कला

नृत्यशास्त्री भैरवले महारानी एलिजाबेथको निधनमा छाक छाडे

person explore access_timeअसोज ४, २०७९ chat_bubble_outline0

भैरवबहादुर थापाले बेलायती महारानी एलिजाबेथ द्वितीयको निधनमा एक छाक छाडे । यही २३ भदौमा एलिजाबेथको निधनको खबर जब उनले सुने, एक छाक नछाडी बस्न उनको मनले मानेन । २७ भदौमा हाम्रो भेट हुँदा ९० वर्षीय थापाले भने, ‘मैले महारानी एलिजाबेथको आत्माले शान्ति पाओस् भनेर प्रार्थना पनि गरेँ । अहिले अलि बिरामी छु, घुँडा दुख्छन् । पछिल्लो १५ वर्षदेखि बायाँ आँखामा समस्या आएको छ । सकेँ भने ब्रिटिस दूतावास गएर महारानीको शोक–पुस्तिकामा लेख्ने इच्छा छ ।’  


नेपालमा नृत्यलाई कलाको रूपमा चिनाउने, नृत्यको उत्थान र विकासमा आफ्नो सम्पूर्ण जीवन खर्चने भैरवबहादुर थापाको नृत्यकार वा नृत्यशास्त्री परिचय कसोकसो बेलायतसँग गएर ठोकिन्छ । समयले उनलाई १७ वर्षको उमेरमा ब्रिटिस आर्मी बनाएको थियो, तीन वर्ष पल्टनमा बिताउँदा उनी नृत्यकार भएर निस्के ।  



६ फेब्रुअरी १९५२ मा जर्ज सिक्सको निधन हुँदा उनी पल्टनमै थिए । जर्जको निधनमा गोर्खा रेजिमेन्टले सम्पूर्ण गोर्खाली सिपाहीलाई १३ दिनसम्म कालोपट्टी बाँधेर शोक मनाउने आदेश दियो । नेपालमा राजाको निधनमा सरकारका मन्त्री, कर्मचारी, सेना आदिले कपाल खौरिने परम्परा थियो । सोही परम्परालाई पछ्याउँदै ब्रिटिस आर्मीमा पनि गोर्खाली सिपाहीले १३ दिनसम्म शोक मनाउने चलन बसाएका थिए । भैरवले त्यतिबेलादेखि बेलायती राजपरिवारको निधनमा शोक मनाउन थालेका हुन् । 



जर्जको निधनपछि २ जुन १९५३ मा एलिजाबेथ बेलायतकी महारानी भइन् । उनको राज्याभिषेकमा भैरव रातभरि नाचे, यही खुसीमा उनले ६ महिना घरछुट्टी पाएका थिए । पहिलोपटक बिदामा आएका भैरवले पल्टन फर्कने अवसर पाएनन् । प्रजातन्त्रपछि भर्खर–भर्खर नेपाली जनताले नाच्ने–गाउने चाहना पाल्दै थिए, छुट्टीमा आएका भैरवले नाच्न सिक्न चाहने नेपालीलाई नाच सिकाएरै बस्नुपर्‍यो । 



आज भैरवले जागिर छाडेको ७० वर्षपछि एलिजाबेथको निधन भयो । नाचौँ–नाचौँ, उडौँ–उडौँ लाग्ने जवानीका दिनमा पल्टनको नुन खान पुगेको सम्झनाले भैरव भावुक भए । मानिसको स्मृतिमा अधिकांश भावकुताका घरहरू अनुभवजन्य कसीमै बनेका हुन्छन् । कहिलेकाहीँ प्रसंगवश कुनै कुनै पुराना भावुकताका घरहरूभित्र प्रवेश गर्दा मानिसलाई एक खालको शान्ति अनुभव हुने गर्छ । 

मनकामनाकादेवीका पुजारी पुर्खा

संसार विजेता शासककै कथाले भरिएका छन् । हामीले ताजमहलको कथा सुनेकै छौँ । यो स्मारक रानी प्रिया मुमताजको सम्झनामा मुगल सम्राट शाहजहाँले सन् १६३१ मा बनाएका हुन् । आफ्नो मृत्युपछि आफ्नो सम्झनामा राजाले एउटा स्मारक बनाऊन् भन्ने मुमताजको इच्छा थियो । यही कथासँग मिल्दो छ, गोरखा मनकामना मन्दिर ।

