०७७ chat_bubble_outline0

 

 

अब उनलाई पुरानो नामबाट सम्बोधन गर्न पाइँदैन । सट, पाइन्ट, चिल्ला जुत्ता लगाएर हिँड्ने उनको पोसाक परिवर्तन भएको छ । केश मुण्डन गरेका छन् र रातो चिवर लगाएका छन् । नाम र पोसाक मात्र नभई उनी स्वयं अहिले परिवर्तन भएका छन् ।

सुनीलबाबु पन्तबाट भिक्षु ‘कश्यप’ 

उनले भने– ‘मलाई अब कश्यप भनेर बोलाउँदा हुन्छ । भिक्षुहरुलाई सामान्यतया भन्ते भन्ने चलन छ ।’

अर्थात् अब उनी ‘भन्ते कश्यप’ । यो उनका बौद्ध गुरुले दिएको नाम हो ।

उनको आग्रहअनुसार हामीले उनलाई कश्यप भनेरै सम्बोधन ग-र्यौं ।

‘स्वतन्त्र आफ्नो परिचय दिनका लागि मुस्किल हुन्छ । धेरैले त्यसरी सोचेकै हुँदैनन्, म फलानाको छोरा भनेपछि त्यहाँ अर्को व्यक्तिको पनि परिचय जोडिएर आइहाल्यो । फलानो मेरो गाउँ, फलानो मेरो देश भन्नेबित्तिकै त्यहाँ अर्कोसँग जोडिएर परिचय बन्यो । यो सबै सम्बन्धहरुलाई छोडेर तपाईंको पहिचान के हो ? तपाईं को हो ? भन्यो भने स्वतन्त्र पहिचान गराउँदैनौँ । तपाईंको नाम सोधियो भने तपाईंले नामथर भन्नुहुन्छ । थर तपाईंको बुबासँग जोडियो । यी परिचय परिस्थितिवस अरूसँग जोडिएर आएका परिचय हुन् । तपाईंको आफ्नो स्वतन्त्र परिचय के हो ? ’

नाममा त्यस्तो के छ ?

पहिलेको नामप्रति आफ्नो कुनै मोह नरहेको उनले बताए ।

उनले भने– ‘मेरो पहिचानका लागि कसैले दिएको नाम हो, मैले रोजेको नाम हैन । सानो हुँदा सोच्ने शक्ति थिएन, मलाई त्यो नै नाम किन राखिदिए भनेर त्यसको अर्थ हुँदैन । मलाइए अर्कै नाम राखिदिएको भए त्यही नामले बोलाइन्थ्यो । अहिले आएर ‘कश्यप’ मेरो गुरुले दिएको नाम हो । नाम भन्ने कुरा व्यावहारिकताका लागि मात्र हो ।’

कश्यपले गृहस्थ जीवन अर्थात् आफ्नो परिवार, पेसा, घर त्यागेका छन् । कुनै पेसा गरेर आर्थिक उपार्जन गर्ने उनी अब अरूमा अनुग्रहित भएका छन् ।

तेस्रोलिङ्गी लगायत फरक पहिचान बोकेका व्यक्तिहरु जसलाई यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदाय भनिन्छ, उनीहरुको हक अधिकारका लागि सङ्र्घष गर्ने उनको पुरानो कर्म बदलिएको छ ।

अब उनले आफूलाई ध्यान, तपस्या र बौद्धशिक्षा अध्ययनमा समाहित गरेका छन् ।

श्रीलङ्का पुगेर प्रवज्ञा लिएको अर्थात भिक्षु भएको १ वर्ष भयो । श्रीलङ्कापछि उनी केही समय उनी नेपाल आए । कोरोनाका सङ्क्रमणको जोखिमका कारण उनी अहिले बिहारमा गएर बस्न पाएका छैनन् ।

२०६४ सालमा पहिलो संविधान सभामा अरूको पहिचान, हक अधिकार स्थापना गरेर उनीहरुको जीवन परिवर्तन गर्ने अभियानमा जुटेका उनले के आफूलाई परिवर्तन गर्न सकेनन् ?

