केन्द्रीय संस्करण
संगीत

निर्भिक अभया !

एक नारीवादी 'रक क्वीन'

person explore access_timeसाउन २५, २०७६ chat_bubble_outline1
सरिता कार्की

रातोपाटी

भनिन्छ नि, नाम अनुसारको काम । भय नहुनाको भाव र स्थितिलाई अभय भनिन्छ । र, यही अभय शब्दबाट जन्मिएको हो उनको नाम, अभया ।

यिनी तिनै अभया हुन् जो मनमा लागेको कुरा भन्न कसैसँग हिच्किचाउँदिनन् । निर्भिक, निडर नारी । त्यसैले त विगत १६ वर्षदेखि ‘रकस्टार क्वीन’ को ताज पहिरिरहेकी उनले आफ्नो विरासतलाई अहिलेसम्म कुनै पनि स्थितीमा डग्मगाउन दिएकी छैनन् ।

अहिले उनको परिचय यतिमा मात्र सिमित छैन । उनी एक नारीवादी अभियानकर्ता पनि हुन् । ज्यादती खेपेको अवस्थामा नारीले आफ्नै परिवारविरुद्ध नै किन नहोस्, विद्रोह गर्न चुक्नु हुँदैन भनेर सिकाउने अभया सुब्बा ।

अभया बाल्यकालमा भने अन्तरमुखी स्वभावकी थिइन् । उनकी आमा उनी तीन वर्षकै हुँदा सत्यको सेतो चादर ओढेर पञ्चतत्त्वमा बिलिन भइन् । तीन दिदीबहिनी मध्ये कान्छी उनी खासै कोहीसँग बोल्दिनथिन् ।

बुवा नयन प्रकाश सुब्बा संगीतकार थिए, स्वभाव पनि कडा । श्रीमतीलाई निकै छोटो समयमा गुमाएपनि दोस्रो विवाह गरेनन् । तर, छोरीहरुलाई कहिल्यै आमाको अभाव महसुस हुन पनि दिएनन् । बुवाकै कारण आफ्नो बाल्यकाल निकै सुखद बितेको अभया बताउँछिन् ।

तर, बुवाको स्वभाव न हो, नयन छोरीहरु ‘अलराउन्डर’ बनाउन चाहन्थे । त्यही भएर उनी अनुशासनबारे निकै ख्याल राख्थे । ‘सानो बेला घरको माहौल कस्तो थियो ?’ भन्ने प्रश्नको जवाफमा उनी भन्छिन्, ‘हामीलाई बुवाले संगीत सुन्नैपर्ने नियम लगाइदिनुभएको थियो । तीन–चार वर्षदेखि नै संगीत सुन्नैपर्ने । सुरुमा त्यो एक बाध्यता जस्तै थियो । तर पछि यसैमा रमाउन थालेँ ।’

तर उनले अहिले बुझेकी छिन् बुवाले ‘कडा’ व्यवहार तीन दिदीबहिनीहरुलाई अनुशासनमा राख्न देखाउनु भएको थियो । बुवाले तोकेको नियम स्मरण गर्दै उनी भन्छिन्, ‘हामीले दिनमा एक पाना नेपाली हस्तलेखन, एक पाना अंग्रेजी हेन्डराइटिङ र एक घण्टा संगीत अभ्यास गर्नै पर्दथ्यो ।’

आफ्नो बाल्यकाल निकै अनुशासित र कम बोलेर बितेको बताइराख्दा उनले छिटोछिटो थपिन्, ‘बाल्यकाल फूल अफ म्युजिक पनि रह्यो ।’

बाल्यकालमा देखेको सपना

सानोमा धेरैलाई लाग्छ भविष्य निकै सहज हुनेछ । त्यसैले त कतिले प्रधानमन्त्री, डाक्टर, इन्जिनियर बन्ने सपना देखेका हुन्छन् । तर अभयाको बाल्यकालको सपना भने संगीतमा नै रमाउने, यसमै पहिचान स्थापित गर्ने थियो । उनलाई बाल्यकालमा ‘अर्केस्ट्रा कन्डक्टर’ बन्न मन थियो । सांगीतिक कार्यक्रममा अर्केस्ट्रा कन्डक्टरले दाहिने हातले ब्याटोन समातेर समूहलाई गाइड गरेको देख्दा उनको मन पुलकित हुन्थ्यो ।

