मेरी आमा

‘आमाले भन्नुहुन्थ्यो– वन नचिनेको बाघ र देश नचिनेको छोरो काम लाग्दैन, काठमाडौँ पठाइदिऊँ’

person explore access_timeभदौ २५, २०७९ chat_bubble_outline0

एउटा हिउँदमा, नवराज लम्सालकी आमाले मल बोक्दै थिइन् धादिङको ज्यामरुङस्थित घरनजिकैको बारीमा । नवराज त्यस्तै ६–७ वर्षका थिए । उनलाई पनि आमाको रेखदेखको खाँचो थियो । आमाले उनलाई आँगनको पर्खालमा चकटी ओछ्याएर राखिन्, हिउँदको चिसोदेखि जोगाउन मजेत्रो ओढाइदिइन् र भनिन्– बाबु ! तिमी ज्ञानी भएर बस, म बारीमा मल पुर्‍याएर आउँछु । अनि, थुन्सेमा मल बोकेर उनी बारीतिर लागिन् । उकालो–ओरालो हुँदै बारीमा पुग्न एउटा डाँडा काट्नुपर्थ्यो । घरदेखि अलिकति पर पुगेपछि आमाले ‘बाबु’ भनेर बोलाइन्, नवराजले ‘हजुर’ भने । आमा सरासर अगाडि बढिन् र अलिकति पर पुगेपछि फेरि आवाज दिइन्– बाबु । नवराजले उही ‘हजुर’ दोहोर्‍याउँथे । बीचमा एउटा कोल्टे ठाउँमा आमा केहीबेरका लागि ओझेल परिन् । यताबाट नवराजले हेरिरहे, जब आमा पारि झुल्किइन्, अनि आवाज आयो– बाबु । यसरी नवराजको बोली सुन्दै उनकी आमाले मल बारीमा पुर्‍याउँथिन् र फर्कन्थिन् । त्यो साल त्यहाँको बारीमा मल नपुगेसम्म यो क्रम दोहोरिरह्यो । 


नेपाली आमाहरूले छोराछोरी हेर्दै गाउँघरमा काम गर्ने यो प्रचलित शैली हो । आवाज खुट्ट्याउन सक्ने भएदेखि साना बच्चाहरू आमाकै आवाजको आलोकमा हुर्कन चाहन्छन् । नवराज आमाको समीप चाहन्थे, आमाले छोराको रेखदेखसँगै मेलापातको काम सक्नुपथ्र्यो । 



कवि, गीतकार र रेडियोकर्मीको परिचय बनाएका नवराज तीन दशकदेखि आवाजकै दुनियाँमा छन् । रेडियोमा बोल्नु उनको पेसा नै भयो । कविता उनको सशक्त आवाज हो । उनको कवितात्मक आवाज ‘अग्नि’ महाकाव्य वर्ष ०७८ को मदन पुरस्कार विजेता भएको छ । रेडियो नेपालका निर्देशक समेत रहेका उनका तीन सय ५० भन्दा बढी गीत रेकर्ड भएका छन् ।



एक साताअघि हामीले उनीसँग रातोपाटीको ‘मेरी आमा’ स्तम्भका लागि समय लिएका थियौँ । आफूलाई आवाज दिएर भुलाउँदै आमाले मल बोकेको सम्झन पुग्दा नवराजले सुखद अनुभूति गरे । सुखद अनुभूतिको मेसोमा उनले आँसु लुकाउन खोजे पनि आँखा ओभाना थिएनन् ।



अहिले उनकी आमा मातातीर्थस्थित उनका भाइको घर बस्छिन् । नवराजले पनि काठमाडौंको नैकापमा घर बनाएका छन् । यी दुई आमाछोराबीच आऊजाऊ बाक्लै छ । ७२ वर्षीया आमाको बारेमा बोल्दा नवराज बाल्यकालतिरै बढी फर्किए । भावुक भए । आँखा रसाए र कुन्नि कुन किसिमको विषादले भरिए । आमाप्रतिको अथाह प्रेम दर्शाए र कुन्नि कुन प्रेम र हार्दिकताले आफैँ रसाए । लाग्थ्यो, आमाप्रति गहिरो अनुराग छ उनमा तर उनको प्रेम र श्रद्धाभन्दा माथि केही छ उनीभित्र र उनी भावविभोर छन् । उनको मातृप्रेम आँसु बनेर आँखामै हराएझैँ लाग्थ्यो तर उनले आँसु तप्कन दिएनन् । लामो समयसम्म उनी अवाक् र करिब मौनमौन बसेका थिए ।

