केन्द्रीय संस्करण

अक्करे भिरमा फुल्दै गरेकी सुनगाभा अर्थात् डाक्टर सुजाता

person explore access_timeपुस ११, २०७७ chat_bubble_outline1

राजनीतिक भाष्यमा चर्चित टर्मोलोजीमा ब्राम्हणवादी समाज, संस्कार र संरचनागत लाभ लिने वर्गको रुपमा ब्राह्मण थरलाई लिने गरिन्छ । यद्यपि कतिपय अवसर र अवस्थामा नामपछि झुण्डिएको ब्राह्मण बोधक संकेत हानिकारक र अवसरबाट बञ्चित बन्नुपरेको तीतो यथार्थ छ भने त्यही थर–जातको कारण राज्यको घोषित–अघोषित, लिखित–अलिखित कानुनको कारण मर्यादा, सम्मान र अवसर उसै प्राप्त हुने सामाजिक संरचना पनि विद्यमान छ ।

तर डाक्टर सुजाता पन्त जसको नाम पछिको थरमा ब्राह्मणबोधक प्रतीक ‘पन्त’ भए पनि यिनले पाएको दुःख यिनको परिवेश, आर्थिक, सामाजिक र पारिवारिक स्थिति सुन्दा, शिक्षा–दीक्षा प्राप्त गर्दाको संघर्ष निश्चय नै मन अमिलो बनाउने, आँखा रसाउने खालको छ । सुनगाभा, सुनाखरी पहाडको भित्तोमै उम्रन्छ, फक्रन्छ, फूल्छ अनि रुखको कापमै जीवनको सौन्दर्य पोख्छ । हो, त्यही सुनगाभा र सुनाखरीको सौन्दर्य र संघर्ष हुन् डाक्टर सुजाता, जो आफ्नो खुवीकै कारण डाक्टर बनेकी छन् । उनको योग्यता ब्राह्मण कुलमा जन्म संयोग भएको कारण बनेको होइन । एक आम साधारण वर्ग र परिवारकी मान्छे हुन् र उदाहरण हुन् उनी । दुःख र पीडालाई ऊर्जामा रुपान्तरण गर्ने सामर्थ्य विकास गरेको कारण नै डाक्टर सुजाता जुन यात्रामा पाइला चाल्दैछिन्, त्यो यात्रामा आर्तहरुको चहराएको घाउमा मलमपट्टी लाउने संकल्प र सपना छ उनको । कसैको लागि लठ्ठी, कसैको लागि वैशाखी, त कसैको लागि ह्विल चियर, कसैको लागि औषधिको गोली र सुइ नै बनिदिने र बनाई दिने डाक्टर पन्तको सामाजिक सेवामा प्रभावित बनेर नै यो आलेख तयार पार्ने जमर्को भएको हो । यो आलेख भक्तिगानमा आधारित नभइ ती रोगी, बिरामी र असहाय, अनाथका नाथ सुजाताको सुकर्मलाई चिनाउने सानो प्रयास स्वरूप लेखिएको छ ।

सुजाता भर्खर २६ वषन्तमा हिँड्दै छिन् तर उनले निर्वाह गरेको भूमिका र देखेको सपनाको कुरा गर्ने हो भने यिनको उमेर वास्तविक उमेरको दोब्बर हुनुपर्ने जस्तो लाग्छ । यति सानै उमेरमा जिम्मेवारी बोध गरेर आफ्नो डाक्टरी कर्म र धर्मलाई सँगै जोडेर समाजको लागि देखिने गरी केही गर्नुपर्छ भन्ने जोस र हुटहुटी छ । रातदिन बिरामीको सेवा, सहयोग र उपचारमा ध्यान लगाउने सुजाता बिरामीको उपचार र सेवा गर्न पाए सबथोक बिर्सेर सेवामा तल्लिन बन्छिन् ।

