केन्द्रीय संस्करण
शनिबार विशेष

ओशो तपोवन : ध्यान र शान्तिको गन्तव्य

person explore access_timeसाउन ४, २०७६ chat_bubble_outline0

तपोवन काठमाडौँबाट धेरै टाढा छैन । जो आउँदा पनि राति बास बसेर ध्यान गर्न मिल्ने एउटा आध्यात्मिक स्थान नेपालमा ओशो तपोवन मात्र हो । त्यहाँ हामी कसैलाई रोकतोक गर्दैनौँ । सबैले सहजै प्रवेश पाउँछन् । ओशो तपोवन स्थापना भएको ३० वर्ष भयो । स्वामी आनन्दअरुणज्यूको संयोजकत्वमा स्थापना भएको हो । अहिले यसका नेपालमा र बाहिर गरी करिब २ सयवटा शाखा रहेका छन् । यसबाट अभिप्रेरित नेपालीहरू यूके, अमेरिका र अस्ट्रेलियामा पनि छन् । तर हाम्रो यहाँको विशेषता भनेको नेपाली समाजलाई स्वास्थ जिउनका लागि अभिप्रेरित गर्ने हो र गरिरहेका पनि छौँ । जसअनुसार योगसहित दिनमा ८ वटा ध्यानका सेसन  हुन्छन् । ८ वटा सेसनमा जो पनि आउन सक्नुहुन्छ । यसमा सङ्गीतसँग सम्बन्धित ध्यानहरू, मौन बस्ने ध्यानहरू छन् । तपोवनसँग आध्यात्मिक रूपले जोडिएका आश्रमहरू पोखरामा ओशो उपवन र लुम्बिनीमा ओशो जेतवनमा  पनि यस्तै साधना विधिहरूको प्रयोग गरिन्छ ।

ओशोको दृष्टि
ओशोले कहिल्यै पनि समाज छोडेर भाग्न सिकाउनु भएन । त्याग गर्नुपर्छ, दुःखी भएर तपस्या गर्नुपर्छ भनेर कहिल्यै भन्नुभएको छैन । उहाँले त्यस्तो जीवन समग्र (होलिस्टिक) जीवन होइन भन्नुहुन्छ । उहाँको दर्शनमा भगौडापनलाई कुनै स्थान छैन । समाजमै रहेर साधनालाई नछोडी आफ्नो जीवनलाई सुन्दर बनाउने, सबैसँग प्रेमपूर्ण बस्ने अनि  साधना गरी एक्ल हँुदा पनि मौनमा आनन्दित हुन सिकाउने एक समग्र जीवनको दर्शन नै ओशोको भिजन हो ।

आफूभित्र ध्यान र बाहिर प्रेम । त्यस भिजनलाई जीवनमा समायोजन गर्यौँ भने हाम्रो समाज यतिकै पनि सुखी हुन्छ । सुखी समाज बनाउन तपोवनले धेरै सहयोग गरेको छ । मनमा विक्षिप्तता, विषाद, आघात छ भने त्यसलाई निकालेर मनलाई स्वस्थ बनाउने प्रविधि हामीसँग छ । साधनाको जगतमा ओशोको यो देन अनुपम छ । ओशोसँग नयाँ युगको नयाँ समस्याका लागि नयाँ उत्तर र समाधानहरू छन् । ओशोले शरीरको विज्ञानदेखि धारणा, ध्यान र समाधिका करिब ६ सयवटा विधिहरू दिनुभएको छ । 

त्यो प्रविधि २१औँ शताब्दीका मनुष्यलाई चाहिएको पनि छ । ओशो साहित्यको प्रसारप्रचारमा आफैले ओशोका पुस्तकहरू छपाएर पहुँचजन्य मूल्यमा उपलब्ध गराउने ओशो तपोवनको प्रयासले विचारले धनी र शान्त समाज निर्माणका ठूलो देन दिएको छ । 

हाम्रो देशमा स्वास्थ्यको खाका अझै राम्रो कोरिएको छैन । राजधानी नै धुवाँधुलोले आक्रान्त छ । जनतालाई स्वास्थ्य सेवा दिने पक्षहरू सङ्गठित भएर जनताकहाँ पुग्न सकेको अवस्था छैन । देशमा राम्रो म्यानेजर नभएको जस्तो छ । सोच छ, जानेका मान्छे छन्, व्यवस्थाले पनि काम गर्न खोजको देखिन्छ तर त्यसलाई जोससाथ प्राण भर्ने व्यक्तिको कमी छ । 