मन पोल्ने घटना

मेलापातको कामबाट नवराजकी आमा घर फर्कंंदा झमक्कै साँझ परिसकेको थियो । आमा आउनेबित्तिकै नवराजका भाइबहिनीले ‘भोक लाग्यो’ भन्न थाले । भात पकाउन, भैँसी दुहुन– घरधन्दाको काम असरल्लै थियो । आमाले अँगेनोमा भात बसालिन् र भैँसी दुहुन गइन् । तिनताका बाहुनको घरमा दुइटा चुला हुन्थे । एउटा अगेनो र अर्को माथिल्लो भान्सा । माथि भान्सामा भात पकाउँदा ढिलो हुने र छोराहरू नखाईकन निदाउने भएर नवराजकी आमाले अगेनोको बल्दै गरेको आगोमा भात बसालिन् । नवराजले आगो फुक्दै थिए, भात छड्किरहेको थियो । त्यही बेला उनका बा आइपुगे, ‘अगेनामा भात पकाएर जात फाल्छौ ?’ भन्दै कड्किए अनि भात छड्कँदै गरेको कसौँडी उचालेर फालिदिए । कसौँडी भर्‍याङमा ठोक्कियो र सबैतिर अधकल्चो भात छरियो । 

नवराजका पिता टंकप्रसाद लम्साल पुरेत थिए, उनको मान्यता थियो– खानेकुरा भान्सामै पकाउनुपर्छ, अगेनोमा पकाउँदा चोखोनिष्ठ हुँदैन । त्यसपछि बा रिसाएर सुत्न गए । भैँसी दुहेर आएपछि आमाले आँसु झार्दै सानो स्वरमा नवराजलाई भनिन्– ‘तँ पनि अब ठूलो भइसकिस् । यत्रो भएको छोराले बा ! यस्तो किन गर्नुभयो भन्न सकिनस् ?’

नवराज त्यस्तै ७–८ वर्षका थिए, बालाई सम्झाउन उनको उमेर र बुद्धि दुवै विकसित भएको थिएन । आमाले भान्सामै साँझको खाना तयार गरिन् र बालाई खाना खानका लागि बोलाउन नवराजलाई अह्राइन् । बा भोकै सुत्न गएका थिए । नवराज बोलाउन गए, तर बा आएनन् । त्यस रात नवराजकी आमा पनि भात नखाई सुतिन् । अँगेनोमा पकाएको खाना आफ्ना पतिले खाँदैनन् भन्ने उनलाई जानकारी नभएको होइन, तर पकाउनै हुन्न भन्नेमा उनलाई विश्वास थिएन । भात पाकिहाल्छ र माथि भान्सामा लगिहाल्छु भन्ने उनको सोच थियो । त्यो पाक्दै गरेको तातो भात उतिखेरै सेलाएर गयो तर परम्परागत मूल्य–मान्यताका कारण, अझ भनौँ बुवाको कट्टरताका कारण भएको त्यो घटना सम्झन पुग्दा नवराजको मन अझै पोल्छ । उनी भन्छन्, ‘किन सानो भएँ हुँला ? किन बालाई सम्झाउन सकिनँ ? किन आमालाई फकाउन सकिनँ ? किन केही बोल्न सकिनँ ?’

दुइटी आमामध्ये नवराज कान्छीपट्टिका जेठा छोरा हुन् । उनीहरूपट्टिका ८ सन्तानमध्ये दुई बहिनीको बाला दिनमै निधन भयो । ठूलीआमातिर एक छोरा र एक छोरी छन् । नवराज सानै हुँदा उनकी ठूलीआमा अंश लिएर चितवनतिर झरेकी हुन् । अहिले पनि कहिलेकाहीँ नवराज भेटघाटका लागि बेलाबेला चितवनतिर गइरहन्छन् । 

जेठो छोरा भएकाले नवराजले भाइबहिनीको हेरचाह गर्नुपथ्र्यो, आमाको अनुपस्थितिमा । मेलापातबाट बाआमा आउनुअघि भाइहरू रुन्थे । नवराज जेठो छोरो । उनलाई के गरौँ के गरौँ हुन्थ्यो । माइला जनार्दन त सम्झाएर बुझ्ने भइसकेका थिए । काइँला भाइलाई झोलुंगोमा राखेर हल्लाइदिए हुन्थ्यो तर साइँला भाइ रमेश खुब रुन्थे । उनको खुट्टामा ठूलो घाउ थियो, पाकेर पिप बगेको बग्यै । ‘एक दिन काइँलो भाइ हरि पनि खुब रोयो । कसै गरी फुल्याउन सकिनँ । साइँलो र काइँलोलाई एक एक तिघ्रामा राखेर दुवै हातका एकएक औँला चुसाएँ,’ नवराज आफ्नो बाल्यकाल सम्झन्छन्, ‘औँला चुसेपछि दुवैले आमाको दूध चुसेको ठाने होलान् सायद । दुवै चुप लागे । आमा आएपछि एकै सासमा सबै कुरा भनेँ, आमा खुब रुनुभयो । किन रुनु भयो बुझिनँ ।’ 

