कुराकानी

‘सात सालको क्रान्ति हाइज्याक गर्न भारत र अमेरिकाको भूमिका रह्यो’

person explore access_timeभदौ २७, २०७९ chat_bubble_outline0

केही पृष्ठभूमि


जुद्धशमशेरको पालामा नेपाल सरकारको फरेस्ट एड्भाइजर भएर इन्डियन सिभिल सर्भिसका अवकाशप्राप्त अफिसर आएका थिए । उनलाई अंग्रेजी अनुवादक र दोभासे आवश्यक थियो । यसमा मेरो पिताजी (मातृकाप्रसाद कोइराला)ले काम पाउनुभयो । पटनाको विहार विद्यापीठबाट शास्त्रीसम्मको अध्ययन गर्नुभएकाले उहाँको अंग्रेजी राम्रो थियो ।



त्यतिबेला नेपालमा घना वनहरू भएको क्षेत्र निकै थिए । राणा शासकहरूले वनबाट जतिसक्दो बढी आम्दानी गर्न चाहन्थे । त्यसैले फरेस्ट विज्ञ झिकाइएको थियो । यो १९९५ सालको कुरा हो । जति बेला म सात महिनाको थिएँ । मेरो आमाको वर्णन अनुसार,त्यही साल बुवासँग आमा पनि काठमाडौं आउनुभयो । त्यतिबेला ५६ दिन लगाएर काठमाडौं आउनुपथ्र्यो । हामीलाई छोड्न मेरो काका (बीपी कोइराला) आउनुभएको थियो । काठमाडौं आएर हामी भोटेबहालमा बस्यौँ,जहाँ हाम्रो ठूलो हजुरबुवा सरदार कालीदास कोइरालाको घर थियो ।



१९९९ फागुनमा मेरो बाजे कृष्णप्रसाद कोइरालालाई विराटनगरबाट पक्राउ गरेर काठमाडौं ल्याइयो । त्यतिबेला भारतीय नेता राममनोहर लोहिया,जयप्रकाशहरू जेल तोडेर भागेका थिए । उनीहरूलाई विराटनगरको घरमा लुकाएर राखेको आरोपमा मेरो बाजेलाई पक्राउ गरिएको थियो । यो आरोप साँचो हो वा झूटो,मलाई थाहा छैन । पिताजी र काका (बीपी) दुवैको किताबमा यो प्रसंग आएको छैन ।



यो आरोप विराटनगरका बडाहाकिम सोमशमशेरले लगाएका थिए । पक्राउपछि बयलगाडी चढाई २२ दिन लगाएर राणाशासकले मेरो हजुरबुवालाई काठमाडौं ल्याएका थिए । बयलगाडा चढाउनु एक खालको सम्मान थियो । भारतमा आएको राजनीतिक चेतको प्रभाव पनि थियो यो । त्यहाँ महात्मा गान्धी,जवाहरलाल नेहरुलाई ब्रिटिस सरकारले पक्राउपछि सम्मानका साथ राखेको थियो ।

काठमाडौंमा हजुरबुवालाई पाको पोखलड्याङको एउटा सरकार लागेकोघरमा नजरबन्दमा राखियो । त्यस घरका व्यक्तिले राणाकी छोरीलाई भगाएर कलकत्तामा लगेका रहेछन् । उनको घर जफत गरिएको रहेछ । यसरी सरकारले जफत गरेको घरलाई सरकार लागेको घर भनिन्थ्यो । त्यस घरमा हजुरबुवालाई भारतबाट आउने पत्रपत्रिका पढ्ने,परिवार भेट््ने सबै सुविधा दिइएको थियो । तर खानाको व्यवस्था आफैँले गर्नुपथ्र्यो । एकपटक हजुरबुवाले भन्नुभएछराणाहरूले थुनामा राखेका छन्,खान दिँदैनन् ।’ 

यो कुरा कसैले जुद्धशमशेरलाई सुनाएछ । त्यसलाई मान गरेर सहरभित्रै नजरबन्दमा राखेका हौँ । खान दिँदैन भन्छ ! जेलमा हालिदेउ,त्यहीँ खान्छ, जुद्धशमशेरको आदेश भएछ ।