तर स्वास्थ्य व्यक्तिगत कुरा पनि हो । स्वस्थ रहने कुरा हाम्रो जीवन शैलीमा निर्भर रहन्छ । हामी नेपाली जनता कस्तो गुणस्तरका खानेकुरा खान्छौँ ? हाम्रो भोजन, जीवनशैलीमा व्यायाम, राम्रो निद्रा र हामी वरिपरिको वातावरण– यी कुराले हाम्रो शारीरिक, मानसिक, भावनात्मक, व्यावसायिक र सामाजिक जीवनलाई असर गर्छ । बिरामी भएर घरबाट निस्किसकेपछि अस्पतालको सेवा लिन कता जाने कुरा छ छँदैछ । तर बिरामी हुने कुराको न्यूनीकरणका लागि कस्तो सामाजिक जीवनशैली विकास भइरहेको भन्ने कुरा पनि त्यति नै महत्त्वपूर्ण छ । विकासको नारासँगै देशमा नागरिकको समग्र स्वास्थ्यलाई उच्च मापदण्डमा राख्नु महत्त्व हुन्छ । नत्र अस्पताल मात्र बढाउने र अनि गुणस्तरहीन औषधि खुवाउने प्रचलनले हाम्रो सामाजिक स्वास्थ्यलाई अपहरण गर्नेछ । अहिले विकसित देशहरूले सबैभन्दा बढी पैसा जीवन पद्धति मिलाउँदा अति न्यून हुने  रोगहरू जस्तै; मोटोपन, हृदयरोग, मुधमेह, बाथ, डिमेन्सिया जस्ता रोगसँग लड्नमा खर्च गरेको देखिन्छ, त्यहाँ सीमित व्यक्ति र कम्पनीले स्वास्थ्यलाई बजारीकरण र व्यावसायीकरण गरी नाफाको ठूलो स्रोत बनाएका छन् । यसबाट बच्न सरकारले बुद्धिमतापूर्वक कदम चाल्नै पर्छ । 

यान्त्रिकता शरीरलाई मान्य भएन
आजभन्दा केही दशकअघिसम्म र अहिलेको हाम्रो दिनचर्या र जीवनपद्धतिमा धेरै फरक आइसक्यो । आजका उपलब्धिले मानिसलाई शारीरिक रूपले सुस्त बनाएको छ र मानिसको जीवनमा यान्त्रिकता थपिएको छ । क्यान्सर, हृदय–रोग, उच्च रक्तचाप, मधुमेह आदि नसर्ने रोगहरू र तनाव एवं अन्य मानसिक रोगहरू घातक र महामारीका रूपमा बढिरहेका छन् । यसबाट शारीरिक र मानसिक समस्याका रूपमा मात्र होइन, आर्थिक एवं सामाजिक कार्यकुशलता र उत्पादनशीलतामा पनि प्रतिकूल असर परिरहेको छ । आधुनिक विश्वमा तनावको शारीरिककरणले गर्दा स्नायु र हृदय रोगहरू पश्चिमी गोलाद्र्धमा महामारीको रूपमा फैलिरहका छन् । यसको कारण समग्र जीवनपद्धतिलाई मिलाउन नसक्नु हो । समग्र जीवन पद्धतिमा भोजन, व्यायम, आराम र हामी वरिपरि राम्रो वातावरण पर्छन् । आयुअनुसार स्वास्थ्य कमजोर हुँदै जानु स्वाभाविक हो र तर युवा अवस्थामै मिहिनेत गर्ने बेलामा शरीर रोग र मानसिक समस्या देखिनाले मानिसलाई व्यक्तिगत, पारिवारिक तथा सामाजिक दृष्टिले कमजोर बनाउँछ । आफैप्रति विश्वास र भरोसा कम हुन थाल्छ । मानिसको उचित जीवनशैलीको व्यवस्थापनले हाम्रो स्वास्थ्यलाई निरन्तर डोर्याइरहेको हुन्छ । वंशाणुगत रूपले जीनमा रोगको खतरा भए पनि उचित जीवनशैलीले त्यसलाई धेरै कम गर्न सकिन्छ भन्ने वैज्ञानिक आधार प्रशस्त छन् । कसरी वंशाणु (जिन) बनेको थियो भन्दा पनि अहिले कसरी बनिरहेको भन्ने कुरा महत्त्वपूर्ण हुन्छ । त्यसैले वर्तमानको हाम्रो जीवनशैलीले भविष्यको हामीलाई बनाइरहेको छ । 

