कोरोना महामारी

बेलायती वैज्ञानिकको दाबी : खोप लगाएको १० हप्तापछि ५० प्रतिशतले घट्यो एन्टीबडी

person explore access_timeसाउन १५, २०७८ chat_bubble_outline0

बेलायतमा एक नयाँ अध्ययनको नतिजा बाहिर आएको छ । लण्डनको युनिभर्सिटी कलेजस्थित इन्स्टिच्युट अफ हेल्थ इन्फार्मेटिक्सका वैज्ञानिकहरुका खोपका कारण कोभिड १९ विरुद्ध बनेको एन्टीबडी १० हप्तापछि कम हुन थाल्छ । यसले धेरैखाले सवाल उठाएको छ ।

आखिर खोपले कति दिनसम्म कोभिड १९ बाट तपाईलाई बचाएर राख्छ ? के सबै खोपका हकमा यस्तै लागु हुन्छ ? यस अध्ययनको नतिजापछि अब के बुस्टर डोज लिनु जरुरी हुन्छ ? आउनुस् यसबारे चर्चा गरौं ।

नयाँ अध्ययनले के भन्छ ?

युनिभर्सिटी कलेज लण्डन (युसिएल)को भाइरस वाच स्टडीमा पाइएको छ कि फाइजर र एस्ट्राजेनेकाको खोपबाट बनेको एन्टिबडी ६ हप्तापछि कम हुन थाल्छ । १० हप्तापछि यो केवल ५० प्रतिशत बाँकी रहन्छ ।

युसिएलको टिमले ५० देखि ७० वर्ष उमेर समूहका ६०५ जना खोप लगाइसकेका मानिसहरुको रगतको स्याम्पल एनालाइसिस गरेको छ । जसअनुसार सबै व्यक्तिहरुमा एन्टिबडीको लेभल अलग–अलग थियो । तर, एस्ट्राजेनेकाको खोपको दाँजो फाइजरको खोपमा अधिक एन्टिबडी पाइएको थियो ।

फाइजरको खोपको दोस्रो डोज लगाएको ६ हप्तापछि एन्टिबडीको स्तर ७ हजार ५ सय युनिट्सप्रति मिलिलिटर थियो, तर १० हप्तापछि यो घटेर ३ हजार ३२० मात्रै रह्यो ।

यता, एस्ट्राजेनेकाको खोपको दोस्रो डोज लगाएकाहरुमा एन्टिबडीको स्तर १० हप्तामा १ हजार २ सय युनिट्सबाट १९० युनिटमा झरेको थियो । बेलायतको प्रतिष्ठित लान्सेट जर्नलमा प्रकाशित नतिजामा अनुसन्धानकर्ताहरुले ४ हजार ५ सय सहभागीहरुमा गरिएको अनुसन्धानमा यस्तो ट्रेन्ड देखिएको दाबी गरेका छन् ।

एन्टीबडीको स्तर घट्नु र कोभिड १९ लडाइँबीच के सम्बन्ध छ ?

वैज्ञानिकहरुका अनुसार खोप लगाएको केही सातापछि एन्टीबडीको स्तर घट्दैमा चिन्तित हुनुपर्दैन । तर, अनुसन्धानकर्ताहरुले कुनै न कुनै रुपमा यसले खोपको प्रभावकारिता कम गर्न सक्ने भन्दै चिन्ता प्रकट गरेका छन् । यसको अर्थ यही कारण मानिसहरु ‘ब्रेक थु्र इन्फेक्सन’ भइरहेका छन् भन्ने पनि होइन । ‘ब्रेक थ्रु इन्फेक्सन’ भन्नाले खोप लगाएर पनि कोभिड १९ बाट संक्रमित हुने अवस्थालाई बुझिन्छ ।

कोभिड १९ बाट सुरक्षित राख्नका लागि एन्टिबडीको स्तर महत्वपूर्ण छ । तर इम्युन प्रणालीसँग संक्रमणविरुद्ध लड्नका लागि अन्य हतियार पनि छन् । मेमोरी बी सेल्सले भाइरसलाई याद राख्छ र जब पनि संक्रमण हुन्छ, तब यसले तत्काल एन्टीबडी बनाउन थाल्छ । त्यस्तै, टी किलर सेल्सले संक्रमित सेल्सलाई निशाना बनाएर खतम गर्छ, अनि अतिरिक्त सुरक्षा कवच दिन्छ ।

महामारी मामिलाका भारतीय विशेषज्ञ डाक्टर चन्द्रकान्त लहारियाका अनुसार केवल एन्टिबडी स्तरलाई मात्रै सुरक्षा मान्नु सही हुँदैन । ‘हामीलाई धेरै स्तरबाट सुरक्षा मिल्छ र यो कति दिनसम्म मिल्नेछ, यसबारे अझै अध्ययन गर्न जरुरी छ,’ उनले भने ।

त्यसो भए के बुस्टर डोज जरुरी पर्नसक्छ ?