कहिलेकाहीँ अलि अग्लो ठाउँमा गएर तल हेर्थिन् । त्यहाँ भएका रुख, बोटबिरुवालाई आफ्नो दर्शक मान्थिन् र चर्को स्वरले गीत गाउँथिन् ।

बाल्यकालमा अन्तर्मुखी तर हुर्कदैँ गएपछि विद्रोहीः

बाल्यकालमा कसैले केही गरिहाले पनि उनी चुपचाप बस्थिन् । कतिपय अवस्थामा त दुई दिदीहरुको पनि थिचोमिचो सहनु परेको उनी सम्झिन्छिन् । स्कूलमा पनि धेरैले हेप्ने । यो कुरा उनको मस्तिष्कमा अझै ताजा छ ।

उनका खासै कोही साथी पनि थिएनन् । तर स्कूलमा भएको एउटा घटनाले उनको स्वभाव एकाएक परिवर्तन त भयो नै यसले अन्ततः उनको जीवनलाई उदाहरणीय बनाइदियो ।

उनकी दिदीले उनलाई स्कूलमा अरुले धेरै नै हेप्ने गरेको थाहा पाइन् । आखिर बहिनीलाई हेपेको कसले सहन सक्छ र ? दिदीले कसैले केही गरे प्रतिकार गर्न सुझाइन् । दिदीको कुराले उनको मनोबल बढेको थियो । उक्त घटना स्मरण गर्दै उनी भन्छिन्, ‘कक्षा ९ मा पढ्दा हो, एकदिन एकजना सहपाठीले सबैको अगाडि बीच बाटोमा मेरो स्कर्ट माथिसम्म उचालेर बेस्सरी हाँसिन् । वरिपरिका सबैजना उनीसँगै गललल हाँसे ।  मेरो  रिसको सीमा रहेन । त्यसअघि जे गर्दा पनि चुप लागेर बस्ने मैले त्यो दिन पहिलो पटक प्रतिकार गरेँ । नराम्रोसँग गाली गरेँ । त्यसको भोलिपल्टदेखि साथीहरुले मलाई हेप्न छाडे । मलाई अर्कै आनन्द महसुस भयो,’ यति भनिराख्दा उनको मुहारमा विजयको भाव देखिन्थ्यो ।

उक्त घटनापछि उनलाई लाग्यो कि आफूमाथि थिचोमिचो भइरहेको छ भने आवाज उठाउनै पर्ने रहेछ । चुप लागेर बसे स्थिती सुधार हुनुको साटो थप उत्पीडनको शिकार हुनुपर्ने रहेछ ।

संगीतिक यात्राः

उनको पारिवारिक माहौल नै संगीतमय । बुवाको सिकाइमा उनले पियानो बजाउने, दिदीले ‘चेलो’ । बुवाको उत्प्रेरणाकै कारण उनलाई संगीतमा नै लाग्नुपर्छ भन्ने लाग्थ्यो । संगीतमा नै हुँदा खुसी हुने र संगीतमार्फत् नै आफूलाई राम्रोसँग प्रस्तुत गर्नसक्ने महसुस हुनथाल्यो ।

उनलाई पहिलादेखि नै रक जनरा नै मनपर्ने । रक जनरा नै छान्नुमा उनले निकै घतलाग्दो कारण दिँदै भनिन्, ‘म भित्र जे हुँ, त्यो नै बाहिर देखिनुपर्छ भन्ने मान्यता भएको मानिस हुँ । कोही मानिसहरु मान्छेको अगाडि ढोङ्ग गर्ने, आफू नम्र छु, निकै सोझो छु, सानो स्वरले निकै मिठो बोल्छु भनेर देखाउन खोज्छन् । तर एक्लै हुँदा उनीहरुको व्यवहार ठीक विपरित हुन्छ । मलाई यस्तो फिटिक्कै मनपर्दैन । म भित्री रुपमा जस्तो छु त्यो रक जनराले उजागर गर्छ, त्यसैले यही जनरा नै रोजेको हुँ ।’

