केन्द्रीय संस्करण

मेरी आमा

person explore access_timeसाउन २५, २०७६ chat_bubble_outline0

म जब कुनै सफलताको नजिक पुग्छु त्यो सफलतामा रमाउन आमा आइपुग्छिन् । जब असफलताको मारमा चिन्ताग्रस्त हुन्छु सम्झाउन आमा नै आइपुग्छिन् । जब हर्षले अच्चम्भित हुन्छु, 'हय ! जेई !!' भन्दै आमालाई नै सम्झिन्छु । जब चोटपटक वा रोगब्याधीले औधि सताउँछ, 'अया ! जेई !!" भन्दै आमालाई नै पुकार्छु ।

हो म ती ज्यालाई आमा भन्नथालेको धेरै भैसक्यो, तर 'आम्मै नि !' भन्ने उद्गार मेरो मुखबाट किमार्थ निस्कँदैन । स्वतःस्फूर्त 'जेई' नै निःसृत हुन्छ ।

ती ज्यालाई मैले कहिलेदेखि आमा भन्न थालेँ हुँला ? जान्ने रहरले आफ्ना स्मृतिका पानाहरु पल्टाउन थालेँ, पलपल, घडी, प्रहर, दिन, महिना, वर्षका मसिना तथा मोटा पानाहरु फरररर । जब धेरै तलतल र परपर पुगेँ, स्मृतिपानाहरु मधुरिँदै जान थाले । म त्यहाँसम्म पुगेँ जहाँसम्म मैले मुश्किलले ज्या र आमाको अनुहार छुट्याउन सकेँ । पुस्तकका पानाहरुका पृष्ठसंख्याजस्तै स्मृतिका प्रत्येक पानाको पृष्ठान्तमा आमाको अनुहार पृष्ठाङ्कित भएको भेटिँदो रहेछ । माथिका पानाहरुमा पृष्ठसंख्यामा सिमित मेरी आमालाई जतिजति तलका पानाहरुमा खोज्दै गएँ, बिस्तारै पृष्ठान्तबाट माथितिर उक्लँदै गइन् र पानाको पेटमा आफ्नो अग्रस्थान ओगट्दै गइन् । अन्तिम अन्तिमतिरका अत्यन्तै मधुरा पानाहरुमा त ज्या नै ज्या मात्र थिइन् । आह ! कस्तो बिडम्बना !! जुन पानाहरुभरि ज्या नै ज्या मात्र स्मृतिअक्षरहरु भरिएका थिए, तिनै पानाहरु मधुरा र पढ्नै नसकिने भैसकेछन् ।

०००

हो म त्यहाँसम्म पुगेँ जहाँसम्म पुग्न सक्थेँ । बाल्यकालको प्रारम्भिक अवस्थासम्म पुगेँ र त्यतै अडिएँ ।

म आफ्ना हातखुट्टा छिन्कीछिन्की एकनाशले "जेइ ! जेइ !" स्वर निकाल्दै चिच्याइरहेको थिएँ । यतिबेला म मेरा दुई दिदीहरु र एकजना दाइको बाहुपासमा बाँधिएको थिएँ । गाउँको प्राथमिक स्कूलको बेन्चमा बसेका अरु बच्चाहरु अनौठो मानेझैँ मेरो चर्तिकला स्तब्ध भएर हेरिरहेका थिए । त्यतिबेलाकी प्राणभन्दा प्यारी 'ज्या'को आगमनको प्रतिक्षामा मोटामोटा आँशु बगाउँदै रोइरहने म नै थिएँ ।

म कतिसम्म भाग्यमानी भने बच्चाकालमा मेरो धरालो तीनतीनजना दिदीदाइहरुले गर्थे र उनीहरुसँगै म उमेर नपुग्दै स्कूल जान थालिसकेको थिएँ । अहिलेकी मेरी आमा त्यतिबेला 'ज्या' मा मात्र सिमित थिइन् । उनी आफू काम र मेलापातमा निस्कँदा मलाई दिदीहरुको जिम्मा लगाउँथिन् । दिदीहरुको उमेर थोरैले फरक भए पनि उचाइ तथा बालसुलभ स्वभावमा उस्तैउस्तै थियौँ । जबसम्म ज्या कामबाट फर्किन्थिनन्, त्यसबेलासम्म म दिदीहरुको हातेपासोभित्र कैद भएर 'जेई ! चाँरि आइजाऊ क्या मेरी जेई !' भनी रोइरहेको हुन्थेँ । मलाई तिमाल्न दिदीहरुको तेह्रौँ प्रयास असफल हुन्थ्यो र मसँगै उनीहरु पनि रुन थाल्थे । मलाई तिमाल्न 'ज्या' नै आइदिनुपर्थ्यो । ज्या मेरो नगिच आइदिएपछि म आँशु पुछ्दै उनको काखमा घुस्रन्थेँ । उनले गर्नसक्ने कुरा नतिम्लिउन्जेल मलाई काखमा राखेर आफ्नो सुख्खा दूध चुसाउनु हुन्थ्यो ।  दूध सुकिसकेका लाम्टा चुस्दा उनलाई साह्रै पीडा हुन्थ्यो रे ।  म कान्छो सन्तान भएकोले चारपाँच वर्षको उमेरसम्म पनि ज्याका दूध चुसिरहने सौभाग्य पाएको थिएँ । चारपाँच वर्षसम्म त ज्याका दूध के आउँथे ? ज्या मेरो लतबाट हैरानी खेपेपछि मलाई त्यो लत छुटाउन आफ्ना दूधमा खुर्सानी वा तीतो टर्रो चिज आफ्ना स्तनमा दल्थिन् रे ।