सामाजिक कर्म र चिकित्सकीय धर्मभन्दा अरु बढी प्राथमिकतामा छैनन् उनका लागि आजसम्म । आफ्नो बाल्यकाल दुःख आपत् र विषद् अनि विसंगतिपूर्ण पारिवारिक अवस्था भएर पनि होला, सुजाता अरुको दुःखमा छिटो द्रवित बन्छिन् । आफूले भोगेको अभाव र कमी आफैले संघर्ष गरेर पूर्ति गर्नुपर्छ भन्ने स्वाभिमानी आत्मसम्मानले काम गर्छिन् सुजाता । आमा सरस्वती पन्तको संघर्ष,संकल्प र दृढ अठोटकै छहारीमा हुर्किएकी उनी आमाको संघर्षशील स्वभाव र जिन सरेर होला, थकाई भने हत्तपत्त लाग्दैन भन्छिन् । आफ्नै तनाव, थकान र अस्वस्थताको बेस्ट मेडिसिन नै बिरामीको उपचार भन्ने डाक्टर पन्त बिरामीको उपचार गर्न पाए पीडा र थकान आफसे आफ कम हुन्छ भन्दै मुस्कुराउँछिन् । 

सुजाता मनले मात्र होइन तनले पनि सुन्दर छिन् । योसँगै उनको बोलीमा मिठास पनि छ । बहुप्रतिभाशाली मेडिकल अफिसर उनी साहित्यका विविध विधामा कलम चोब्छिन् । उनका सामयिक लेख, रचना पनि विभिन्न संचारमाध्यमबाट बाहिर आएका छन् । चित्रकलामा पनि सुजाता सिद्ध हस्त चित्रकार झैँ छिन् । आफ्नो उमेर र लेभलभन्दा पनि माथिको सोच र परिपक्व सामाजसेवीको रुपमा सुजातालाई चिनाउँछन् डाक्टर जयराज शर्मा ।
सुजाताको म्याचुरिटी, बिरामीप्रतिको सेवाभाव र अथक परिश्रमी स्वभाव अनि फराकिलो सोचको परिधि देख्दा आफूलाई काम गर्न उत्प्रेरित गरेको अनुभव रहेछ डाक्टर शर्माको । विशेषतः न्युरो सर्जरीमा चाख राख्ने सुजाता ख्यातिप्राप्त डाक्टर बालकृष्ण थापाको सानिध्यबाट पनि न्युरोमा लागेकी हुन् । आदर्श व्यक्तिको नाम लिँदा स्वर्गीय थापालाई सम्झिन्छिन् उनी र श्रद्धावत हुन्छिन् ।

सुजाता आफू डाक्टर बन्नुको कारण र समाज सेवामा अग्रसर हुनुको दुःखद् संयोग रहेछ । सुजाताका एक दाइ मस्कुलर डिस्ट्रोफी (शरीरका सम्पूर्ण भागहरुको मांशपेशी खिइदै जाने रोग ) का बिरामी थिए । आफ्नो अत्यन्तै प्रिय दाइ जसको शारीरिक असहजता हटाउन र उपचार गर्न सुजाताले सक्दो प्रयास गरिन् । दाइको भरपर्दो अभिभावक, साथी र सहयोगी बनिन् तर दुर्भाग्य ती दाइलाई बचाउन भने सकिनन् । आफ्नो दाइजस्ता अप्ठ्यारोमा परेका रोगी र बिरामीको लागि काम गर्नुपर्छ भन्ने अन्तरहृदयमा गहिरो स्पर्श गरेको कारण सुजाता डाक्टरमात्रै बनेकी छैनन्, धेरै रोगी, बिरामी, असहाय, अपांग र जीवन मरणको दोसाँधमा रहेर बसेकाहरुको प्रिय अभिभावक बनेर मनमस्तिष्कमा बसेकी छन् ।

असमयमा दाइ गुमाउनु परेको पीडा बोकेकी सुजाताले काभ्रेको बनेपामा मस्कुलर डिस्ट्रोफी फाउन्डेसन खोलेर अपाङ्गता भएका व्यक्तिहरुको लागि (जो ह्विल चियर बाउन्डेड छन्) शारीरिक र मानसिक रुपमा सहजता दिन विभिन्न सिर्जनात्मक क्रियाकलाप र फिजियो थेरापी आदि गराएर राख्ने व्यवस्था गरेकी छन् । जुन संस्था संचालन गर्न समाजका लब्धप्रतिष्ठितहरुको सहयोग र सेवा जुटाएकी छन् । यो संस्था खोलेपछि देशका कुनाकाप्चामा पहिचान नभएका तर विभिन्न वंशानुगत या जेनेटिक रोगहरु जुन एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण भैरहेको छ, यसलाई रोक्न र रोग लागेकाहरुलाई पहिचान र सम्भव भएकाहरुको हकमा उनीहरुको जीवन सहज बनाइदिने दिशामा सहयोग गर्छिन् र सहयोग जुटाउँछिन् ।