२८ वर्षको उमेरमै आफूले भिक्षु बन्न चाहेको तर परिवारले अनुमति नदिएका कारण रोकिएको कश्यपले बताए ।

अरूको पहिचानका लागि सङ्घर्ष गर्दै आएका उनले अहिले आफूले खोजेको आफ्नो सही पहिचान फेला पारेका छन् ।

उनले भने– ‘पहिचान भनेको आत्मज्ञान अर्थात आफूले आफूलाई चिन्ने काम पनि हो । तपाईंको बारेमा अरू कसैले सोध्यो भने अरूको सम्बन्धका आधारमा मात्र आफ्नो परिचय दिन्छौँ । स्वतन्त्र आफ्नो परिचय दिनका लागि मुस्किल हुन्छ । धेरैले त्यसरी सोचेकै हुँदैनन्, म फलानाको छोरा भनेपछि त्यहाँ अर्को व्यक्तिको पनि परिचय जोडिएर आइहाल्यो । फलानो मेरो गाउँ, फलानो मेरो देश भन्नेबित्तिकै त्यहाँ अर्कोसँग जोडिएर परिचय बन्यो । यो सबै सम्बन्धहरुलाई छोडेर तपाईंको पहिचान के हो ? तपाईं को हो ? भन्यो भने स्वतन्त्र पहिचान गराउँदैनौँ । तपाईंको नाम सोधियो भने तपाईंले नामथर भन्नुहुन्छ । थर तपाईंको बुबासँग जोडियो । यी परिचय परिस्थितिवस अरूसँग जोडिएर आएका परिचय हुन् । तपाईंको आफ्नो स्वतन्त्र परिचय के हो ? भन्नेकुरा नखोजेसम्म हाम्रो आत्मज्ञान हुँदैन । हामीले आफूलाई चिन्न सक्दैनौँ । अरूको आधारमा जोडिएको परिचयले तपाईंलाई मुक्ति दिँदैन ।’

सबै सम्बन्धबाट मुक्त हुँदै उनी अहिले आफ्नो स्वतन्त्र पहिचान बनाइरहेका छन् । उनको यो फरक पहिचानलाई उनका केही सहकर्मीले अनौठो पनि मानेका छन् भने केहीले खुसी पनि मानेका छन् ।

उनी केही वर्ष अगाडि भारतमा भएको एक बौद्ध सम्मेलनमा पुगेका थिए । त्यहाँबाट उनको श्रीलङ्कामा सम्पर्क भएको थियो । श्रीलङ्काको अनुराधापुरम त्यहाँको सांस्कृतिक राजधानीको रूपमा रहेको छ । जहाँ पुराना बुद्ध बिहारहरु छन् । गृहस्त खालको जीवनशैली त्यागेर संन्यास हुन्छु भन्ने सोचे । त्यसपछि उनले सम्पर्क गरे र त्यहाँको बिहारमा पुगे ।

भिक्षु हुनका लागि त्यस्तो जटिल प्रक्रिया नभएको उनले बताए ।

उनले भने– ‘२० वर्षमाथि उमेर पुगेको हुनुपर्छ । जसमा भित्रबाट धर्मसंवेग जागेको हुनुपर्छ । बुद्ध धर्मको सङ्घमा सम्पर्क राखेपछि भिक्षु हुने प्रक्रिया सुरु हुन्छ । सामान्य औपचारिक समारोह हुन्छ । बुद्धको धर्मको सङ्घको शरणमा जाने, नियम अनुशासन ग्रहण गरेपछि गुरु भिक्षुहरुले लगाउने वस्त्र चिवर दिन्छन् । बुद्धले देखाएको मार्गमा आफूलाई समाहित गर्नुपर्छ ।’

भिक्षु कश्यपले भने– ‘मान्छे भएर जन्मिँदा हामी सुरुमै बुद्ध भएर त जन्मिँदैनौँ । मानिसमा लोभ द्वेष त रहन्छ, सांसारिक सुखप्रति आशक्ति त रहन्छ । बुझ्दै जाँदा यो पनि क्षणिक रहेछ भन्ने लाग्छ । राम्रो गाडी चढियो क्षणिक नै हो, सँगै जाँदैन । मृत्युपछि त सबै छोड्नैपर्छ । ठूला–ठूला घर बनायो, ठूलो ठूलो बेड बनायो, मीठो मीठो खायो क्षणिक नै हो ।’

उनलाई घरपरिवार छोड्न गाह्रो भएन । अरूको जस्तो गृहस्थ जीवन अँगालेका थिएनन् । बाआमाले अनुमति दिएपछ उनका लागि भिक्षु बन्ने बाटो खुल्यो ।