बारम्बार दूध तीतो र पीरो हुन थालेपछि मैले ज्याको दूध चुस्न छाडेर आफ्नै भोटीको फेर चुस्थेँ रे । स्मृतिको धुमिलताले गर्दा कुन 'रे' हो र कुन 'हो' हो छुट्याउन मुश्किल भैरहेको छ यतिखेर ।

०००

म सानैदेखि दूधदहीको असाध्यै भोगी । कराहीमा दूध उम्लिन नथाल्दै बटुका लिएर चुलोको डिल नछाड्ने । मोही पार्न थाल्नुअघि नै दही थाप्न बटुको ल्याएर बाको अघिमुख आइहाल्ने ।

'यो त खाएर कहिल्यै अघाउँदैन' भन्दै कुनै दिन ज्याले सिङ्गै ठेकी दही मेरो हात लगाइदिइन् । पूरै दहीले भरिएको ठेकी मैले उचाल्न त के हल्लाउन पनि सक्तिनथेँ । मद्दतको लागि दाइलाई पुकारेँ । मभन्दा दुई वर्षले मात्र जेठो ठूलदाइ सानैदेखि बलियोबाङ्गो, जोडदार जिउको ।

'आइज कान्ठा !' भनेर मलाई बोलाउँदै ठूलदाइले ठेकी घिसार्दै बाल्दारीतिर लगे । म खुशी हुँदै बटुका समातेर दाइको पछिपछि लागेँ ।

"थाप् दै ।" भन्दै मैले हलचल गर्न नसकेको ठेको दाइले सजिलै तेर्छो पारिदिए । ठेकी जति बाङ्गो पारे पनि जमेको दही बटुकामा खस्दै खसेन । दाइले दही झार्न नसकेपछि म ठेकी हल्लाउन तम्सिएँ । दाइले बङ्ग्याइसकेको ठेकोलाई ढलाउन के गाह्रो थियो र ? मैले छुने बित्तिकै ठेको ग्वाम्लाङ्ग भुइँमा ढलिहाल्यो । दही हुतुतुतुतु थाल बटुकामा भरिएर बार्दलीभरि पोखियो । बार्दलीको खापखापबाट तर आँगनभरि पोखियो ।

 

हाम्रो यो बिठ्याइँ देख्नेबित्तिकै ज्या आएर दाइलाई तीनचार झापट लगाइदिइन् । दाइले पिठ्यूँ र टाउकोको चोट मुसार्दै गर्दा ज्या मतिर झम्टिन आइपुगिन् । आफ्नो आङमा ज्याले छाडेको हात नपर्दै "अया जेइ नि !"  भन्दै म डाँको छोडेर चिच्याउन थालिहालेँ । त्यो चिच्याहटले ज्याका एक चड्कन बाहेक थप खानुपरेन । तैपनि धेरै चुटाइ खाएझैँ म धेरैबेरसम्म हिक्कीहिक्की रोइरहेँ । दाइले आफ्नै दुई हत्केलाले बटुकाको दही उबाएर मेरो मुखमा हालिदिन थाले, मैले मान्दै मानिन र हातखुट्टा छिन्कँदै चिच्याइ नै रहेँ । आखिरमा ज्यालाई अब कहिले पनि पिट्दिन भन्ने किरिया खुवाएर ज्याकै काखमा बसी उनकै हातबाट दही खुवाउन लगाएपछि मात्र म तिम्लिएँ । त्यतिबेला अरुको भन्दा ज्याको पिटाइ बढी दुख्दथ्यो । तर जुन दिन ज्याको पिटाइ खाइन्थ्यो त्यसै दिन झन् दिनभरि नै ज्यालाई छोड्न मन लाग्दैनथ्यो ।

०००

म अलिकति ठूलो भैसकेको थिएँ । विदाका दिनहरुमा दाइलाई पछ्याएर गाई-गुवाला जान्थेँ । त्यसबेला गिरी खेल (डण्डीवियो) र कन्नेबल (पिठ्यूँमा बलले हिर्काउने खेल) केटाकेटीहरुमा खुबै प्रचलनमा थियो । घरका आँगनहरुमा खेल्दाखेल्दै साथीका ज्याबा आएर आफैसँग खेलिरहेको साथीलाई पिट्दै लग्दा साह्रै नै नरमाइलो लाग्थ्यो । तर गुवाला पुगेपछि भने दिनभरि मनलाग्दो खेल खेल्ने सुविधा हुन्थ्यो ।

 

गिरीको यति लत बसेको थियो कि रात पनि नपरिदिए हुन्थ्यो झैँ लाग्थ्यो । शुरुशुरुमा दाइहरुले गिरि खेलेको रमाइरमाइ हेरिरहेको हुन्थेँ । लौरोले गिरी धेरै पर उछिट्याएपछि दाइले मेरो विशेषज्ञता उपयोग गर्दै गिरि टिप्न मलाई अह्राउँथे । म दगुर्दै गएर गिरि उछिट्याएको ठाउँदेखि चार-आठ-बाह्र-सोह्र-बीस 'एकघरी', चार-आठ-बाह्र-सोह्र-वीस 'दुईघरी' भन्दै गिरीले भुइँ नाप्दै गिरि खसेको ठाउँसम्म पुग्थेँ । गिरीले भुइँ नाप्दा अरुले बढी घरी आउने गरी तिकडम र छलछाम गरी एकै ठाउँमा गिरि फननन घुमाएको देख्थेँ तर आफूले त्यो विधि जान्दिनथेँ । त्यसो गर्दा प्रतिद्वन्द्विले थाहा पाए भने 'निमान् ! निमान् !' भन्दै नियमापत्ति गरिहाल्थे ।

