केन्द्रीय संस्करण
लोक बाजा

केटी फकाउन प्रयोग गरिने एउटा यस्तो बाजा

person explore access_timeसाउन २३, २०७६ chat_bubble_outline0
कुवेर गिरी

रातोपाटी

बाजाको काम के होला ? प्रायः सबैको उत्तर उस्तै हुनसक्छ, बाजाको काम मनोरञ्जन दिनु हो । उत्सव, समारोह देखि गीतहरुमा प्रयोग हुने बाजाको श्रुतिमधुरताले हाम्रो दिल बहलाउने काम गर्छ । तर तपाईंले थाहा नपाएको यस्तो अचम्मको बाजा पनि छ जुन केटी फकाउन प्रयोग गरिन्छ । यस्तो बाजा अरु कुनै देशको नभएर हाम्रै देशको मौलिक बाजा, जुन तपाईंले काठमाडौंको त्रिपुरेश्वरमा रहेको लोकबाजा संग्राहालयमा देख्न पाउनुहुनेछ । 

केटी फकाउने लोकबाजाको नाम हो मुर्चुङ्गा । लोकबाजा संग्राहालयका संरक्षक रामप्रसाद कँडेलले यो बाजा विश्वकर्माहरुको प्राचिन बाजा रहेको बताए । उनले भने–‘जुनबेला हाम्रो पुर्खाले फलामको फाली बनाए, करुवा बनाए । औजारहरु बनाए । यो समय यो बाजा पनि बनेको हो ।’ यो बाजा ठाडो पारेर राख्दा त्रिशुल जस्तो देखिन्छ । अर्काे हिसाबले राख्ने हो भने शिवलिङ्ग जस्तो देखिन्छ । 

नेपालको पहिलो र एक मात्र लोकबाजा सङ्ग्रहालय ‘राष्ट्रिय लोक बाजा सङ्ग्रालय’ जुन अहिले त्रिपुरेस्वरमा छ । त्यसका संरक्षक हुन् रामप्रसाद कँडेल । उनकै एकल पहलबाट स्थापित भएको हो सङ्ग्रालय । एक दुई गरेर उनले अहिले सङ्ग्रालयमा ६ सय ५५ प्रकारका बाजा सङ्कलन गरिसकेका छन् ।

ती बाजाहरुको ऐतिहासिक, धार्मिक, जातीय लगायत सबैको आआफ्नै महत्त्व छन् । सङ्ग्रहालयमा राखिएका बाजामध्ये कतिपय बाजा युद्धमा प्रयोग भएका, प्रयोग हुने छन् त कति धार्मिक पूजापाठको महत्त्व बोकेका छन् । सङ्ग्रालयमा रहेका केही बाजा यस्ता पनि जुन बाजा केटाले केटी फकाउन वा युवायुवतीले मायाप्रेम गास्न समेत प्रयोगमा आएका छन् ।

आफ्नो आध्यात्मिक गुरुका लागि गुरुदक्षिणा दिन नेपालमा लोकबाजा सङ्ग्रालय स्थापना जस्तो चुनौतीपूर्ण काम गरेका रामप्रसाद कडेलसँग सङ्ग्रालयमा सजाइएको थुप्रै बाजा मध्य १० बाजाको विषयमा गरिएको कुराकानी उनकै शब्दमा ।

सारङ्गी 

सारङ्गी नेपाली बाजा मध्येमा धेरै पुरानो मानिन्छ । यो गाइने जातिको बाजा हो । घरको खट्टे प्वालमा गुँड लगाएर बस्ने सारङ्ग भन्ने चरा छ । त्यो दुई चराले एकअर्काेसँग कम्युनिकेसन गर्दा उनीहरुले मधुरो मैनाको जस्तो जुन आवाज निकाल्छन्, त्यही स्वरबाट हाम्रो पुर्खा अभिप्रेरित भएर सारङ्गी बनेको हो ।