‘आमाको जोडबलले काठमाडौं आएँ’

आमाका दुःखसुखसँगै हुर्केका हुन् नवराज । जमिन प्रशस्त थियो, आमालाई काम पनि प्रशस्तै । उनका बुवाको जीवन भने सानदार थियो । बिहान उठेपछि दोलाइँ ओढेर बा पिँढीको खाटमा बस्थे । उनको दिन हुक्काको गडगडाहटसँगै सुरु हुन्थ्यो । बिहानैदेखि चिना हेराउने, जोखना हेराउनेहरू आउँथे । हुक्का सफा गरेर बाका लागि तमाखु भरिदिनु नवराजकी आमाको पहिलो काम हुन्थ्यो । जेठो छोरो भएकाले उमेर बढेसँगै नवराजले पनि आमालाई सघाउन थाले । बुवाका लागि तमाखु भरिदिनेदेखि भकारो सोहोर्ने, भैँसी दुहुने, घाँस काट्नेसम्मका काममा उनले आमालाई सघाउँथे । बिहान एकसरो काम नसकी स्कुल जाँदैनथे र साँझ स्कुलबाट फर्केपछि पनि केही काम नगरी खाने वा पढ्ने मेलो हुँदैनथ्यो ।

बाले नवराजलाई आफूजस्तै पुरेत बनाउन चाहन्थे । बेलुका हुक्का तान्ने बेला नवराजले बाबाट रुद्री, चण्डी, वेदआदि पढ्नुपथ्र्यो । उनको स्कुले शिक्षा पनि चलिरहेकै थियो । व्रतबन्ध भएसँगै आठ वर्षको उमेरदेखि बाको पछिपछि लागेर उनी जजमानका घर–घर धाउन थाले । ‘मलाई सबैले सानो पुरेत भन्थे,’ नवराज भन्छन्, ‘मैले निकै वर्ष पुरेत्याइँ गरेँ । यो बीचमा कतिको न्वारन गराएँ, श्राद्ध गराएँ, विवाह–व्रतबन्ध गराएँ, चिना टिप्पणी गराएँ, आफैँलाई सम्झना छैन ।’ 

कक्षा ७ सम्म पढेपछि बाले उनलाई जजमानीमै जोड दिन भनेका थिए । तर, आमा उनलाई पढाउन चाहन्थिन् । आमाकै जोडबलमा कक्षा ७ पछि उनी संस्कृत पढ्न काठमाडौँ आए । उनलाई काठमाडौं पठाउन बाले मानेका थिएनन् । जजमानी गर्न पुग्ने पढिहालेको छ, किन धेरै पढ्नुपर्‍यो भन्ने उनको सोच थियो । नवराज आमाका बलिया वचन सम्झन्छन्, ‘आमाले भन्नुभयो– वन नचिनेको बाघ र देश नचिनेको छोरो काम लाग्दैन, काठमाडौँ पठाइदिऊँ ।’ आखिर नवराज आमाकै बाटोमा हिँडे, देश चिने र आज देश र विदेशका धेरै जनताले पनि उनलाई सप्रेम चिनेका छन् । 

 


काठमाडौं आएर उनले संस्कृत शिक्षा पढे, संस्कृत मावि रानीपोखरीमा भर्ना भएर । काठमाडौं आउँदा पनि बेलाबेला बाको सल्लाह रहन्थ्यो– होटलमा भात नखानू, जात जान्छ । खानैपर्ने भए, मासु नपकाएको सानो होटल खोजेर तरकारीसम्म खाए हुन्छ । यो उनको बुवाको मात्रै भनाइ थिएन, समाजकै मूल्य–मान्यता थियो । ‘धेरै वर्षसम्म मैले होटलमा भात खाइनँ,’ नवराज भन्छन्, ‘जब म परिपक्व हुन थालेँ, बा र समाजका भनाइमा अन्धविश्वास देख्न थालेँ । पेसा, साथी–संगत आदिका कारण पछि मैले कहिलेकाहीँ रक्सी पनि पिएँ र त्यही दिनदेखि पुरेत्याइँ पेसा बन्द गरेँ । अब त संकल्प नपढेको पनि २५ वर्षजति भयो होला ।’