गिरि खेलको फाइदा के भैदियो भने स्कूलमा नसिक्दै एकदेखि तीनचारसयसम्म सजिलै फररररर गन्न सक्थ्यौँ । चारका दुना चार-आठ-बाह्र-सोह्र-बीस गुरूले नसिकाउँदै जानिसकेका थियौँ । अहिले गणित विषय बढी मन पर्नुको कारण यो हुनसक्छ ।

 

एकाबिहानै गुवाला गएको बखत एकदिन खेलमा यति जम्यौँ कि अँध्यारो भएको पत्तै भएन । अँध्यारो हुनथालेपछि बल्ल थाहा भयो कि 'हामी त गाईबल्ल(गाईगोरु) ल्याएर गुवाला पो आएका थियौँ केरे ?' अनि धुइँधुइँति गाईबल्ल खोज्न थाल्यौँ । भेटिए पो ? वरपर जताततै खोजेर पनि केही सिप नलागेपछि रित्तोहात लुरुलुरु घरतिरै फर्कियौँ । घर नजिक पुगेपछि गाईबल्ल घर नजिकको गोठको किलामा बाँधिइसकेको माथिबाटै देख्यौँ र हराएका रहेनछन् भन्ठानी ढुक्क भयौँ ।

 

जसै बिरालो चालले घरको आँगन के टेकेथ्यौँ ज्या आएर अघि लागेका दाइलाई रामधुलाई गर्न थालिहालिन् । हाम्रो चालाले रिसले आगो भएकी ज्या हाम्रो पूजा गर्न पहिलेदेखि नै सिर्केनो लिएर तमतयार भैसकेकी रहिछन् भन्ने हामीलाई के थाहा ? बा भने हामीप्रति अलिकति उदार नै थिए । उनका रिस ढिला उठ्थे र बाका रिस नउठुन्जेल ज्याले नै यो जिम्मेवारी पूरा गर्थिन् ।

उता दाइले चुटाइ खाइरहेका थिए यता म "ऐयायायाया !!" भन्दै चिच्याइरहेको थिएँ । पहिले नै चिच्याएमा चुटाइ खानबाट जोगिइन्छ भन्ने बुझेको हुँदो हुँ । यो पटक भने मेरो पूर्वचिच्याहटले पनि काम गरेन । दाइलाई मर्मत गरेर छोडेपछि ज्या मतिर झम्टिन आइन् र मलाई उसरी नै चुट्न थालिहालिन् । यो अनुभव मेरो लागि अभूतपूर्व थियो ।

"अब खेल्दिन क्या जेइ । छार्देउ नमार !" भनेर जतिपटक भने पनि छाडे पो ! कोलोहालो मच्चाउँदै जति पुकार चित्कार गरे पनि ज्याले सुन्दै सुनिनन् ।

ढलेका दाइ उठेर भाग्न खोज्दै थिए, ज्याले चालपाएर मलाई र दाइलाई एउटै डोरीले हातखुट्टा बाँधिदिई आँगनमै लडाइदिइन् । आफू भने घरभित्र पसिन् । आँखाबाट आँशु र नाकमुखबाट र्‍यालसिँगान छोडेर स्वर मिलाईमिलाई भाका फेरीफेरी हामी दुईभाइ केहीबेरसम्म अँध्यारो आँगनमा रोइरह्यौँ । दाइले स्वर कम गर्दै लगे र मलाई फकाउन थालेः "अब नरो कान्छा । ज्या भित्र गइहालिन् । ज्याले अब मार्दिनिन् ।" दाइको यो शान्त्वनाले मेरो रुवाइ केही कम भयो ।

एकछिनपछि ज्या त सिस्नो र पानी ल्याएर घरबाहिर निस्किन् र हाम्रो नजिक आइन् ।

त्यो देखेर सातोसतारो हराएसरि म तर्सिएँ । अनि "ऐयायायायाया, त्यो यता नल्याऊ क्या जेई" भन्दै चिच्याउन थालेँ । पिट्दा पनि हत्पति नरुने दाइ त्यो देखेर मसँगै "ऐयायायाया !" गर्दै चिच्याउन पो थाले । हाम्रो नजिक आएपछि सिस्नो पानीमा चोप्दै हाम्रा पिँडौला र कुइना खोजीखोजी झप्पाझप हान्न थालिन् । हानेको ठाउँमा सिरिक्क पोल्थ्यो र शिरसम्मै झनननन झ्वाँला छुट्थे । हामी पीडाले जति चिच्याए पनि ज्या थामिँदै थामिइनन् ।

हातखुट्टामा असह्य पीडा भयो । पूरै शरीर सिस्नोको पोलाईले झमझमाउन थाल्यो ।

"अब कहिल्यै पनि गिरी खेल्दैनौ क्या जेइ ! हाम्लाई नमार क्या जेई !!" भन्दै ज्याका हातखुट्टा ढोक्नथालेपछि बल्ल उनी होशमा आइन् र बररररर आँशु झार्दै भनिन् : "तिमीहरु पढेलेखेर ठूला बनौला भन्ने कत्रो इरादा थियो मेरो ? तिमीहरु त नचाइने काममा लागेर लफङ्गा हुनेभयौ । मेरो ईच्छा माटोमा मिलाइदिने भयौँ तिमीहरुले । म तिमीहरु बिग्रिएको देख्न चाहन्न । फेरि पनि यसै गर्‍यौ भने ढिकमनि पुगेर म हामफालेर मर्नेछु ।"

