ad
केन्द्रीय संस्करण
प्रदेश

अनिश्चित बन्दै बागमती प्रदेशसभा बैठक, मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव के होला ?

person explore access_timeफागुन ८, २०७७ chat_bubble_outline0

हेटौंडा । बागमती प्रदेशसभाको सातौं अधिवेशन सुरु भएर पनि प्रदेशसभा बैठक अनिश्चित बनेको छ । मुख्यमन्त्री डोरमणी पौडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता भइसकेको अवस्थामा सभामुख सानुकुमार श्रेष्ठले दलीय सहमति विपरीत प्रदेशसभा बैठक लगातार स्थगित गर्दै आएका हुन् । फागुन ५ गते २ बजेका लागि बोलाइएको प्रदेशसभा बैठक सभामुख श्रेष्ठले विशेष कारण देखाउँदै स्थगित गरे । उनले बैठक बस्ने भनिएकै दिन बिहान ६ः३५ बजे सूचना टाँसेर प्रदेशसभा सदस्यहरुलाई बैठक स्थगित भएको जानकारी गराएका थिए । 

विशेष कारण देखाउँदै प्रदेशसभा बैठक स्थगित गरिएकोे यो दोस्रो पटक हो । यसअघि माघ १९ गतेका लागि बोलाइएको प्रदेशसभा बैठक पनि सभामुख श्रेष्ठले माघ १८ गते राति नै सूचना टाँसेर फागुन ५ गतेसम्मका लागि स्थगित गरेका थिए भने प्रदेशसभाका सदस्यहरुलाई बैठक स्थगित भएको जानकारी एसएमएसमार्फत पठाएका थिए ।

बैठक स्थगित भएपश्चातः नेकपाको प्रचण्ड–माधव पक्षका बागमती प्रदेशका प्रदेशसभा सदस्यहरुले उपसभामुख राधिका तामाङसँग भेट गरी सभामुख श्रेष्ठले सरकारको दबाब र प्रभावमा परी संसद बैठक स्थगित गरेको भन्दै तत्काल बैठक बोलाउन माग गरेका थिए । उनीहरुले उपसभामुख समक्ष विरोधपत्र पनि बुझाए ।

गत पुस १० गते बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको थियो । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राजनीतिक रुपमा दुई ध्रुवमा विभाजित भएसँगै मुख्यमन्त्री विरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको हो । मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएकै दिन बागमती प्रदेशका ३ जना मन्त्रीले सामुहिक राजीनामासमेत दिएका थिए ।

पुस १० गते सत्तारुढ नेकपाका प्रचण्ड–माधब पक्षका ४५ जना सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको थियो । मुख्यमन्त्री पौडेल प्रधानमन्त्री केपी शर्मा ओली पक्षका हुन् ।
सो अविश्वासको प्रस्ताव माघ ९ गते संसदमा टेबुल भए पनि छलफल हुन सकेन । अविश्वासको प्रस्ताव संसदमा टेबुल भएलगतै माघ १९ गते बस्ने गरी स्थगित प्रदेशसभा बैठक अहिलेसम्म बस्न सकेको छैन । प्रदेशसभा बैठक कहिले बस्छ भन्नेबारे हालसम्म अन्यौल नै छ ।

म कुनै दलको कार्यकर्ता होइन : सभामुख श्रेष्ठ


बागमती प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले आफु कुनै दलको कार्यकर्ता नभएकाले कसैको दबाबमा काम गर्नुपर्ने अवस्था नरहेको बताएका छन् । अविश्वासको प्रस्ताव सम्बन्धी कार्यविधि मस्यौदा समितिको प्रतिवेदन नआएको कारण प्रदेशसभा बैठक स्थगित गर्नुपरेको उनले बताए ।

शुक्रबार प्रदेशसभा सचिवालयमा पत्रकारहरुसँग कुरा गर्दै सभामुख श्रेष्ठले मुख्यमन्त्री पौडेलविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावका कारण आफुले प्रदेश सभाको बैठक स्थगित गरेको भन्ने आरोपमा सत्यता नरहेको दावी गरे । 
उनले भने, ‘म कुनै दलको कार्यकर्ता होइन, मलाई काम गर्न पूर्ण स्वतन्त्रता छ, कसैको दबाब वा प्रभावका कारण मैले प्रदेशसभा बैठक स्थगित गर्ने भन्ने कुरा गलत हो ।’
विभिन्न मिडियामा प्रचार गरिएजस्तो आफू कुनै पक्षमा लागेर नहिँडेको उनले बताए ।

अविश्वासको प्रस्ताव दर्ता सम्बन्धी कार्यविधि मस्यौदा समितिले प्रतिवेदन नबुझाएको र मतदान प्रक्रियामा जान ‘नो भोट’को व्यवस्था नभएकाले बारम्बार प्रदेशसभा बैठक स्थगित गर्नुपरेको उनको तर्क छ । उनले आफुलाई बदनाम गराउन सत्तापक्ष र प्रतिपक्ष दुवै लागिपरेको आरोपसमेत लगाए ।

उनले भने, ‘काँग्रेसले पनि आफ्नो भूमिकाको लागि समय माग गरेकाले प्रदेशसभा बैठक स्थगित गरिएको भए पनि प्रचारबाजीका कारण मलाई बदनाम गराउने काम भइरहेको छ ।’