दोस्रो कुरा, आज विज्ञान र प्रविधिले आधुनिक युगमा एकै ठाउँमा बसीबसी जीवनका धेरै क्षेत्रहरूसँग सम्बन्धित क्रियाकलापहरू गर्ने क्षमता मानिसलाई प्रदान गरेको छ । यो ठूलो उपलब्धि हो । विज्ञान र प्रविधिले हामीलाई धरै ठाउँमा जानु नपर्ने बनाएको छ । जस्तै; अमेरिकामा मैले कुनै बिजनेस पार्टनर खोज्नुपर्यो भने इन्टरनेटमा आफ्नो कम्पनीको रुझानअनुसार खोज्न सक्ने भएँ । त्यसैगरी ऊसँग कुरा गर्न पनि सकिने भयो । एउटा सानो दायरामा बसेर ठूलो काम गर्नुसक्ने भएका छौँ । यसले ठूलो यन्त्रिकता जन्माएको छ । तर गतिशीलता आधार भएको हाम्रो शरीरलाई त्यो यान्त्रिकता मान्य छैन । दिनभरी एकै ठाउँमा बसेर ढाड  दुखाउने, हात गल्ने, काँध भारी हुने, ढाडमा नसा च्यापिने, टाउको दुख्ने, निद्रा नलाग्ने, शान्त हुन मदिरा र औषधिको सहायता लिनुपर्ने– त्यस्तो अवस्थामा बसेर हामी सुखी हुन सक्दैनौँ । पश्चिमी जीवनशैली र खानपानले हामीलाई ठूलो समस्यामा पार्नेछ । जुन पश्चिममा अहिले देखिरहेका छौँ । हाम्रो स्वास्थ्य टेक्नोलोजी छ । योग, प्राकृतिक चिकित्सा तथा आयुर्वेदको ज्ञान हामीसँग छ । त्यसलाई चटक्क बिर्सिन मिल्दैन ।  


अहिले टाउको, पेट, घाँटी अलिकति दुख्यो औषधि खायो । यो अन्धाधुन्ध औषधिको प्रयोगले हामीले हाम्रो शरीरलाई यति गलाइरहेका छौँ कि औषधिले हाम्रो शरीरमा असर देखाउने सीमाभन्दा बाहिर गइरहेका छौँ । 

स्वस्थ जीवन पद्धतिका लागि ७ सल्लाह छन् ः धूमपान नगर्ने, वजनलाई नियन्त्रण गर्ने, सक्रिय रहने (प्रत्येक दिन २२ मिनेट हिँड्ने), स्वास्थ्य भोजन गर्ने बानी बसाउने (फलफूल तथा सागसब्जी खाने), कोलेस्ट्रोल औसतभन्दा तल राख्ने, रक्तचाप सामान्य राख्ने तथा रगतमा चिनीको मात्रालाई नियन्त्रण गर्ने । यीमध्ये कुनै चार कुरालाई मात्र मान्ने हो भने मुधमेह ९० प्रतिशतले कम हुन्छ भने हृदयाघात हुने सम्भावना ८० प्रतिशतले कम हुन्छ । स्नायु प्रणाली र रक्तसञ्चार प्रणाली शान्त र दीर्घजीवी बनाउन मद्दत गर्ने ध्यानले यसमा प्रवेश पाएको छैन । माथिका सूचीमा ध्यानलाई पनि थप्न आवश्यक छ ।   
यसमा शारीरिक, मानसिक, भावनात्मक र आध्यात्मिक पाटोपन जोडिन्छ ।

हाम्रो देश सानो छ । समाजिक सम्बन्ध सौहार्द र सुखमा आधारित हुनुपर्छ, न कि वादविवाद र स्वार्थपरक जातीय राजनीतिक द्वन्द्वमा । को सुखी हुन चाहँदैन ? जीवनमा अस्वस्थकर चाहना लिनु हुँदैन । केही दिन पहिले एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको थियो । उनले किलाले घोच्दै हिँड्ने गरेका रहेछन् । उनले ४ जनालाई घोचेँ भनेर प्रफुल्ल भएको पनि उसको मनस्थिति देखियो । त्यो मानसिक विक्षिप्ताको लक्ष्यण हो । चाहना पनि स्वस्थकर हुनुपर्छ ।

