समाचार

५ बजे पछाडि कार्यालय खोलेको भन्दै विभागमाथि उजुरी

person explore access_timeभदौ ४, २०७९ chat_bubble_outline0

सरकारी कार्यालय बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म खुल्छन् । तर, केही अघिसम्म वैदेशिक रोजगार विभागलाई १०–५ को तालिकाले छोएको थिएन । कामको चाप हुँदा विभागका कर्मचारीहरू कहिले बिहानैदेखि, कहिले राति अबेरसम्म पनि बसेर काम गर्दथे ।


तर, ५ बजेभन्दा पछाडि किन कार्यालय खोलिएको भन्दै विभागमाथि प्रश्न उठ्यो । प्रश्न मात्र उठेन, त्यसमा उजुरी नै पर्‍यो । त्यसपछि अहिले विभागले पनि अन्य सरकारी कार्यालय सरह १० देखि ५ बजेसम्म मात्र कार्यालयको काम गर्दै आएको छ । यसरी सरकारले तोकेको समयमा मात्रै कार्यालय खोल्दा धेरै सेवाग्राही मर्कामा पर्न थालेका छन् ।



सरकारी नियमभन्दा पनि मानवीय नाताले १/२ घण्टा बढी सेवा प्रवाह गर्दै आएकोमा प्रश्न उठाइएको विभागका निर्देशक डम्बर बहादुर सुनुवार बताउँछन् । विभागका कर्मचारीहरूले इजरायल पठाउने नेपाली कामदार छनोटका क्रममा राति ८ बजेसम्म पनि काम गरेका थिए । अहोरात्र खटिएर कर्मचारीले काम गरेकै कारण विभागले छोटो समयमै सबै काम सम्पन्न गरेको थियो ।



त्यस्तै विदेशमा अलपत्र परेर उद्धार गर्नुपरेका, ठगीमा परेका लगायतका पीडितहरूसँग पनि विभागका कर्मचारी अबेरसम्म बसेर उनीहरूका गुनासो सुन्दै आएका थिए । अर्कोतिर मेनपावर कम्पनीले राष्ट्रिय दैनिकमा विज्ञापन प्रकाशनका लागि विभागको अनुमति लिनुपर्छ । विभागका कर्मचारीहरू राति अबेरसम्म पनि बसेर ती विज्ञापन स्वीकृत गरिदिन्थे । सकभर सेवाग्राहीको काम गर्नुपर्छ भन्ने मान्यता विभागको थियो । तर, कार्यालय ढिलासम्म खोलेको भन्दै मेनपावर व्यवसायीले प्रश्न उठाएपछि विभागले अहिले बेलुका ५ बजेभन्दा ढिला सेवा दिन बन्द गराएको छ ।



केही दिन अगाडि विभागले १४८ मेन पावर कम्पनीलाई कारबाही गरेको थियो । उनीहरूलाई ५० हजारका दरले जरिवानासमेत गराएको थियो । त्यसरी कारबाहीमा परेपछि उनीहरू विभागमा पुगेर कर्मचारीलाई ढिला गरी कार्यालय खोलिएकोमा प्रश्न उठाए । मेनपावर एजेन्सीहरुले पत्रिकामा विज्ञापन प्रकाशन गर्ने भनेर अनुमति लिएको तर विज्ञापन प्रकाशन नगर्ने गरेको भन्ने उजुरी विभागमा आएको थियो ।

उजुरीपछि विभागले चेक गर्दा १४८ मेन पावर कम्पनीले विज्ञापन प्रकाशन गर्ने भनेर अनुमति लिएको तर, विज्ञापन प्रकाशन नगरेको पाइएको थियो । त्यसपछि उनीहरूलाई कारबाही गरिएको विभागका निर्देशक सुनुवारले बताए ।

कारबाहीमा परेका व्यवसायीले विभागसँग सुरुमा कारबाही नगर्न र एक पटक मौका दिन आग्रह गरेका थिए । तर, विभागले त्यसमा मौका दिन नसकिने प्रष्ट पारेको थियो । ‘त्यसपछि तपाईहरूले कार्यालय समयभन्दा पछाडि गएर विज्ञापन एप्रुभ गरिदिनु हुन्छ । हाम्रा कर्मचारी ५ बजे पछाडि घर गइहाल्छन् । तपाईले ७ बजे एप्रुभ गरिदिनुभयो भने हामीले थाहा पाउँदैनौँ । थाहा नपाएपछि भोलिपल्टको पत्रिकामा प्रकाशन गर भने सूचना दिन सकेनौँ भनेर उहाँहरूले भन्नुभयो ।’ निर्देशक सुनुवारले भने ।

राति ७ बजे एप्रुभ गरिदिने अनि भोलिपल्ट पत्रिकामा प्रकाशन गरेनौ भनेर कारबाही गर्ने भनेर उनीहरूले प्रश्न उठाएका थिए । पर्याप्त जनशक्तिको अभावमा सबै काम समय गर्न नसकिएको र ढिला गरी भए पनि एप्रुभ गरिदिएको विभागले प्रस्ट पारेको थियो । तर, उनीहरूले कर्मचारीको नियतमाथि नै प्रश्न उठाएका थिए ।

त्यसपछि निर्देशक सुनुवारले कर्मचारीहरूलाई अबदेखि ५ बजेभन्दा पछाडि काम नगर्न निर्देशन दिएका थिए । ‘कर्मचारीको जागिर ५ बजेसम्म मात्र हो । आफ्नो घर परिवारलाई दिनुपर्ने समय पनि कार्यालयमै बसेर सेवाग्राहीको काम चाँडो गर्न उद्यत कर्मचारीलाई मेनपावर व्यवसायीको यस्तो गुनासोपछि अतिरिक्त समय काम गरेर अपजस बटुल्नुभन्दा कार्यालय समयसम्म मात्र काम गर्नु उचित लागेको निर्देशक सुनुवारले बताए ।  

विज्ञापन एप्रुभको काममात्र नभएर सेवाग्राहीका गुनासो सुन्ने, सुनुवाइ गर्ने लगायतका काम पनि विभागका कर्मचारीले कार्यालय समय भन्दा बढी बसेर सम्पन्न गर्दै आएका थिए । ‘मेरो कार्यकक्षमा टाढा टाढाका सेवाग्राही आउनुहुन्छ । कुरा गर्दागर्दै ५ बज्यो भने मेरो ड्युटी सकियो भने उठेर जान त मिल्दैन,’ निर्देशक सुनुवारले भने, ‘कुरा गर्दै गर्दा ७ पनि बज्न सक्छ । अबेरसम्म बसेर पनि उनीहरूको काम गरिएको थियो ।’

ढिलो समयसम्म बसेर सेवाग्राहीको काम गर्दै आएकोप्रति प्रश्न उठेपछि अहिले ५ बजेपछि कार्यालय बन्द हुने गरेको निर्देशक सुनुवारले बताए । तर यसको असर देखा पर्न थालेको उनको भनाइ छ । बिहीबार एप्रुभका लागि आएका ५० वटा विज्ञापनको काम गर्न नसकिएको उनको भनाइ छ ।

अनुगमन शाखामा अहिले २ जना अधिकृत छन् । उनीहरूले नै विज्ञापन एप्रुभ गर्ने काम गर्दै आएका छन् । यसको असर पर्न थालेपछि आइतबार कार्यालयको बैठक बसेर यो विषयमा थप छलफल गर्ने निर्देशक सुनुवारको भनाइ छ । 

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।