मस्कुलर डिस्ट्रोफी पुस्तान्तरण हुनबाट रोक्न, यसको चेन ब्रेक गर्न सके भोलिको पुस्तालाई यसको पीडा र दुःखबाट बचाउन सकिन्थ्यो भनेर पहिचान भएका व्यक्तिहरुको रगतको नमुना संकलन गरेर परिवर्तन भएका जिनहरुको अध्ययन अनुसन्धान गरी रोग पहिचान गर्ने र रोग सर्ने तरिका तथा रोगले प्रभावित परिवार र सम्बन्धित नजिकका व्यक्तिहरुलाई उचित जेनेटिक परामर्श दिने काम गर्दै आएकी छन् । जसको लागि जर्मनीस्थित सेन्टोजिन नामक संस्थासँग सहकार्य गरेर विगत दुई वर्षमा १५० भन्दा बढीको रगतको नमुना परीक्षण गर्न पठाएर आवश्यक परामर्श दिएकी छन् उनले ।

भावी पुस्ताले यस्तो दुर्लभ प्राणघातक रोगको मारमा पर्नु नपरोस् भन्नाको खातिर यसको गहन अध्ययन, अनुसन्धान गर्नका लागि जेनेटिक प्रयोगशाला खोल्ने र नेपालको सवालमा नयाँ काम थाल्ने सुजाताको अभियान र सपना छ । अत्यावश्यक उपकरण, दक्ष जनशक्ति र उचित स्थानमा ल्याब राख्न सकियो भने दूरदराजका जनता पनि यस्ता दुर्लभ रोगहरुसँग समयमै सचेत बन्ने, रोगको पहिचान हुने र अर्को पुस्तामा सर्न नदिने स्थिति सिर्जना गर्न पाए हुन्थ्यो भन्ने आम मान्छेको गहिरो सरोकारलाई आफ्नो सपना बनाउने सुजातालाई स्वास्थ्यको नीति, नियम र ब्यवस्थापन गर्ने राज्यका निकाय, व्यक्ति, संघसंस्थाले भरपुर सहयोग गर्ने वातावरण बनोस् । यो कार्य चुनौतीपूर्ण अवश्य छ, यदि गर्न सकियो भने उपलब्धिमुलक र जनसंख्याको ठूलो हिस्साको लागि राहत हुनेछ । 

डाक्टर सुजाताले लैंगिक हिंसा, घरेलु समस्या र यौन शोषणमा परेका पीडित महिला तथा बालबालिकाहरुका लागि भरतपुर महानगरपालिका ओसिएमसीसँग सहकार्य गरेर त्यस्ता उत्पीडनमा परेका महिलाहरुको लागि शारीरिक मानसिक र सामाजिक विकासका साथै थुप्रै सीपमूलक, आयआर्जन र सिर्जनात्मक क्रियाकलाप सन्चालन हुँदै आएको ठाउँमा पनि आफ्नो सेवा र सक्रियता देखाउदै आएकी छन् । जहाँ असहाय बालिका, किशोरी तथा विभिन्न उमेर समूहका महिलाहरु, जो परिवार र समाजको प्रताडना, अपहेलना र अनेकन रुपका हिंसाको सिकार बनेर चेपुवामा परेका छन्, तिनीहरुको सुखदुःख र असहजतामा उनीहरुका कुरा सुन्ने चौतारी बनेर पनि खुसी पाएको महसुस गरेकी छन् उनले । भरतपुर महानगर प्रमुख रेणु दाहालको यस मामलाको दिलचस्पी, सहयोग र निर्देशन सुजातालाई प्रशंसा गर्न मन लाग्छ । यस्तै सहयोग, भरथेग र प्रोत्साहन राज्यका अन्य निकायबाट पनि पाउन सकियोस् भन्ने उनको अभिलाषा छ । 