बाबुआमाको अहंकार सन्तानमाथि 
शिक्षादीक्षाको पाटोमा पनि चाहनाले कुराले ठूलो महत्त्व राख्छ । यहाँ तपोवनमा पनि कुलतमा लागेका कैयौँ युवा ध्यान सिक्न आउँछन् । उनीहरूको गहिरो अध्ययन गर्दा त बाबु आमाले आफ्नो रुझान अनुसारको विषयमा भन्दा पनि समाजमा इज्जत कमाउन प्रतियोगी मानसिकताले सन्तानलाई चाहना नभएको विषयमा पढ्न लगाइदिएपछि सिर्जित भएको पाइएको छ । 

उनीहरू एक वर्ष त जसोतसो पढियो । त्यसपछि पढाइबाट फ्रस्टेसन भएर लागूपदार्थमा लागेकाहरूको सङ्गतमा फँसेर यस्तो अवस्था भएको भन्ने कुरा सुनाउँछन् । बाबुआमाले समाजअघि आफ्नो अहंकारका लागि बच्चालाई होम्ने यो कुमति सुधार्न जरुरी छ । बच्चाहरू स्वस्थ्य रूपले उत्साही मनस्थितिमा रहून् भन्ने वातावरण बनाउनुपर्छ नत्र बच्चा जन्माएर मात्र के गर्ने ? साधारण उत्तरदायित्व पनि निभाउन असक्षम हुने बाबुआमाले बेलैमा विचार पुर्याउनुपर्छ ।

सबैसँग जोडिन सक्ने प्रेरणा
जीवनमा सामाजिक सम्बन्धले पनि अर्थ राख्छ । कुन मान्छेसँग भेट्दा आफू सिर्जनात्मक होइन्छ, आनन्दभाव बढ्छ, नयाँ कुरा सिक्ने प्रेरणा मिल्छ र जीवनका नयाँ बाटा खुल्छन् भन्ने कुराको समझ आफै पनि विकास गर्नुपर्छ । मानिस एउटा कुनै देश, दर्शन र कुनै जातसँग नजोडिएर सारा पृथ्वीसँग जोडिएको व्यक्ति हुँ भन्ने भावनाको अभ्यासले साना कुराहरूले हामीलाई अल्मल्याउन सक्दैनन् । नत्र हामी यही समाजका रुग्ण अवशेषका कुरा गरेरै अमूल्य जीवन खेर जानेछ । 

जीनको अपग्रेडिङ 
हाम्रो शरीरमा १ सय अर्ब कोषहरू छन् । त्यसको केन्द्रमा अवस्थित न्युक्लियसमा भएको डीएनएले प्रवाहमान जीवनको ढाँचा लिएर बसेको हुन्छ । एक कोषमा करिब २४ हजार जिनहरू हुन्छन् । त्यही जीनको फरक संयोगले एक कोष हड्डी बन्छ भने अर्को कोष आँखाको मांसपेसी बन्छ । यो हामी सबैको आधारभूत संरचनाको मूल हो । तर जीनहरूको प्रकृति गतिशील पनि हुन्छ । मधुमेह लाग्ने जीनहरू भए पनि त्यही गतिशीलताको कारणले जीवनपद्धतिलाई मिलायो भने त्यो मधुमेह लाग्ने सम्भवाना टरेर जान्छ । यसलाई जिनको अपग्रेडिङ भनिन्छ । हल्का तर पौष्टिक भोजन स्वास्थ्यको पहिलो रहस्य हो । 
हामी जे पायो त्यही खाने गर्छौं । अक्सफोर्ड विश्वविद्यालय, कर्नल विश्वविद्यालय तथा चाइनिज एकडेमी अफ प्रिभेन्टिव मेडिसिनको सहकार्यमा २० वर्ष लगाएर सङ्कलन गरिएका ‘चाइना स्टडी’ नामक खोजको सारले के भन्छ भने सागपातमा आधारित भोजन सबै किसिमका रोगहरूको न्यूनीकरणको सबैभन्दा उत्तम हो ।  स्नायु प्रणाली, रक्तसञ्चार प्रणालीमा आधारित भएर कार्य गर्ने हार्मोनल इन्डोक्राइन प्रणाली र प्रतिरक्षा प्रणालीको सहय कार्यका लागि पनि यो भोजन उत्तम छ ।