भैरवबहादुरका अनुसार, भैरवका पुर्खा लखन थापा गोर्खाका राजा राम शाहको दरबारका गुरु थिए, उनी ठूला तान्त्रिक पनि थिए । राम शाहकी पत्नी मनकामनाले लखनसँग इच्छा व्यक्त गरिन्– मेरो मृत्युपछि मेरो नामको मन्दिर बनाउनू र त्यहाँको पूजा–परम्परा तिमी र तिम्रा वंशले चलाउनू । 

‘रानीको इच्छाबमोजिम मेरा पुर्खा लखन थापाले गोर्खा मनकामनाको मन्दिर बनाएर पूजा सुरु गरेका हुन्,’ भैरव भन्छन्, ‘त्यहाँ आत्रेय गोत्रका मेरै मगर पुर्खाले पूजा गर्दै आएका छन् । राजपरिवारसँग निकट भएकाले हाम्रो पुर्खाले आत्रेय गोत्र लिएका हुन् । हामी उनै लखन थापाका वंशज हौँ । मैले यो कथा बाउबाजेबाट सुनेको हुँ ।’ 

मनकामनाको उत्पत्ति कसरी भयो भन्ने सम्बन्धमा अनेक कथा पाइन्छन् । दीपक जोशीको पुस्तक ‘मनकामना’मा उल्लेख भएअनुसार, लखन थापालाई गुरु गोरखनाथबाट सिद्धि प्राप्त भएको थियो भने राम शाहकी पत्नी लीलावतीमा दैवी शक्ति थियो । जोशीले पुस्तकमा मनकामना उत्पत्ति सम्बन्धमा अनेक कथा प्रस्तुत गरेका छन्, ती कथा भैरवले सुनाएको कथासँग हुबहु नमिले पनि उस्तै–उस्तै लाग्छन् । जोशीले उल्लेख गरेको एउटा कथा भन्छ– 

राम शाहको मृत्युमा सिद्ध लखन थापा भावविह्वल भएका थिए । सती जानुअघि रानी लीलावती (विष्णुवती)ले लखनलाई सान्त्वना दिँदै भनिन्, ‘सती गए पनि म सात महिनापछि कफेक (हाल मनकामना मन्दिर रहेको ठाउँ) गाउँमा शिलाको रूपमा अवतरित भई मनकामना भगवतीको रूपमा प्रकट हुनेछु । 

रानीले यसो भनेपछि लखन थापाले धैर्य धारण गरे । रानी र उनीबीच भएको वार्ता अरुलाई थाहा थिएन । रानीको पूर्वघोषणाअनुरूप कफेक गाउँको एउटा किसानले हलो जोत्दा फाली शिलामा अड्कन पुग्यो । के रहेछ भनी हेर्दा सो ठाउँमा शिला भेटियो, शिलाबाट रगत समेत बगेको थियो । यो खबर लखन थापाले पनि पाए । त्यसपछि उनले तान्त्रिक विधि अनुसार उक्त शिलालाई देवीको रूपमा स्थापित गराए । 

शासकका सम्बन्धमा अनेक कथा बुनिनु नौलो होइन । भैरवको पुर्खासँग जोडिएको मनकामनादेवीको कथाले भने मगर जातिको धामीझाँक्री संस्कृतिका सम्बन्धमा खोजबिन गर्ने एउटा आधार दिन्छ ।   

भैरवका अनुसार, जंगबहादुर प्रधानमन्त्री हुनुभन्दा केही वर्षअघि उनको पुर्खा गोर्खाबाट काठमाडौं आएको हो । जंगबहादुरका विश्वासपात्र बनेर उनका जिजुबाजे मानसिंह थापा काठमाडौं आएका थिए । आफू प्रधानमन्त्री भएपछि जंगबहादुरले मानसिंहलाई हजुरिया डिट्ठा बनाए । भैरवको पुर्खाले पहिले ‘बहादुर’ नभई सिंह लेख्थ्यो । वीरशमशेरका पालादेखि उनका हजुरबुवाले ‘बहादुर’ लेख्न थालेका हुन्, वीरशमशेरकै आग्र्रहमा । वीरशमशेरले ‘हामी राणाजीले त बहादुर लेख्न छाडेका छैनौँ, हाम्रो सेवा गर्ने भएपछि तिमीहरू पनि बहादुर हुनुपर्छ’ भनेपछि आफ्ना हजुरबुवा वीरबहादुर थापाको पालादेखि ‘बहादुर’ लेख्न थालेको भैरव बताउँछन् । पछि उनका हजुरबा वीरबहादुर थापा वीरशमशेरका सवारी डिट्ठा र बुवा पदमबहादुर थापा तेजशमशेरका हजुरिया डिट्ठा भए ।