हेटौंडा, चितवन र नवलपरासीमा रहेको बाल सुधार केन्द्रमा पनि सुजाताले सहयोग, सेवा र साइकोलजिकल परामर्श दिँदै आएकी छन् । अबोध बालबालिका, जसले अन्जानमा गरेका कमजोरीको कारण कतै अपहेलित, कतै बहिस्करण र तिरस्कार अनि घृणाको सिकार भएका हुन्छन्, ती बालबालिकाको मनोरञ्जन, सिर्जनात्मक विकास, उत्प्रेरणा र जीवनप्रतिको आशाको उज्यालो देखाउन पनि फ्रस्टेडहरुलाई जिजीविषा भरिदिने महान कर्म सुजाताले गरिरहेकी छन् । बाल मनोविज्ञानलाई सकारात्मक ऊर्जा भर्नु र भावी जीवनप्रति आशावादी बनाउन पनि थुप्रै मनोवैज्ञानिक उपचार, सल्लाह र सुझाव आवश्यक पर्छ, जो सुजाताले निरन्तर प्रदान गरिरहेकी छन् । डाक्टर हरि खड्काका अनुुसार अस्पतालमा आएका गरिब, विपन्न रोगीको लागि त साक्षात् भगवान नै हुन् डाक्टर सुजाता । असहाय, विपन्नको लागि आफूले सकेको सहयोग गर्नेदेखि अन्यत्र रिफर गर्दासम्म बिरामीको लागि सहयोग गर्ने डाक्टर र अरु विभिन्न मान्छेहरुलाई सुजाता फलो गरिरहेकी हुन्छिन् । लाग्ने र मिल्नेसम्म भनसुन, हारगुहार गरेर बिरामीको पारिवारिक मान्छेकै झल्को दिन्छिन उनी । त्यसैले त उनलाई ‘बोल्ड’ र ‘नेतृत्वदायी क्षमताकी लेडी’ भन्छन् डाक्टर हरि ।

डाक्टर सुजाता मेहनती, अनुशासित र संवेदनशील हृदय भएकी मानवतावादी नारी हुन् । हाल गोरखा बारपाककी एक १५ वर्षे किशोरीको कलेजोसम्बन्धी रोग पहिचान गरि उनको कलेजो प्रत्यारोपण गर्न जरुरी सहयोग जुटाउन पहल गरिरहेकी छन् । सुजाता कति परिश्रमी थिइन् भन्ने कुरा उनले माध्यमिक तह र प्लस टू पढ्दा दिनको दुई घण्टा हिँडेर भमरकोटबाट संजीवनी उच्च मावि धुलिखेल धाउँदै २०६६ सालमा ८७ प्रतिशत अंक ल्याएर आफूलाई अब्बल प्रमाणित गरेबाट नै प्रस्ट हुन्छ । बिहान–बेलुकी घरको कामसमेत भ्याउने मेहनतको निरन्तरता नै आजको सुजाता भएको सहजै बुझ्न सकिन्छ ।

सुजाताको मेहनत र परिश्रमको कदर गरेर नै एसएलसीपछिको प्लस टुको अध्ययनमा संजीवनीले स्कलरशीप दिएर उनलाई पढायो । गाउँको सामान्य सरकारी स्कुलमा निमावि तहसम्मको अध्ययन, मावि र प्लस टु पनि सरकारी स्कुलबाटै पूरा गरेकी सुजातासँग हजारौं विद्यार्थी जो देशको नामी प्राइभेट स्कुलमा र कलेजमा पढेर मेडिकल शिक्षा पढ्न प्रतिस्पर्धामा आएका थिए । तर एक साधारण स्कुल पढेर आएकी सुजातालाई एमबीबीएसमा नाम निकाल्न हम्मे परेन । सुजातालाई कलेज अफ मेडिकल साइन्स भरतपुरमा छात्रवृत्तिमा पढ्ने अवसर मिल्यो । यसबाट बुझ्न सकिन्छ कि व्यक्तिको क्षमता र लगनशीलतामा पनि शिक्षाको स्तर निर्भर रहन्छ । संयुक्त राष्ट्रसंघको दिगो विकास लक्ष्य अन्तर्गत तेश्रो लक्ष्य ‘सबैका लागि स्वास्थ्य’ का पक्षमा उनले अहम् भूमिका निर्वाह गर्दै आएकी छन् । उनी भन्छिन्, ‘डाक्टर भएको नाताले कुनै पनि व्यक्ति गरिब भएको कारण मृत्युवरण गरेको देख्न नपरोस् र कुनै पेशा, उमेर, लिंग, जात, धर्म र वर्गभन्दा माथि उठेर सबैले समान तरिकाले स्वस्थ भै बाँच्ने अधिकार प्रयोग गर्न सकून् साथै भौगोलिक र अन्य सामाजिक, आर्थिक कारणले नागरिकले ज्यान गुमाउनु नपरोस् । सबैको स्वास्थ्यमा पहुँच स्थापित हुनुपर्छ भन्ने मान्यता मेरो पनि छ तसर्थ सत्याग्रही डाक्टर गोविन्द केसी मेरा आदर्श व्यक्ति हुन् ।’