नवराज काठमाडौं आएको केही समयपछि उनका दुई भाइ जनार्दन र रमेश पनि सँगै आए । काठमाडौंमा खाने–बस्ने व्यवस्था थिएन । ‘ बाआमाको भनाइ नाइँ भन्न नसक्नुको पीडा मैले निकै सहेँ,’ उनी भन्छन्, ‘त्यसताका म संस्कृत छात्रावास तीनधारा बस्थेँ । त्यहाँ बाहिरका मान्छे बस्न मिल्दैनथ्यो ।’

नवराज यति लोकप्रिय थिए कि उनले भनेको कसैले पनि नाइँ भन्दैनथे । उनले साइँलो भाइ रमेशलाई केही दिन त्यहीँ लुकाएर आफ्नै कोठामा राखे । खाना खाने बेला उनले भाइलाई पुग्ने गरी ठूलो भात लिएर कोठामा आउँथे । भान्सेहरूलाई थाहा थियो, उनको कोठामा भाइ छ भनेर । एकै थालमा दाजुभाइसँगै खान्थे । भाइलाई रातमा मात्र शौचालय पठाउँथे र दिउँसो एउटा बट्टामा पिसाब गराएर आफैँ बोकेर शौचालयमा लगेर फाल्थे । यो क्रम निकै लामो समयसम्म चल्यो ।

आमाले सुटुक्क धान बेचेर पैसा पठाइन् 

गाउँको स्कुलमा युनिफर्मको त्यति चलन थिएन । नवराज सुरुवाल र कमिज लगाएर स्कुल जान्थे । उनका बाको पुरेत्याइँ हैकम अगाडि स्कुलका टिचरले पनि किन स्कुले पोसाक नलगाएको भन्दैनथे । पाइन्ट लगाउनु जात फाल्नु हो भन्ने नवराजको बाको बुझाइ थियो । 

उनी एउटा घटना सम्झन्छन्– उनको साइँलो मामाको कपडा पसल थियो । मामा घर गएका बेला उनलाई मामाले एउटै रङको सर्ट र पाइन्ट सिउने कपडा दिए । घरमा आएपछि उनलाई बाले हकारे– पुरेतको छोरो पाइन्ट लगाउँछन्, यसको कमिज सुरुवा सिला । नवराजले त्यसै गरे ।

काठमाडौंंमा पढ्न आएपछि भने स्कुल युनिफर्ममा सर्ट–पाइन्ट तोकिएको थियो । नवराजले यो कुरा बासमक्ष राखे । बाको भनाइ रह्यो– संस्कृत पढेर पुरेत हुने मान्छेले पनि सर्ट–पाइन्ट लगाउँछन् ! धोती बाँधेर हिँड्ने बाहुनको पो इज्जत बढ्छ ! धोती लैजा त्यही झर्लम्म बाँधेर स्कुल जा । दुनियाँले देखोस्, आजको जमानामा पनि धोती बाँधेर स्कुल जाने कस्तो खाँटी बाहुन हो ! 

नवराजले बालाई सम्झाउन सकेनन् । नवराज भन्छन्, ‘म बाको अगाडि रोएँ तर स्कुल ड्रेस किन्नुपर्छ भनेर बालाई कन्भिन्स गर्न सकिनँ ।’

बाको सामु नवराजले बिलौना गर्दा आमा साक्षी थिइन् । अगाडि नै उनले केही भनेकी थिइनन् तर छोराको व्यथा बुझेकी थिइन् । 

त्यत्तिकै नवराज रुँदै काठमाडौंंं फर्किए । त्यसको केही दिनमा ध्रुव नाम गरेका गाउँले दाइ नवराजलाई भेट्न आए । ध्रुवले न्युरोडको कपडा पसलमा काम गर्थे । स्कुले ड्रेसको कपडा दिँदै उनले नवराजलाई भने– यो तिम्री आमाले पठाएको पैसाले किनेको लुगा हो । सिलाएर लगाउनू रे ।’ पैसा कति आयो, कतिको कपडा हो र सिउने कुन पैसाले ? उनलाई केही थाहा भएन । कपडा पाएर पनि उनी खुसी हुन सकेनन् । आमाले पठाएकै पैसाको पनि खास हिसाब भएन ।

नवराजको घरमा उब्जनी प्रशस्तै हुन्थ्यो । भकारीबाट दुई–चार मुरी धान–कोदो सुटुक्क बेचे पनि थाहा हुँदैनथ्यो । उनकी आमाले त्यसै गरिछन् । ‘आमाले दुई मुरी धान बेचेर पैसा पठाउनुभएको रहेछ,’ नवराज सम्झन्छन्, ‘त्यतिबेला जसोतसो सर्ट–पाइन्ट सिलाएँ । त्यसलाई निकै जतन गरेर तीन वर्षसम्म लगाएँ ।’ 