सारङ्गीको बनावाट मानिसको जस्तै छ । गाइनेले यो बाजा घरको पिँढी वा आगनको डिलमा टुक्रुक्क बसेर बजाउने भएकाले यसको आकार मानिस त्यो आसन शैलीमा तयार गरिएको हो ।

यो नेपाली गन्धर्वले आफैले बनाएको बाजा हो । बाजाको सबैभन्दा माथि टाउको छ । त्यो सारङ्ग चराको टाउको जस्तै छ । त्यसपछि तार कस्ने तीनवटा चुकुल हुन्छ । त्यसलाई मुर्रा भनिन्छ । मुर्रा भनेको हाम्रो कान जस्तो हो । कान निमोठेपछि तह नलागेको व्यक्ति पनि तह लाग्छ भनिन्छ । त्यसैले तारलाई तन्काएर सुर लगाउने काम मुर्राले गर्छ । त्यसपछि स्वर छुट्याउने काठ हुन्छ । त्यसलाई सुन्नरी भन्निछ । यसले सुर छुट्याउने काम गर्छ ।

बीचमा सुकेको भाग हुन्छ । त्यसलाई घाँटी भन्निछ । बीचमा ह्वाङ्ग भएको भाग छाती हो । भोटो खोल्दा मानिसको छाती पनि त्यस्तै देखिन्छ । त्यसपछि छाला मोडेको भाग हुन्छ । त्यो पेट हो । तार नटासियोस् भनेर घोडी (घोडाको आकार) राखिएको हुन्छ । तार अडाएको पुच्चछरको भाग नाभी भन्छन् ।

यसको तार कालरात्रिमा पूजा गरेको बोकाको आन्द्रामा ८, ९ प्रकारको जडीबुटी हालेर पकाएर बनाउने गरिन्छ । त्यो तार तल्लो सप्तकमा जोडेर बनाइन्छ । ‘सारङ्गी’ पिङ्गुल छन्दमा बज्ने गर्छ । यो छन्दमा पहिले मन्त्रहरु हुन्थे । यसमा सातवटा सुर हुन्छ । त्यो सात स्वरबाट उनीहरुले गीत गाउँछन् ।

गन्धर्व भन्ने वित्तिकै गायन कलामा निपुण हुन्छन् । उनीहरु एक गाउँबाट अर्काे गाउँमा सुखदुःखका कुरा गीतमार्फत ओसार्ने भएकाले उनीहरु समाचार प्रवाह गर्ने व्यक्ति पनि हुन् । गन्धर्व दिउँसै घरघर हिँड्ने भएकाले पृथ्वी नारायण शाहले सूचना सङ्कलनका लागि समेत प्रयोग गरेको पाइएको छ ।

सारङ्गी युद्धमा पनि प्रयोग हुन्थ्यो । युद्धमा घाइटे भएका, थकित भएका शोका डुबेलाई जोस्याउन, थकान मेटाउन र दुःख भुलाउन गाइने र गाइने प्रयोग भएका पाइन्छ ।

गोरखकाली ढोल 

जब पृथ्वीनारायण शाहले अग्ला ठाउँमा काठमाडौँ आक्रमणका लागि गढी बनाउनुभयो । गढीबाट किल्लाबन्द युद्ध भयो । त्यो गढीमा बजाउनका लागि उहाँले यो गोखरकाली ढोलको विकास गर्नु भएको हो ।

गढी आक्रमणको समय मानिस जुटाउन, उनीहरुलाई यसो गर उसो गर भन्न, यस्तोबाट यो प्रहार गर, दायाँबाट हान बायाँबाट हान कराएर बोलीले बुझाउन मिलेन ।