उनका हजुरबुवा वीरबहादुरले वीरशमशेरको दरबारका लागि भारतबाट मुसलमान उस्ताजहरू ल्याएका थिए । लखनउका वाजिद अली शाहलाई ब्रिटिसले हराएपछि उनका भारदार सबै बिचल्लीमा परे, त्यही मौका छोपेर आफ्ना हजुरबाले त्यहाँका मुसलमानलाई दरबारमा झिकाएको भैरव सुनाउँछन् । उनीहरूले कथक नाच जान्दथे । त्यतिबेला भारतमा कथक नाच र शास्त्रीय गानकै जगजगी थियो ।

​एकपटक, शास्त्रीय गीतका सोखिन वीरशमशेरले आफूलाई संगीतका उस्ताद चाहिएको डिट्ठा वीरबहादुरलाई बताए । ‘मेरो हजुरबुवाका केही खास गुण थिए– उहाँले घोडाको रंग हेरेर आयु खुट्ट्याउन सक्नुहुन्थ्यो । उहाँ घोडा छान्न कहिले कलकत्ता त कहिले लखनऊ पुग्नुहुन्थ्यो,’ भैरव भन्छन्, ‘भारत आऊजाऊ भइरहँदा उहाँले घोडासँगै उस्ताद पनि ल्याउनुहुन्थ्यो ।’ 

उनका हजुरबुवाले मुसलमान उस्तादहरूलाई ल्याएर कमलपोखरीस्थित आफ्नै घरमा राखेका थिए । मुसलमानलाई स्थान दिएपछि टोलका मानिसले सरकारमा जाहेर समेत गरे– यहाँबाट मुसलमानलाई लखेट्नुपर्‍यो, यहाँका धाराहरूमा उनीहरूले सरोबरी गरे । त्यसपछि वीरशमशेरले मुसलमान लगायत तत्कालीन पानी नचल्ने जातिका लागि छुट्टै धारा बनाइदिएको भैरव बताउँछन् । ती धाराको उत्खनन र संरक्षण हुनुपर्ने उनको चाहना छ ।  

भावनृत्यको भावभूमि

भैरवको पढाइ पर्साको पोखरियाबाट सुरु भएको हो । त्यहाँ उनको परिवारको २५ बिघा जमिन थियो । त्यहीँनेर वीरशमशेरका सन्तान पनि बसेका थिए । वीरशमशेरका पुर्खासँग पुख्र्यौली सम्बन्ध रहेकाले भैरवको परिवार त्यहाँ बस्ने गथ्र्यो । त्यही बेला उनका बुवा डिट्ठा पद्मबहादुर थापा बडाहाकिम इन्दुशमशेरसँगै इलाममा खटिनुपर्‍यो । भैरव पनि बुवासँगै इलाम पुगे । भैरवका दाजुहरू बनारसमा पढ्दै थिए । त्यसपछि भैरव पनि पढ्नका लागि बनारस पुगे । बनारसमा कक्षा १० मा पढ्दै गर्दा उनको जीवनले नयाँ घुम्ती समायो । 

मीन पचासको छुट्टीका बेला उनी आफ्ना पहलमानदाइ श्यामबहादुरसँग घुम्नका लागि गोरखपुर पुगेका थिए । गोरखपुर पुगेर रेल स्टेसनमा चिया पिउँदै गर्दा उनका दाइको भेट एक ब्रिटिस गोरखा अफिसर हरिकान्त राईसँग भयो । उनलाई फौजका लागि केही क्लर्क (कर्मचारी) आवश्यक परेको रहेछ । कुरा हुँदै जाँदा ती अफिसरले भैरवलाई भर्ती हुन आग्र्रह गरे । कुरा गर्दै भैरवका दाजुभाइलाई टाँगा चढाएर क्याम्पमा लगियो । ब्रिटिसको ठूलो रिक्रुइट डिपो थियो त्यो । ‘त्यो देखेर मेरो दाजु पनि आकर्षित हुनुभयो । म सेनामा भर्ना भएँ, त्यसपछि पो हामी दाजुभाइबीच रुवाबासी चल्यो,’ भैरव सम्झन्छन्, ‘मलाई भर्ती हुनुपर्ने कुनै बाध्यता थिएन । सम्पत्ति प्रशस्तै थियो । मेरो लेखान्त नै त्यस्तै हुँदो हो ।’ 