फ्रीको पूरा रूप, यस्तो छ अर्थ 
मैले फ्रीको कुरा गर्दा पहिले ‘एफ’को अर्थ हो– फुड (भोजन) । खानाले हल्कापन देओस्, भारपन नगराओस् र त्यो खाना खाइसकेपछि शरीरमा मादकता र बेहासीपन नहोस् । सक्कली भोजन नै अति उत्तम हो । गुलियो खान मन लाग्यो भने कोकाकोला खाने वा एप्पलको जाम खाने वा एप्पल नै खाने भन्ने हो । सबैभन्दा राम्रो एप्पल नै खानु हो ।

त्यसपछि आर छ, त्यो हो– रेस्ट (आराम) । दिनभरी हामी जति काम गर्छौं, जुनसुकै कुराले पनि शरीरको शक्तिलाई क्षय गरिरहेको हुन्छ । त्यसको स्रोत एउटा खाना हो भने अर्को राति सुत्दा पाउँछौँ । सुत्दा ब्रेन कति गहन आरामको अवस्था पुग्न सक्यो । त्यसैको आधारमा हामी बिहान ताजा र हल्का हुन्छौँ । रेस्ट पनि दुई प्रकारको हुन्छ । एउटा बेहोसीको र अर्को होसको । निद्रा बेहासी आराम हो भने ध्यान होसमा रहेर विश्राम गर्ने कला हो । ध्यानमा मस्तिष्कको अल्फा स्थितिमा पुग्न सहज हुन्छ । जसमा मानिसको ऊर्जालाई केन्द्रीकृत गर्ने क्षमता र समस्या समाधानका लागि उपयुक्त पृष्ठिभूमि बन्ने अवस्थाको सिर्जना हुन्छ । ध्यानको अभ्यास गर्ने व्यक्तिले सकारात्मक पक्षहरू जस्तै; करुणा, सम्मान, प्रेम जस्ता गहन भावहरूको अभ्यास गर्ने हो भने त्यसले हामीलाई भित्रैबाट स्वस्थ, मजबुत र शान्त बनाउँछ ।   

योगाभ्यासपछि गरिने योगनिन्द्राको अभ्यासका पनि गहन महत्त्व छ । उच्च रक्तचाप, हृदयरोग, डाइबेटिज जस्ता रोगहरूमा योगनिन्द्राको अभ्यासले धेरै ठूलो फाइदा गरेको अनुभव छ । यो होसपूर्ण निन्द्रामा हाम्रो स्नायु प्रणाली विस्तारै रिसेट हुन्छ । जसमा एकै चाटि रोगका धेरै लक्षणहरू हराउँछन् । यो गतिलो रामवाण अभ्यास हो । 
यस्तै ‘ई’ भनेको इन्भारोन्मेन्ट (वातावरण) हो । हामी कस्तो वातावरणमा बस्छौँ धेरै महत्त्वपूर्ण छ । धुलो उड्ने ठाउँमा बसेर वा कुनै वक्ताले रत्नपार्कमा धुलो खाएर राम्रो भाषण गर्न सक्छ त ? मन्त्रिपरिषद्को बैठक रत्नपार्कको चोकमा गर्छु भन्दा हुन्छ ? हुँदैन नि । 

इन्भारोमेन्ट भर्सेस जिन– यो ठूलो विवादको विषय थियो । जिनमा लेखेको भएपछि भएरै छोड्छ भनिन्थ्यो । तर अहिले वातावरणले त्यसलाई परिवर्तन गरिदिन सक्छ भन्ने वैज्ञानिक प्रमाणहरू यथेष्ट छन् । आजभन्दा २० वर्ष पहिला जिनको कुरा अन्तिम सत्य हो, त्यसलाई परिवर्तन गर्न सकिँदैन भन्ने थियो । तर अहिले यो बुझाइमा ठूलो परिवर्तन आएको छ ।  

