मेरो जीवन

‘ह्यान्डसम सांसद भनेपछि विवाह भयो’

धेरै मानिस कुटेकाले पहिलो चुनाव हारेँ : मोहन बस्नेत

person explore access_timeअसोज १, २०७९ chat_bubble_outline0
तस्बिर : कृष्ण खड्का

काँग्रेसका नेता मोहनबहादुर बस्नेत पूर्वमन्त्री पनि हुन् । सिन्धुपाचोकमा २०१५ सालमा जन्मिएर १४ वर्षको उमेरदेखि नै राजनीतिमा सक्रिय बस्नेत ०३४ सालदेखि नेविसङ्घको राजनीतिमा सक्रिय रूपमा लागेका थिए । मार्सल आर्टस्का खेलाडीसमेत रहेका बस्नेतले समाज सेवासँगै राजनीतिलाई अगाडि बढाएका थिए ।


०४६ देखि पार्टी राजनीतिकमा सक्रिय बस्नेतले लामो २० वर्ष काँग्रेसको सिन्धुपाल्चोक जिल्ला नेतृत्व सम्हालेका थिए । पार्टीको १३औँ महाधिवेशनबाट केन्द्रीय राजनीतिमा आएका उनी १४औँ महाधिवेशनबाट पनि केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । यसअघि पार्टीको खेलकुद विभाग प्रमुखको जिम्मेवारी सम्हालेका बस्नेतले काँग्रेसको दैविक प्रकोप विपद व्यवस्थापन समितिको संयोजक भएर पनि काम गरेका थिए । संसदीय राजनीतिक यात्रा पनि  युवा उमेरदेखि नै थालेका बस्नेत बहुदलपछिको पहिलो आम निर्वाचनमा सिन्धुपाल्चोक क्षेत्र नम्बर १ बाट संसद्को टिकट पाएका थिए । पहिलो निर्वाचनमा उनी एमाले उम्मेदवार अमृत बोहरासँग पराजित भए ।



त्यसपछिको मध्यावधि निर्वाचनमा भने बस्नेतले टिकट पाएनन् । तर ०५६ को चुनावमा बस्नेत क्षेत्र नम्बर १ बाट एमाले उम्मेदवार अमृत बोहरालाई हराउँदै पहिलो पटक सांसद भए । त्यतिबेला बस्नेत स्वास्थ्य राज्यमन्त्रीसमेत भए ।



पहिलो संविधान सभा निर्वाचनमा बस्नेत क्षेत्र नम्बर १ मा पराजित भएका थिए । तर दोस्रो संविधान सभा निर्वाचनमा उनी एमाले उम्मेदवार अरुण नेपाललाई  हराउँदै संविधान सभामा जान सफल भए । त्यसपछि उनी सूचना तथा सञ्चारमन्त्री भएका थिए । ०७४ को निर्वाचनमा भने उनी तत्कालीन वाम गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार अग्नि सापकोटासँग पराजित भए । निडर र हक्की स्वभावका बस्नेतको सर्वसाधरण माझ समाजसेवी नेताको पहिचान छ । उनै बस्नेतको जीवनको विभिन्न पाटो रातोपाटीको ‘मेरो जीवन’ स्तम्भमा खोतल्ने प्रयास गरिएको छ । 



१४ वर्षदेखि राजनीतिमा

विसं २०२९÷३० बाट १४ वर्षको उमेरदेखि मेरो राजनीतिक यात्रा सुरु भएको हो । त्यतिबेला सिन्धुपाल्चोकमा कक्षामा ८ पढ्थेँ । त्यो समय त्यहाँ राजनीतिक विद्यार्थी सङ्गठनहरू त्यति सक्रिय त थिएनन् । मेरो परिवार पञ्चे थिए । त्यसैले मैले नेविसङ्घ भनेर सक्रियन भएर देखिनुभन्दा पनि स्कुलमा परेका विद्यार्थीका समस्यामा आवाज उठाउँथे । सर्वसाधारणको विभिन्न समसामयिक समस्यामा आन्दोलन गर्थे ।

नेविसङ्घ भनेर लागेको ०३४ बाट पाटन संयुक्त क्याम्पसमा पढ्न थालेदेखि हो । तर नेविसङ्घमा कहिल्यै पदीय राजनीति गरिनँ । २०४३ सालमा राष्ट्रिय पञ्चायतको चुनाव लड्न स्वर्गीय बेनीबहादुर कार्कीले आग्रह गरेका थिए । म काँग्रेस हुँ । पञ्चेहरूसँग चुनाव लड्दिनँ । बहुदलीय व्यवस्था आएपछि मात्र चुनाव लड्छु भनेर रहे ।