किनभने त्यसरी बुझाउँदा दुस्मनले पनि भाषा बुझ्ने र थाहा पाउने भएकाले त्यतिखेरको बानरदार अर्थात दमाईहरुबाट एउटा सङ्गीत अर्थात धुनको विकास भयो । त्यो धुनका आधारमा सैनिकले भाला, खुकुरी, छेलो वाण, घुँएत्रो के हान्ने, कसरी लडाइँ लड्ने, कसरी फर्कने, दायाँबाट आक्रमण गर्ने कि, बायाँबाट आक्रमण गर्ने कि, एकै चोटि आक्रमण गर्ने कि, पालैपालो आक्रमण गर्ने लगायत सबै प्रकारका करिब दुई सयभन्दा बढी धुन सिर्जना गरे ।

गोखरकाली ढोल तामाको एकदमै ठूलो बाजा हो । त्यसको मुख पातलो छालाले मोरिएको हुन्छ । त्यो बजाउन दुईवटा गजा तयार पारिएको हुन्छ । त्यो ढोलको एक मुखमा एक गजोले हानेर संगीत निकाल्ने गरिन्छ । यो ऐतिहासिक बाजा हो । सुगौली सन्धिपछि हामीले खासै लडाइँ गर्नुपरेको छैन । सेनाले यो बाजा बिर्सियो । अनि बाजा नासिँदै गयो ।

नगरा 

नगरा सूचना दिने एउटा रेडियो मानिन्छ । नगरा दिव्य र दम गरी दुई प्रकारको हुन्छ । अहिले पनि हनुमानढोका अगाडि ठूलो नगरा छ । पहिले नगरा बजेपछि त्यसको सूचनाका आधारमा मानिसले अब के हुन लागेको छ भन्ने सजिलै थाहा पाउँथे ।

हामी जसरी अहिले एकहोरो शङ्ख बज्यो भने मानिस मरेको रहेछ भन्ने बुझ्छौँ । दोहोरो शङ्ख बज्यो भने पूजा रहेछ भन्ने थाहा हुन्छ । त्यस्तै त्यो बेलाका लडाइँको सूचना दिन नगरा प्रयोग हुन्थ्यो ।

पहिले हनुमानढोकाबाट काँगडासम्म नगरामार्फत सूचना थाहा पाउँथे । हुनमानढोकाको नगरा बजेपछि दहचोकले सुन्थ्यो । त्यसपछि उसले बजाउँथ्यो । त्यो पारिकाले सुन्थ्यो । पारिकाले सुनेपछि उसले पनि बजाउथ्यो । त्यसैगरी सूचना पारिसम्म पुग्थ्यो ।

नगरा राजकीय सूचना दिने साधन पनि हो । सानो नगराले युद्धको साइत दिने गर्छ । नेपाली सेनाको आआफ्नो पल्टनमा सानो नगरा हुन्छ । त्यो जहाँपायो त्यहीँ बजाउन मिल्दैन । पहिले युद्ध बिहान सुरु भएर साँझ सकिन्थ्यो । लडाइँको साइत दिने र लडाइँ समाप्त भएको घोषणा गर्दा यो बजाउने गरिन्छ ।

नगरा तामाबाट बनेको हुन्छ । त्यसमा गोरुको छालाले मोरिएको हुन्छ । यो बजाउँदा दुईवटा गजले बजाइन्छ ।  त्यसका लागि सती वा सालको गज चाहिन्छ ।

तरुङ्गा 

यो पनि नेपाली सेनाको बाजा हो । यो तामाको काम गर्ने कालीगढ वा विश्वकर्माले बनाउने गर्छन् । तीन ठाउँमा घुमेको यो चर्काे स्वरले बजाउने बाजा पनि हो । युद्धको समय पल्टनहरु आउँदा, जाँदा चर्काे स्वरले बजाउने गरिथ्यो ।

भीमसेन थापाको पालादेखि यसको व्यापक प्रयोग भएको पाइन्छ । किनभने त्यति बेलादेखि नेपालमा पल्टनको व्यापक विकास भएको पाइन्छ । त्यो बेला पल्टन कन्ट्रोल गर्न र एक कम्पनीबाट अर्काे कम्पनीसँग सूचना प्रवाह गर्न यो बाजा तयार गरिएको हो ।