हामीले अब गिरि खेल लगायत कहिले पनि नराम्रो काम गर्नेछैनौँ भन्दै कान समात्यौँ । बाले आएर हातखुट्टाका डोरी फुकाइदिए । हामी दुखाइले खोच्याउँदै भित्र गएर ओछ्यानमा पल्टिएर हिक्कीहिक्की रुनथाल्यौँ ।

खाना पाकेपछि ज्याले दुईभाइलाई खाना खान उठाइन् । जति सम्झाए पनि र जति डर देखाए पनि दाइ भने उठ्दै उठेनन् । मलाई भने ज्याले बोकेरै चुलोको छेउमा पुर्‍याइन् । आफ्नै हातले भात मुछिदिएर सिस्नोको डर देखाईदेखाई

थालभरिको भात नख्वाई ज्याले छोड्दैछोडिनन् मलाई ।

ज्याले हरेक राति सुत्नुअघि कथा र शिलोक हालिदिन्थिन् । गाउँछ गीत नेपाली भन्ने गीत र रामायण असाध्यै मीठो लयमा सुनाउँथिन् । हामीलाई त्यसको अर्थ पनि लगाइदिन्थिन् । हामी चारभाइबैनी त्यो सुन्दासुन्दै भुसुक्कै निदाउँथ्यौँ ।

आज पनि ज्याले कथा सिलोक र गीत सुनाउन खोजिन्, सकिनन् । दिदीहरु पनि भाइहरुलाई यसरी पिटेकोले ज्याको विरोधमा नखाएरै सुतिदिएका थिए । दाइले पनि भोक हडताल शुरु गरेका थिए, के सुनून् कथाहरु ।

ज्या भन्दै थिइन्

"मेरो लागि होइन । मैले तिमीहरुकै भविष्यको लागि पिटेकी हुँ !"

बालाई र मलाई खाना खुवाइसकेपछि बिछ्यौनामा आइन् र दाइलाई एकापट्टि र मलाई अर्कोपट्टि काखी च्यापेर थमथमाउन थालिन् । ज्याले खाना खाएकै थिइनन् । सबै भाइबहिनीलाई नखुवाई आफू खाँदै खाँदिनथिन् । दाजु र दिदीहरु भोकै सुतिदिएकोले उनी पनि आज भोकै परिन् ।

हातखुट्टा सिस्नोको चिलाईले पोलिनै रहेको थियो । अँहँ निद्रा लाग्दै लागेन !

"अझै निदाइनस् ?" मेरा सजल आँखा खुल्लै देखेपछि ज्याले फेरि हप्काइन् "निदाइनस् भन् फेरि ल्याउँछु सिस्नो ?"

बलजफ्ती आँखा चिम्लनै पर्‍यो । दाइले भने सिस्नोको पोलाइ पनि खेपेछन्, निदाएर स्वाँस्वाँ गर्न थालिहाले । मैले फेरि सिस्नो खाइने डरले पनि निदाएझैँ गरिरहेँ ।

एकछिनपछि आँखा आधा उघारेर चियाएँ, ज्या उठेर हाम्रा हातखुट्टा नौनीले मिनिदिँदै थिइन् । नौनीले सिस्नोको पोलाई कम हुँदोरहेछ । खुट्टामा पानी तप्पतप्प झरिरहेको जस्तो शितल हुन थाल्यो ।

आँखा पूरै उघारेर हेरेँ ज्या त असनधारा रोइरहेकी ! उनको गहबाट बगिरहेको आँशु खुट्टामा झरेको रहेछ, त्यसैले चीसो भएको रहेछ ।

मैले "नरोऊ जेइ ! मलाई सिस्नाले पोल्न छोडिसक्यो !" भन्दै उनका आँशु पुछिदिन थालेँ ।

०००

त्यसपछि ज्यालाई दुईपटक बेसरी रोएको थाहा पाएँ । पहिलो, मेरो पछाडिकी एक बहिनी तीनचार वर्षको उमेरमा बित्दा । मैले बहिनी बितेपछि बहिनीकै जूठो दूध चुसिरहेको रहेछु । दोस्रो, एकवर्षअघि मात्र बिहे भएकी ठूल्दिदी सुत्केरी अवस्थामा बित्दा । अर्की एउटी दिदी म जन्मिनुपहिले नै दुई वर्षको उमेरमा बितिसकेकी रहिछिन् । त्यसबेला पनि यसरी नै रोइहोलिन् मेरी ज्या । त्यो पीडामा मात्र उनले हामीप्रति खन्याउने माया थोरै कम भएको हुँदो हो । रात पर्न थाल्यो कि अहिल्यै मर्छु भन्दै छाति पिटीपिटी रुन्थिन् उनी ।

केही वर्षपछि त्यो घाउ विसेक हुँदै गएपछि हामीहरुप्रति उत्तिकै माया खन्याउन थालेकी थिइन् ।

०००

गाउँको प्राइमरी स्कूलमा त्यतिबेला तीनकक्षासम्म मात्र पढाइ हुन्थ्यो । चारकक्षा पढ्न डेढघण्टा पैदल दूरीमा रहेको सेरिगाउँको स्कूलमा पढ्न जानुपर्ने भयो । बिचमा घना सालघारी थियो र हाम्रो गाउँदेखि ठाडो उकालो पनि उत्तिकै थियो । बाटो चाँफा पुगेर ओरालो झरेपछि पानेखोलो तर्नुपर्थ्यो र फेरि केही उकालो चढेपछि मात्र सेरिगाउँको स्कूल आइपुग्थ्यो । पानेखोलामा काठे पूल त थियो तर मक्किइसकेको । तर्दा नै आँखा रिङ्ने । हामी चारभाइबहिनीलाई चार कक्षामा भर्ना गरिदिन ज्या आफै सेरिगाउँसम्म आइन् । त्यतिबेला चप्पल जुत्ताको प्रचलन आइसकेको थिएन नाङ्गै पाइताला हिड्नुपर्थ्यो । बाटोभरि ढाँर हुन्थे । ठेस लाग्दा आमाले आफ्नो बर्को, धरो, धोती जेमा हात गयो त्यही च्यातेर घाउ बाँधिदिन्थिन् । पहिलो दिन सेरिगाउँसम्मै म ज्याको पिठ्यूँमा सवार भएँ ।