‘आमाको मन दुखाएँ’ 

एसएलसी दिएको वर्ष (०४३ साल) देखि नवराजले औपचारिक रूपमा कमाउन थालेका हुन् । त्यतिबेला समय दैनिक पत्रिकाले रिपोर्टर मागेको थियो । माणिकलाल श्रेष्ठ त्यसका सम्पादक थिए । श्रेष्ठलाई भेटेर आफू जागिरका लागि योग्य रहेको नवराजले दाबी गरे । त्यस जागिरका लागि योग्यता तोकिएको थियो– एसएलसी उत्तीर्ण, नेपाली शुद्ध लेख्न सक्ने । नवराजले भने– म नेपाली शुद्ध लेख्न सक्छु, भर्खरै एसएलसी दिएको छु, पास हुन्छु । 

सम्पादक श्रेष्ठले परीक्षा स्वरूप उनलाई केही लेख्न लगाए । व्याकरण मिलेको शुद्ध वाक्य देखेपछि श्रेष्ठले उनलाई तुरुन्तै जागिर दिए । उनको तलब पाँच सय रुपैयाँ भनिएको थियो । महिना मरेपछि उनको तलब आयो, डेरामा गएर गन्दा ६ सय रुपैयाँ रहेछ । एक सय रुपैयाँ बढी ! झुक्किएर दिए कि इमान जाँच्न ! नवराजको मनमा अनेक तर्कना आउन थाले । भोलिपल्ट, सय रुपैयाँ बढी आयो भनी सम्पादक श्रेष्ठसमक्ष पैसा फिर्ता गर्न गए । उनको इमानदारिता देखेर श्रेष्ठले भने– दिएको ५ सय नै हो, झुक्किएर ६ सय भएछ । ल तिम्रो तलब ६ सय नै भयो ।

​कमाउने भइसकेपछि घर जाँदा नवराजले आमालाई आफ्नो झोला र पैसा भएको पर्स राख्न दिन्थे । कहिलेकाहीँ झोला राख्न दिएनन् भने आमाको अनुहार अँध्यारो हुन्थ्यो । नवराजले विवाह ०४५ सालमा गरेका हुन् । श्रीमती गाउँकै घरमै थिइन् । नवराजले कहिलेकाहीँ श्रीमतीलाई झोला राख्न दिन्थे । यसमा आमाको चित्त दुख्दो रहेछ । पछि मात्र उनले यो कुरा बुझे । एकपटक उनले आमाको गुनासो कुतै सुने– पहिला पहिला पो आमा प्यारो, स्वास्नी ल्याएपछि आमालाई किन हेथ्र्यो ! झोला–झम्टा स्वास्नीलाई बुझाउँछ, जोइटिंग्रे ।

नवराजलाई बोध भयो– अहो, आमाको मन यसरी पो दुख्दो रहेछ । जन्माएर हुर्काउने आमाको मन दुखाउन कुन छोरालाई रहर हुन्छ र ? तर, कतैकतै त्यस्तै परिस्थिति र बाध्यता पनि आइलाग्छन् । 

त्यसपछि घर गएका बेला उनले झोला र पर्स आमालाई दिन्थे । घरबाट फर्कने बेला पर्सको पैसा सकिएको हुन्थ्यो, कहिले बाले र कहिले आमाले चलाएर । श्रीमती पनि केही पैसाको आशा गर्थिन् तर उनको ब्याग रित्तै हुन्थ्यो । यता श्रीमती रिसाउँथिन् र कहिलेकाहीँ उनी आफैँ पनि बाटा खर्चविहीन हुन्थे । 

एकदिन काठमाडौं हिँड्ने बेला श्रीमतीले पैसा मागिन् । उनले आमासँग भर्खरै लिएको पर्स खोलेर हेरे, पैसा त्यति थिएन । मलखुबाट बस चढ्दाको भाडा मात्रा बाँकी राखेर हेर्दा पचास रुपैयाँ बच्ने भयो । ‘मलेखुसम्म हिँडेर आउने र त्यहाँबाट मात्र बस चढ्ने निर्णय गरेर मैले श्रीमतीलाई सुटुक्क ५० रुपैयाँ दिएँ,’ नवराज भन्छन्, ‘श्रीमतीले त्यो पैसा मलखाडीमा पुग्ने गरी फालिदिइन् । छोरी लिएर बस्नु छ, जाबो ५० रुपैयाँ भन्दै उनी भुतभुताइन् ।’