हो । अनुसन्धानकर्ताले फाइजर र एस्ट्राजेनेकाको खोपको प्रभावकारीताको छानविन गरेका छन् । उनीहरुका अनुसार जसले सुरुमै खोप लगाएका थिए र जसले एस्ट्राजेनेकाको खोप लगाएका थिए , उनीहरुले केही महिनापछि बुस्टर डोज लगाउनुपर्छ ।

युनिभर्सिटी कलेज लण्डनका प्रोफेसर रोब एलड्रिका भन्छन्,‘ हामीलाई थाहा छ कि एन्टिबडी सुरुमा उच्च हुन्छ र केही समयपछि कम हुनथाल्छ । यदी यही रफ्तारमै एन्टीबडीको लेभल गिर्न थाल्यो भने खोपको सुरक्षा पनि कम हुन थाल्नेछ । हाम्रा लागि ठूला सवाल यस्तो कहिले हुन्छ भन्ने हो ?’

उनले भने,‘जोखिमलाई नाप्ने उत्कृष्ट तरिका एन्टिबडीमात्रै होइन । हमीलाई यसको म्याजिक नम्बर के हो भन्ने थाहा छैन । जब संक्रमण र अस्पताल भर्ना हुने खतरा कम हुनेछ । तब हामीले यस म्याजिक नम्बर पत्ता लगाउनु जरुरी हुन्छ ।’

बुस्टर डोजलाई लिएर अलग–अलग देशमा के भइरहेको छ ?

फाइजरले ब्रेक थ्रु इन्फेक्सनका घटना बाहिर आएपछि बुस्टर अर्थात् तेस्रो डोज आवश्यक पर्ने जनाएको थियो । यसपछि इजरायलसहित केही देशमा उच्च जोखिम समूह  अर्थात् कुनै गम्भिर खाले रोगसँग जुधिरहेका मानिसहरुलाई बुस्टर डोज लगाउन थालिएको छ ।

बुस्टर डोज लगाउन आवश्यक पर्नुको एउटा कारण डेल्टा भेरियन्ट पनि हो । अहिले यो भेरियन्ट १ सय २५ भन्दा धेरै देशमा सक्रिय छ । भारतमा ८६ प्रतिशत नयाँ घटना डेल्टा भेरियन्टकै छन् । यहाँ पनि ब्रेक थ्रु इन्फेक्सन बाहिर आएको छ । यसबारे इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च (आईसीएमआर) ले अध्ययन पनि गरेको छ ।

अमेरिकाले पनि मानिसहरुलाई बुस्टर डोज जरुरी पर्नसक्ने जनाएको छ, तर यसबारे थप अध्ययन हुँदैछ । खोपको मिक्स एन्ड म्याच रणनीतिबारे पनि विचार हुँदैछ । अनुसन्धानको नतिजापछि यस विषयमा फैसला लिइनेछ ।

विश्व स्वास्थ संगठन (डब्ल्युएचओ) का अनुसार बुस्टर डोज कति जरुरी छ भन्ने विषयमा कुनै वैज्ञानिक आधार पुष्टि भइसकेको छैन । ‘विकसित देशमा खोपको बुस्टर डोज दिइनुको साटो खोपको अभावसँग जुधिरहेका देशहरुमा खोप वितरण गर्नु आवश्यक छ,’ डब्ल्युएचओले भनेको छ ।

फरक–फरक भेरियन्टविरुद्ध खोप कति प्रभावकारी छ ?

खोपले सबै भेरियन्टविरुद्ध एन्टीबडी बनाइरहेको छ । बेलायतमा फाइजर र मोडर्ना खोपको प्रभावकारीताबारे गरिएको अध्ययनले डेल्टा भेरियन्टबाट संक्रमित व्यक्तिलाई गम्भिर हुनबाट जोगाउन यो खोप ९६ प्रतिशत सफल रहेको देखाएको थियो ।

भारत बायोटेकले आफ्नो तेस्रो चरणको ट्रायलका क्रममा यो खोपको प्रभावकारिता डेल्टा भेरियन्टविरुद्ध ६५ प्रतिशत रहेको जनाएको छ । रुसी खोप स्पुतनिक भी पनि डेल्टा भेरियन्टविरुद्ध ९० प्रतिशत प्रभावकारी छ । जबकी, कोभिड १९ को ओरिजिनल भेरियन्टविरुद्ध यो खोप ९२ प्रतिशत प्रभावकारी थियो । 

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।