 

अत्यास लाग्ने दूरी र उकालो, नयाँ ठाउँ, नयाँ शिक्षक, नयाँ विद्यार्थीहरु, नयाँ अंग्रेजी अक्षरहरु । बानी पर्न निकै हम्मेहम्मे भयो । हप्ता दिनसम्म ज्याले नै जङ्गल पार गराइदिइन् । बाँकी दिनहरुमा दिदीहरुको जिम्मा लगाइयौँ । पानी पर्दा वा आँधीघुइँटो गर्दा ज्या घरको काम छोडेर स्कूल वा चाँपासम्म पुगेकी हुन्थिन् । छाताको प्रचलन पनि थिएन । पानी परेमा स्याँकू, केराका पात वा प्लास्टिकले आङ ओत्नुपर्थ्यो, आमा भिज्दै हिड्थिन् भने हामी स्याँकूमा घुस्रन्थ्यौँ ।

स्कूल सहज भइसकेपछि हामीहरुमा अर्को जिम्मेवारी पनि थपिदिइन् ज्याले । स्कूलबाट फर्कँदा दिदीहरुले जङ्गलबाट स्याउला भाँचेर ल्याउनुपर्ने र हामी दाजुभाइले सुकेका दाउरा, सल्लाको झर्को र सिम्तो चुल्याउनुपर्ने (संकलन गर्ने) । राति पढ्नको लागि सल्लाको झर्को र सिम्तोले उज्यालोको काम गर्थ्यो । खाना खाइसकेपछि त्यही उज्यालो बालेर हामीहरु ज्याको वरिपरि बस्थ्यौँ । दिनभरि पढेका कुरा किताबकापीका पाना पल्टाईपल्टाई ज्यालाई सुनाउँथ्यौँ । आफ्नो पढाइ सुनाइसकेपछि मात्र ज्याका सिलोक र गीत सुन्न पाइन्थ्यो ।

"परिश्रमभन्दा ठूला कुरा केही छैन । परिश्रम गर्न हिन्ति (लाज) मान्न हुँदैन ।" भनिरहन्थिन् ज्या ।

एकदुई दिन बिराएर गोठको मल (भकारो) सोर्नुपर्ने र विदाका दिनहरुमा राङ्ङे (ठूलो) डोकोमा वनबाट कुसुम (सल्लाको सुकेको पात) सोर्नुपर्ने जिम्मेवारी पनि थपिदिइन् ज्याले । यो काम गर्दिन भन्ने विकल्प नै छोड्दैनथिन् । मान्छेको जातले सबै काम सिकेपछि मात्र पछि जीवन जिउन सजिलो हुन्छ भन्ने उनको मान्यता थियो । कार्त्तिक र चैत्र महिनाका बिहानी वा विदाका दिनमा खेतबारीमा मल पनि बोक्थ्यौँ । हामी दुईभाइले हलो जोत्न पनि त्यसैबेला सिकिसकेका थियौँ । हातखुट्टा पोल्न छोडे पनि सिस्नोले चेत पोल्न छोडेको थिएन । नाइँ भन्न सक्दैनथ्यौँ ।

ज्या घरबाट अलिकति टाढा निस्कँदा ठूल्दिदीलाई अधिकार प्रत्यायोजन गर्दै भन्थिन्, "यिनीहरुलाई हेरेस् । काम गराउँदै पढाएस् ।" ठूल्दिदी त झन् आमाभन्दा उग्र स्वभावकी । आफूले पनि उर्लीउर्ली काम गर्नुपर्ने, हामीहरुलाई पनि त्यसरी नै काम गराउनुपर्ने । उनको हातमा एउटा लठ्ठी कहिले पनि छुट्दैनथ्यो । उनको आदेश पालन नगरेमा वा अलमल गरेमा त्यही लठ्ठीले निर्दयतापूर्वक स्वाँट्ट स्वाँट्ट सोठ्याइहाल्नुपर्ने । तसर्थ ज्याभन्दा पनि हामी ठूल्दिदीसँग बढी तर्सन्थ्यौँ । ठूल्दिदीसँग काम गर्नुपर्दा बरु ज्याकै शासन राम्रो भन्दै ज्या छिट्टै फर्किए हुन्थ्यो भन्ने कामना गर्न थालिहाल्थ्यौँ ।

 