२०४८ मा पहिलो पटक सांसदको टिकट पाए । त्यो समय सिन्धुपाल्चोक क्षेत्र नं १ जुन मेरो क्षेत्र हो त्यहाँ मेरो मेरो पोजिसन राम्रो थियो । पञ्चायत कालमा पशुपति शमशेरले मलाई दुई पटक कम्मरभन्दा मुनि गोली हानेर पनि पक्रिनु भन्ने आदेश दिएका थिए । त्यसपछि धेरै पटक मुद्दा मामलामा थुने ।

बहुदल आए पनि राप्रपाको मानिस भनेपछि म एग्रेसिभ हुन्थे । गोद्ने गर्थें । उनीहरूको आमसभा घेराबन्दी गरेर लखेट्थेँ । मैले मेरो भोट १२ हजार, एमाले र राप्रपाको आठ आठ हजार हिसाब गरेको थिए । मेरो भोट १२ हजार आयो । तर राप्रपाको मानिसले मैले जित्छ भनेर आफ्नो भोट पनि एमालेलाई दिए । त्यसैले मैले चुनाव हारेँ ।

२०५६ मा मैले मेरो क्षेत्रका काँग्रेसका सबै सङ्गठनलाई एक ढिक्को बनाए । त्यसपछि आहिलेसम्म मेरो नाम मात्र सिफरिस हुँदै आएको छ । २०५६ पार्टीको निर्वाचनमा १९ हजार भोल ल्याएर जितँे । त्यतिबेला स्वास्थ्य राज्यमन्त्रीसमेत भएँ । पहिलो संविधान सभा निर्वाचनमा म क्षेत्र नम्बर १ मा पराजित भएको थिएँ । तर दोस्रो संविधान सभा निर्वाचनमा एमाले उम्मेदवार अरुण नेपाललाई  हराउँदै संविधान सभामा जान सफल भएँ । त्यसपछि उनी सूचना तथा सञ्चारमन्त्री भएको थिए । दुवै पटक मैले मन्त्री हुँदा  धेरै राम्रो काम गरेको छु । 

तर ०७४ को निर्वाचनमा भने म तत्कालीन वाम गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार अग्नि सापकोटासँग पराजित भएँ । अहिले फेरि उनी आफ्नो क्षेत्रबाट सांसद उठ्ने कोसिसमा छन् ।

पार्टीको पनि २०४६ मा जिल्ला कमिटी भएको थिएँ । त्यसपछि क्षेत्रीय सभापति र जिल्ला सचिव पछि ४ कार्यकाल जिल्ला सभापति चलाएँ । पछिल्लो समय म नेपाली काँग्रेसको निर्वाचित केन्द्रीय सदस्य हुँ । केन्द्रीय सदस्यमा यो दोस्रो कार्यकाल हो । पार्टीका अन्य जिम्मेवारी पनि बेलाबेलामा निर्वाह गर्दै आएको छु ।

देश हाँक्ने सपना

बीपीको सिद्धान्त फलो गर्दै हुर्किएको हो म । उहाँ त्यतिबेला उच्च घरनाको हुनुहुन्थ्यो । सबै मानिस मै जस्तो होस् भन्ने उहाँको धारणा थियो । सबैले खान, लाउन पाउनुपर्छ । बालबच्चाले पढ्न र सबैले औषधि उपचार पाउनुपर्छ भन्ने सोच उहाँको थियो ।

मेरो विचार पनि सबै नेपालीले उच्च शिक्षा निःशुल्क पढ्न पाऊन्् भन्ने छ । स्वस्थ्य उपचार पनि निःशुल्क हुनपर्छ भन्ने छ । विकास निर्माणमा ठूला सडक लगायत छन् । सामाजिक काममार्फत सबैको चाहना पूरा गर्न मुलुक, पार्टीलगायतको नेतृत्वसँग पुग्ने मेरो सपना नहुने त कुरै भएन । म जुन हिसाबले काम गर्दै आएको छु । जनताको समस्या समाधान गर्दै आएको छु । एक दिन देश हाँक्ने छु । मेरो उद्देश्य र सपना एक दिन देश हाँक्ने नै छ ।