हजुरबुवालाई जेल पुर्‍याइयो । उहाँ बाथको रोगी हुनुहुन्थ्यो,जेलको वातावरणले उहाँलाई रोगले थप च्याप्न थाल्यो । मृत्यु हुने डरले नजरबन्दमै राख्न उहाँलाई जुद्धधर्मशालामा पठाइयो । त्यहीबेला काठमाडौंमा ठूलो हिमपात भएको थियो । स्ट्रेचरमा ओहोरदोहोर गर्दा चिसो लागेर उहाँ थलिनुभयो र निधन भयो ।

विराटनगरको घरमा काजकिरिया कर्म चल्दा उहाँका तीन छोरा (मातृकाप्रसाद,तारिणीप्रसाद र गिरिजाप्रसाद) किरिया बस्नुभयो । बीपी पटना हजारी जेलबाट भर्खर छुट्नुभएको थियो । सोसलिस्ट भएकाले बीपी किरिया बस्नुभएन,त्यसमा उहाँको विश्वास थिएन । पछि २०११ सालमा त्रिभुवनको मृत्यु हुँदा सबै राजनीतिक दलका नेताले कपाल खौरिए । राजा मरेपछि बाउ मरे जसरी कपाल खौरिने चलन थियो । एकपटक गृहमन्त्री भइसक्नुभएका बीपीले त्रिभुवनको मृत्युमा कपाल खौरिनुभयो । बाबु मर्दा कपाल नखौरिने विश्वेश्वरले पनि राजा मर्दा कपाल खौरिए भनेर विरोधी राजनीतिक दलका नेताले बीपीको निकै आलोचना गरे ।

हजुरबुवाको मृत्युपछि २००३ सालमा हाम्रो परिवारको छुट्टाभिन्ना भयो । त्यही साल विराटनगरमा मिल हडताल भएको थियो । त्यहाँ थुप्रै मिल थिए,त्यसका मालिक मारवाडीहरू र राणाहरू थिए । मानिसहरूले सुनाए अनुसार त्यतिबेला त्यहाँ पाँच हजार मजदुर थिए । ८१० कक्षादेखि एसएलसी पास गरेका थुप्रैले ती मिलमा रोजगारी गर्थे । तारिणीप्रसाद,गिरिजाप्रसाद,मनमोहन अधिकारी,युवराज अधिकारी लगायतले त्यहाँ सुपरभाइजर जस्ता पदमा काम गर्नुहुन्थ्यो । उहाँहरूले मजदुर संघ खोलेर केही मागसहित हडताल गर्नुभएको थियो । नेपाली राष्ट्रिय कांग्रेसको स्थापना भएको केही महिनामै त्यो हडताल भएको थियो । हडताल सुरु भएपछि बीपीलाई खबर गरियो । भर्खर पार्टी खोल्नुभएका बीपीका लागि यो एउटा अवसर थियो । त्यसैले बीपीसँगै केही नेताहरू विराटनगर आएका थिए ।

म आठ वर्षको थिएँ,विराटनगरमा एउटा ठूलो जुलुस निस्क्यो । विराटनगरवासीले त्यति ठूलो जुलुस र सभा देखेको त्यो पहिलोपटक थियो । श्री ३ जुद्ध हाई इंग्लिस स्कुलको चौरमा मजदुर जम्मा भए । चौरमा सभा हुन लागेपछि हेडमास्टरले बीपीलाई भने बडाहाकिमसँग अनुमति लिनुपर्छ । बीपीले भन्नुभयो बीपीले मानेनन् भनिदिनू । त्यो आन्दोलन २०२१ दिन चल्यो । किनभने राणाका सिपाही त्यहाँ थिएनन् । राणाशासकहरू राजधानीको सुरक्षामा मात्र अलि बढी सजग थिए । मधेस लगायत क्षेत्रबाट कर उठाउन पाए उनीहरूलाई पुग्थ्यो । जमिनदार,पटवारीहरूले मालपोत उठाएर पठाइदिएकै थिए । २०२२ दिन लगाएर काठमाडौंदेखि राणाका सेना आइपुगे । अनि बीपी पक्राउ पर्नुभयो । उहाँलाई राखिएको ट्रकलाई मजदुरले घर्न पुगे । त्यतिबेला बीपीले भन्नुभयो हामीहरूको अहिंसात्मक आन्दोलन हो,गान्धीको जस्तै । तपाईंहरूले रोक्नेछेक्ने नगर्नुस् ।