संगीतमा लागेपछिका सुरुवाती दिनः

संगीतमा लाग्दाका सुरुवाती दिन उनको निकै कष्टकर रह्यो, अझ भनौँ स्थिर रहेन । ‘अभया एण्ड द स्टिम इन्जिन्स’ अघि उनले परिक्रमा, रेड स्काइवकर्स र पञ्चतत्त्वसँग काम गरिन् । तर स्टिम इन्जिन्सबाहेक अन्य तीन ब्यान्ड उनका लागि दुई दिनको पाहुना भए । यस्तो हुनुको पछाडि एउटा विशेष कारण भएको उनी बताउँछिन् । ‘त्यतिबेला मैले के पाएँ भनेँ मैले ब्यान्डका अन्य सदस्यलाई पियानो यसरी बजाउँदा राम्रो हुन्थ्यो, गितारको ट्युनिङ यस्तो गरिदिनुहोस् न भन्दा उनीहरुले मलाई ‘हामीले तिम्रो लागि यस्तो गरिदिइरहेका छौँ तर तिमी भने चित्त बुझाउदैनौँ’ भन्थे’ उनीहरुले बजाइदिएर ममाथि कृपा गरिदिएको जसरी कुरा गर्थे ।’

‘महिलालाई नै ब्यान्डको सदस्य किन बनाउनु भएन त ?’ अर्को प्रश्नमा उनी भन्छिन्, ‘त्यतिबेला केटीहरु म्युजिकल इन्स्ट्रुमेन्टसँग धेरै नखेल्ने । कोही पाइहाल्यो भने पनि उनीहरुमाथि विभिन्न प्रतिबन्ध लगाइएका हुन्थे, राती प्रस्तुती दिन नपाइने । घरभित्र प्रवेशका लागि समयसीमा तोकिएको हुन्थ्यो ।  त्यसैले चाहँदा चाहँदै पनि पाइएन । त्यसैले पुरुष सदस्यको विकल्प भएन ।’

उनले भनिन्, ‘ब्यान्डमा पनि हामी (पुरुषहरु) र तिमी (महिला) भन्ने गरिन्थ्यो । उनीहरुले मैले गाउने त हो नि भनेर सोच्थे । मलाई भने ब्यान्डको संगीतमा आफ्नो स्वाद राख्न मनलाग्थ्यो । कहिलेकाँही कर्ड नमिल्दा त्यसलाई औँल्याउँथे । यो कुरा उनीहरुलाई पचेन । उनीहरुले सहनै सकेनन् ।’ यस्तो कुरा उनलाई पनि चित्तै नबुझ्ने । यस्तै मतभिन्नता कारण उनको पञ्चतत्व ब्यान्ड तीन महिनामै टुक्रियो । 

अनि जन्मियो ‘अभया एण्ड द स्टिम इन्जिन्स’:

पञ्चतत्त्व ब्यान्ड टुक्रिएको बारे रबिन एण्ड न्यू रिभोलुशनका गायक रबिन तामाङले पनि थाहा पाए । रक जनरामा के कस्तो हलचल भइरहेको छ, एक ‘वास्तविक’ रकस्टारले पक्कै पनि रुची राख्छ । रक एण्ड रोल क्षेत्रमा निकै अघिदेखि सक्रिय रबिनले अभयालाई सुझाए, ‘तिमीले आफूभन्दा कम उमेरका भाइहरुलाई ब्यान्डमा राखे मात्र उनीहरुले टेर्छन्, नभए त कसैले पनि टेर्दैन ।’ यो कुराले उनलाई क्लिक गर्यो । त्यसपछि उनले सन् २००२ मा आफ्नो ‘फर्स्ट कजन’ लाई ब्यान्डको योजना सुनाइन् । उनको भाइको आफ्नै ब्यान्ड पनि थियो त्यसैले ब्यान्डका सबै सदस्यलाई बोलाए । अन्ततः कुरा मिल्यो ।