उनले भने– ‘बुबाआमाको अनुमति नलिई भिक्षु हुने कुरालाई त्यति राम्रो मानिँदैन । सायद समय भएको छैन होला भनेर रोकिएर बसेको थिएँ । ब्लु डायमन्ड सोसाइटीमा काम गर्नुभन्दा पहिले नै त्यो सोचाइ आएको थियो । त्यतिबेला अनुमति पाएको भए म पहिल्यै भिक्षु बन्थेँ होला । गृहस्थ भन्नाले मैले अरू मान्छेले जस्तो विवाह गरेर परिवार बसालेको मान्छे पनि थिइन । घर परिवार छोड्नलाई त्यति गाह्रो पनि भएन । छोरा छोरी, श्रीमान् श्रमिती, धेरै धन सम्पत्ति भएको भए छोड्नलाई गाह्रो हुन्थ्यो होला ।’

अहिले उनले सांसारिक सुख त्यागेका छन् । एकछिन खुसी मिले पनि भौतिक सुखसुविधा क्षणिक खुसीको माध्यम भए पनि अन्नतः त्यसले मान्छेलाई दुःखी नै बनाउने उनले बताए । 

भिक्षु कश्यपले भने– ‘मान्छे भएर जन्मिँदा हामी सुरुमै बुद्ध भएर त जन्मिँदैनौँ । मानिसमा लोभ द्वेष त रहन्छ, सांसारिक सुखप्रति आशक्ति त रहन्छ । बुझ्दै जाँदा यो पनि क्षणिक रहेछ भन्ने लाग्छ । राम्रो गाडी चढियो क्षणिक नै हो, सँगै जाँदैन । मृत्युपछि त सबै छोड्नैपर्छ । ठूला–ठूला घर बनायो, ठूलो ठूलो बेड बनायो, मीठो मीठो खायो क्षणिक नै हो । मान्छेले त आफूले पाएको जीवनभन्दा अझ बढी विलासी जीवन खोजिरहन्छ । मीठो खायो, अझ मीठो कसरी खाऊँ भन्छ । एकछिनपछि फेरि सन्तुष्ट हुँदैन, अझ राम्रो चाहियो । गाडी पायो भने अझ महँगो गाडी चाहन्छ । गाडीबाट सन्तुष्ट भएन भने जेट विमानको रहर गर्छ । मान्छेको लालचको प्रवृत्ति कहिले पनि टुङ्गिँदैन, त्यसले पनि सन्तुष्टि दिँदैन । यहाँहरुलाई म भिक्षु हुनुको कारण कुनै ठूलै ट्रेजेडी होला भन्ने सोच्नुभएको होला, त्यस्तो चाहिँ हैन ।’

उनी भिक्षु भएको कुरालाई परिवारले पनि सकारात्मक रूपमा लिएका छन् । सानैदेखि बुद्धदर्शनप्रति रुचि र वैराग्यता बढेपछि आफूले सबै कुराबाट मुक्तिको बाटो रोजेको उनले बताए ।

भिक्षु कश्यपले भने– ‘परम्परादेखि भारतवर्ष अर्थात दक्षिण एसियामा दुईवटा धार चल्दै आएका थिए । एउटा श्रमण परम्परा अर्को गृहस्थ परम्परा । घर परिवार, विवाह, बालबच्चायुक्त गृहस्थ जीवन । यसबाट दुःख सिर्जना हुने र मुक्ति नपाइने हुँदा केही मान्छे श्रमणतिर जाने गर्थे । गृह त्याग गरेर ध्यान तपस्यातिर लाग्ने त्यसलाई श्रमण मार्ग भन्छ । संसारलाई त्याग्दै गयो भने ध्यान समाधीबाट सम्पूर्ण मुक्ति पाइन्छ भन्ने विश्वास छ । भगवान बुद्धलाई त्यही बाटोमा लागेर बुद्धत्व प्राप्त भयो । म त्यहीँबाट प्रेरित भएको हुँ । म सानैदेखि श्रमण मार्गतिर अर्थात संन्यासतिर रुचि थियो । जीवन भोग्दै जाँदाखेरी उमेर बढ्दै जाँदाखेरी वैराग्य पनि बढ्दै गयो । पहिल्यै हुनुपर्ने थियो । ढिलै भए पनि समयमै बुद्धि आएजस्तो लाग्छ ।’