मजदुरले बाटो छाडिदिएपछि बीपीलाई बोकेको ट्रक अगाडि बढ्यो । केहीबरेसम्म मजदुरले ट्रकलाई पछ्याए,ट्रक अगाडि बढिसक्दा पनि मजदुर हिँडिरहेका थिए,त्यसमा हाम्रो परिवार लगायत आफन्त पनि थियौँ । मजदुरसँगै दिउँसोको साढे ३ बजेतिर हामी सबै सिमानापारि जोगबनी पुग्यौँ । त्यहाँ नेपाली राष्ट्रिय कांग्रेसका महामन्त्री बालचन्द्र्र शर्मा,प्रचारमन्त्री गोपालप्रसाद भट्टराई लगायत हुनुहुन्थ्यो । बालचन्द्र शर्माले भन्नुभयो आज हाम्र्रो नेता पक्राउ पर्नुभयो,यही बेला हाम्रा नेता बीपी कोइरालाका ठूला दाजु मातृकाप्रसाद कोइराला हाम्रै माझमा हुनुहुन्छ,म उहाँलाई यो हडतालको नेतृत्व गर्न र नेपाली राष्ट्रिय कांग्रेसको कार्यवाहक सभापतिको जिम्मेवार लिन अनुरोध गर्दछु । गोपालप्रसादले म यसको समर्थन भनेपछि मेरो पिताजी एकाएक पार्टीको सभापति हुनुभयो । यसको वर्णन भारतीय साहित्यकार फणीश्वर नाथ रेणुको पुस्तक नेपाली क्रान्ति कथामा छ भन्ने मैले सुनेको छु,तर पढ्न पाएको छैन ।

त्यतिबेला मेरा पिताजीको दोभासेको जागिर खोसिइसकेको थियो । राणाकालमा सर्वसाधारणको जागिर खोसिनु ठूलो कुरा थिएन,त्यसमाथि हजुरबुवालाई पक्राउ गरेर काठमाडौं ल्याएदेखि उनीहरुले मेरो पिताजीमाथि पनि शंका गरेका थिए । 

पद्मशमशेरका भाइ रामशमशेर बडाहाकिमले पिताजीलाई अर्को जागिर दिएका थिए । हिमालयको अध्ययन गर्न एक अमेरिकन टोली नेपाल आएको थियो,त्यसैमा उहाँले जागिर पाउनुभएको थियो । जागिरको सिलसिलामा विभिन्न ठाउँ जानुपर्ने भए पनि उहाँ त्यतिबेला विराटनगरमै हुनुहुन्थ्यो । हामीलाई लिन होला,उहाँ सभास्थलमा आइपुग्नुभएको थियो ।

कार्यवाहक सभापति भएपछि उहाँ भारतमै बस्न थाल्नुभयो । सात सालको क्रान्तिमा उहाँले मुक्ति सेनाको सुप्रिम कमान्डरको जिम्मेवारी लिनुभयो ।

दिल्ली सम्झौता

मैले श्री ३ जुद्ध हाई इंग्लिस स्कुल विराटनगरबाट अध्ययन सुरु गरेको थिएँ,सात सालको क्रान्ति हुने भएपछि पढ्नका लागि मलाई परिवारले बनारसमा राख्यो । दिल्ली सम्झौता हुँदा म भारतमै थिएँ । दिल्ली सम्झौता वास्तवमा राणा र राजाको बीचमा मात्रै सम्पन्न भएको थियो । नेहरुले पहिले राजा र मोहनशमशेरको बीचमा बातचित गराए । उनले त्यसमा नेपाली कांग्रेसका नेताहरूलाई सामेल नै गरेनन् । यहाँबाट केशव शमशेर र विजय शमशेर निगोसिएट भएर गएका थिए । उता दिल्लीमा त्रिभुवन,महेन्द्र बसुन्धरा,हिमालयहरू थिए ।