ती ठिटाहरुको संगीतप्रति मोह, जोश जाँगर त थियो तर बजाउने सामग्री थिएन । अभया र उनका श्रीमान् काय वाइजेले गीतार, ड्रमलगायतका सबै आवश्यक सामग्री किने । सन् २००२ को डिसेम्बर भरी ब्यान्डको लागि अभ्यास गरे र सन् २००३ जनवरी २ मा ब्यान्डको घोषणा गरे । यो एउटा यस्तो ब्यान्ड हो जसमा सबै ब्याकअप ब्यान्ड पुरुष छन् र  फ्रन्टलेडीको रुपमा अभया छिन् । यही ब्यान्डले नेपाली संगीत प्रेमीका लागि थुप्रै कालजयी गीतहरु दिइसकेको छ । आज ‘अभया सुब्बा’ नेपाली संगीत क्षेत्रमा सम्मानका साथ लिइने नाम बनिसकेको छ ।

संगीतबाट अलग्गिने निर्णयः

उनको यहाँसम्मको यात्रा सोचेजस्तो सहज पक्कै थिएन । उनले यो अवस्थामा आइपुग्न धेरै कुरा झेल्नु परेको छ । उनी सधैँ यस्ती निडर, निर्भिक कहाँ थिइन् र । त्यही भएर जीवनको एक कालखण्डमा संगीतबाट अलग्गिएकी पनि थिइन् ।

‘यस्तो किन त ?,’ मेरो प्रश्न थियो । जवाफमा उनले विगतका दुई घटना सम्झिइन् ।

परिक्रमासँग गाउँदा एकपटक उनले दर्शकबाट अश्लील शब्द ‘एफ वर्ड’ को प्रयोग गरेको सुनिन् । सुरुमा त उनले बुझ्न सकिनन् । के भनेको होला भन्ने लाग्यो तर पछि जब थाहा भयो, उनी यसरी विचलित भइन् कि यो क्षेत्रमा लाग्ने निर्णय गलत हो कि भन्ने लाग्यो ।

यस्तै अर्को घटनाबारे जानकारी दिँदै उनले भनिन्, ‘दिल्लीमा कानून विषय पढ्न गएकी थिएँ । विभिन्न सांगीतिक प्रस्तुती दिइसकेकी थिएँ, त्यसकारण मानिसहरुले मलाई चिन्न थालिसकेछन् । एकपटक हामी तीनजना साथीहरुसहित फिल्म हेर्न गएका थियौँ । हलभित्रको सीटमा बसिसकेका थियौं । १७–१८ जनाको समूहमा भएका केटाहरुले पछाडिबाट मेरो नाम लिएर बोलाउन थाले । उनीहरु सिटमाथिबाट चढ्दै हामी भएठाउँ आइरहेको मलाई थाहा भयो । हामी निकै डरायौँ । मैले साथीहरुलाई सिट मुनीबाट चार हातखुट्टा टेकेर भाग्न भनेँ । र, हामी त्यहाँबाट भाग्यौँ ।’

स्टेजको अगाडिबाट आएको त्यो शब्द बिर्सन नपाउँदै अर्को त्रासदिपूर्ण घटनाले उनलाई भित्रैदेखि हल्लायो । उनले सोचिन्, ‘संगीतले गर्दा ममाथि आक्रमण पनि हुँदोरहेछ, नकारात्मक कुराहरु पनि हुनसक्ने रहेछन् ।’

यो सोचले उनको आत्मबल डग्मगायो तसर्थ संगीतबाट अलग्गिने कठोर निर्णय लिइन् ।

संगीत उनको आत्मा थियो, त्यसैसँग सम्बन्धविच्छेद भएपछि उनलाई नराम्रो त पक्कै लाग्थ्यो । उनी भन्छिन्, ‘यो घटनाले निकै नराम्रो महसुस गराएको थियो । एक व्यक्तिले नराम्रो भनेको भरमा, ती केटाहरुको डरले तीन वर्षसम्म मेरो गायकी लुकेकै हो नि ।’