म अरूलाई झुक्याउँदिँन

मानिस झुक्याउने, झूटा कुरा गर्ने, झूटा आस्वासन दिने भाषण म गर्दिनँ । यस्तो भाषण अरूले गरेको पनि मनपर्दैन । म एक्सनमा विश्वास गर्ने मानिस भएकाले व्यावहारिक, तथ्यगत र प्राक्टिकलमा आधारित र आफूले गर्न सक्ने मात्र भाषण दिन्छु र अहिले पनि त्यस्तै गर्नुपर्ने बताउँछु ।

अहिले झुक्याए भोट बढ्छ भनेर ढाँट्ने र छल्ने केही गर्दिनँ । गत चुनावमा तातोपानी नाका खोल्ने विषयमा मैले सबै व्यावहारिक पक्ष बुझाए भोट मागेँ । माओवादीका अग्नि सापकोटाले जित्ने बित्तिकै तुरुन्तै खोल्छु भन्नुभयो । मैले हरे, उहाँले जित्नु भयो । तर भोट पाएपछि उहाँ वर्षाैं गायव हुनुभयो । अहिले उहाँलाई भोट माग्न जान गाह्रो छ । मलाई छैन ।

बोलेको पुर्याउने, काम गर्ने, विकास गर्ने, दुःखमा साथ दिने जनताको मै हुँ । मैले जिल्लाको सबै भूगोल र समस्या थाहा पाएको छु ।

खानामा विशेष ध्यान

खानपिनमा म विशेष ध्यान दिने मानिस हो । दाल, भात र तरकारी सबैभन्दा राम्रो खाना हो । मलाई बढी मनपर्ने भनेको दही, दूधका परिकार र हरियो सागपात । जङ्ग फुड म खान्नँ ।

खानामा मन नपर्ने भन्ने केही छैन । धेरै पीरो खान्न । प्रायः घरकै र अर्गानिक खान्छु । नियमित एक्सरसाइजले जे खाए पनि रुच्छ र पच्छ ।

रेस्टुरेन्ट साथीभाइको सर्कलले कहिलेकाहीँ रमाइलो गर्न जाऔँ भनेको समयबाहेक जान्न ।

फिट्नेसमा सजग

फिट्नेसमा सजग छु । नियमित एक्सरसाइज गर्छु । त्यसैले त ६४ वर्षमा पनि हट्टाकट्टा छु । केही अगाडि ओरालोमा  जगिङ गर्दा खुट्टाको लिगामेन्ट गयो । त्यसका लागि ४ हप्ता प्लास्टर राखेँ ।

डाक्टरले २ महिना आराम र २ महिना फिजियोथेरापी गर्नु भन्नुभएको थियो । त्यो समय सामाजिक काम र चुनावले गर्दा रेस्ट गर्न सकिनँ । एक्सरसाइज पनि नियमित भएन । त्यो कारणले मेरो ५, ६ केजी तौल बढ्यो । अहिले खुट्टा ठीक भएपछि नियमित एक्सरसाइज गरिरहेको छु । 

पहिले मार्सल आर्टको विद्यार्थी भएकाले गेम खेल्थेँ । फिट्नेसका लागि क्लब जान्न । जगिङबाटै आफूलाई फिट राख्दै आएको छु । फिजिकल्ली आफू फिट भएन भने मेन्टल्ली आफूलाई पनि फिट राख्न गाह्रो हुन्छ भन्ने मेरो धारणा हो ।

मनपर्ने पहिरन

मनपर्ने पहिरन दौरासुरुवाल, कोट र ढाकाको टोपी हो । यो हाम्रो राष्ट्रिय पोसाक पनि हो । क्याजुअल पहिरन र सर्ट पाइन्ट पनि लगाउँछु ।

रातो, पहेँलो, नीलो, सेतो रङ पहिरनमा त्यति प्रयोग गर्दिनँ । ब्राउन, ग्रेलगायतको कलर मनपर्छ । पहिरनमा ब्रान्ड हेर्छु । थोरै किन्ने तर राम्रो किन्ने भन्ने मेरो मान्यता छ । पहिरन रेडिमेट र सिलाएको पनि लगाउँछु । टोपी र क्याप पनि लगाउने बानी छ ।

दौरासुरुवालमा सक्कली ढाका टोपी र एक्सरसाइजको समय क्याप लगाउँछु । क्यापले बाहिर हिँड्दा घाम तथा पानीबाट बचाउँछ । 

घुम्न रुचि

जुवातास नखेल्ने, मदिरा सेवन नगर्ने भएकाले घुम्न रमाइलो लाग्छ । देशभित्र घुम्दा मनोरम स्थलको अलवा साथीभाइ भेटघाट गर्ने उद्देश्यले गर्छु ।