वास्तवमा राजा त्रिभुवनलाई हेलिकप्टरबाट पाल्पा लैजाने नेपाली कांग्रेसको योजना थियो । पाल्पाका कमान्डर इन् चिफ रुद्रशमशेर क्रान्तिको पक्षमा थिए । राजालाई पाल्पा लगेर सम्झौता गर्ने पक्षमा कांग्रेस थियो । यो योजना भारतले चाल पायो र आफ्नो अनुकूल सम्झौता गराउन राजपरिवारलाई नै दिल्ली झिकायो ।

राणाहरूले राजालाई यताउता निस्कन दिँदैनथे,कतै निस्कनुपर्दा राजाले श्री ३ महाराजलाई खबर गर्नुपथ्र्यो । यो बुझेका भारतीयले त्रिभुवनको परिवारलाई सिकार खेल्ने बहानामा दरबारबाट निकाल्ने योजना बनाए । नार्गाजुन क्षेत्रमा सिकार खेल्न जाने भनी निस्केको राजपरिवार इन्डियन एम्बेसी पुग्यो । भारत स्वतन्त्र भएलगत्तै शीतल निवासमा भारतीय राजदूतावास खुलेको थियो । नेपालका लागि पहिलो भारतीय राजदूतका रूपमा सुरजितसिंह मजिठिया नेपाल आएका थिए । मोहनशमशेरले राजालाई फकाउन र मिलाउन आफ्ना मानिस पठाए । तर उनीहरू सफल भएनन् । त्रिभुवनलाई लिन इन्डियन एयरफोर्सको हवाइजहाज आउने भयो । त्रिभुवनको परिवारलाई एम्बेसीकै गाडीमा राखेर विमानस्थल पुर्‍याइयो र उनी दिल्ली पुगे । (यस सम्बन्धमा ग्रीस्म बहादुर देवकोटाको पुस्तक नेपालको राजनीतिक दर्पणमा लेखिएको छ २००७ कार्तिक २१ गते श्री ५ महाराजधिराज,जेठाबडामहारानी,कान्छा बडामहारानी... समेतको सवारी शिकारको बहाना गरी हिन्द दूतावासमा पसिबक्सेको खबर...) ।

यता त्रिभुवनका नाति ज्ञानेन्द्र मामाघरमा बसेकाले दिल्ली जानबाट छुटेका थिए । मोहनशमशेरले भारदारी बोलाएर उनैलाई राजा घोषित गरे । उता दिल्ली पुगेपछि राजा भारतीयकै सुरक्षा घेरामा परे । उनीसँग कांग्रेसका नेताले पनि भेट पाएनन् । भारतीय ब्युरोक्र्याट्सको योजनामा मोहनशमशेरले एक वक्तव्य दिए,जसलाई राजाले र जवाहरलाल नेहरुले समर्थन गरे । त्यसपछि राणा प्रधानमन्त्री रहने,कांग्रेसका पाँच मन्त्री रहने गरी कोलिसन सरकार बनाउने सम्झौता भयो ।

परिवर्तनपछिको पहिलो मन्त्रिमण्डलमा भद्रकाली मिश्र मन्त्री बनेँ । उनलाई किन मन्त्री बनाउने भन्ने विषयमा कांग्रेसी कार्यकर्ताका बीचमा चर्काचर्की परेको थियो । यस घटनाको म प्रत्यक्षदर्शी थिएँ । महोत्तरीतिरका भद्रकाली मिश्रको भारततिर पनि जग्गा थियो । भारतकै चाहनामा मन्त्रीका लागि उनको नाम सिफारिस गरिएको थियो । नेपाली कांग्रेसको सदस्य नै नरहेका,कुनै कांग्रेसी नेताले नचिनेका,२००७ सालको क्रान्तिमा भाग नलिएका उनलाई मन्त्री बनाइनुले के देखाउँछ भने सात सालको क्रान्ति भारतले मजासँग हाइज्याकर्‍यो ।

बीपीले नेहरुलाई मित्र मान्थे । तर,नेपालको परिवर्तनमा आफूसँग सल्लाह लिनुपर्छ भन्ने खालको शासकीय इगो जवाहरलाल नेहरुमा देखिन्थ्यो ।