जिनमा क्यान्सर, लागू औषधिको कुलत या अन्य कुनै रोगको लक्षण छन् भने पनि राम्रो र उचित वातावरण प्राप्त भयो भने ती रोगले पक्डन सक्दैनन् । त्यसैले वातावरण पनि धेरै महत्त्वपूर्ण हो । आजभन्दा ५० वर्षअगाडि अमेरिकामा मानिसलाई जति क्यान्सर लाग्थ्यो, जापानका मान्छेलाई त्यसको ५ गुणा कम लाग्थ्यो । तर अहिले जापानीहरू पनि अमेरिकाकै हाराहारीमा क्यान्सरबाट पीडित छन् किनभने जापानीहरू पनि अमेरिकी तौरतरिकाको भोजन खान थालेका छन् । 

अर्काे ‘ई’ हो एक्सरसाइज (व्यायाम) । यो अति नै महत्त्वपूर्ण कुरा हो । नियमित व्यायाम गर्ने व्यक्तिको रगतमा कन्फिडेन्स हार्मोन नामले चिनिने टेस्टेस्टोरेन हार्मोनको मात्रा बढी हुन्छ । त्यस्तो मानिसमा मजबुत आत्मविश्वास हुन्छ । तनाव कम हुन्छ । चुस्ती र स्फूर्ति हुन्छ । जुन सफलताका प्राप्तिमा उत्पन्न चुनौतीपूर्ण परिस्थितिलाई सामना गर्न आवश्यक हुन्छ । व्यायामले शरीरका हाडजोर्नी तथा मांसपेसीलाई मजबुत बनाउँछ भने प्रत्येक कोषमा ऊर्जाको अतिरेक भइरहेको हुन्छ । व्यायाम गर्ने व्यक्तिले कमै औषधिले रोग निको पार्न सक्षम हुन्छ । व्यायामा मन, शरीर र भावना एक हुन्छ । अरू समयमा हामीले यी तीनै कुरालाई जोड्न सक्दैनौँ । यो समग्र स्वास्थ्यको एक सबल पक्ष हो । 

काठमाडौँमा ४० प्रतिशत मानिसमा निन्द्रा नलागेर डिप्प्रेसनका कुनै न कुनै औषधि खाइरहेका छन् भनिएको छ । अरू ५० प्रतिशतलाई डिप्रेसन हुन लागेको थाहा छैन रे । १० प्रतिशत ठीकठाक छन्–  उनीहरू महत्त्वाकाङ्क्षाको दौडधुपमा लागेका छैन ।

नेपालका फ्यान, तपोवनका पर्यटक
हाम्रोमा प्रत्येक वर्ष करिब १८ सय पर्यटक आउने गर्छन् । विमानस्थलबाट सीधै तपोवनमा आउने विदेशीहरूले नेपाल सरकारलाई ४ करोडभन्दा बढी बुझाएका छन् । ओशो तपोवनका आचार्य स्वामी आनन्द अरुण वास्तवमा नेपालका अवैतनिक राजदूत नै हुनुहुन्छ ।

विश्वका करिब २० देशमा उहाँले नेपाललाई चिनाउन गरेको प्रयास ठूलै छ । तपोवन आउने पर्यटक आध्यात्मसँग जोडिएका हुनेले उनीहरूको आत्मा नेपालसँग सधैँ जोडिएर बसेको हुन्छ । उनीहरू आफ्नो देश फर्किंदा नेपालको न्यानो माया लिएर जाने गर्छन् । त्यसैले उनीहरू हाम्रा अवैधानिक राजदूतहरू पनि हुन् । यहाँ जो पनि आउँछ, नेपालको प्रशंसक भएर जान्छ । ती मान्छेले दालभात, तरकारी, तातोपानी, नमस्कार भन्न सिक्छन् र नेपाली संस्कृतिलाई कहिल्यै नबिर्सिने गरी हामीसँग आत्मीय भएर जान्छ । पुनः पुनः नेपाल आउँछन् । यो मेन स्ट्रिमको टुरिजमभन्दा पनि आध्यात्मिक टुरिजम हो । आध्यात्मिक टुरिजममा सबै होटलमा जस्तो सुविधा दिनुपर्छ, प्रेम पनि त्यतिकै दिनुपर्छ ।