श्रीमतीले फालेको ५० रुपैयाँ टपक्क टिपेर उनी बाटो लागे । पछि नवराजका भाइहरूको विवाह भयो । घरमा बुहारीहरू बढेसँगै नवराजकी श्रीमती संगीता काठमाडौं आइन् । उनीहरूकी छोरी आरी कक्षा १ मा पढ्थिन्, लक्ष्मी शिक्षा सदन टेकुमा । एक दिन छोरी आरतीलाई स्कुलमा मिसले हातमा पिटिछन् । छोरीको हातमा डाम देखेपछि भोलिपल्ट संगीता स्कुल गइन् । सोही स्कुलमा नवराजले पनि कक्षा ८, ९ र १० लाई नेपाली पढाउँथे । संगीताले हेडसर भेटेर भनिन्– नवराज लम्सालकी श्रीमती हुँ म । आरती मेरी छोरी हो । यो कुरा मैले नवराज लम्साललाई भन्न पनि सक्थेँ । तर उहाँ यहाँको स्टाफ हो, म त होइन । म अभिभावक हुँ । एउटा बच्चाको हातमा डाम पर्ने गरी पिट्ने कुरा म अभिभावकसँग सम्बन्धित छ । एउटा शिक्षकले विद्यार्थीमाथि गरेको यो व्यवहार ठीक भएन, म यसको कम्प्लेन गर्न आएकी ।’

यति भनेर उनी फर्किइन् । साँझ हेडसर बुद्धरत्न डंगोल घर आए र नवराजलाई भेटेर भने– ‘नवराज सर, म रेडियो नेपालमा जागिर खान्छु, मलाई खान पुगेकै छ, तिम्रो स्कुलमा पठाउँदिनँ भन्नुहुन्छ भने ठिकै छ, भन्नुहुन्न भने मलाई संगीता लम्सालजस्तै शिक्षिका चाहिएको छ । भोलिदेखि मिसलाई मकहाँ पठाइदिनू ।’

त्यतिबेला नवराज रेडियो नेपालको जागिरे भइसकेका थिए । उनले पार्टटाइमका रूपमा त्यही स्कुल पढाउने गर्थे । बेलुका नवराज र संगीताबीच सल्लाह भयो र सङ्गीताले भोलिपल्टदेखि त्यही स्कुलमा पढाउन थालिन् । 

यता नवराजको आफ्नो सानो संसारले गति लिँदै थियो । उता आमाले अर्कै कुरा गरिन्– बुहारीले पढाउने जति त बहिनीले पढाइहाल्छे । बहिनीलाई त्यो स्कुलमा पढाउन हाल् र बुहारीलाई घर पठाइदे । तिनताका नवराजकी बहिनी एसएलसी सकेर भर्खर काठामाडौं आएकी थिइन् ।

‘थाहा छैन, आमाले किन यसो भन्नुभयो ! तर मैले श्रीमतीको ठाउँमा बहिनीलाई जागिर खुवाउन सक्ने अवस्था थिएन,’ नवराज अलि अमिलो मुख पार्दै भन्छन्, ‘यसमा आमाले चित्त दुखाउनुभएको छ । बहिनीले पढाउन सक्थी तर स्वास्नीलाई जागिर दिलाएर काठमाडौंमा अल्झायो भनी आमा रिसाउनुभयो । किन आमाले नबुझेको होला ? यसको कारण के होला म जान्दिनँ । त्यसपछि केही वर्ष आमा मसँग बोल्नुभएन । सम्झँदा अहिले पनि मन अमिलो हुन्छ ।’ 

बुवाको आशंका

०४८ सालमा रेयुकाईले वक्तृत्वकला प्रतियोगिता गरेको थियो, त्यसमा नवराज प्रथम भए । पुरस्कार स्वरूप उनले फ्रान्सको नान्ट भन्ने सहरमा भ्रमण गर्ने अवसर पाए । नान्टबाट फर्केपछि रेयुकाईले काठमाडौंमा एउटा कार्यक्रम आयोजना गर्‍यो, जसमा नवराजले युवा लक्षित भाषण गरे । उनको भाषण सुनेका माधव घिमिरेले उनलाई रेडियो नेपालको ‘युवा संसार’ कार्यक्रममा अन्तर्वार्ताका लागि बोलाए । त्यहाँ उनको भेट अमोददेव भट्टराईसँग पनि भयो । भट्टराईले ‘साहित्य संसार’ कार्यक्रम चलाउँथे । नवराजले कविता पनि लेख्ने थाहा पाएपछि भट्टराईले उनका केही छन्द कविता ‘साहित्य संंसार’का लागि रेकर्ड गरे । 