उनले बुझेको दुःख आम मान्छेले भोगेको बुझेको दुःख हो । मान्छेले देखेको भौतिक सुख पनि दुःख नै भएको उनले प्रष्ट्याए । उनले भने– ‘भौतिक कुराले सुख दिँदैन त्यो एकछिनको भ्रम मात्र हो । बुद्धले भन्नुभएको छ, यो संसार नै दुःख हो । जन्मेपछि मृत्युसम्म दुःखै हुन्छ । जो शरीरप्रति म हुँ भन्नेप्रति आशक्ति हुन्छ, त्यो पनि दुःखै हो । आफू नमरे पनि आफन्त मर्दाको दुःख भोगिरहेका हुन्छौँ, यो जीवनमा सामान्य उतारचढावहरु रहिरहन्छ । आफूले चाहेजस्तो नपाउन्जेल दुःख लागिहाल्छ । जीवनमा आफूले इच्छा नगरेका कुरा भइरहन्छन् । त्यसले पनि दुःख लाग्छ । यी सबैबाट वैराग्यता आउँदै गयो । दुःखबाट मुक्ति पाउनका लागि नै यो बाटो रोजेँ ।’

फेरिएको दैनीकी, फेरिएको जीवनशैली

विगत १ वर्षदेखि उनको दैनीकी र बाँच्ने जीवनशैली फेरिएको छ । भिक्षुहरुले पालन गर्नुपर्ने नियम धेरै हुन्छन् । बिहानै सबेरै उठ्छन् । त्यसपछि ध्यान गर्छन् । ध्यानपछि बुद्ध पूजा गर्छन् । केही पाठ गर्छन् । बिहानको खाजा खान्छन् । बिहारमा बसेको बेला बिहारको सरसफाइको काम गर्छन् । बिहानको ११ देखि १२ बजेसम्म दिनको मुख्य खानाको समय हुन्छ । १२ बजेपछि ठोस खाना खान नहुने उनले बताए । कहीँ कहीँ बिहारबाट भिक्षाटनका लागि जाने चलन हुन्छ । बुद्धिष्ट देशहरुमा कहीँ कहीँ भिक्षापात्र लिएर बिहान ८ बजे भिक्षाटनका लागि जाने र १२ बजेभित्र आइसक्ने गरेको उनले बताए । कतिपय बुद्ध उपाशकहरुले भिक्षुहरुलाई भोजनदान गर्ने गर्छन् । उनीहरुले घरमा पूजा लगाएका छन् भने त्यहाँ पूजा गरिदिने गर्छन् ।

बुद्ध उपासकले बोलाएका आफन्त तथा परिवारलाई धर्मदेशना अर्थात बुद्ध धर्मको बारेमा प्रवचन दिने काम हुन्छ ।

औपचारिक रूपमा बौद्धशिक्षा नलिएकाले पढ्ने कुरा धेरै भएकाले दिउँसोको समयमा अध्ययनको काम गर्ने गरेका छन् । 

भिक्षुहरुले जति धेरै ध्यान गर्न सक्यो त्यति राम्रो मानिने भएकाले साँझ पनि ध्यानमा बस्ने गरेका छन् । कोरोनाका कारण नेपाल आएपछि बिहारमा जान पाएका छैनन् । बेलायतमा रहँदा उहाँ बिहारमा बस्ने गर्थे ।

उनको दैनिक जीवनमा आवश्यक पर्ने कुरा भिक्षुहरुको सङ्घले व्यवस्था गर्ने गर्छ । सङ्घमा बौद्ध उपासकहरुले दान दिएका हुन्छन् । उनले भने– ‘हामीले जीवनयापन गर्न जनसमुदाय, उपासकप्रति अनुग्रहित हुनुपर्छ । अरूको दानबिना हाम्रो जीवन असम्भव हुन जान्छ । हामीलाई चाहिने खानेकुरा, लगाउने चिवर सबै उहाँहरुले दान गर्नुहुन्छ । त्यसको बदलामा हामीले उहाँहरुलाई धर्म सिकाउने हो । उहाँहरु वस्तुदान गर्नुहुन्छ, हामी धर्मदान गर्छांै ।’

श्रीलङ्का, म्यानमारतिर गाउँघरमा भिक्षाटनका लागि गएको पाइन्छ । सहरी क्षेत्रमा भिक्षाटनका लागि जान गाह्रो हुने उनले बताए । उनले भने– ‘कम्पाउन्ड भएको घर हुन्छ । भिक्षुहरुले भिक्षाटनमा जाँदा मलाई यो देऊ त्यो देऊ भनेर माग्न हुँदैन । उभिएर मात्र बस्नुपर्छ । उपासकले बुझेर दिने चलन हुन्छ ।’ व्यक्तिलाई बोलाएर भिक्षा माग्न नहुने उनले बताए ।