त्यसैले यो टुरिजममा हाम्रो उत्तरदायित्व बढी छ । तपोवन नेपालको टुरिजमको ब्याकबोन हो । हामीले सिकाउने ध्यान र प्रेमले हाम्रा पाहुनाहरूसँग एक अलौकिक सम्बन्ध स्थापित गरेको छ । हामीकहाँ आउने विदेशी मित्रहरू लामो समयसम्म बस्ने गर्छन् र फर्किंदा नेपालप्रति गौरव, सद्भाव लिएर जाने पाहुनाहरू ल्याउन तपोवनले काम गरेको छ । हामी भौतिक पूर्वाधारको दृष्टिले अझै पनि पर्यटक मैत्री हुन सकेका छैनौँ । पर्यटनलाई विकास गर्ने हो भने सहज सार्वजनिक यातायातको विकास हुनुपर्छ । राम्रो सफाइ भएका सडक, गल्ली, चोक र खुल्ला स्थानहरूको विकास गर्नुपर्छ । नेपाल पर्यटनमा ठूलो सम्भावना बोकेको देश हो । हाम्रा सहरहरू पर्यटकहरूका लागि बनेकै छैनन् जस्तो लाग्छ । पर्यटकहरू सहरमा समय विताउनुभन्दा पनि हिमाल र प्रकृतिमा सीधै जान रुचाउँछन् । 

प्रकृति, योग, आध्यात्म र संस्कृतिले हामीलाई विश्वमा चिनाउँछ । यसैलाई केन्द्रमा राखेर सरकारले आफ्ना मातहतका निकायलाई तयार गर्नुपर्छ । राजदूतहरू पठाउँदा देशको संस्कृति, योगको ज्ञान दिएर पठाउनुपर्छ । भौतिक विकासमा हामीले गर्व गर्न गाह्रै होला तर हाम्रो पुरातन संस्कृति र अनुपम प्राकृतिक सम्पदामा भने हामी गर्व गर्न सक्छौँ । तर त्यसलाई पनि विश्वसामु राख्न आफ्नो युनिक आइडेन्टिटीलाई बुझ्नुपर्छ । 

विश्व ध्यान दिवस घोषणा हुन जरुरी 
विश्व योग दिवस प्रत्येक वर्ष मनाइन्छ । स्वामी आनन्द अरुणले विश्व ध्यान दिवस मनाउन संयुक्त राष्ट्र सङ्घमा नेपालले प्रस्ताव लानुपर्छ भन्नुभएको छ । यसका धेरैको ध्यान गएको छैन । विश्व स्वास्थ्य सङ्गठनले सन् २०३० मा मानसिक समस्या धेरै मासिनहरूको मृत्युका कारण हुनेछ भनेर भविष्यवाणी गरेको छ । मानसिक समस्यामा न्यूनीकरणका लागि ध्यानको ठूलो भूमिका छ । साथै ध्यानले मानिसको विचार र भाव बीचको द्वन्द्वलाई कम गर्ने वा मेटाउने भएकाले विश्व शान्तिका लागि पनि ध्यानलाई अझ व्यापक, सार्वलौकिक र सार्वदैशिक बनाउन जरुरी छ ।

ध्यानले कुनै पनि विषयवस्तुमा केन्द्रित हुने क्षमता प्रदान गर्छ । तनाव, चिन्तालाई कम गर्छ । मनमा स्पष्ट सोच्ने, मनन गर्ने पृष्ठभूमि तयार गर्छ र भावनात्मक बेचैनीलाई नियन्त्रण गर्छ । उच्च रक्त चाप र कोलेस्टेरोल र मधुमेहलाई कम गर्छ । कुलत तथा आफैलाई हानि गर्ने व्यावहारमा मुक्त हुन सहयोग गर्छ । उच्च सिर्जनात्मकता प्रदान गर्छ, जीवनलाई प्रफुल्लित राख्ने कला प्रदान गर्छ र व्यावसायिक कार्यदक्षता बढाउ“छ । आफैलाई राम्ररी बुझ्न र स्व–स्वीकार गर्ने क्षमताको वृद्धि हुन्छ । परिवारका सदस्यहरू तथा मित्रपरिजनहरूस“ग सौहार्दता बढाउने क्षमता दिन्छ । जीवनमा आनन्द, प्रेम र स्वतःस्फूर्तताको वृद्धि हुन्छ । जीवनको उद्देश्यलाई गहन रूपले बुझ्ने क्षमता प्रदान गर्छ । यो जीवन जगतस“ग ‘वसुदैव कुटुम्बकम्’ सम्बन्धलाई उजागर गर्दै मानिसलाई आध्यात्मको एक उच्चतम शिखरसम्म पुर्याउन सक्छ ।  