बर्खाको समय सबैभन्दा रमाइलो लाग्थ्यो । गाईवस्तु लिएर जङ्गलभित्र रहेको गोठमा केही महिना बस्नेगरी परिवारका सबै सदस्य जान्थ्यौँ । ज्याले घर पनि हेर्नुपर्छ भनेर घरमै बस्ने निहुँ बनाएमा पनि हामीहरु उनलाई गोठ नलगी मान्दै मान्दैनथ्यौँ । गोठ एउटै कोठाको हुन्थ्यो । एकातिर गाईवस्तु हुन्थे, अर्कोतिर घाँसको बाक्लो ओछ्यानमा च्यादर बिछ्याएर हामीहरु सुत्थ्यौँ । बिहानै च्याउ खोज्न जान्थ्यौँ । सबैभन्दा सुन्दर लाग्थे: झारमा भुकुक्क उम्रेका सल्लेऊ, कल्लेऊ, चिल्लेउ, सङ्राइना र ओख्लाडोख्ला च्याउ । च्याउको तरकारी ढिँडोमा मुछेर खानुजत्तिको मीठो भोजन अरु हुँदैनथ्यो । बारीका दूधे मकै गोठभित्र पोल्दै खाँदै गर्थ्यौँ । खन्न्यो, बेरुला, तिमिला र आमका स्वादिष्टतम् फलफूल पाइने मौसम थियो । गाईभैँसी ब्याउने समय त्यही थियो ।

 

झम्झम् पानी पर्दा सालघारी कराइरहेको । निन्याउरी र अरु किराहरुको गीत नजिकैबाट सुन्न पाइने । खरको छानोबाट तरररर खसिरहेका मोटामोटा पानीका बुँदहरुमा परेको इन्द्रेणी हेरेर कहिल्यै नअघाइने । पानी पर्यो कि पानेखोला र मुग्लुखोलामा भेल उर्लिएको प्रष्टै देखिने । त्यतिबेला सिधा पारिपट्टि हुतुमछराको भलको छहरो (झरना) परपरसम्म पानी कुहिरो लगाउँदै डरलाग्दो आवाज निकालेर खोलामा झर्थ्यो । भेल आयो कि हुतुमछरो उधुम मच्चाउँथ्यो र भयंकर गर्जनसहित हुतहुतहुतहुत गर्दै हामी जहाँ भए पनि बोलाइहाल्थ्यो, हामी खोप्याढुङ्गाको टाकुरमा लड्दैपर्दै पुगेर त्यो दृश्य रमाईरमाई एकतमासले हेरिरहन्थ्यौँ ।

ज्या नजिक हुँदा मात्र यी सारा दृश्यहरु सुन्दर लाग्थे । ज्या घरतिर लागिन् भने त आँखामा आँशु उमारेर ज्याकै प्रतिक्षामा भित्रै धुम्धुम्ति बसिरहन्थ्यौँ । ज्याबिनाका ती कुराहरु हेर्न जाँगर चले पो !

०००

म ज्याप्रति यतिसम्म आज्ञाकारी थिएँ कि यो गर् भनेको जसरी पनि गर्ने र नगर् भनेको मरिकाटे नगर्ने । फलस्वरुप पढाइमा उल्लेखनीय प्रगति पनि हुँदै गयो । ज्याले नै खोजिदिएकी केटीसँग मैले बिहे पनि गरेँ । बिहेपछि ज्यालाई आमा भन्न थालेँ र 'तिमी' कार्नुको सट्टा 'तपाईँ' सम्बोधन गर्न थालेँ । ज्यालाई अब मायाको सट्टा आदर गर्न थालेँ । छोराको आफूतिरको माया आमाले बुहारीतिर सारिदिनुभयो । आमाकी बुहारीले पनि उत्तिकै माया गर्न खोज्ने । जसले गर्दा मैले आमालाई गर्नुपर्ने माया त आधाले कम भयो, तर आमाले भने मलाई गर्नुपर्ने मायामा एक चिम्टि पनि कम गर्नुभएन ।

त्यतिबेला बानी परिनसकेको हुँदा आमालाई मैले झुक्किएर ज्या पनि भन्थेँ । दिन-पर-दिन  सभ्य हुँदै गएको समाजको अगाडि आमालाई 'ज्या' भन्नपुग्दा लज्जाबोध हुनथाल्यो । कहिलेकाँही झुक्किएर स्वास्नीभन्दा पनि बढी माया गर्न पुगिने । मभित्रकी 'ज्या' लाई मबाहिरकी 'आमा' मा रुपान्तरण गर्न मलाई हम्मेहम्मे परिरहेको थियो ।

म केही समयसम्म आमाकै छत्रछायाँमा रहेर रुकुममै पढाउने नोकरी गरेँ । सरकारी सेवामा प्रवेश गरेपछि भने काठमाण्डौमै पदस्थापन भएकोले उतै रहनबस्न थालेँ ।

त्यतिबेलाको जागिरीले आफैलाई खान पुर्‍याउनु धौधौ थियो । बच्चाबच्ची पनि पढाउनुथियो । दैनिक आवश्यकताको चिजहरु पनि पुर्‍याउनै हम्मेहम्मे भइरहेको थियो । त्यसैबेला आमा हाम्रो आश्रय खोज्दै काठमाण्डौ आइपुग्नुभयो । उहाँलाई काठमाण्डौको विभिन्न शहर घुम्ने रहर थियो होला । मीठोमसिनो खाने रहर थियो होला । त्यति नभए पनि परिवारसँग बसेर मीठोमसिनो वचन सुन्न मन थियो होला । तर त्यतिबेलाको चर्को अभावको मारवश् मैले उहाँको कुनै पनि रहर पूरा गर्न सकिन । यतिसम्म कि उहाँ घर फर्किँदा बसपार्कसम्म छोड्न जान पनि सकिन जतिबेला काठमाण्डौ उहाँको लागि पूरै बिरानो थियो । जब आमाले रुकुम पुगेर, "म आइपुगेँ बाबु, तिमीहरु राम्रोसँग बस्नू है !" भन्दै फोन गर्नुभयो अनि पो बल्ल अभावको चीसोमा जमेको ज्याको माया उम्लिएर आयो । 'अब आफू पनि बुझ्ने भेसकेको छु, तिनी पहिलेकी ज्या कहाँ हुन् र आमा पो हुन् त !' भन्दै मनलाई थामथुम पारेँ ।

लाग्यो, उनी आफ्नो तर्फबाट मेरो लागि ज्या कि ज्या नै रहने भइन् । केश भने फुलिरहेको छ, समयअनुसार बदलिन नसक्ने कस्ती आमा !