प्रदेशसभा सचिवालयमा ३ वटा विधेयक अलपत्र
बागमती प्रदेशको प्रदेशसभा बैठक लगातार स्थगित भएसँगै ३ वटा विधेयक अलपत्र परेका छन् । प्रदेशसभा बैठकमा टेबुल भएको मुख्यमन्त्री पौडेलविरुद्धको अविश्वासको प्रस्तावबारे निर्णय हुन सकेको छैन भने सडक पूर्वाधार सम्बन्धी विधेयक र प्रदेश पर्यटन सम्बन्धी विधेयकमाथि पनि छलफल हुन सकेको छैन ।

प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काका अनुसार प्रदेशसभाको बैठक स्थगित हुँदा विधेयकमाथिको छलफलसँगै प्रदेशसभाका अन्य काममासमेत बाधा उत्पन्न भएको छ । 
खड्काका अनुसार प्रदेशसभाले १३ वटा संशोधन विधेयक, २ वटा अध्यादेशसहित हालसम्म ५९ वटा कानुन निर्माण गरेको छ । एउटा विधेयक प्रदेशसभामा छलफल हुँदैछ भने एउटा विधेयक कार्य व्यवस्था परामर्श समितिमा छलफलको क्रममा छ ।

काँग्रेसले प्रदेशसभामा आफ्नो भूमिका देखाउँछ : सचेतक लामा


प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस बागमती प्रदेशका सचेतक तथा बागमती प्रदेशसभा सदस्य छिरिङ दोर्जे लामाले नेकपाभित्रको द्वन्द्वका कारण उत्पन्न राजनीतिक संकटका बीच बारम्बार संसद् स्थगित गरिनु गलत भएको प्रतिक्रिया दिए ।

उनले वैधानिक रुपमा आएको मुख्यमन्त्री पौडेलविरुद्धको अविश्वासको प्रस्ताव कतै पनि रोकिन नहुने र छिटोभन्दा छिटो यसको निष्कर्ष निकालिनुपर्ने बताए । काँग्रेसले आफ्नो भूमिका सार्वजनिक गर्दै हिँड्न नपर्ने भन्दै उनले चाँडोभन्दा चाँडो प्रदेशसभा बैठक बोलाउन मागसमेत गरे । 

उनले भने, ‘काँग्रेस आफ्नो भूमिकामा प्रतिवद्ध छ । सबै ठाउँमा सार्वजनिक गर्दै हिँड्न पर्ने अवस्था हामी देख्दैनाैं । प्रदेशसभा बैठकमा उक्त विषयमाथि छलफल होस्, हाम्रो भूमिका त्यतै देखाउँछौं ।’ 

प्रदेशसभालाई अनिर्णयको बन्दी नबनाइयोस् : पुलामी 


बागमती प्रदेशका प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामी (छिन्तु) ले प्रदेशसभा बैठक तत्काल बोलाएर अविश्वासको प्रस्तावलाई टुङ्गोमा पु-याउनुपर्ने धारणा व्यक्त गरे । नेकपाको प्रचण्ड–माधव पक्षमा रहेका उनले जनताको काममा लाग्नुपर्ने सरकार पटक–पटक सूचना टाँसेर प्रदेशसभा बैठक स्थगित गर्दै पदीय आयु बढाउनमै व्यस्त रहेको आरोप लगाए । 

मुख्यमन्त्री पौडेल नेतृत्वको सरकार काम चलाउ सरकार भएको र प्रदेशसभा बैठक लगातार स्थगित गर्दै आफ्नो आयु बढाइरहेको भन्दै उनले सरकारको यस्तो कदमप्रति आपत्ति जनाए । प्रदेशसभालाई अनिर्णयको बन्दी नबनाउन आग्रह गर्दै उनले अन्यथा आफुहरु कडारुपमा प्रस्तुत हुने चेतावनी समेत दिए ।

उनले भने, ‘प्रदेश सभालाई निर्णय गर्न दिएर जनताको काममा लाग्नुपर्ने सरकार बैठक स्थगित गरेर आफ्नो पदीय आयु बढाइरहेको छ । यस्तै रवैया रहिरहे हामी चुप लागेर बस्दैनाैं, हामी कडा रुपमा प्रस्तुत हुन बाध्य हुन्छौँ ।’

यस्तो छ प्रदेशसभाको अंकगणित 
बागमती प्रदेशसभामा कुल १ सय १० जनामध्ये सत्तारुढ नेकपाको ८०, नेपाली काँग्रेसको २२, साझा विवेकशील दलको ३, राप्रपाको २, नेपाल मजदुर किसान पार्टीको २ र स्वतन्त्र एकजना प्रदेशसभा सदस्य छन् ।
नेकपाका ८० जनामध्ये प्रचण्ड–माधव पक्षमा ४५ र केपी ओली पक्षमा ३५ जना खुलेरै देखिएका छन् ।

मुख्यमन्त्री पौडेललार्ई सरकार टिकाउन ५६ सदस्यको साथ चाहिन्छ । यसका लागि उनले काँग्रेसको समर्थन लिनुपर्नेछ भने प्रचण्ड–माधव पक्षलाई पनि सरकार बनाउन काँग्रेसकै साथ चाहिन्छ । निर्णायक भूमिकामा रहेको काँग्रेसले कुन पक्षलाई समर्थन गर्छ भन्ने अहिलेसम्म प्रस्ट हुन सकेको छैन ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.