केन्द्रीय संस्करण
अपराध

सिंहदरबार हिरासतका कैदीसम्म यसरी पुग्यो ‘ह्याक्सो ब्लेड !’

person explore access_timeसाउन २७, २०७६ chat_bubble_outline0

काठमाडौं । महानगरीय प्रहरी वृत्त सिंहदरबारको हिरासतबाट फरार भएका एकजना थुनुवालाई प्रहरीले पक्राउ गर्यो । साउन २५ गते राती हिरासतको डण्डी काटेर फरार भएका शुकलाल वाइवा काठमाडौंको जोरपाटीबाट पक्राउ परे ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले साथीको घरमा लुकेर बसेको अवस्थामा वाइवालाई पक्राउ गरिएको पुष्टि गरे । 

वाइवालाई सहयोग गर्ने उनका सहयोगीहरु रमेश सुनुवार र करण मोक्तानलाई पनि पक्राउ गरेर थप अनुसन्धान भइरहेको डीएसपी बोगटीले रातोपाटीलाई जानकारी दिए । 

करण मोक्तान लागूऔषध मुद्दामा ६ वर्ष जेल सजाय भुक्तान गरेर निस्किएका व्यक्ति हुन् । करण र रमेश वाइवाका सहयोगी रहेको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ । 

वाइवासँगै सोही राती ४ जना हिरासतको डण्डी काटेर भागेका थिए । हिरासतको डण्डी काटेर भागे लगत्तै अनिल थापा र सुपा लामालाई प्रहरीले पक्राउ गर्न सफल भयो । थापा लागुऔषध मुद्दामा जेल परेका हुन् भने वाइवा, लामा र अर्का फरार रहेका एकजना मोटरसाइकल चोरी मुद्दामा जेल परेका व्यक्ति हुन् । 

यसरी काटेका थिए हिरासतको डण्डी
हिरासतको डण्डी काटेर भाग्ने ४ जनालाई आफ्नो परिवारले घरबाट खाना ल्याउने गर्थे । सो दिन बेलुका पनि उनीहरुलाई परिवारले खाना ल्याएर खान दिएका थिए । 

बेला–बेला करण र रमेश उनीहरुलाई भेट्न सिंहदरबार वृत्त पुग्ने गर्थे । भेटकै क्रममा यस्तो योजना बनेको हुनसक्ने प्रहरीको अनुमान छ । 

२५ गते राती कैदीका आफन्तले खाना पुर्याउँदा खानाभित्र एक प्लेटले छोपेर ह्याक्सो ब्लेड राखेर दिएको प्रहरीको अनुसन्धानबाट खुल्न आएको डीएसपी बोगटीले जानकारी दिए । 

ह्याक्सो ब्लेडले हिरासतको डण्डी काटेर भागेको बताइएको छ । यद्यपी चार कैदीमध्ये कुनको आफन्तले ल्याएको खानामा ‘ह्याक्सो ब्लेड’ हालेर ल्याइएको पुष्टि भएको छैन् । 

डीएसपी बोगटीले भने, ‘कोही थुनुवालाई आफन्तले खाना ल्याउने गर्छन् । खाना ल्याइसकेपछि खानाको बट्टा खोलेर हेरेपनि खाना चलाएर हेर्ने कुरा हुँदैन । त्यही मौकामा यस्तो घटना भएको हो ।’

हिरासतमा रहेका कैदीलाई आफन्तहरुले जाडो मौसममा व्ल्याङकेटलगायतका कपडाहरु समेत लगिदिने गर्छन् । सोही क्रममा त्यस्ता हतियार समेत घुसाउने गरेको पाइएको छ । 

तर प्रहरीले यस्ता घटना छिटपुट रुपमा भइरहने भएको भन्दै यसलाई रोक्न अन्य उपाय अपनाइने जनाएको छ । 

२४ असारमा ललितपुरको भैंसेपाटी प्रभागको हिरासतबाट पनि झ्यालको डन्डी काटेर तीन थुनुवा यसैगरी भागेका थिए । भैंसेपाटीबाट भागेका थुनुवाहरुले पनि बाहिरबाट ह्याक्सो ब्लेड हिरासतभित्र लगेर झ्यालको डन्डी काटेका थिए भने २५ असारमा सिंहदरबार वृत्तबाट म्याद थपका लागि उच्च अदालत लगिएका रामबोल खड्का अदालतको शौचालयबाटै भागेका थिए । 
 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...