सुजातालाई २०१९ मा थाईल्याण्डको बैंककमा भएको ‘ग्लोबल सिटिजन समिट’ मा दिगो बिकासको तेश्रो लक्ष्य– सबैको लागि स्वास्थ्य अन्तर्गत कार्य समीक्षाको पेपर प्रस्तुत गरेबापत ‘बेस्ट पार्टीसिपेन्ट अवार्ड’ प्राप्त भएको थियो । वुमेन विथ भिजन अवार्ड २०२० अन्तर्गत १०० उत्कृस्ट महिलामा छनौट भइ ‘पिपल्स वुमेन अफ दि इयर’ अवार्ड पनि सुजाताको पोल्टामा परेको छ । त्यस्तै जेनेटिक रोगको क्षेत्रमा कामको सुरुवात गरेबापत् ‘योङ्ग इनिसेटिभ नेपाल’ अवार्डको नोमिनेसनमा पनि सुजाता समावेश छिन् । 

समाज सेवा, सधैँ बिरामी र डाक्टरी धर्ममात्रै भनेर कुद्ने डाक्टर सुजाताका बुझाइ र जीवन भोगाइका अनेक आयामबारे पनि मलाई बुझ्नु थियो, तसर्थ मैले प्रेम, यौन र पैसा र विवाहको प्रसंग कोट्याए । कति जवाफ बोल्ड थिए भने कतिमा स्त्रीसुलभ लज्जा भाव झल्कन्थ्यो । ‘प्रेम आफैमा एउटा अस्तित्व र अनन्तको अनुभूति हो, प्रेम सबैभन्दा बलियो शक्ति र उत्तिकै कमजोरी पनि । सवाल प्रेमलाई जीवनको शक्ति बनाउने कि कमजोरी, त्यो व्यक्तिमा निहित हुन्छ,’ सुजाता भन्छिन् ।

उनको विचारमा विवाह हाम्रो पूर्वीय दर्शन र मान्यता अनुसार सेक्सलाई अनुमति दिने, वंश परम्परालाई निरन्तरता दिने लाइसेन्स भनेर बुझ्न सकिन्छ, जीवनमा सहजानुभूति हुने गरी विपरित लिंगीप्रतिको प्रेमको संस्थागत रुप भनेर भन्न सकिन्छ । उनले खुलेरै भनिन्, ‘सेक्स अर्थात् यौन हरेक प्राणीको जस्तै मान्छेको पनि जैविक आवश्यकता हो । सेक्सलाई भयंकर ठुलो कुरा र सामान्य खेल मान्ने दुवै अतिबाद लाग्छ उनलाई । यसका आफ्नै मर्यादा, सीमा र संवेदनशीलताहरु छन् । जीवन निर्वाहको लागि पैसाको जरुरत पर्छ तर पैसाले मान्छेको मर्यादा र मूल्यांकन गरिनु दुर्भाग्यपूर्ण हुन्छ । आजको समाजमा प्रेम विकासको हतियार होइन, विनासको साधन पनि बनेको छ । क्षणिक कामवासना र शारीरिक आकर्षण प्रेम होइन । प्रेमको परिभाषा र ब्यापकता विशाल र फराकिलो छ । म मेरो काम, सपना र योजनामा चुर्लुम्म डुबेको छु, त्यो मेरो सबैभन्दा ठूलो प्रेमाशक्ति हो ।’