त्रिभुवन नेपाल फर्कंदा नेहरुले इन्डियन सिभिल सर्भिसका अफिसर गोविन्दनारायणलाई त्रिभुवनको सल्लाहकार र सचिव बनाएर पठाएका थिए । गोविन्दनाराण पछि उत्तर प्रदेशको चिफ सेक्रेटरी र कर्नाटकको गर्भनर समेत भए । उनैद्वारा बनाइएको इन्टरिम कन्स्टिच्युसनमा राजालाई बढी अधिकार दिइएको थियो । यसमा राजा त्रिभुवन,मोहनशमशेर,बीपी कोइराला र गोविन्दनारायणको पनि सही थियो । (गोविन्दनारायण आईसीएसको कार्य क्षेत्र सम्बन्धमा ग्र्रीस्मबहादुर देवकोटाले लेखेका छन् निम्न लिखित नियमबारेको सबै कुरामा महाराजधिराजका सेक्रेटरी श्री गोविन्दनारायण,नारायणहिटी दरबारसँग लेखापढी गर्नुपर्दछ । क) मन्त्रिमण्डलको कागजपत्र लगायत महाराजधिराजको आदेश वा सूचनाका निमित्त मन्त्रालयहरूबाट आउने सबै सरकारी साधसोध लेखापढीहरू । ख) महाराजधिराजको विशेषाधिकार प्रयोग,अनुरोधसम्बन्धी बिन्तीपत्रहरू । ग) सरकारी लेखापढी,आदि ।)

२००८ कात्तिकमा,काठमाडौंमा विरोध प्रदर्शन गरिरहेका विद्यार्थीलाई नियन्त्रणमा लिन सिपाहीले गोली चलायो,एक विद्यार्थी चिनियाँकाजीको हत्या हुन पुग्यो । यो घटनामा मृत्यु भएको परिवारप्रति प्रधानमन्त्री मोहनशमशेरले सहानुभूति प्रकट गरे यो दुःखद् समाचार सुन्दा मलाई साह्रै अपशोच लाग्यो । विछोड सहनुपरेको परिवारप्रति म सहानुभूति प्रकट गर्दछु ।

गृह मन्त्रालय मातहतका सिपाहीले गोली चलाएको विषयमा सरकारको एक स्वर हुनुपथ्र्यो । यस्तो नभएको महसुस गरी बीपीले गृहमन्त्री पदबाट राजीनामा दिनुभयो । कोलिसन सरकारको विधान अनुसार,एउटा मन्त्रीले राजीनामा दिएपछि पूरै मन्त्रिमण्डल जान्थ्यो ।

त्रिभुवनले नेहरु,गोविन्दनारायण आदिसँग सल्लाह गरे र प्रजातन्त्र स्थापनामा लडेको देशको सबैभन्दा ठूलो पार्टी कांग्रेसका सभापति मातृकाप्रसाद कोइरालालाई प्रधानमन्त्री बनाए । यसमा केही समय बीपीले विरोध गर्नुभएन । तर भारतीय हस्तक्षेपप्रति उहाँको विरोध रह्यो,विशेषतः नेपालका लागि भारतीय राजदूत चन्द्रेश्वर प्रसाद नारायण सिंहको हस्तक्षेपप्रति उहाँको विरोध थियो । विदेशी वा भारतीय हस्तक्षेपको विरोध त्यतिबेला अन्य पार्टीले पनि गरेका थिए,विशेषतः नेकपा र गोर्खा परिषद्ले । त्यतिबेला दुई खालको राष्ट्रवाद देखापरेको थियो एक खालको राष्ट्रवाद थियो कन्जर्भेटिभ,यिनीहरूको मत थियो,राणाशासन हटाउन विदेशीले भूमिका खेल्नु नै गद्दारी हो । अर्को थियो,प्रगतिशील राष्ट्रवाद ।

सात सालपछि भद्रकाली मिश्र मन्त्री हुनु,इन्टरिम कन्स्टिच्युसन गोविन्दनारायणले बनाउनू,उनी नै राजाको सल्लाहकार र सचिव हुनू यी सबैले देखाउँछ सात सालको क्रान्तिमा राजालाई हातमा लिएर भारतले हस्तक्षेप गर्‍यो ।