उनको अन्तर्वार्ता र उनको वाचनको कविता रेडियो नेपालबाट बज्यो, बाआमाले पहिलोपटक रेडियोमा छोराको आवाज सुने । यो सुनेर नवराजका बाआमाले गर्व महसुस गरेका थिए । त्यही बेला नवराजका बालाई गाउँका कसैले कान भरेछन्– नवराजले फ्रान्सबाट २०–२५ लाख रुपैयाँ ल्याएको हुनुपर्छ । शान्ति सेनामा जाने सिपाहीले त ८–१० लाख ल्याउँछ । ऊ त वक्तृत्वकलामा देशकै पहिलो भएर फ्रान्स गएको हो । 

नवराज घर जाँदा बुवाले पैसाको कुरा झिके । आफूले कुनै पैसा नपाएको नवराजले बताए तर बुवाले पत्याएनन् । 

यता गाउँमा फेरि कुरा लगाए– नवराजले पैसा त पक्कै ल्याएको छ, भाइहरूलाई अंश दिनुपर्छ भनेर लुकाएको होला । बुहारी बाठी छे, त्यसले च्याप्प पारी होला ! ‘पछि बाले आमालाई काठमाडौं पठाउनुभयो, मसँग पैसा छ कि छैन भनेर बुझ्न,’ नवराज भन्छन्, ‘मसँग पैसा भए पो लुकाउनू । निधनको दुई वर्ष अघिसम्म बा भन्दै हुनुहुन्थ्यो– ठूलो छोराले जीवनभर केही ढाँटेन तर फ्रान्स गएर आउँदा कति पैसा ल्यायो र किन लुकायो कहिल्यै भनेन । बा पोहोर साल बित्नुभयो । थाहा छैन, संसार छाड्नुअघि उहाँको मनमा त्यो आशंंका बाँकी नै थियो वा मेटिएको थियो । आज पनि मलाई भन्न मन छ– बा, मैले फ्रान्सबाट एक पैसा पनि ल्याएको थिइनँ ।’

त्यसपछि नवराजकी आमा काठमाडौं आइन् । बाले त एउटा नयाँ रेडियो लिएर आइज भन्नुभएको छ । फ्रान्स गएर आएको छोरोले के पठायो भनेर गाउँलेले सोध्छन् । रेडियो नलिई नआउनू, बेइज्जत हुन्छ भन्नुभएको छ– आमाको भनाइ थियो । योसँगै लैजानुपर्ने अरू सामानको लिस्ट पनि लामै थियो । 

त्यतिबेला नवराजको आर्थिक कथा आफ्नै थियो । स्कुल पढाएर उनले १५ सय १७ रुपैयाँ तलब थाप्थे । फ्रान्स भ्रमणमा जानका लागि उनीसँग राम्रो कोट थिएन, जुत्ता थिएन र पकेट मनी पनि थिएन । त्यसका लागि मासिक ६ सय रुपैयाँ काटिने गरी उनले स्कुलबाट सात हजार रुपैयाँ पेस्की लिएका थिए । साथीभाइसँग ऋण लिएर उनले घरमा रेडियो पठाए । आमाले भनेअनुसार सामान पनि किनिदिए । 

त्यतिबेला ऋणबाट उठ्न र दुई भाइसहित आफू बाँच्न उनले बिहान–साँझ ट्युसन पढाउन थाले । 

पछि (०५१ वैशाखदेखि) रेडियो नेपालमा उनले जागिर खाए । संस्कृतमा आचार्य र नेपाली विषयमा एमए गरेका नवराजलाई सुरुमा सरकारी जागिरमा नाम निकाल्न समस्या भएको थियो । ६ ठाउँमा अधिकृत तहका लागि लिखितमा नाम निकालेर पनि अन्तर्वार्तामा फेल भएका थिए । रेडियो नेपाल सुर्खेत प्रसारणका लागि नाम निकालेर उनी केही वर्ष त्यहीँ बसे । राउटे, राजी, वादी, मगर आदि समुदायका विशेष कार्यक्रम उत्पादन गरे । गीत, नाटक, अन्तर्वार्ता, रिपोर्ट आदि प्रसार गरे । लोकप्रियता हासिल गरे ।

रेडियोमा शाखा अधिकृतको तलब ४२ सय रुपैयाँ थियो । उनी सुर्खेतबाट काठमाडौंं फर्केपछि बाले उनीबाट पैसाको अपेक्षा गर्ने थाले । ‘बाले चलाखी गर्नुभयो– विदेशबाट ल्याएको २०–२५ लाख त बैंकमा लुकाएर राखेकै छ । तलबको पैसाचाहिँ योसँग माग्नुपर्छ । यही सोचेर बाले म सुर्खेतबाट फर्केदेखि हरेक महिनाको १ गते पैसा लिन गाउँदेखि मान्छे पठाउनुहुन्थ्यो । कहिले घरको काममा सघाउने एक जना गाउँले भाइ त कहिले आमा आफैँ आउनुहुन्थ्यो,’ नवराज भन्छन्, ‘हरे, कुन दिन वक्तृत्वकलामा प्र्रथम भएछु भन्ने लाग्छ । मलाई मात्र होइन, संगीतालाई समेत पैसा चपक्क पारेको बासँगै गाउँलको आरोप थियो । यो उनीमाथिको एक प्रकारको मानसिक हिंसा हो भन्ने लाग्छ ।’ 

