खेलकुद

राजाका ज्वाइँको खेलप्रेम

person explore access_timeअसोज २, २०७९ chat_bubble_outline0

एक वर्षभित्रै ८० वर्ष पुग्ने दौडमा हिँड्दै गरेका एक जना व्यक्तिलाई झट्ट देख्नेलाई उहाँको उमेर अड्कल लगायो भने उसले सजिलोसँग ६० या ६५ वर्ष भनेर पनि भनिदेला । कुमार मोहनबहादुर शाहीले आफ्नो शरीरलाई त्यस्तै स्वस्थकर बनाउनुभएको छ । अन्ततः मान्छेले चाहँदा आफूले आफूलाई सजिलोसँग उन्नत बनाउन सक्छ भन्ने नेपाली समाजमा शाही अर्को उदाहरण हुनुभएको छ ।    


जीवनभरि रक्सी, चुरोट नखाने, नढाँट्ने, अरूको कुभलो नचिताउने र मान्छेसँग मन खोलेर बोल्ने नेपालका ५ जनाको नाम भन भनेर मलाई कसैले सोधे– मचाहिँ एक नम्बरमा नै पनि कुमार मोहनबहादुर शाहीको नाउँ लिन सक्छु ।



५० वर्षअघि म राजधानी आएकै बेला मैले कुमार मोहनबहादुर शाहीलाई चिनेको थिएँ । श्री ५ महेन्द्रकी कान्छी छोरी श्री ५ अधिराजकुमारी शोभा शाहीलाई पनि मैले त्यसै बेलादेखि चिनेको थिएँ । त्यस बेलादेखि यस बेलासम्म शाही परिवारसँग मेरो निरन्तर एकैनासको सम्बन्ध रहँदै आएको छ । यति लामो समयसम्मको सङ्गतबाट शाही परिवारबाट मैले अर्को एउटा शिक्षा पनि लिएको छु– त्यो के हो भने ‘आफ्नो निष्ठा, कर्म र सिद्धान्तबाट विचलित हुनुहुँदैन । कसैलाई दुःख दिन हुँदैन । अनि मान्छेले मान्छेलाई सकेको उपकार गरिरहनुपर्छ ।’





कुमार मोहनबहादुर शाहीको जीवनको परिभाषा उहाँ इमानदार हुनुहुन्छ भनेर मात्र टुङ्गिँदैन । उहाँ अब्बल दर्जाको सिकारी पनि हुनुहुन्छ । त्यति मात्र नभएर उहाँ नेपालको एक नम्बरका खेलाडी पनि हुनुहुन्छ । सुरुमा फुटबल, टेबलटेनिस र पछिपछि ब्याडमिन्टनमा उहाँको ख्याति आर्जन भएको छ ।

विश्वका कुनै देशमा ब्याडमिन्टनको आयोजना हुँदा कुमार मोहनबहादुर शाहीको अनिवार्य उपस्थिति भएकै हुन्थ्यो । मानौँ, नेपालमा ब्याडमिन्टनको प्रसङ्ग आउँदा शाहीको नाम गाँसिएन भने त्यो प्रसङ्ग नै पूर्ण हुन सक्तैन । यसैले पनि उहाँलाई नेपालको ब्याडमिन्टनको पर्यायवाचीभन्दा पनि अनुचित ठहरिँदैन ।

७९ वर्षीय कुमार मोहनबहादुर शाही आज पनि त्यतिकै सरल, त्यतिकै भद्र र त्यतिकै शालीन हुनुहुन्छ । ५० वर्षसम्मको मेरो सङ्गतले मैले उहाँलाई एउटा आदर्श पुरुषका रूपमा नै ग्रहण गर्दै आएको छु । मैले मात्र उहाँको वर्णन गरेको होइन, जसले उहाँलाई एकै पटक भेट्छ ऊ उहाँको फ्यानै हुन्छ । वास्तवमा उहाँलाई साधारण मान्छे जस्तै ठाने हुन्छ । त्यसैले पनि उहाँ मबाट अझ सम्मानित हुनुहुन्छ । ‘राजाको ज्वाइँ भएर पनि हजुर किन यति सरल ?’ भनेर मैले उहाँलाई सोधेको बेला उहाँले मलाई भन्नुभएको थियो– ‘कसैको सम्मान लिन उसलाई पनि सम्मन गर्न जान्नुपर्छ ।’ वास्तवमा उहाँलाई बाङ्गो र टिङ्गो कुरा नै आउँदैन । उहाँ सरल व्यवहारकै लखपति हुनुहुन्छ ।

कुमार मोहनबहादुर शाही कलाकार पनि हुनुहुन्छ । उहाँका घरमा जराजुरीदेखि अनेक प्रकारका कलाकृति राखिएका छन् । उहाँको शब्दरचनाका गीतहरू कुमार बस्नेतलगायतका गायकहरूले पनि गाएका छन् । उहाँलाई गीतकार भनेर पनि सम्बोधन गरिन्छ । उहाँको रचनामा पहिलो गीत २०३१ सालमा कुमार बस्नेतको स्वरमा रेडियो नेपालमा रेकर्डिङ भएको थियो । 