मातृकाप्रसाद प्रधानमन्त्री भएपछि बीपीलाई मान्छेहरूले भने तपाईं पो संगठक,नेपाली राष्ट्रिय कांग्रेसको संस्थापक । मातृकाप्रसाद तपाईं पक्राउ परेको दिन उदाएका हुन् ।

२००९ सालमा जनकपुरमा नेपाली कांग्र्रेसको पाँचौँ महाधिवेशन भयो । महाधिवेशनमा बीपीको भनाइ रह्यो एउटै व्यक्ति दुइटा पदमा रहनुहुँदैन । मातृकाप्रसाद प्रधानमन्त्री र सभापति दुवै पदमा हुनुहुन्थ्यो । यही विषयलाई लिएर कांग्रेसभित्र बेमेल सुरु भयो । उनीहरुलाई मिलाउन भारतीय नेता जयप्रकाश नारायण आउनुपर्‍यो । बीपी र जयप्रकाश मित्र थिए,बीपीले जयप्रकाशलाई मान्नुहुन्थ्यो । जयप्रकाशले भद्रसहमति गराए सरकारको कुरामा पार्टीले हस्तक्षेप नगर्ने,पार्टीको कुरामा प्रधानमन्त्रीले हस्तक्षेप नगर्ने ।

मातृकाप्रसादको सरकारमा केशरशमशेर,महावीरशमशेर,शारदाशमशेर,सुवर्णशमशेर,महेन्द्र्रविक्रम शाह लगायत मन्त्री बने । पार्टीले भने अनुसार मन्त्री बनाउनुपर्ने कांग्रेसीको भनाइ थियो । यसमा मातृकाको भनाइ रह्यो पार्टीले सरकारको कामलाई हस्तक्षेप नगर्ने हाम्र्रो सहमति छ,म मन्त्रीहरू परिवर्तन गर्न सक्दिनँ । त्यसपछि कांग्रेस कार्यसमितिले अध्यक्ष पदबाट मातृकाको राजीनामा माग्यो । पार्टीमा सबैतिर बीपीको बहुमत रहेकाले मातृकाले राजीनामा गर्नुभयो । प्रधानमन्त्री भने उहाँ नै रहनुभयो । मलाई लाग्छ,बुवा (मातृका)को त्रिभुवन,गोविन्दनारायण आदिसँग सल्लाह भयो र उहाँले कांग्रेसबाट राजीनामा दिई नयाँ पार्टी (राष्ट्रिय प्रजा पार्टी) खोल्ने परिस्थिति सिर्जना भयो । विदेशी शक्तिले जरुरत पर्दा पार्टी मात्रै होइन,सहोदर दाजुभाइ नै फुटाउन सक्छन् ।

पछि भारतसँग मातृकाको पनि फाटो पर्न थाल्यो । यसमा भित्री रूपमा चीनको प्रसंग घुसेको छ । त्यतिबेला भारतका लागि नेपाली राजदूत विजयशमशेर र नेपालका लागि चिनियाँ राजदूतबीच भारतमैै भेट भएको थियो । भेटमा समानताका आधारमा दौत्य सम्बन्ध बनाउने चीनको प्रस्ताव थियो । यो प्रस्ताव उचित रहेको जानकारी विजयशमशेरले प्रधानमन्त्री (मातृकाप्रसाद)लाई चिठीमार्फत गराए । यहीबेला विजयशमशेरको दुर्घटनावश मृत्यु हुन गयो । उनीपछि महेन्द्रविक्रम शाह भारतीय राजदूत भएर गए । उनले पनि चीनसँगको दौत्य सम्बन्धमा विजयशमशेरकै बेहोराको पत्र लेखे । चीनको चाहना थियो,यो प्रस्ताव गोप्य रहोस् । थाहा छैन,कसरी कसरी यो कुरा नेहरुलाई थाहा हुन पुग्यो । चीनसँग सम्बन्ध राख्नुअघि भारतसँग विशेष परामर्श गर्नुपर्ने भाषाको चिठी नेहरुले त्रिभुवनलाई पठाए । त्यतिबेला त्रिभुवन स्विटजरल्यान्डमा थिए । मातृकाप्रसादको मन्त्रिमण्डलले भारतको प्रस्तावलाई ठाडै अस्वीकार गर्‍यो । यहीकारण मातृकालाई प्रधानमन्त्रीबाट राजीनामा दिने परिस्थिति भारतले सिर्जना गर्‍यो ।

