घाँस काट्दै गर्दा जब हेलिकप्टरबाट बम खसालियो...

person explore access_timeअसोज ४, २०७८ chat_bubble_outline0

 

माओवादी जनयुद्धका बेला राज्य र तत्कालीन विद्रोही पक्षबाट १७ हजार मानिसको मृत्यु भयो । कैयौँ व्यक्ति घाइते, अङ्गभङ्ग भए । कतिपय घाइतेले अझै पनि बमका छर्रा बोकेर नारकीय जीवन बिताउँदै आएका छन् । त्यसमध्येकी एक हुन्– सुना सुनार ।

दैलेखको नौमुले गाउँपालिका–३ जैशीडाँडाकी सुना २०५९ साउनमा  २१ गते आफ्ना श्रीमानसँग घाँस काट्न मकै बारीमा गइन् । माओवादीको हेडक्वार्टर भएकाले नौमुलेमा उनीहरूको उपस्थिति पनि बाक्लै थियो । माओवादीको कार्यक्रम जैशीडाँडामा थियो । त्यो खबर पाउन साथ सेनाको हेलिकप्टर त्यहीँको आकाशमा घुमिरह्यो । तत्काल उक्त हेलिकप्टरले अन्धाधुन्ध बम खसाल्यो । मकै बारीमा घाँस काटिरहेको अवस्थामा बम लागेर सुना गम्भीर घाइते भइन् ।

त्यहाँ रहेका माओवादीले प्राथमिक उपचार गरे । तर, पनि सन्चो भएन । गाउँबाटै ऋण खोजेर थप उपचारका लागि सुनाका श्रीमान् र आफन्तले दैलेख सदरमुकाम हुँदै उनलाई नेपालगञ्ज पु–याए । तर, उनको उपचार हुन सकेन । उनी ७ महिने गर्भवती थिइन् ।

सामान्य औषधि उपचारपछि सुना घाइते शरीर लिएर गाउँ फर्किन् । गाउँमै उनले छोरी जन्माइन् । अहिले छोरी लालसा सुनार १८ वर्षकी भइन् । सुना भने घाइते शरीरले बालबच्चाको हेरचाह गरिरहेकी छन् ।

पीडाका पोका मनभित्र लुकाएर सुना दुःखी जिउन विवश छिन् । अझै उनको शरीरमा रहेको बमको छर्रा निकालिएको छैन । घरको आर्थिक अवस्था कमजोर भएकाले पीडा खेप्नुबाहेक अर्को विकल्प नरहेको सुनाको दुखेसो छ ।

उनी भन्छिन्, ‘हामी गरिबलाई कसले हेर्छ र ? उपचार गर्न जाऊँ भने घरमा खाने खर्च छैन । त्यसैले पीडालाई मैले अठार वर्षदेखि पालेर बसेकी छु । गरिबका पीडा कसले सुनिदिन्छ र ?’

गरिबका लागि भनेर त्यतिबेला राज्यसँग लडेको माओवादीले पनि आफूहरूलाई सहयोग नगरेको उनको गुनासो छ ।

गर्भवती अवस्थामा बमको छर्रा लागेर सुना घाइते हुँदा उनको छोरी लालसरामा पनि असर प–यो । सुनाका अनुसार लालसा लामो समय उभिन सक्दिनन् ।

लालसरालाई श्वासप्रश्वासमा समस्या छ । बुबा बुढो र आमा घाइते भएका कारण आफूले जेनतेन भाइबहिनीको स्याहार गर्दै आएको लालसा बताउँछिन् ।

अहिलेसम्म आफूले कतैबाट राहत तथा सहयोगसमेत नपाएको सुना बताउँछिन् । ‘कतिलाई त शान्ति समितिले पनि राहत दियो भन्छन् तर हामीलाई त कसैले पनि वास्ता गरेन,’ उनले भनिन्, ‘घाइते शरीरको पीडा सहेर बालबच्चाका लागि बाध्य भएर काम गर्नुपरेको छ ।’

काम नगरी खान नपुग्ने भएकाले पेट भर्नकै लागि आफू सकी नसकी काम गर्नुपरेको सुना बताउँछिन् । ‘शरीरले काम गर्न दिँदैन, तर काम नगरी सुखै छैन,’ उनले भनिन्, ‘राति छोराछोरी सुतेपछि एक्लै रुन्छु, उनीहरूको अगाडि पीडा देखाउन पनि सक्दिनँ ।’

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।