तिनताका मलाई ज्याको मुख हेर्न नपाइने कुनै दिन नै थिएन । दिनरात ज्याकै मुख हेरेर बिताउँथे । जब घरदेखि टाढा हुनथालेँ, ज्याबाट पनि टाढा हुन थालेँ । केही घाटा थिएन, ज्याबाट टाढा हुनु भनेको आमादेखि अझै नजिक हुनु थियो । घरतिरबाट आमाको फोन आइरहन्थ्योः त्यो स्वर ज्याको हो कि ? आमाको हो ? छुट्याउन हम्मेहम्मे पर्दथ्यो । उनको सोधाइ एउटै हुन्थ्योः "तिमीहरुलाई दुःख भयो कि ? हाम्रो चिन्ता नगर्नु ! सुखसँग बस्नु ! तिमीहरुको फल्दोफाप्दो होस् । हामीहरुको आशिष लागोस् ।" आदि आदि ।

एकदुई दिन बिराएर फोन गरिरहने आमाले एकपटक अलि लामै समयसम्म पनि फोन गर्नुभएन । आमाको फोनको जरुरत पनि त्यति पर्न छोडेको थियो । कति सुन्नु त एउटै कुरा ? तिमीहरुलाई दुःख भयो कि ? समयमा अर्नी खान्छौ खान्नौ ? हाम्रो चिन्ता गर्छौ कि ? सुखमा छैनौ कि ? आदि मात्रै । ज्यालाई बिर्सनु गाह्रो हुन्थ्यो, आमालाई बिर्सन कुनै गाह्रो थिएन । मैले पनि बिर्सँदै पो गएछु ।

एकदिन सबै साथीभाइहरुले आआफ्नी आमाहरुको फोटोहरु सामाजिक सञ्जालमा अपलोड गर्ने प्रतिष्पर्धा नै चलेको देखेँ । त्यो दिन आमाको मुख हेर्ने दिन रहेछ ।

मलाई त यस्तो दिन हुन्छ भन्ने पनि थाहा थिएन । पहिले ज्यासँग सँगै हुँदा आवश्यकता नै थिएन । अहिले टाढा बस्न थालेपछि आमाको जरुरत थिएन । म छक्क परेँ, कति राम्रो काइदा ! नविनतम् प्रविधिमार्फत एकदिन भए पनि आमाप्रति श्रद्धा पोख्ने दिन ! मैले पनि खोजीखोजी आमाका फोटोहरु सामाजिक सञ्जालमा राख्नथालेँ । आमाका एक्ला फोटोहरुलाई पनि आफ्नो फोटोसँग गाँसगुस पारेर । उता आमाको फोटो राखिरहेको थिएँ, यता ज्याको झझल्को आइरहेको थियो । कस्तो बिडम्बना ! ज्याले मलाई यहाँसम्म ल्याइपुर्‍याउन गरेको दुःखजिलोको झझल्को पनि आयो, फोटो हेर्दै त्यसलाई पनि कम गरेँ । यसोउसो गर्दैमा त्यो विशेष दिन बित्यो । त्यसदिन आमालाई फोन समेत गरिनँ ।

धेरै दिन भैसकेको थियो, त्यसको भोलिपल्ट आमाकै फोन आयो, तर बोली आएन । उनी नबोलेकोले मैले नै हिजोको घटना विवरण सुनाएँ: "हिजो तपाईँको मुख हेर्ने दिन रैछ आमा । मैले पनि तपाईँका फोटोहरु हेरेर चित्त बुझाएँ । तपाईँको फोटोको मुखमा लड्डु पनि चखाइदिएँ । अनि फेसबुकभरि तपाईँका पुराना फोटोहरु पनि राखेको थिएँ हेर्नुभयो आमा ?" आमा अझै मसँग बोल्नुभएन । हुन पनि उनीसँग न एन्ड्रोइड फोन थियो. न फेसबुक हेर्न नै जान्ने । फोन र फेसबुकवालाहरुले देखाइदिएको भए पो हेर्दिहुन् ?

केही बेरपछि उनको काँपेको स्वर फोनमा सुनियोः "बाऽऽबुऽऽ मलाई बरु तिमीहरुको मुख हेर्न मन थियो । सक्छौ भने मुख देखाउन आऊ !"

"किन के भयो र आमा ?" उनको स्वर र भनाइको आद्रताले मलाई अलिकति खलबल्यायो ।

"बिरामी परेको दशपन्ध्र दिन भैसक्यो बाबु । बिरामी परेदेखि केही पनि खाएकी छुइन । यसपटक त बाँच्न पनि बाँच्दिन होला । साह्रै गाह्रो पार्‍यो बाबु ।"

"त्यसो नभन्नुहोस् आमा । तपाईँलाई केही पनि हुँदैन ।" अरु के भन्नसक्थेँ वा के गर्न सक्थेँ र म ?