प्रधानमन्त्रीलाई राजीनामा दिन बाध्य पार्न सरकारले ल्याएको परराष्ट्र मन्त्रालयको बजेटलाई सल्लाहकारसभाले एक रुपैयाँ कटौती गरेको थियो,यसलाई कटमोसन भन्छन् । खर्च बढी भयो भन्दै सरकारले ल्याएको बजेट सांकेतिक रूपमा कटौती भएपछि प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने संसदीय व्यवस्थाको अभ्यास थियो,यद्यपि हामीकहाँ त्यतिबेला संसद् थिएन) । यसैमा भारतले भूमिका खेलेको बुझिन्छ । त्यसको केही समय राजाले सल्लाहकारहरूको साथमा शासन गरे । पछि २०१२ माघमा टंकप्रसाद आचार्यको प्रधानमन्त्रित्वमा मन्त्रिपरिषद् बन्यो ।

यता बीपी कोइरालाहरूले भद्र अवज्ञा आन्दोलन चलाइरहनुभएको थियो,अन्ततः २०१५ सालको आम निर्वाचनको परिस्थिति बन्यो । मातृकाप्रसाद कांग्रेसमै मिसिनुभयो तर उहाँलाई टिकट दिइएन । चुनावमा १०९ सिटमध्ये कांग्रेसले ७४ सिट जित्यो र बीपी कोइराला प्रधानमन्त्री हुनुभयो ।

१७ सालको कू

२०१७ सालको कूको पृष्ठभूमि रोचक छ । सीआईए (सेन्ट्रल इन्टेलिजेन्स एजेन्सी)का एजेन्ट डुएन आर क्लारिजले यस घटनाको ४० वर्षपछि पुस्तक लेखेका छन् अ स्पाई फर अल सिजन्स ः माई लाइफ इन् द सीआईए । २०१५ सालको चुनावका लागि बीपी कोइराला र राजा महेन्द्र दुवैले अमेरिकासँग पैसा लिएको उनको पुस्तकमा उल्लेख छ । सीआईएका एजेन्ट उनी नेपालका लागि अमेरिकन दूतावासको एक साधारण कर्मचारीका रूपमा आएका थिए । उनले पुस्तकमा लेखेका छन्, ‘मलाई बीपी कोइरालाका सचिवले भने तिमीहरू पनि प्रजातन्त्रवादी,हामी पनि प्रजातन्त्रवादी । हामीकहाँ चुनाव हुँदै छ । नेपालमा प्रजातन्त्रलाई सदृढ बनाउन तिमीहरूले आर्थिक सहायता गर । त्यसपछि मैले तत्कालीन सीआईए डाइरेक्टर एलन डलेसलाई सम्पर्क गरेँ । डलेसले पैसा दिन भने ।

डलेसले नेपालका लागि तत्कालीन अमेरिकी राजदूत जोन कुपरसँग कुरा गरी पैसा दिने प्रबन्ध मिलाए । क्लारिजको पुस्तकमा रकम उल्लेख गरिएको छैन,बीपी कोइरालाका सचिवको नाम पनि उल्लेख छैन । मलाई लाग्छ,बीपीका सचिव तुल्सी गिरी हुन् । पछि यो कुरा राजा महेन्द्रले थाहा पाए र उही इच्छा प्रकट गरे । मलाई लाग्छ,राजालाई सुनाउने पनि तुल्सी गिरी हुन् । एक साँझ,मधुरो बत्ती बलेको अँध्यारो अँध्यारो साँघुरो कोठामा राजालाई भेटेर पहेँलो खाम बुझाएको डलेसले पुस्तकमा उल्लेख गरेका छन् ।

