ad
केन्द्रीय संस्करण

मापदण्डविपरीत नदीजन्य वस्तुको उत्खनन्

person explore access_timeफागुन १३, २०७७ chat_bubble_outline0

म्याग्दीको बेनी नगरपालिकाको बगर क्षेत्रमा निर्माण व्यवसायीले सम्झौता र मापदण्डविपरीत उपकरण प्रयोग गरेर नदीजन्य वस्तुको उत्खनन गर्न थालेका छन् । वातावरणीय परीक्षण प्रतिवेदन र नगरपालिकासँग भएको सम्झौताविपरीत हेभी इक्युपमेन्ट (डोजर, एक्साभेटर) प्रयोग गरेर बगरबाट ढुङ्गा, गिट्टी र बालुवा उत्खनन गर्दा कटानको जोखिमका साथै जैविक विविधतामा असर परेको हो । 

बेनी–जोमसोम सडकको प्रवेश विन्दुमा पर्ने बेनी–गलेश्वर सडकअन्तर्गत बेनी नगरपालिकाको वडा नं ६ मा पर्ने ठूलो बगर क्षेत्रमा केही दिनयता एक्साभेटर प्रयोग गरेर नदीजन्य पदार्थको उत्खनन भइरहेको छ । अव्यवस्थितरूपमा एक्साभेटरको प्रयोग गरेर बगर उत्खनन गर्दा नदी गहिरिने, माछालगायत जलचरको बासस्थानमा असर पर्ने र नजिकै रहेको सडक कटानको जोखिममा परेको स्थानीयवासीले गुनासो गरेका छन् । 

जलजला गाउँपालिका–७ मिलनचोकको साहना निर्माण सेवाले बेनी नगरपालिकासँग ठूलोबगरस्थित कालीगण्डकी बगरमा नदीजन्य वस्तुको उत्खनन र निकासीका लागि २०७७ फागुन ५ गते बेनी नगरपालिकासँग रु दुई लाख २५ हजारमा ठेक्का सम्झौता गरेको थियो । सोही कम्पनीले बेनी नगरपालिका–९ मा पर्ने गलेश्वर–मजुवाको बगरमा उत्खनन र निकासीका लागि रु सात लाख एक हजारमा ठेक्का लिएको छ । बेनी नगरपालिकाका इञ्जिनीयर विमलरञ्जन कार्कीले नदीजन्य वस्तु उत्खननमा हेभी इक्युभमेन्ट प्रयोग गर्ने सम्झौता नभएको बताए । 

राहुघाट र कालीगण्डकी नदीले कटान गरेको राममन्दिरको संरक्षणका लागि नदीको धार परिवर्तन गराउन जिल्ला विपद् व्यवस्थापन समितिले गरेको आग्रहअनुसार मजुवा–गलेश्वरको बगरमा हेभी इक्युभमेन्ट प्रयोग गर्न दिने नदिने भन्ने विषयमा जलजला र रघुगङ्गाका प्राविधिकसँग छलफलको चरणमा रहेको कार्कीले बताए । 

साहना निर्माण सेवाका सञ्चालक शिव जिसीले मजदुर लगाएर उत्खनन गर्दा सम्भव नहुने भएकाले विकास निर्माणका लागि आवश्यक निर्माण सामग्रीको सहज आपूर्तिका लागि सरोकारवालाको मौखिक सहमतिमा उत्खननमा उपकरण प्रयोग गरेको बताए ।  “उत्खननमा उपकरण प्रयोग नगर्ने भन्ने कही उल्लेख छैन”, उनले भने, “मजदुर लगाएर निकालेको बालुवा, गिट्टी र ढुङ्गाले यात्रा विकास आयोजनालाई आवश्यक पर्ने सामान पुर्याउन सकिँदैन ।” 

नदीजन्य वस्तुको उत्खनन नियमनका लागि जिल्लास्तरमा रहेको अनुगमन समितिका संयोजक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले उपकरण प्रयोग गरेर उत्खनन भएकोसम्बन्धी सूचना नआएको बताए । सम्झौता र इआइ प्रतिवेदनविपरीत नदी बगर उत्खननमा उपकरण प्रयोग गरेको भेटिएमा कारवाही गरिने उनले बताए । 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.