यता, देश २००७ सालको क्रान्तिको लयमा थियो । उता भैरवबहादुर ब्रिटिस सेनामा भर्ना हुन पुगेका थिए । त्यसपछि उनको पानी जहाजको सफर सुरु हुन्छ, उनीहरू भारतबाट सिंगापुर जाँदै थिए । पानीजहाजमा हिँड्न थालेको एक–दुई दिनमै उनलाई उदास लाग्न थाल्यो । सूर्यको विजोग देखेरै उनको मन भरंग हुन्थ्यो । समुद्र्रमा दायाँ छेउबाट सूर्य उदाएर बायाँ छेउमा डुबेजस्तो देखिन्थ्यो । पन्छी उडेको, रुखहरू, पहाडहरू आदि देख्न नपाउँदा उनी आत्तिएका थिए । 

बनारसमा स्कुल पढ्दा उनले डम्फु (भारतमा डफला भनिन्छ) बजाउन सिकेका थिए । विद्यालयका प्रधानाध्यापकले बिहान–बिहान प्रार्थना–कीर्तन गर्दा उनलाई डफला बजाउन लगाउँथे । उनले डफला बजाउँदै हिन्दी फिल्मका गीत राम्रैसँग गाउँथेँ र गीतअनुसार अभिनय पनि गर्थे ।

पानीजहाजमा ‘ज्याज ब्यान्ड’ थियो । त्यो उदासी यात्रामा कोही कुनामा बसेर तास खेलेर बसिरहेका, कोही ब्याडमिन्टन खेलिरहेका त कोही तारो हान्ने अभ्यास गरिरहेका थिए । ब्यान्डका सदस्यले पियानो, गितार लगायत बाजाको अभ्यास गर्दै थिए । त्यहाँ भैरवले टेबोर (डम्फुजस्तै बाजा) देखे । गजाले बजाइने टेबोरसँगै तीन प्वाल भएको मुरली पनि फुकिन्छ । यो बाजा युरोपमा मध्यकालदेखि एकल ब्यान्डको रूपमा विकसित भएको बुझिन्छ । यसलाई पाश्र्व ड्रमको रूपमा पनि लिइन्छ । 

उदास सामुद्रिक यात्रामा भैरवको मनले मनोरञ्जन खोजिरहेको थियो । उनले ज्याज ब्यान्डका सदस्यसँग अनुमति लिएर बसिबियाँलोका लागि टेबोरलाई डम्फूजस्तै गरी बजाएर नाच्न थाले । उनको नाचले त्यहाँ नयाँ स्वाद दियो । डम्फू बजाएर नाच्ने नेपाली अनौठो पात्र त्यहाँ देखिएको थियो, धेरैलाई उनको चरित्र रुचिकर लाग्यो । त्यतिबेला भैरवले घरी हिन्दी त घरी नेपाली गीत गाए । ज्याज ब्यान्डका सदस्यले उनको तालमा अन्य बाजा थपिदिए, माहोल रमाइलो बन्दै गयो । रमाइलोका लागि धेरैले उनकै अनुकरण गरेर नाचेका थिए । त्यहाँ आर्मीमा रूपमा थुप्रै देशका मानिस  थिए । भैरवले त्यतिखेर अरुको नृत्यको अनुकरण पनि गरे । 

खाना खाइसकेपछि एकपटक नाच्नु उनीहरूका लागि बानीजस्तै भयो । कलकत्ताको ट्रान्जिट क्याम्पमा उनीहरू एक दिन बसेका थिए । त्यहाँको आफन्तको घरमा भैरवले एक रात नाचगान गरे । यसरी तीन हप्तासम्मको पानी जहाज यात्रामा उनी हरेक दिनजसो नाचे । सिंगापुर पुग्दा उनी आफ्नै किसिमले नाच्न सक्ने भएका थिए । ‘मभित्र नाच रहेछ । म भावनृत्यहरू गर्न सक्ने भएँ । मैले नाच्दै अभिनय गर्थें,’ भैरव भन्छन्, ‘मलाई नृत्यको नसा चढ्न थाल्यो । आर्मीको बेसिक तालिम लिँदा पनि मैले नाचका स्टेप गरेको थिएँ ।’