यसरी चुनावका लागि राजाले पनि पैसा लिन्छन् र नेताहरूले पनि । एकातिर उनीहरूले बीपीलाई चुनाव जिताउन पैसा दिएका थिए । अर्कोतिर कांग्रेसलाई हराउन राजालाई पनि पैसा दिएका थिए । बीपीले पैसा अलि छिटो लिनुभएको थियो,उहाँलाई चुनावी क्षेत्रमा पैसा पुर्‍याउन समय मिल्यो । तर,राजाले अलि ढिलो लिएका थिए । त्यतिबेला यातायातको सुविधा नभएकाले कुनाकुनामा पैसा पुर्‍याउन समय लाग्थ्यो ।

मलाई लाग्छ,राजाले त्यो पैसा रंगनाथ शर्मालाई दिए । (पहिलो संसद् पुस्तकमा जगत नेपालले लेखेका छन् चुनाव हारेपछि प्रजातान्त्रिक महासभाका अध्यक्ष रंगनाथ शर्माले निर्वाचनमा धाँधली भएको भन्दै छानबिनका लागि राजासमक्ष उजुरी गरे ।)

२०१७ सालमा राजाले कू गर्दा अमेरिकनहरूले दलहरूविरुद्ध नकारात्मक खेल खेले । यसो हुनुको पृष्ठभूमि छ । त्यतिबेला चीनका दलाई लामा भारतको शरणमा आए । त्यसपछि सीआईएको योजना बन्यो,तिब्बतमा उपद्रो मच्चाउने । त्यो शीतयुद्धको समय थियो,सीआईएले मुस्ताङमा खम्पा विद्रोहको अखडा बनाउन लागेको थियो । आज पनि अमेरिकाको भित्री चासो रुस र चीन नै हो ।

खम्पा अपरेसनका लागि बीपीले अनुमति दिँदैनथे । यस सम्बन्धमा अमेरिकीहरूले केही किताब लेखेका छन् । मैले किताबको नाम बिर्सें,एक सीआईए एजेन्टले लेखेका छन् यस कार्यमा नेपाल सरकारले अनुमति नदिईकन तत्कालीन राष्ट्रपति ड्वाइट डी आइजेनहावरले अनुमति दिँदैनथे ।

यसमा अमेरिकाले राजा महेन्द्रबाट सम्भावना देख्यो र महेन्द्रलाई अमेरिका भ्रमणका लागि निम्तो दियो । सन् १९६० मा महेन्द्र अमेरिका गए । अमेरिकामा महेन्द्रको भव्य स्वागत गरियो,त्यत्रो स्वागत भारतका नेहरुले पनि पाएका थिएनन् । यसरी राजा महेन्द्रलाई अमेरिकाले उचाल्ने काम गर्‍यो । अनि,महेन्द्रमा सर्वशक्तिमान हुने चाहना जाग्यो ।

त्यतिबेला राष्ट्रपति आइजेनहावरसँग राजाको २० मिनेट गोप्य भेटघाट भएको थियो,उनीहरूबीच के कुरा भयो भन्ने कहीँ पनि प्रकाशित छैन । परिबन्धको प्रमाणले यही देखाउँछ कि त्यहीबेला सौदाबाजी भयो ठीक छ,तिमीले शक्ति हातमा लिनू र हामीलाई खम्पा अपरेसन गर्न दिनू । हामीले तिम्रो विरोध गर्दैनौँ ।

२०१७ सालको काण्डमा मेरो स्पष्ट भनाइ छ अमेरिकन र ब्रिटिस महेन्द्रका मतियार र महेन्द्रका वचनदाता स्पष्ट रूपमा थिए,यो मेरो दृढ सोच हो । परिबन्धको प्रमाण र अन्य चिजले यही देखाउँछ ।

 

(नोट : रातोपाटीकर्मी ध्रुवसत्य परियारसँगको कुराकानीमा आधारित आलेख हो यो । कुराकानीका क्रममा मातृकाप्रसाद कोइरालाका माहिला छोरा कमल कोइरालाले पिता र काकाहरूको पूरै नाम थर लिनुभएको छ, यहाँ हामीले कतिपय ठाउँमा सहजताका निम्ति नाम मात्रै राखेका छौँ । आलेखमा कोष्ठकमा आएका विवरण हामीले थपेका हौँ ।)

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।