‘मजस्तो मान्छे जसले यत्ति धेरै गीत गाउनु पर्ने रहेछ, गीत बनाउनु पर्ने रहेछ, यत्तिकालाई उत्साह दिनुपर्ने रहेछ, त्यस्तो मान्छेलाई त यो समाजले तीन वर्षसम्म बन्द गरेर राख्यो भने यस्ता कतिजना नारीहरु होलान् जसले ठूलो सपना देखेर बसेका छन् । त्यसकारण यदि कुनै नारीको मन मस्तिष्क र शरीरका प्रत्येक अंगले गीत गाएर नै केही गर्न सक्छु भन्ने सपना देखेको छ भने उनीहरुलाई हर हालतमा सघाउने मेरो ठूलो सपना छ ।’

उनले थपिन्, ‘मलाई सानोमा कसैले स्टेजमा बोलाएर गाउन लगाए पनि हुन्थ्यो जस्तो लाग्थ्यो, त्यसकारण त्यही सानी केटीको लागि पनि मैले केही गर्नैपर्छ ।’

सशक्तिकरणको कुराः

उनले पहिलो पटक काठमाडौंमा प्रस्तुती दिँदा धेरैले उनलाई कुन देशको हो भनेर सोधे । उनलाई यो प्रश्नले अचम्म तुल्यायो । उनले भनिन्, ‘म त नेपालकै हो, नेपाली हुँ म ।’ उनीमाथि पुनः प्रश्न तेर्सियो, ‘कसरी नेपाली हुन्छ, नेपाली केटीहरु त यस्ता हुँदैनन् ।’ त्यसपछि उनले भनिन्, ‘के नेपाली केटीहरु यस्तो पाराले गाउनै नसक्ने हुन्छ ? तपाईंले यही भन्न खोज्नुभएको ?’

उत्तर ‘हो’ मा आएपछि उनले ‘अब म त्यस्ता केटीहरु निकालेर देखाउँछु’ भनेर ती व्यक्तिलाई च्यालेन्ज नै गरिन् ।

उनी भन्छिन्, ‘खासमा त्यस्ता धेरै केटीहरु छन् जो बाहिर निस्कन मात्रै सकिरहेका छैनन् । मैले यसैका कारण वुमन इन कन्सर्ट भन्ने अभियानको थालनी गरेको हुँ ।’

उनलाई ‘वुमन इन कन्सर्ट’ नामको टिभी शो पनि गर्न मन छ जसलाई उनी न वर्षभरी नै चलाउन चाहन्छिन् । यसका लागि उनी फन्डिङको खोजी गरिरहेकी छिन् । ‘नेपालको सातै प्रदेशमा गएर यस्ता महिलाको खोजी गर्न पाउँ भन्ने मेरो तृष्णा छ,’ उनले भनिन् ।

म पुरुषको दुश्मन होइन

नारीवाद भनेको खाली केटीहरु मात्र अगाडि बढ्नुपर्छ भनेको होइन । महिलाले समान अधिकारको माग मात्र गरिरहेको हो । नारीवादी भएका कारण धेरै पुरुष उनलाई दुश्मनको रुपमा हेर्ने गरेको उनी बताउँछिन् । यसबारे उनी भन्छिन्, ‘पुरुष मित्र, म कसैको दुश्मन होइन । मैले यहाँ नारीवादको कुरा गरिरहेको छु भने तपाईंले के बुझ्न आवश्यक छ भने, मैले नारी पनि अब घरबाट बाहिर निस्कनुपर्छ, कमाउनुपर्छ, रमाउनु पर्छ भनिरहेको छु । घर खर्चमा श्रीमान्–श्रीमती दुवैले जिम्मेवारी लिनुपर्छ भनिरहेकी छु । यो त पुरुषलाई पनि सहज हुने कुरा होइन र ? यसो भनेर मैले पुरुषलाई अप्ठेरो पर्ने केही कुरा गरिरहेको छु र ?’