पल्टनमा गोर्खालीहरुले दशैं–तिहार मनाउँथे । त्यतिबेला नाचगानको सांस्कृतिक कार्यक्रम भैरवले नै गर्थे । पल्टनमा छँदा उनले संसारका विभिन्न लोकनृत्य हेर्न पाएका थिए । त्यसबाट उनले आफ््नै अन्दाजको लोकनृत्य विकास गरे र स्वदेश फर्के । 

भैरव नृत्य दल

भैरवका दाइ सिंहबहादुर थापा कांग्र्रेसका सदस्य थिए । त्यसैले देशका नेता, कलाकार, नाटककारसँग सिंहबहादुरको राम्रोे परिचय थियो । भैरव छुट्टीमा आएका बेला (असार, २०१० मा) सिंहबहादुरले भैरवको चिनजान साहित्यकार भीमनिधि तिवारीसँग गराउँदै भने– कविजी ! मेरो भाइ भैरवबहादुर नृत्यकार भएर आएको छ । 

तिवारीले २००७ सालमा ‘नेपाल नाटक संघ’ खोलेका थिए । तिवारीले कुनै ढिला नगरी भैरवलाई नाटक संघमा लगेर सबैमाझ परिचय गराए । एक दिन, नाटक संघअगाडिको चौरमा भैरवका लागि कार्यक्रम राखियो । त्यहाँ भैरवले आफ्नो नृत्यकला प्रस्तुत गर्नुपरेको थियो । भैरवले प्रस्तुत गरेको भावनृत्य हेरेपछि तिवारीले उनलाई कलाकार घोषित गरिदिए । यसरी भैरव कलाकार भए ।

त्यही साल असोजमा काठमाडौंको भुरुङखेलस्थित चौरमा नेपाल कम्युनिस्ट पार्टीको ‘अखिल नेपाल किसान संंघ’ले सम्मेलन गरेको थियो । साथी विष्णुकान्त सिलवालसँग घुम्दै भैरव भुरुङखेल पुगेका थिए । सिलवाल पुष्पलालका हितैषी साथी थिए । भैरवबहादुर कलाकार घोषित भएको कुरा सिलवालले पुष्पलाललाई सुनाए । त्यस कार्यक्रममा प्रस्तोता थिए, साहित्यकार कृष्णचन्द्र्र सिंह प्रधान । पुष्पलालले तुरुन्तै प्रस्तोता कृष्णचन्द्र्रलाई भने– भैरवबहादुरको नृत्य प्रस्तुत गर्ने प्रबन्ध मिलाउनू । 

कृष्णचन्द्रले सोधे– भैरवजी ! तपाईंले यहाँ के कस्तो कला प्रस्तुत गर्नुहुन्छ ? 

भैरवले विभिन्न भावनृत्य प्रस्तुत गर्ने बताए । कृष्णचन्द्रले सोधे– ठीक छ, तर त्यसको नाम के हो ? 

भैरवले अंग्रेजीमा भने– ‘फोल्क कल्चरल डान्स’ । 

कृष्णचन्द्रले भैरवका शब्दलाई नेपाली र नेवारीमा उल्था गरे– ‘लोक सांस्कृतिक प्याख’ (नाच) । त्यहाँ उनले तीनवटा भावनृत्य प्रस्तुत गरेका थिए । उपस्थित दर्शकले उनको नृत्य खुबै मन पराए र उनको थप नाच हेर्न माग गरे । त्यसपछि सम्मेलनमा चार दिनसम्म भैरवका लागि समय छुट्ट्याइयो । उनले त्यतिबेला ‘मलायाको नृत्य’, ‘मलाया कविता नृत्य’, ‘रुम्बा नृत्य’ र खम्बा नृत्य प्रस्तुत गरेका थिए । 

११ असोज २०१० मा जनमत पत्रिकामा ‘सांस्कृतिक प्रदर्शन’ शीर्षकमा समाचार छापियो– उक्त प्रदर्शनमा श्री भैरवबहादुर थापाले देखाएको मलायन नृत्यले खुबै प्रभाव पारेको थियो । प्रदर्शन हेर्न रोज २५ हजारको अपार जनसमूह आएको थियो । 