उनले रेडियोको सबै तलब घरमा पठाउँथे र आफूहरूको खर्चका लागि स्कुल पढाउँथे, ट्युसन पढाउँथे । 

धादिङ वेशीदेखि नवराजको घरमा पुग्न हिँडेर ५–६ घन्टा लाग्थ्यो । दसैँमा काठमाडौंबाट घर जाँदा उनले चार पाथी जति चिउरा, १० लिटर मट्टीतेल, एक पाथी नुन लिएर जान्थे । छोराले काठमाडौंबाट ल्याएको भनेर गर्व गर्न उनका बाले उनलाई यो अह्राएका हुन्थे । ‘यी सामान धादिङ वेशीमै र गाउँमै पनि पाइन्थ्यो तर बाआमाले भनेको काट्न नसकेर मैले काठमाडौंदेखि नै लिएर जान्थेँ । मलाई र भाइहरूलाई ती सामान बोक्न सकस हुन्थ्यो,’ नवराज भन्छन्, ‘अहिले सम्झँदा कथा जस्तो लाग्छ । छोरो काठमाडौंमा भएपछि गाउँका ठुटेहरूको पसलमा गएर किन किन्नु भन्ने बाको भनाइ हुन्थ्यो ।’ 

नवराजले आमाको कुरा गर्दा बढीजसो घटना र प्रसङ्गमा बा जोडिएर आउँछन् । बाआमाका स–साना लाग्ने कुरा काट्न नसक्दा उनले जीवनका दुःखसुखहरू बुझे । बासँग जजमानीमा हिँड्दा वाचनको भाँती सिके । पछि गएर बोल्नु नै उनको पेसा बन्न गयो । कविता वाचनमा लय हुनु उनको बाल्यकालदेखिकै गुण हो, अझ भनौँ जन्मजात प्रतिभा हो ।

केटाकेटीमा उनले गाउँमा कसैबाट मुनामदन पाएका थिए । एक साँझ, घरको पिँढीमा बसेर उनले लय हालेर मुनामदन पढ्दै थिए । उनलाई छन्दमा वाचन गर्न निकै मनपथ्र्यो । त्यहीबेला बाहिरफेर गएका उनका बा घरमा झुल्किए । ‘बाले मेरो टाउकोमा लट्ठीले ट्वाक्क हान्दै भन्नुभयो– बाहुनको छोरा भएर वेद, चण्डी–रुद्री पढ्नुछैन, मदन लहरी गाएर बस् अब । त्यसपछि बुवाले मेरो हातको मुनामदन थुतेर आँगनमा फ्याँकिदिनुभयो । वर्षाको महिना थियो, बलेनीको पानीले आँगन टम्म थियो,’ नवराज त्यो दृश्य सम्झन्छन्, ‘मुनामदनको त्यो सानो किताब कहिले दायाँ कहिले बायाँ भएर हल्लिइरह्यो । मुनामदन किताब त के हल्लियो र त्योभन्दा बढी मेरो हृदय हल्लियो । पानी रोकिएपछि बा भैँसी दुहुन जानुभयो । मैले मुनामदन टिपेर पानी निचोरेँ, अनि छानामा घुसारेँ । अहिले पनि ज्यामरुङ जाँदा मैले निचोरेको मुनामदन यता कतै होला कि भन्ने लाग्छ ।’ 

आज नवराज सफलताको शिखरमै छन् । आज उनको महाकाव्य ‘अग्नि’ले देशकै सबैभन्दा पुरानो र चर्चित मदन पुरस्कार पाएको छ । यससँगै ‘सुदूरपश्चिम साहित्य समाज’, ‘सर्लाहीको लालबन्दी नगर वाङ्मय परिषद्’, जनपुस्तकायल कैलाली र ‘चितवन साहित्य परिषद्’बाट पनि निकै धेरै धनराशिसहित पुरस्कृत भएको छ अग्नि । ‘आज आमा असाध्यै खुसी हुनुभएको छ,’ नवराज यही खुसी बासँग साट्न नपाएकामा भने दुःख व्यक्त गर्छन्, ‘आज म पुरस्कृत भएको बाले देख्न पाउनुभएन । मलाई दुःख लागेको छ ।’

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।