आजको युगमा शारीरिक रोगभन्दा मानसिक रोगले अझ विकराल रूप लिइरहेको छ । मानसिक रोग भनेको यस्तो अवस्था हो, जतिखेर व्यक्तिमा चिन्ने, बुझ्ने र सिक्ने मनको संज्ञान क्षमताको ह्रास हुन्छ र यसबाट व्यक्तिले व्यवहारमा भावनात्मक नियन्त्रण गर्न सक्ने क्षमता गुमाउ“छ । यसको असर मनोवैज्ञानिक, जैविक विकासमा देखिन्छ, जसले उसको सामाजिक, व्यावसायिक जीवनलाई प्रतिकूल असर पार्छ । 

      डाक्टरहरू भन्छन्– ८० प्रतिशत शारीरिक रोगको जरो पनि मानिसको मनमै हुन्छ । कुनै पनि रोग साइको–सोमेटिक हुन्छ अर्थात् शरीरको रोगको कारण मनमा र मनको रोगको छाप शरीरमा परिरहेको हुन्छ । 

    २१औँ शताब्दी तनाव, हाइपरटेन्सन, हृदय रोग, मधुमेह, अनिद्रोपन, डिप्रेसन तथा अन्य सयौँ किसिमका  अनेकौँ मनोरोगले गाँजिएको शताब्दीमा परिणत भएको छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार संसारमा प्रत्येक ४० सेकेन्डमा एक व्यक्तिले आत्महत्या गर्छ । यो मानसिक असन्तुलन आतङ्कवाद, पारपाचुकेदेखि जुवाताससम्म, मानसिक विशाददेखि आत्महत्यासम्मको रूपमा देखिएको छ ।

    यस्ता मनोरोगलाई दीर्घकालीन रूपले रोकथाम गर्नेे ध्यान एक अचुक उपाय हो । त्यसैले आज ध्यानको लहर पनि विश्वव्यापी हुँदैछ । पश्चिमी र पूर्वीय विकसित देशका विश्वविद्यालयमा यस विषयमा गहन खोज र अन्वेषण भइरहेको छ । प्रतिवर्ष ५०० भन्दा बढी शोधपत्र ध्यानको सम्बन्धमा प्रकाशित हुन्छन् । 

    आधुनिक युगमा मनुष्य अनेक प्रकारका मानसिक रोगहरूबाट पीडित छ र यो पीडितहरूको सङ्ख्या बढ्दै गइरहेको छ ।  डाक्टर, मनोवैज्ञानिक तथा समाजशास्त्री एक रूपले सहमत भइसकेका छन् कि ध्यान यसको एक निरापद र अचुक उपाय हो । विश्वव्यापी रूपमा ध्यानप्रति अभिरुचि जागेको छ र आजकल डाक्टरहरूको प्रेस्क्रिप्सनमा पनि योग र ध्यानले स्थान बनाइसकेको छ । योग त व्यावसायिक रूपमै स्थापित भएको परिप्रेक्षमा आजको अब अर्को आवश्यकता ध्यानको विश्वव्यापकता नै हो । सन् २०१५ मा १ अरब डलर पुगेको ध्यानको विश्वप्यापी बजारमा अहिले स्मार्टफोनहरूमा ध्यान गर्न सहयोग गर्ने १ हजारभन्दा बढी एप्पसहरू उपलब्ध छन् । त्यसैले विश्व ध्यान दिवस अवश्य रूपमा यो दिशामा फड्को मार्ने एक कोसेढुङ्गो सावित हुनेछ । 

यो हामीले अहिले नै बुझेर उचित कदम चाल्यौँ भने नेपालको विश्वमञ्चमा इज्जत बढ्नेछ । त्यसैले नेपाल सरकारले यसमा यथाशीघ्र कदम चाल्न जरुरी छ । 

(स्वामी आनन्द अर्हतसँगको कुराकानीमा आधारित । उनी ओशो तपोवनका ध्यान प्रशिक्षक हुन् ।) 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...