विदेशमा पनि साथीभाइ, आफन्त भेटघाट भइहाल्छ । स्थानीय चुनावलगत्तै अस्ट्रेलिया र त्यसपछि पारिवारिक सिलसिलामा अमेरिका गएको थिए ।

म जहाँ जान्छु । त्यहाँका साथीभाइले बोलाएपछि मेरो पहिलो प्राथमिकता उनीहरू हुन्छन् । त्यो कारणले परिवारलाई कहिलेकाहीँ मसँग जाँदा घुमघाममा अप्ठ्यारो हुन्छ । 

विदेशका ३२, ३३ देश घुमेँ होला । अहिले साउथ अफ्रिका, इजिप्टलगायत केही ठाउँ जान मन लागेको छ ।

पहिले रुचि थियो

पहिले पुस्तक अध्ययनमा धेरै रुचि थियो । अहिले दैनिक पत्रपत्रिका, मन लागेका र विशेष खालका किताब फाट्टफुट्ट पढ्छु । राजनीतिका कारणले जनसम्पर्क धेरै बढ्यो, म जनसम्पर्कमा रमाउने मानिस भएकाले भेटघाटमै समय बित्छ ।

कहिलेकाहीँ रातको १ बजेसम्म पनि भेटघाट हुने भएकाले अध्ययन समय मिल्दैन । अध्ययनमा सानैदेखि वीरगाथाले भरिएका, इतिहास र राजनीतिक पुस्तक र जीवनी मनपर्छ ।

केको फुर्सद

के फुर्सद हुन्छ भन्नु । हरेक दिन बिहानको डेढ घन्टा म आफ्नो एक्सरसाइजका लागि दिन्छु । अरूलाई पनि  एक घण्टा आफ्ना लागि समय दिनुस् भन्छु । त्यसपछिको समय समाजसेवामा बित्छ ।

बाढी पहिरो, कोरोना, भूकम्प, आगलागी लगायत जुन विपत्को समयमा पनि म सबैतिर पुग्छु । हिमालदेखि पहाडसम्म, सबै स्थानमा विपदको समय मल्हम लगाउन पुग्छु ।

जहाँ अब्ठ्यारो परे पनि मलाई फोन आउँछ । जहिले पनि काम गर्न रुचाउने व्यक्ति भएकाले फिल्डको काममा बढी खट्छु । पब्लिकको काम गर्न पाए फुुर्सद आवश्यक ठान्दिनँ । मेरो भेटघाट कम भयो भने म कमजोर भएछु, मलाई जनताले छोड्न थाले, मेरो केही कमीकमजोरी भयो कि भनेर ध्यान दिन्छु ।

मार्सलआर्ट खेलाडी

पहिले त म मार्सलआर्टक खेलाडी पनि हुँ । त्यसपछि बक्सिङ पनि खेलियो । खेलमा विज्ञताका लागि भन्दा पनि  सेल्फ डिफेन्सका लागि खेलेको हो ।

स्कुल, कलेज समयमा राम्रो खेल्थेँ । मेरो विचारमा स्वास्थ र सेल्फडिफेन्सका लागि खेल अति आवश्यक छ । कसैले ठूलो कुरो गर्यो भने कोही अन्यायमा पर्यो भने म सहन सक्दिनँ ।

नर्मल बोक्छु

मसँग अहिले दुईवटा मोबाइल छन् । धेरै खस्ने, फुट्ने, हराउने र ब्याट्री चाडो सकिने भएकाले एउटा नर्मल चलाउँछु । सामाचार हेर्न, फोटो खिच्न र अन्य प्रयोजनका लागि ठूलो खालको राम्रो मोबाइल बोक्छु ।

मोबाइल फोन गर्न, समाचार हेर्न, सामाजिक सञ्जाल चलाउन प्रयोग हुन्छ । मोबाइलमा जे सुविधा छ, संसारभर जे प्रयोग गर्न सकिन्छ त्यो सदुपयोग गर्न म जाँन्दिनँ ।  

टीभी र फिल्म

टीभी हेर्छु । टीभीमा हेर्ने भनेको समाचार हो । त्यसपछि खेल र खेल समाचार हेर्छु । खेलकुदमा पनि बक्सिङ मनपर्ने भएकाले त्यो हेर्छु । 

फिल्मका लागि दुई तीन घण्टा लगातार समय दिनुपर्ने भएकाले कमै हेर्छु । लामो हवाईयात्रामा पर्यो भने फिल्म हेर्छु । घरमा बसेको समय फिल्म प्रथामिकता पर्दैन ।