खाना खायो ५ मिनेटपछि जिब्रोको स्वाद सकिन्छ, जीवनका हरेक कुरा क्षणिक हुन् । जीवनमा क्षणिक सुख धेरै छन्, नपाउने वित्तिकै फेरि दुःख आइहाल्छ । कोही व्यक्ति ठूलो सुखसयलमा बसेको छ, परिस्थितिजन्य कर्मबाट घरबारविहीन होला, गाडी चढ्न पाउँदैन, नोकर चाकर हुँदैनन् भने उसको दुःख असिम हुन्छ । यस्तै कुरामा अल्झिएर मानव जीवन गइरहेको हुन्छ ।

भिक्षु कश्यपले बुझेको दुःख के हो, शान्ति के हो ? नेकपा संयुक्तको तर्फबाट सभासद भएका उनले अहिले फरक विचारधारा अँगालेका छन् । जीवन सङ्र्घष हो, सङ्घर्षबाट सफलता प्राप्त हुन्छ भन्ने कम्युनिस्ट विचारधाराको ठीक विपरीत रहेको आध्यात्मिक मार्ग उनले समातेका छन् । अध्यात्मले भौतिक सुख–सुविधालाई दुःखको कारण मान्छ । हरेक कुरा परिवर्तनशील र नासवान मान्छ ।

उनले भने– ‘सांसारिक मायाजालबाट दिगो शान्ति सुख मिल्दैन । यो सबै महापुरुषहरुले भनेको कुरा हो । त्यसलाई महसुस गरेर निर्वाण मुक्तिको मार्गमा हिँड्न लागिएको हो । सांसारिक जीवनबाट निवृत्त हुँदै आध्यात्मिक मार्गमा लागिएको हो । यो अलिकति फरक मात्रै हो । हिजो हामी जे थियौँ आज त्यो छैनौँ । सानो बच्चा बेलाको फोटो हे¥यौँ भने पनि आज हामी त्यस्तो छैनौँ । अहिले पनि हाम्रो नङ बढ्छ, कपाल बढ्छ अनि काटेर फाल्छौँ । सबै कुरा छिटोछिटो परिवर्तन भइरहेको हुन्छ । यो अनित्यतालाई देख्न सक्यो भने आशक्ति तृष्ण छुट्छ । तृष्णाले गर्दा दुःख ल्याएको भनेर बुद्धले भन्नुभएको छ । लोभ, राग, द्वेषको मूल कारण तृष्णा हो । त्यो देखेपछि निर्वाणको बाटोमा लागिन्छ । अज्ञानता अन्त्य भएपछि निर्वाण प्राप्त हुन्छ भनेर बुद्धले भन्नुभएको छ । भिक्षु हुनु भनेको त्यही निर्वाणको खोजी गर्नु हो ।’

‘खाना खायो ५ मिनेटपछि जिब्रोको स्वाद सकिन्छ, जीवनका हरेक कुरा क्षणिक हुन् । जीवनमा क्षणिक सुख धेरै छन्, नपाउने वित्तिकै फेरि दुःख आइहाल्छ । कोही व्यक्ति ठूलो सुखसयलमा बसेको छ, परिस्थितिजन्य कर्मबाट घरबारविहीन होला, गाडी चढ्न पाउँदैन, नोकर चाकर हुँदैनन् भने उसको दुःख असिम हुन्छ । यस्तै कुरामा अल्झिएर मानव जीवन गइरहेको हुन्छ । पृथ्वीमा रहेका असङ्ख्य प्राणीमध्ये सबैभन्दा चेतनशील प्राणी मानिस हो । हाम्रो यो चेतनालाई नैतिक स्तरमा उच्च तहमा पु-याउन सक्ने हामीमा क्षमता छ । त्यो कुरा याद गर्ने हो भने सांसारिक सुख अनि सफलता गौण लाग्छ । अनि वैराग्ता आउन थाल्छ । अहिले वैराग्यता शब्दलाई त्यति राम्रो मानिँदैन तर पहिला राम्रो मानिन्थ्यो । अहिले पनि सांसारिक प्रवृत्तितिर जानुभन्दा सांसारिक सुख सयलबाट निवृत्त हुँदै आध्यात्मिक कुरातिर जानु राम्रो हो ।’

धर्म के हो ? के धर्म परिर्वतन हुनसक्छ ?