आफ्ना बिरामीले निको भएर जाँदा ‘धन्यवाद डाक्टर’ भन्न नजानेर पनि मुस्कुराउँदै बिदा मागेर हिँड्दा डाक्टर सुजातालाई बडो आनन्द लाग्छ । कतिपय बिरामी उपचार गरेको महिनौंपछि पनि लौरो टेकेर धन्यवाद भन्न अस्पताल आइपुग्दा अत्यन्तै खुसी र गर्वानुभूतिले आँखा भिज्छन रे । अप्रेशन गरेर बधाई दिंदै बच्चा थमाउँदा बच्चाका बाबुले ‘तपाईले दिनु भएकी मेरी छोरी तपाईजस्तै बनोस्’ भनेको सुन्दा स्वर्गीय आनन्द र सुखानुभूति प्राप्त हुन्छ उनको । सक्दो गरेर पनि बचाउन नसकेका बिरामी र प्राथमिक उपचार समयमा पाउँदा बाँच्ने बिरामी ढिलोगरी अस्पताल आएका कारण बचाउन नसक्दा हुनसम्मको खेद र दुःख अनुभूति हुन्छ उनलाई । गरिबको लागि स्वास्थ्य र ग्रामिण भेगमा सिटामोल खान नपाएर, जीवनजल नदेखेर जनता मारिरहेको बिडम्बना सुन्दा र देख्दा हाम्रो स्वास्थ्य नीतिमा व्यापक सुधार, परिमार्जन र सिर्जनात्मक हस्तक्षेपको खाँचो रहेको सुजाताको ठहर छ । 

हाल हेटौडा अस्पतालमा मेडिकल अफिसरको रुपमा कार्यरत उनी सो अस्पतलमा आइसीयू स्थापनापछि गरिब निमुखाको उपचार सजिलै जिल्लामै गर्ने प्रयासमा पनि जोडबल दिएर लागेकी छन् । उत्साही युवा डाक्टर सुजाताको सपना सार्थक बनोस्, राज्यको गुणस्तरीय प्रतिभा डाक्टर सुजातालाई मुरीमुरी कृतिज्ञता र बधाई भन्ने अवसर आम नेपाली जनजनलाई मिलोस् । डाक्टर सुजाता समाजसेवा, योगदान र रचनात्मक सोचको प्रारम्भिक अवस्थामै छिन् तर उनले जे सपना देखेकी छन्, त्यो प्राप्ति हुँदा नेपालको स्वास्थ्य क्षेत्रमा उल्लेख्य सुधार र महत्वपूर्ण फट्को मार्ने कुरामा मत नबाझिएला । आफ्नो पढाईपछि सहज जीवन यापन, सौखिन जिन्दगी बाँचेर भौतिक विलासितालई नै एकमात्र अभिष्ट सम्झने, श्रीमान र बाबुको नाम, दाम र कुल परम्पराबाट चिनिन रुचाउने, महँगा गहना, गाडी, सारी, शृंगार र उत्ताउलो टिकटक आदिमा रम्ने युवती र युवा चिकित्सकहरुको भिडमा छुट्टै नाम र अस्तित्व लिएर फुल्दैछिन् सुजाता । समाज देश र बिरामीको लागि जिउने संकल्प बोकेकी यी तन्नेरी डाक्टरको उद्देश्यमा सफलता मिलोस्, अनमोल शुभकामना डाक्टर साब ! कवि डाक्टर सुजाताकै कविता हरफ पस्केर आलेखको बिट मारेँ ।

सेतोकोट र स्टेस्थोस्कोप भिर्दैमा 
डाक्टर बन्न सकिन्छ र ?
डाक्टर हुनु भनेको 
ढल्न लागेको एक युग 
एक भविष्य,
र 
एक देश बचाउनु हो ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

  1. Dec. 26, 2020, 10:23 p.m. sukadev thapaliya
    लेख पूरै पढियो । एक संघर्षशिल जीवनबारे । तर बीचमा आउनुपर्ने कैयोन प्रसंगहरुको क्रमका बारेमा बोल्दिनँ, सुरुवात त्यसरी नगरिएको भए राम्रो हुने थियो कि मात्रै भने ।.... डा. पन्तलाई शुभकामना
  2.  0 Reply

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.