भैरवका अनुसार, त्यतिबेला गाईजात्रामा बाहेक अरु बेला नाच्न पाइँदैनथ्यो । नाच्यो भने उसलाई जात कटाएर थानकोट नघाइन्थ्यो । त्यतिबेला नाचगानको काम तल्लो जातका मानिसका लागि मात्र थियो । ‘नाच भन्दाबित्तिकै नाक खुम्च्याउने जमाना थियो त्यो । नाचलाई इज्जत दिलाउन मैले मलायाको नाच भनेको थिएँ,’ भैरव भन्छन्, ‘त्यतिबेला मैले लोकनृत्य भनेर नाचेको भए पनि त्यति वास्ता हुँदैनथ्यो । मलाई वास्ता गरेको खास कारण नै मलायाबाट आएको र मलाया नाच देखाएको भनेर हो ।’ 

स्काउटको नाममा नृत्य प्रशिक्षण 

भुरुङखेलको चौरमा नाच हेरिसकेपछि ५०–६० छात्रछात्राले भैरवलाई घेरे, हामीलाई पनि नाच सिकाइदिनुस् भन्दै । विशेषगरी उनलाई दरबार स्कुल, जुद्ध पब्लिक हाइस्कुल, क्षेत्रपाटीको कन्या मन्दिरका छात्रछात्राले घेरेका थिए । ती छात्रछात्राले स्काउटको अधुरो तालिम लिएका रहेछन् । विश्व स्काउटद्वारा प्रतिपादित सिद्धान्त, मान्यता र भावनासँग नेपालका बालबालिकालाई परिचित गराउने उद्देश्यले २००९ सालमा स्थापित स्काउटमा केही नेपाली छात्रछात्रा आबद्ध भएका थिए । उनीहरूलाई त्यतिबेला भारतबाट प्रशिक्षक आएर प्रशिक्षण दिएका रहेछन् । ६ महिना दिनुपर्ने प्रशिक्षण तीन महिना मात्रै दिएर भारतीयहरू गएछन् । 

त्यतिबेला खुला रूपमा नाच सिकाउन पाइँदैनथ्यो । ‘ज्यापु’ उपनामले चिनिने एक शिक्षकले स्काउटको नाममा नृत्य सिकाउन सकिने भनी भैरवलाई सुझाए । भैरवले भने– ‘म ६ महिना छुट्टीमा आएको हुँ, त्यतिन्जेल नृत्य सिकाउँछु तर तपाईंंहरूले एकै खालको पोसाक लगाएर आउनुपर्छ ।’ 

भैरवले यसो भनेपछि पोसाक किन्न नसक्ने ५–६ विद्यार्थी डाँको छाडेर रुन थाले, नाच सिक्न नपाइने चिन्ताले । ती ज्यापू शिक्षक र भैरवले उनीहरूका लागि पोसाक किनिदिने भए । यसरी भैरवले भुरुङखेलको चौरमा नृत्य प्रशिक्षण दिन थाले । त्यतिबेला त्यसरी नृत्य सिक्नु र सिकाउनु नौलो कुरा थियो । नाच सिकेको हेर्न आउनेको त्यहाँ मेला लाग्न थाल्यो । 

भैरवले चार महिनासम्म नाच सिकाउन भ्याए । त्यसपछि उनी मलाया फर्कनुपथ्र्यो । बीचमै गुरु मलाया जाने भएपछि विद्यार्थी बालकृष्ण समकहाँ गुहार माग्न गए । भैरवले बालकृष्ण सम, भीमनिधि तिवारीका नाटकमा कलाकारका रूपमा काम गर्न थालिसकेका थिए । त्यतिबेला सिंहदरबारभित्र रहेको नाटकघरदेखि उपत्यकाका विभिन्न स्थानमा नाटक प्रदर्शन गरिन्थ्यो ।

२००७ सालमा काठमाडौंमा बाल सखा दल भनेर खुलेको थियो, धनमानसिंंह परियारको नेतृत्वमा । बालकृष्ण समले जुक्ति लगाए– बाल सखा दलजस्तै ‘भैरव नृत्य दल’ बनाउने । बालकृष्ण सम तुरुन्तै भैरवको घरमा आएर भने– भैरवजी ! तपाईंले भैरव नृत्य दलको नेतृत्व गर्नुपर्‍यो । 

भैरवले समको आग्र्रह टार्न सकेनन्, यसरी २०१० सालमा ‘भैरव नृत्य दल’ जन्म्यो । त्यही संस्थाले नाचघर, नेपाल एकेडेमी जन्माएको भैरव बताउँछन् ।