मान्छेहरु कुनै एक धर्मबाट अर्को धर्ममा रूपान्तरण हुने क्रम संसारका धेरै देशहरुमा भइरहेको हुन्छ । किन यस्तो हुन्छ ? भिक्षु कश्यप धर्म भनेको एउटै हुने बताउँछन् । धर्म सम्प्रदाय परिवर्तन गर्ने तर विकृत चित्त धारण गर्ने हो भने त्यसको अर्थ नहुने बताउँछन् ।

उनले भने– ‘धर्म भनेको धारण गर्ने कुरा हो । मनले, चित्तले जे धारण गर्छ त्यसलाई धर्म भनिन्छ । हरेक क्षण हाम्रो चित्तमा केही न केही आइरहेको हुन्छ । कुसल चित्त आयो भने करुणा जाग्यो, मित्रता भाव जाग्यो भने राम्रो धर्म भयो । रिस जाग्यो, डाहा जाग्यो, कसैलाई तल खसाल्छु भन्ने लाग्ने बित्तिकै हाम्रो चित्त अकुसल हँुदा त्यसलाई अधर्म भन्न थालिएको हो । कसैले नराम्रो ग¥यो, अन्याय ग¥यो भने हामी कस्तो अधर्मी रहेछ भन्छौँ । कसैले सत्यको पक्षमा, न्यायको पक्षमा करुणा जगायो भने त्यो धर्म हो । जसले परमार्थ दुःखको बाटोबाट मुक्त गर्छ त्यो धर्म हो । बुद्धले हिंसा नगर जस्ता जुन–जुन कुरा सिकाएर जानुभयो ती कुरा पनि धर्म हुन् । धर्मको अर्थ नबुझेर हिन्दू, बौद्ध, इसाई, इस्लाम जस्ता सम्प्रदाय बनेका हुन् । म धर्मको बाटो लागेको हुँ, यसलाई धर्म परिवर्तन भन्न मिल्दैन । पहिले अकुसल चित्त धारण थियो अहिले आएर कुसल चित्त आओस है भनेर अभ्यास गरेको हो ।’

उनले धर्म र अर्धमको परिभाषा यसरी खुलाए ।

‘पञ्चशीलको पहिलो नियम नै हिंसा नगर्नु भन्ने छ । यो त धार्मिक बाटो भयो । दोस्रो नियम चोरी नगर्नु भन्ने छ, दान गर्नु त्यसको उल्टो भयो त्यो अझै राम्रो भयो । तेस्रो काम अर्थात यौन मिथ्याचार नगर्नु भन्छ त्यो गर्नु नराम्रो हो अहिले ब्रह्मचार्यमा बस्नु भनेको अधर्मबाट धर्ममा रूपान्तरण हो ।

मान्छे इसाई बन्यो वा के बन्यो भन्ने कुरा भ्रम मात्र हो । वास्तवमा धार्मिक बन्यो कि बनेन भन्ने कुरा हामीले हेर्ने हो । कुनै सम्प्रदायमा गएर राम्रो कुरा ग्रहण गर्छ भने त्यो पनि राम्रो हो ।  हाम्रो सम्प्रदायको शास्त्र सबैभन्दा ठूलो भन्ने तर अहंकार जगाइराख्ने, जाँडरक्सी पनि खाइराख्ने, मिथ्याचार पनि गरिराख्ने, चोरी, भ्रष्टाचार पनि गरिराख्ने, झुटो पनि बोलिराख्ने त्यो धर्म हुँदैन । जुनसुकै सम्प्रदायमा जति ठूलो पादरी बनोस्, पण्डित बनोस्, भिक्षु बनोस्, मुल्लाह बनोस्, फादर बनोस् आफ्नो चित्त शुद्ध गर्न सकेन भने त्यसको कुनै अर्थ छैन ।’

भिक्षु कश्यप नेपाल बुद्ध जन्मिएको भूमि भएर पनि धेरैले बुद्धको शिक्षा लिन र पालना गर्न चासो नलिएको बताउँछन् ।  बुद्धको जन्मको विषयमा विवाद उत्पन्न भए जे गर्न पनि तयार हुने तर बुद्ध शिक्षा के हो, त्यसलाई आत्मसाथ गर्नेको कमी भएको उनले बताए ।

भिक्षु कश्यपको त्यस्तो कुनै आगामी योजना छैनन्, उनी अब पहिलेजस्तो राजनीतिक क्षेत्रमा पनि आउने छैनन् । उनी ध्यान साधना, बौद्ध शिक्षा अध्ययन र सबै बन्धनबाट मुक्तिको यात्रामा लम्किएका छन्  ।

हेर्नुहोस् भिडियो :

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.