कुमार मोहनबहादुर शाही नामी सिकारी पनि हुनुहुन्छ । खास गरेर श्री ५ वीरेन्द्र सिकारमा सवारी हुँदा उहाँको पनि प्रायः त्यतातिर उपस्थिति हुने गथ्र्याे । त्यस कालखण्डमा उहाँले जति पशुपन्छीको सिकार गर्नुभयो ती सबैको अस्थिपञ्जरको नाम र मितिसहित उहाँका घर अर्थात् शोभागृहमा सजाएर राखिएका छन् । भनौँ शाहीबाट शोभागृहभित्रै एउटा विशाल सङ्ग्रहालयको स्थापना गरिएको छ ।

कुमार मोहनबहादुर शाहीले निर्माण गर्नुभएको निजी सङ्ग्रहालय नाम मात्रको नभएर लोभिलो र गर्विलो पनि छ । यस सङ्ग्रहालयलाई अति भव्यताका साथ नै प्रदशर्न गरिएको छ । यस सङ्ग्रहालयमा उहाँले प्राप्त गरेका प्रायः सम्पूर्ण सम्मान, पदक, तक्मा, पुरस्कार र आफूले खेल्दा प्रयोग गरिएका सामग्री र पोसाकहरू सजाएर राखिएका छन् । साथै अफू सहभागी भएका ठाउँमा उहाँले जेजति ब्याज पाउनुभएको थियो ती पनि सबै सङ्ग्रहालयमा राखिएका छन् । अनि त्यहाँ जे जति तस्बिरहरु र खेलका मालमत्ता राखिएका छन् सबैमा मिति र ठेगानासमेत लेखिएका छन् । अनि उहाँले जित पारेका सिल्ड, कप र पदकहरुमा उहाँबाट हराएका खेलाडीहरुको समेत ससम्मान नाम लेखिएका छन् । त्यसैले उहाँसँग जति नजिक भयो त्यति नै उहाँ उपर श्रद्धा जागेर आउँछ । मलाई लाग्छ, नेपालमा निजी क्षेत्रमा जीवन्त खेल सङ्ग्रहालय पनि त्यही नै एउटा हुनुपर्छ । जहाँ आफूले जीवनभरि खेलेका ब्याडमिन्टनका प्रायः सबै ब्याट र लगाएका कपडा, टोपी, जुत्ता, मोजा र फोटोहरु पनि उक्त सङ्ग्रहालयका गहना बनेका छन् ।

श्री ५ महेन्द्र र मोहनबहादुर शाहीको सम्पर्क पनि ब्याडमिन्टनले नै गराएको थियो । शाहीको व्यक्तित्व र आनीबानी देखेर राजा महेन्द्रलाई लोभ लागेको थियो । त्यो बेहोरा पनि जोडिन पुग्दा मौसुफबाट शाही उपर आफ्नी कान्छी छोरीको कन्यादान गरिबक्सेको थियो । त्यति भनेर मात्र हुँदैन, शाहीका बुबा बडाहाकिम उज्ज्वलबहादुर शाहीसँग पनि राजा महेन्द्रको घनिष्ट सम्बन्ध थियो ।

इन्दिरा र मैले कुमार मोहनबहादुर शाहीको खेल सङ्ग्रहालय हेरेको यो दोस्रो पटक हो । हामीले झन्डै एक दशकअघि सो सङ्ग्रहालय हेरेका थियौँ, जुन बेला सङ्ग्रहालयले औपचारिकता ग्रहण गरिसकेको थिएन ।  

स्मरणरहोस् २०५८ जेठ १९ को दरबार हत्याकाण्डबाट कुमार मोहनबहादुर शाही जोगिनुभएको थियो । कुनै बेला ब्याडमिन्टन खेलेकै बेला उहाँको घुँडामा चोट लागेको थियो । त्यसै चोटको अप्रेसन भनौँ शल्यक्रिया गर्नुपरेका कारणले उहाँ ससुरालीको निम्तोमा दरबारको रात्रिभोजमा त्यस दिन जान असमर्थ हुनुभयो । तर, सोही रात्रिभोजमा सामेल  श्री ५ अधिराजकुमारी शोभा शाहीको भने हात र गालामा गोली लागेको थियो, जो दरबार हत्याकाण्डमा गोली लागेर जोगिने तीन जनामध्ये एक हुनुहुन्थ्यो । त्यस समय उहाँलाई भेट्न मेरी पुरोधिका इन्दिरा र म हरदिन वीरेन्द्र सैनिक अस्पताल, छाउनी पुग्ने गथ्र्यौं ।  

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।