तर धेरै महिलाहरु विवाह गर्ने बित्तिकै ‘रोल प्लेइङ्ग’ गर्न सुरु गरिहाल्ने उनको बुझाई छ । धेरैले अब श्रीमती भएँ, श्रीमतीको जस्तो व्यवहार गर्नुपर्छ, आमा भएँ अब आफ्नो सपना त्याग्नुपर्छ भन्ने सोच बोक्ने उनी बताउँछिन् । यस्तो गरेर नारीले आफैले आफैलाई बिर्सने गरेको उनको ठम्याइँ छ । उनले भनिन्, ‘जिम्मेवारी लिँदा खुसी हुनुहुन्छ भने लिनुहोस् नभए अभिनय नगर्नुहोस् । यस्ता जिम्मेवारीहरु त हामी आफैले आफैमाथि थोपरेका हुन्छौँ । विवाह गरेपछि अब महिलाहरुले रमाइलो गर्न हुँदैन है भनेर लाइन नै कोरेका हुन्छौँ ।’

उनले भनिन्, ‘मैले ‘वेस्टर्ननाइज्ड नेपाली’ सँग विवाह गरेर के थाहा पाएँ भने थिचोमिचो नहुँदा महिला कहाँसम्म पुग्न सक्दा रहेछन् ।’ त्यसैले उनले छोरालाई पनि महिलालाई सम्मान गर्नुपर्ने विषयमा धेरै कुरा सिकाएको उनी बताउँछिन् । आजकाल छोराले आफू नारीवादी हुँ भनेको सुन्दा उनलाई कम्ती खुसी लाग्दैन ।

तर आफैंले रक्सी खाने, हाफ पाइन्ट लगाउने, गञ्जीसमेत नलगाई छाती ह्वाङ्ग पारेर बस्नेले ‘ए, हेर न त्यो केटीले कस्तो लुगा लगाएको, राती राती हिँडेको, हेर न रक्सी खाइरहेको’ भनेको सुन्दा उनको बर्बन्दी खल्बलिन्छ । आफ्नो आङको भैँसी नदेख्ने र अरुको आङको जुम्रासमेत देख्ने प्रवृत्तिका पुरुष पात्रहरु उनलाई फिटिक्कै मनपर्दैन ।

सांगीतिक क्षेत्रमा महिलालाई हेर्ने दृष्टिकोणः

सांगीतिक क्षेत्रमा महिलालाई हेर्ने दृष्टिकोण नराम्रो भएपनि आफूले त्यस्तो दृष्टिकोणलाई केही हदसम्म परिवर्तन गरेको जस्तो उनलाई लाग्छ । त्यसैका लागि त उनले वुमन इन कन्सर्टको थालनी गरेको उनी बताउँछिन् ।

उनी भन्छिन्, ‘महिलालाई अहिले पनि एउटा ‘वस्तु’ को रुपमा हेरिन्छ । म एउटी आमा, विवाह गरिसकेकी नारीलाई बल्ल अहिले ‘ट्यालेन्ट’ को रुपमा हेरिएको छ ।  अरु नारीलाई पनि त्यही दृष्टिकोणले हेरियोस् भन्ने मेरो सपना छ । त्यसका लागि महिला सशक्तिकरणको आवश्यकता छ ।’

‘महिला भनेको जहिले पनि पुरुषको तालमा मात्र नाच्ने भएर बस्नुहुँदैन । नारी दबिएर बस्दा नै पुरुषलाई सर्वशक्तिमान बन्ने अवसर मिलेको हो । यसका लागि एक नारीले अर्को नारीको सहयोग गर्नुपर्छ ।’

तर कति नारीको ‘एउटी नारीले सहयोग गरेर कसरी म अघि बढ्न सक्छु र ? होस् बरु मलाई पुरुषले नै सहयोग गरोस्,’ भन्ने मानसिकता देखेर उनलाई उदेक लाग्छ । तर पछिल्ला पिढीले भने आफूसँग खुलेर सहयोग मागिरहेकाले यस्ता मानसिकता पनि परिवर्तन हुने कुरामा उनी विश्वस्त छिन् ।