फिल्म हल नगएको पनि धेरै भयो । फिल्म हेर्नुपर्यो भने सामाजिक, सन्देशमूलक र एक्सनले भरिएको मनपर्छ । 

त्यसपछि विवाह भयो

२०५६ सालमा ४१ वर्षको उमेरमा मैले मागी विवाह गरेको हो । प्रेम गरेर हिँड्ने फुर्सद कहिल्यै भएन । २०५६ म जब म सांसद भएर आएँ । त्यो समय मिडियाले ह्यान्डसम नेता भनेर मेरो समाचार छाप्यो । त्यही कारण चर्चा धेरै भयो ।

त्यही प्रसङ्गमा विवाहको कुरो उठ्यो । चिनजानमार्फत विवाहको कुरो आयो । २, ३ जना हेर्दा गरिखाने र शिष्ट व्यवहार भएको अहिलेको श्रीमतीमा देखेँ । केही समयपछि उनीसँगै विवाह गरे । विवाहपछि उनीसँगै प्रेम बस्यो । 

के भूल गरेँ र ?

केही भूल गरेजस्ता लाग्दैन । जस्तो परिस्थितिलाई पनि सामान्य किसिमले लिने मानिस हुँ म । एक समय धेरै मानिसहरू पिटेँ । त्यसले गर्दा चुनाव पनि हारेँ ।

त्यो समय पनि भूल गरेँ कि भनेर पछुतो लागेन । अहिलेसम्म मैले यो भूल गरेँ भनेर पछुतो कुनै मामलामा भएको छैन ।

खराब ढाँट्न नसक्नु

राजनीतिमा ढाँट्न नसक्नु कहिलेकाहीँ खराबी हुँदोरहेछ । मानिस जे पनि हुन्छ भनेर अप्ठ्यारो टार्ने गर्दा रहेछन् । म त्यस्तो गर्न जान्दिनँ । सीधा बोल्ने, रिसाउने मेरो खराब बानी हो ।

रिसाउँदा म सारै रिसाउँछु । रिसमा मैले धेरैलाई पड्काएको छु । मैले जिल्ला कार्यसमितिका धेरै व्यक्तिलाई कुटेको पनि छु । यो कुरोमा पछुतो पनि छैन । अहिले यो खराब बानी हो कि जस्तो लाग्छ ।

गीत नरुचाउने को ?

गीत सङ्गीत नरुचाउने व्यक्ति संसारमा हुँदैनन् भन्ने लाग्छ । मौका पाएको बेला गीतसङ्गीत सुन्छु । लोक र आधुनिक गीत सुन्छु । आफैँ जान नपाए पनि सांस्कृतिक कार्यक्रमहरूमा सक्दो सहयोग गर्ने गरेको छु ।

नेपालको लोकसंस्कृति जर्गेना गर्नुपर्छ यो हाम्रो पहिचान हो अहिलेसम्म गीत लेखेको र गाएको पनि छैन । 

कुनै रोग छैन

भगवानको कृपाले अहिलेसम्म कुनै रोग छैन । कहिलेकाहीँ ४, ५ वर्षमा जरो आउनु, रुघा खोकी लाग्नु स्वाभाविक हो ।

केको कुलत

अहिलेसम्म कुलत केही पनि छैन । जाँडरक्सी जुवातास केही लत छैन । मापसेको स्वाद त यस्तो भन्ने थाहा छैन । घरमा अलिअलि रक्सी राख्छु, सजाउन होइन, पाहुना आउँदा खुवाउन ।

मेरो घरको गाउँको बाटो छेउमा छ । घरमा कोही नखाने भए पनि आमाले कहिलेकाहीँ मानिस आउँछन् चाहिन्छ भनेर मापसे सधैँ घरमै राख्नुहुन्छ । घरमा खाने मानिस आए भने लिमिट मात्र खुवाउँछु ।

राशि ‘सिंह’

राशि ‘सिंह’ हो । ग्रह दशाको पछि लाग्दिनँ, नास्तिक पनि होइन । पूजापाठ गर्न भ्याउदिनँ, त्यो सधँै श्रीमतीले गर्छिन् । मन्दिर घुम्ने, दर्शन गर्नेगर्छु ।

मृत्यु धकेलन सकिन्छ

मृत्यु सत्य हो, नकार्न सकिन्न । तर त्यसलाई पछाडि धकेल्न सकिन्छ । मृत्युसँग लड्नुपर्छ भन्ने व्यक्ति हँु म । मृत्युपछि पनि बाँच्न सकिन्छ । त्यो कर्म हामीले गर्नुपर्छ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।