यो दुई जनाले एकै चोटि फुकेर बजाउने गरिन्छ । यो बाजा बानरले बजाउने हुन् । सेनामा उनीहरुको दरबन्दी हुन्छ । तर पैसा थोरै पाउँछन् ।

नागफणी 

यो जोगीहरुको बाजा हो । नाथ सम्प्रदायको बाजा पनि भनिन्छ । यो बाजा सर्पले मुख बाएको आकारको हुन्छ । विशेष गरेर मनकामनाको मन्दिरमा बजाइने बाजा हो ।

मनकामना काठमाडौँका बज्राचार्य र गोर्खालीको मिलन बिन्दु हो । त्यहाँ विशेष तान्त्रिक पूजा गर्ने बेलामा काठमाडौँमा बज्राचार्य जाने गर्छन् । बज्राचार्यले मनकामना मन्दिरभित्र पूजा गर्दा उनीहरुले पढेको मन्त्र अरूले नसुनुन् भनेर बाहिर दुई जोगी बसेर यो नागफणी बाजाउने गरिन्छ ।

५, ६ पटक सर्प जस्तै घुमेको र सर्प आकारको यो बाजा तामाले बनेको हुन्छ । यो बाजा मनकामनाबाट गोरखनाथ जाने बेला पनि जोगीहरुले बजाउँदै जाने चलन पनि छ ।

हुड्को 

यो दमाई जातिको बाजा हो । यो डमरु जस्तो आकारको यो बाजा काँधमा भिरेर बजाउने गरिन्छ । यसमा घन्टी पनि झुन्ड्याइएको हुन्छ । यो बाजाको पट्टी मात्र बजाउने हुन्छ । यसमा साथ दिने ढोलहरु पनि हुन्छन् । सुदूरपश्चिम र पश्चिम नेपालमा हुुड्केहरु छन् ।

यो बाजा बजाउनेलाई हुड्के भन्निछ । हुड्केलाई भारत भन्ने पनि गरिन्छ । भारत भनेको त्यतिखेर वीरलाई बुझाउँथ्यो । ती हुड्केले वीर पुरुषहरुको गाथा हुड्को बजाएर सुनाउँथे । अभिनय गर्थे, टोल टोलमा चाहर्थे । मानिसको घरघर गएर हाम्रा नेपाल वीरहरुको भूमि भनेर बुझाउँथे ।

यो बाजा पहिले काठबाट बन्थ्यो । अहिले तामा र पितलको पनि बन्न थालेको छ । यसको दायाँबायाँ पातलो छालाले मोरेको हुन्छ । यसको कम्बरमा समाएर बजाउँदा मीठो आवाज निस्किन्छ ।

मुर्चुङ्गा 

यो विश्वकर्माहरुको बाजा हो । यो बाजा धेरै प्राचीन बाजा पनि हो । जुनबेला हाम्रो पुर्खाले फलामको फाली बनाए, करुवा बनाए । औजारहरु बनाए । यो समय यो बाजा पनि बनेको हो ।

यो बाजा ठाडो पारेर राख्दा त्रिशुल जस्तो देखिन्छ । अर्काे हिसाबले राख्ने हो भने शिवलिङ्ग जस्तो देखिन्छ । उल्ट्याएर हेर्ने हो भने ओम अक्षर जस्तो देखिन्छ ।

तर यो एकै प्रकारको मात्र हो । पहिले यो फलामको बन्थ्यो । अहिले तामा र सुनको पनि बनाउन थालिएको छ ।

यो एक्लै हिँड्दा डर नलागोस्, रमाइलो होस् र यात्रा सहज बनोस् भनेर बजाउने बाजा हो यो । यो बाजाको उकाली चढ्दा, ओराली झर्दा, चौतारीमा बस्दा, केटी फकाउँदा फरक फरक धुन छ । यसबाट धेरै भाका र बोलहरु निस्किन्छन् ।