भैरवले भुरुङखेलको चौरदेखि आफ्नो घर, टुँडिखेल लगायत स्थानमा नृत्य सिकाए । एकपटक उनले टुँडिखेलमा नृत्य सिकाउँदै थिए, उनलाई सत्यमोहन जोशीले देखे । सुबिस्ताका लागि जोशीले पाटनस्थित आफ्नै घरको छिँडीमा नृत्य सिकाउनका लागि ठाउँ दिए । काठमाडौंको क्षेत्रपाटी, इन्द्रचोक, कमलपोखरीदेखिका मानिस पाटनमा नृत्य सिक्न पुग्थे । 

भैरवसँग कुमार बस्नेत, भुवन चन्द, शुष्मा शाही, वसुन्धरा भुसाल, राम थापा, हरिवंश आचार्यसम्मले नृत्य सिकेका छन् । पछि उनले नेपाली चलचित्र ‘मनको बाँध’ र ‘२५ वसन्त’मा नृत्य निर्देशन गरे । मनको बाँधकी नायिका शुष्मा शाहीले भैरवसँगै नृत्य सिकेकी थिइन् ।

भैरवले विशेषतः लोकगीत अनुसारको भावनृत्य सिकाउँथेँ । उनीसँग नृत्य सिकेकी पहिलो नेपाली नायिका भुवन चन्दले सोमबार टेलिफोनमार्फत भनिन्, ‘उहाँले लोकगीतको भाव अनुसार अभिनयसँगै नृत्य गर्न सिकाउनुहुन्थ्यो । उहाँ मेरो पहिलो गुरु हो ।’

‘पुष्पलाललाई लुकाएँ’

भैरवका अनुसार, २०१७ सालमा राजाले सत्ता लिएपछि पुष्पलालको टाउकोको मोल तोकिएको थियो– दुई लाख रुपैयाँ । भैरव त्यतिबेला राष्ट्रिय नाचघरको निर्देशक थिए । अखिल नेपाल किसान संघको सम्मेलनमा नाच देखाएदेखि पुष्पलाल र भैरव साथी बन्न पुगेका थिए । भैरव भन्छन्, ‘हामी रक्सी पिउने साथी भएका थियौँ ।’

भैरवले राष्ट्रिय नाचघरनजिकै ठँहिटी जाने गल्लीको ज्याठा टोलमा रहेको एक मन्दिरमा पुष्पलाललाई लुकाए । ‘मन्दिरको बुइगलमा हामीले उहाँलाई राखेका थियौँ, जहाँ मान्छे लुकेको कसैलाई पत्तै हुँदैनथ्यो,’ भैरव भन्छन्, ‘त्यहाँ पाँच महिनाभन्दा बढी मैले पुष्पलाललाई लुकाएँ । त्यहाँका ज्यापुले उनलाई खाना पुर्‍याइदिन्थे । पुष्पलालले त्यहाँ मैनबत्तीको उज्यालोमा किताब पढेर बस्नुहुन्थ्यो ।’

भैरवका अनुसार, त्यतिबेला मोती नाम गरेका एक व्यक्ति कम्युनिस्ट समर्थक बनेर काठमाडौंमा प्रसिद्ध थिए । उनी दरबारका सिआइडी रहेछन् । तिनले प्रहरीलाई सुराकी दिए– भैरवबहादुरलाई थाहा छ, पुष्पलाल कहाँ छ भन्ने । त्यसपछि डिआइजी नारायणबहादुर सिंहले भैरवको पिछा गर्न थाले । डिआइजी सिंहले भैरवलाई प्रलोभन पनि देखाएका थिए– यदि तपाईंले पुष्पलाललाई देखाउनुहुन्छ भने तपाईंंका लागि सरकारबाट ठूलै पुरस्कार मिलाइदिनेछौँ । 

भैरवले भने– म मानवताको हिसाबले चल्ने मान्छे । सबै पार्टीका नेतासँग मेरो सम्बन्ध छ, मलाई यो खिचातानीमा नपार्नुस् । 

पुष्पलालसँग मात्रै होइन, भैरवको बिपी कोइरालादेखि टंकप्रसाद आचार्य लगायत तत्कालीन ठूलासँग  सम्बन्ध थियो । भैरवले स्काउटको तालिम दिन थालेको बिपीले थाहा पाएका थिए । त्यतिबेला काठमाडौंमा मान्छेको भीड लागेको देखेपछि सोधखोज हुन्थ्यो । 