अभयाले चाँही नारीहरुलाई नडराउन सिकाउँछिन् । ‘सबैले तिमीलाई मन पराउनैपर्छ भन्ने छैन,’ भनेर पनि उनी सिकाउँछिन् । उनी भन्छिन्, ‘म यहाँ सबको नजरमा ‘राम्रो मान्छे’ बन्न आएको होइन, राम्रो संगीत गर्न आएको हुँ ।’

उनले ‘राम्रो मान्छे’लाई यसरी अर्थ्याउँछिन्, ‘अरुले तपाईंलाई बनाउन खोजेको जस्तो राम्रो, पुरुषले यो नगर भन्दा मिठो स्वरले ‘हस्’ भन्नेहरुलाई त राम्रो मान्छे त भन्छ नि होइन ?’ ‘यहाँ जसले थोरबहुत विद्रोह गरेर आफ्नो बाटो आफै बनाउन खोज्छन्, उनीहरुलाई नराम्रो भनिन्छन् । ‘सर्वशक्तिमान’ हरुले भनेको गर्नेहरु राम्रो र गरेन भने नराम्रो,’ उनको राम्रो नराम्रोको व्याख्या यस्तो छ ।

आफूलाई चित्त बुझेको छैन र आफूमाथि ज्यादती वा उत्पीडन भइरहेको छ भन्ने लागेको छ भने विरोध गर्नैपर्ने उनी बताउँछिन् । ‘विरोध गर्दा अलिअलि दुःख पनि पाइन्छ । तर, एकछिनको दुःखले पछि सुख पाइन्छ,’ उनले भनिन् ।

बुवा, श्रीमान् र छोरा – भूत, वर्तमान र भविष्यः

महिलाको आवाज बुलन्द बनाउने अभियानमा लागिपरेकी उनको जीवनमा उनका बुवा, श्रीमान् र छोराको विशेष स्थान एवम् योगदान छ । उनका लागि उनको बुवा सल्लाहकार, शिक्षक र गाइड हुन् । उनी अहिले जे छिन्, त्यो उनको बुवाकै देन भएको उनी बताउँछिन् ।

उनले थुप्रै पटक भन्दै आएकी छिन् कि उनलाई श्रीमानले नै नारीवादी बनाएका हुन् । बुवाजस्तै श्रीमानलाई पनि उनले सल्लाहकारको रुपमा हेर्छिन् । उनको नजरमा उनका श्रीमान् एक दयालु र मायालु गाइड हुन् ।

आफ्नो श्रीमानको तारिफ गरेर उनी कहिल्यै थाक्दिनन् । उनी भन्छिन्, ‘उहाँ निकै खुल्ला विचार भएका, निकै उत्साहित व्यक्ति हुनुहुन्छ । विवाह गरेको यत्तिका वर्षपछिसम्म पनि उहाँले यो पुष्टि गर्नुभएको छ ।’

यति भनिराख्दा उनले विवाह पछिको एउटा घटनाबारे बताइन् । उनले भनिन्, ‘विवाहअघि मलाई घरमा अब मैले बिहान उठेर चिया, नास्ता बनाउनुपर्छ भनेर सिकाइएको थियो । विवाहपछि बिहानै उठेर त्यस्तै गर्दा श्रीमानले ‘ तिमीले के गरेको हँ ? के गर्न खोजेको ? तिमी यस्ती त थिइनौँ, के विवाह गर्ने बित्तिकै तिमी चमत्कारीक रुपमा विवाहीत नारीमा परिणत भयौ ?’ भन्नुभयो ।