यो रमाइलो खालको बाजा हो । यस्तो बाजा विश्वका धेरै देशमा पाइन्छ ।

असिने ड्याग्रो 

बाजा त्यसै बनेको हुँदैन । हरेक बाजा निर्माणका आआफ्नै कारण छन् । त्यो केका लागि किन बन्यो भन्ने हुन्छ । देशको पहाडी भेगमा मकै रोप्ने र गहुँ काट्ने बेलामा ठूलाठूला असिना पर्ने गर्छ ।

त्यो असिना रोक्न हाम्रा पुर्खाहरुले ढ्याङ्ग्रो बजार तान्त्रिक विधिबाट त्यसको निराकरण गर्थे ।

तान्त्रिकले ढ्याङ्ग्रो बजाएर तान्त्रिक विधिबाट बालीमा पर्ने असिना खोलामा र डाढामा पार्ने गर्थे । उनीहरुले मानिसको मकै, गहुबाली नस्ट नहोस् भनेर त्यसो गर्थे । वर्षको दुई पटक उनीहरु डाँडामा गएर एक महिना ढ्याङ्ग्रो बजाएर बस्थे । बाली सुरक्षित गर्थे ।

उनीहरुले त्यो गरेबापत मकै, धान र गहुँ पाउँथे । यो नेपालको विशिष्ट तान्त्रिक पद्धति मानिन्छ । तान्त्रिकहरुले बादलसँग कम्युनिकेसन गरेर माथिबाट झरेको असिना एक ठाउँमा पार्ने र अन्न बाली बचाउने गर्थे ।

ढ्याङ्ग्रामा  हरिण र बाख्राको छाला हुन्छ । यसलाई एस आकारको कुकुर दाइनाको गजोले बजाउने गरिन्छ ।

पञ्चमुख वाद्य

पाँचमुख भएको यो बाजा पशुपतिनाथको पूजा गर्दा बजाइने गरिन्छ । पशुपतिनाथको पाँचवटा मुख छ । शिवको मन्त्र पाठ गरेर कुन दिशातर्फ फर्किएको मुखको पूजा गर्ने हो । बाजाको पनि त्यही मुख बजाउने गरिन्छ ।

यो शैवहरुको बाजा पनि हो । यो बाजा बौद्धकाल र त्योभन्दा पहिले पनि रहेको पाइएको छ । अहिले यो तामाको हुन्छ ।

पाँच मुखमध्ये बीचको मुख ठूलो छ । चारतिर सानो सानो हुन्छ । अहिले यो बाजा लोप भएको छ । पहिले पहिले यो बाजा काठको हुन्थ्यो । अहिले हामीले तामाको बनाएका राखेका छौँ । यसमा बाख्राको छाला मोरिन्छ ।

फातुङ्ग 

यो लिम्बुहरुको बाजा हो । फा भनेको बाँस हो । बाँसबाट बनेको भएकाले यसलाई फतुङ भनिएको होला । यसको एकातिरको मुखमा आँख्लो हुन्छ । अर्काेतिर खाली हुन्छ । त्यसको बीचमा चोया हुन्छ । चोयामा सानो र ठूलो गरेर दुई प्रकारको राखिएको हुन्छ ।

दुईवटा चोयालाई जोड्ने एउटा जिब्री हुन्छ । त्यो जिब्री चलाएपछि टुङ्टुङ गरेर आवाज निस्किन्छ । बाजाको काथी रहेको खुल्ला मुख हातले छेक्यो भने फा सुनिन्छ । छोड्यो भने तुङ्ग सुनिन्छ । त्यसैले यसलाई फातुङ भनिएको हो ।

यो पूर्वी नेपालका लिम्बुहरु, कटाकेटी जम्मा भएको समय, रमाइलो गर्ने, मायाप्रेम साट्दा बजाउने बाजा हो । यो सानो र घाटीमा भिर्न सजिलो बाजा पनि हो । पाँचथर लगायत जिल्लामा यो बाजा अझै चलन चल्तीमा छ । पछिल्लो पुस्ताले भने यो बाजा बिर्सिएका छन् ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...