एक दिन टुँडिखेलको पीपलको बोटमा बिपीको भाषण थियो । बिपीले भने– त्यस दिन मेरो भाषण हुनुअघि नै भैरवबहादुर थापाको नृत्यको कार्यक्रम राखिदिनू । ‘मलायाका प्रसिद्ध डान्सर भैरवबहादुरको प्याख (नाच) हुँदैछ भनेर दुई दिन अघिदेखि माइकमा प्रचार गरियो,’ भैरव पुराना दिन सम्झन्छन्, ‘बिपी बाबुको भाषण हुने, मलाया डान्सरको प्याख हुने भनेपछि नाच हेर्ने र भाषण सुन्ने दुवैथरी मानिस आउँथे ।’ 

बिपी र पृष्पलालको देश दुनियाँमै ठूलो नाम थियो । भैरवलाई नृत्यको अनुसन्धान गर्न मन भयो । त्यसपछि उनी बिपी र पुष्पलालले लेखिदिएको चिठी बोकेर गाउँगाउँ पुगे । आफ्नो नाच देखाए, अरुको नाच पनि हेरे ।

‘भैरव नृत्य दल ब्युउँताउन मन छ’ 

२०१३ असारमा भैरवले शिक्षामन्त्री बालचन्द्र शर्माको नेतृत्वमा चीन जाने अवसर पाएका थिए । त्यतिबेला नेपाल र चीनबीच प्रथम सांंस्कृतिक सम्झौता भएको थियो । भैरवले चीनका विभिन्न स्थानमा आफ्नो नृत्यकला प्रस्तुत गरेका थिए । त्यतिबेला उनको भेट नेता माओत्से तुङसँग भएको थियो । माओसँग हात मिलाएको र उनीबाट कलम उपहार पाएको प्रसंग उनी अझै पनि गर्वका साथ सुनाउँछन् । भारतमा जवाहरलाल नेहरुको अगाडि नाचेको फोटो पनि उनले सुरक्षित रूपमा राखेका छन् ।

नाचघरमा नृत्य निर्देशक बनेर उनले ११ वर्ष बिताए । उनी त्यहाँ संस्कृति विभाग अन्तर्गत लोकसेवा पास गरेर प्रवेश गरेका थिए । पछि सरकारले विभाग बन्द गरेर ‘सांस्कृतिक संस्थान’ खोल्यो । विभाग बन्द भएसँगै  हुँदा उनको जागिर गयो । त्यतिबेला सरकारी मान्छेले आफ्नो जागिर नजोगाइदिएकामा उनको गुनासो छ ।

भैरवले आफ्नो सम्पूर्ण जीवनको अनुभवस्वरूप नृत्यसम्बन्धी पुस्तक लेखेका छन्– नृत्याक्षर विज्ञान । पुस्तकमा उनले उल्लेख गरेका छन्, माओबाट उपहारस्वरुप प्राप्त फाउन्टेन पेनले यस किताब लेख्न सुरु गरेको हुँ । उनलाई यो किताब बजारमा ल्याउन ६४ वर्ष लाग्यो । 

चलचित्र एवं संस्कृतिकर्मी चेतन कार्कीले उनको पुस्तकको भूमिकामा लेखेका छन्– ‘यो नृत्यलिपि हो र व्याकरण पनि ।  ग्रन्थकार वरिष्ठ नृत्य निर्देशक भैरवबहादुर थापाको जीवनभरिको सत्प्रयास हो यो ।’ 

मदन पुरस्कार गुठीले नृत्यशास्त्री थापालाई वर्ष २०७७ को जगदम्बा–श्री सम्मान दियो । सोही वर्ष उनको पुस्तक मदन पुरस्कारको श्रेष्ठ सूचीमा समेत परेको थियो । जगदम्बा–श्री सम्मान ग्रहण गर्दै थापाले भनेका थिए, ‘मेरो कामको मूल्यांकन भएकामा खुसी लागेको छ । यतिका वर्षसम्म राज्यले नसम्झे पनि मदन पुरस्कार गुठीले मूल्यांकन गर्‍यो ।’ 

एक साताअघिको भेटमा भैरवले पछाडि फर्केर आफ्नो जीवनलाई एक झलक नियाले । दुई घन्टाजति फूर्तिका साथ बोलेपछि उनले भने, ‘कुरा लामो पो भो । म त बोल्दाबोल्दै थाकेँ । अचेल महिनामै दुईचोटि जस्तो मिडियाले मसँग कुराकानी गर्छन् । अब मलाई केही चाहिएको छैन, भैरव नृत्य दल बिउँताउन मन छ ।’ 

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।