मेरो आवाजलाई थप बुलन्द गर्ने उहाँ नै हो । मैले गीत गाउन छोडिसकेको थिएँ, उहाँले नै मलाई तिमीले जसरी पनि गाउनै पर्छ भनेर प्रोत्साहित गर्नुभयो । उहाँले नै मलाई स्विमिङ सिकाउनुभयो, कम्प्युटर चलाउन सिकाउनुभयो ।’ उनी थप्छिन्, ‘उहाँजस्तै श्रीमान् पाउने जोकोही महिलाले संसार जित्न सक्छन् ।’ उनको १८ वर्षे छोराले पनि उनलाई प्रोत्साहित गर्ने गरेको उनी बताउँछिन् । उनका लागि यी तीन पुरुष पात्र उनका सल्लाहकार हुन्, उर्जाका स्रोत हुन् । उनी भन्छिन्, ‘मेरो बुवा, श्रीमान् र छोरा मेरा भूत, वर्तमान र भविष्य हुन् ।’

संगीत क्षेत्रमा लाग्न चाहने नारीलाईः

अभया सबै नारीलाई सबैभन्दा पहिला आफ्नो सपना पहिचान गर्न सुझाउँछिन् । सपना पहिचान भएपछि मात्र पूरा गर्न मरिमेटेर लाग्न सकिने उनी बताउँछिन् । उनी भन्छिन्, ‘सपनालाई कहिले पनि मर्न नदिनुहोस् । महत्त्वपूर्ण कुरा भनेको तपाईंको क्षमता र दुरदर्शीता हो । अरुले के भन्दै छ, अरुले के गर्दैछ भनेर कहिले नसोच्नुहोस् ।’

उनका अनुसार क्षमता भनेको भगवानको उपहार हो । यसलाई जोगाएर राख्नुपर्ने उनी बताउँछिन् । ‘यो उपहार तपाईंलाई कसैले दिएको हो, त्यसकारण यसलाई निकै जतनका साथ राख्नुपर्छ । अरु मानिसहरुले तपाईंको त्यो उपहारलाई बिगार्न, तान्न वा चिथोर्न सक्छन्, त्यसैले जोगाएर राख्नुपर्छ ।’

‘नारीहरु पनि पुरुषजस्तै क्षमतावान छन्,’ उनी भन्छिन्, ‘ निडर भएर अघि बढ्यो भने धेरै कुरा गर्न सकिँदो रहेछ भन्ने कुरा मलाई हेर्दा हुन्छ ।’ आफूले आफैलाई विश्वास गरेपछि मात्र यो स्थानमा पुग्न सकेको उनी बताउँछिन् ।

पहिला जब उनलाई कोही पुरुषले कुनै गीत गर्दा ‘यो पाराले हुँदैन’ भन्यो भने ‘ए, त्यस्तै होला नि त, मलाईभन्दा केटाहरुलाई राम्रोसँग थाहा होला’ जस्तो लाग्थ्यो । उनी खुरुखुरु उनीहरुले भनेको कुरा मान्थिन् ।

तर आज उनी आफ्नो विचार खुलेर राख्न सक्ने भएकी छिन् । फरक मत सुनाउँछिन् । उनी भन्छिन्, ‘कहिलेकाहीँ झगडा नै हुन्छ । तर अन्त्यमा गीत जोगिएर बस्छ । मेरो लागि गीत नै महत्त्वपूर्ण हो । कुनै पनि सम्बन्धभन्दा ठूलो मेरो आर्ट नै हो ।’

कसैले उनलाई मन पराउँदैनन् भने उनलाई केही परवाह छैन । उनी भन्छिन्, ‘मलाई मनपराइदेउ भनेर कसैलाई भन्नु पनि परेको छैन । यदि उनीहरुलाई मसँग समस्या छ भने, जान सक्छन् । मलाई यसमा कुनै आपत्ति छैन । मलाई मन पराइदेउ भनेर हात जोडेर बिन्ती कहिल्यै गरिनँ र गर्ने पनि छैन ।’

अन्त्यमा मैले भनेँ, ‘तपाईंको बोल्डनेसलाई त मान्नै पर्छ है ?’

‘बोल्डनेसको कुरा कहिले पुरुषसँग पनि गर्नुभएको छ ?,’ मेरो प्रश्नलाई उनको प्रश्नले प्रश्न गर्‍यो ।

कमेन्ट

  1. Aug. 10, 2019, 4:58 p.m. Yogendra Rana
    I really proud feel of abhaya
  2.  0 Reply

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...