भेट्न जाउँ कि त भनी अफिसमा कुरा पनि राखेँ ।

"आमा भेट्नको लागि हिजै सार्वजनिक विदा हुँदा पनि भेट्न नजाने ? अब कहाँ पाइन्छ विदा ?" भनेर उल्टै हाकिमबाट हप्कीदप्की मात्र खाइयो । मलाई त एकदिन विदाले कहाँ पुग्थ्यो र ? जानआउनै कम्तीमा एकहप्ता लाग्ने !  विदा मिल्दै मिलेन । मुख हेर्न नजानेले मुख देखाउन कसरी जाँदो हुँ ?  मेरो पालो गइनँ ।

धन्न आमालाई त्यसबेला केही भएन । केही दिनपछि सन्चो हुँदै गएको खबर आयो । फेरि आमाले दिनदिनैजसो फोन गरेर झिँज्याउन थालिन् ।

०००

अर्कोपटक आफ्नै सन्तान गुमाउनुको पीडाले म क्षतविक्षत हुनपुगेँ । आमा पहिलेदेखिकै मुटुको रोगी उहाँलाई पनि त्यो असह्य पीडाले घाइते मुटु जोगाउन हम्मेहम्मे हुँदा मुर्छा पर्नुभयो र अस्पत्तालमा भर्ना हुनुभयो । त्यसबेला पनि उहाँ एक्लै अस्पत्तालमा जीवनमरणसँग संघर्ष गरिरहँदा समेत मैले उहाँको सन्चोबिसन्चो सोध्न अस्पत्तालसम्म पुग्न सकिनँ । आफू मृत्यूशैयामा पर्दा पनि मलाई नै सम्झाइरहनुभयोः "संकट सबैलाई आइपर्छ ! हरेश् नखाएस् बाबै !" उहाँको मन पनि ढुङ्गाको जस्तो भैसकेको थियो र पो त्यसो भन्नसक्नुभयो । आफ्नै तीनसन्तान र बाआमा गुमाउनुभयो । हेर्दाहेर्दै दुईभाइहरु गुमाउनुभयो, दुई बहिनीहरु पनि गुमाउनुभयो । गाउँका साथीसंगिनीहरु एकएक गरी छोडेर गइरहेका छन् अझै । उहाँ दिनदिनै नितान्त एक्ली हुँदै जानुभएको देखिरहेको छु ।

०००

अहिले आमा असी वर्ष पार गरेर पनि रुकुमकै घरमा सकेको ढल्योफर्को गरिरहनु भएको छ । खेतबारी गरिरहनुभएको छ र समाजसेवातिर पनि लागिरहनुभएको छ । बाको सहारा आमा र आमाको सहारा बा हुनुभएको छ । म बुझ्छु, आफूले आफ्नो उमेरमा गरेको कडा परिश्रम, जाँगर र अठोटले नै अहिलेसम्म ऊहाँलाई बचाइरहेको छ । त्यही परिश्रमको केही गुण सन्तानमाथि सारिदिँदा दिनहरु अलिकति सहज भएका छन् । लाग्छ, आफ्नो सन्तानप्रतिको अगाध मायाले पनि उहाँलाई सकारात्मक ऊर्जा दिइरहेको छ । अहिले पनि सन्तानमाथि गर्ने मायामा एक अंश पनि घट्न दिनु भएको छैन । एकदुई दिन बिराएर बारम्बार फोनबाट हाम्रो सन्चोबिसन्चो सोधिरहनुहुन्छ ।

 

म आमाको मायाको लागि सरकारसँग कृतज्ञ छु । किनकि उसले मेरो आमाबालाई वृद्ध भत्ता उपलब्ध गराइदिएको छ । वृद्धभत्ता बुझेर आफ्नो सन्तानको हालखबर सोध्न मोबाइलमा पैँसा हाल्नुहुन्छ उहाँहरु । सायद यो भत्ताको व्यवस्था नभैदिएको भए कुनै वृद्धाश्रममा पुगिसक्नुभएको हुन्थ्यो कि मेरी आमा ? त्यहाँ पुगेको भए के पैँसाले गर्नुहुन्थ्यो होला मलाई फोन ? कसरी थुपारिरहनुहुन्थ्योहोला ममा आशिष । कुन माध्यमले भन्नुहुन्थ्योहोला मलाई, 'बाबु परिश्रम गर्न कहिल्यै हिन्ति नमान्नु ।'  यस मानेमा वृद्धभत्ताले लाखौँ वृद्धवृद्धाहरुलाई वृद्धाश्रमसम्म जाने बाटो छेकिदिएको हुनुपर्छ र सन्तानको शिरहरुसम्म पुर्‍याउने आशिषको बाटो जोडिदिएको हुनुपर्छ । त्यसो हो भने यो कल्याणार्थ यदि धर्म र आशिष नामका भौतिक शब्दहरुको अभौतिक प्रभाव अस्तित्वमा छ भने त्यो धर्म र आशिष लाग्नेछ यो व्यवस्थाको प्रारम्भ गरिदिनेलाई ।

०००

मैले जब स्मृतिका माथिल्ला पानाहरु पनि पल्टाइसकेर नजर बाहिरतिर डुलाएँ । मेरा वरिपरि सबै आमा नै आमाहरु देखेँ । मेरी स्वास्नी पनि आमा, छोरीहरु पनि आमा, नातिनीहरु पनि आमा, भाउजू पनि आमा, बुहारीहरु पनि आमा, दिदीबहिनीहरु सबै आमा नै आमा । ओहो ! यो संसार त आमैआमाले पो भरिएको रहेछ । यो संसार त आमाहरुकै कारणले आकाशमा अडिन सकेको रहेछ ।

आमाको आत्मप्रवचन सुनेर तपाईँहरुले एक असल र अनुशासित सन्तानको बिल्ला भिराइदिनुहुनेछ मलाई । त्यो बिल्ला भिर्नलायक मलाई बनाइदिनुभएको हो मेरी आमाले नै ।

 

 

 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...