बहस

‘सडक व्यापारीलाई लाइसेन्ससहित निश्चित क्षेत्र र समय तोकेर व्यापार गर्न दिन सकिन्छ’

person explore access_timeकात्तिक २, २०७९ chat_bubble_outline0

काठमाडौं महानगरपालिकाले एक ठेलागाडामा व्यापार गर्ने महिलाको ठेला खोसेको कारुणिक दृश्य यतिबेला चर्चामा छ । सहरी सौन्दर्यलाई कायम राख्न भन्दै काठमाडौं महानगरपालिकाले ठेलागाडालाई सडकबाट हटाउने अभियान नै चालेको छ । यही अभियानमा महानगरले आफ्नो ठेलागाडा लैजाँदा ती महिलाले फिर्ता दिन गरेको अनुनय–विनय र रोदन यतिबेला मिडिया र सामाजिक सञ्जालमा व्याप्त भएको हो । 


परिवार पाल्ने आफ्नो एक मात्र व्यापार रोकिएको कारुणिक बयान ती महिलाले दिएपछि यतिबेला उनलाई सहयोगको ओइरो लागेको छ । महानगरपालिका भने सडकबाट अवैध ठेलागाडालाई हटाउने अभियानमै व्यस्त छ ।



महानगरले ठेलागाडा हटाउने अभियान चलाएपछि समाज दुईतिर विभाजित छ । कतिपयले अति गरिबीमा रहेकाको काम पेसामा बन्देज नलगाउन र गरिखान दिन आग्रह गरिरहेका छन् भने कतिपयले सहरी सौन्दर्य कायम राख्न र राजधानीलाई राजधानीजस्तै बनाउन जोड दिएका छन् । 



सहर सफा राख्ने नाममा पछिल्लो समय काठमाडौं महानगर फुटपाथका व्यापारीप्रति निर्मम बनेको छ । सहरी विकासका योजनाकार तथा काठमाडौं उपत्यका विकास प्राधिकरणका पूर्वआयुक्त इन्जिनियर डा. भाइकाजी तिवारी किलो नै गाडेर कसैलाई फुटपाथमा व्यापार गर्न दिन नहुने तर निश्चित समयका लागि केही ठाउँ दिन सकिने बताउँछन् । 

‘विदेशतिर बिहानको ११ बजेसम्म विभिन्न सार्वजनिक ठाउँमा व्यापार गर्न भेन्डरलाई दिइन्छ । ठेलागाडा नै ल्याएर व्यापार गर्न पाउँछन्, पसल राख्छन्,’ उनी भन्छन्, ‘११ बजेपछि मान्छेको चहलपहल सुरु हुने भएकाले त्यसलाई सफा गरेर पार्किङका लागि खुला गर्छन् । हामीकहाँ त्यस्तो गर्न सकिन्छ । यहाँ त कस्तो भयो भने भएको अलिकति जग्गा पहिले नै रंगशालाको नाममा गयो । अर्को जग्गामा प्रधानसेनापति र सेनाको ब्यारेक बस्यो । टुँडिखेल आधाभन्दा बढी नेपाली सेनाले ओगटेको छ । अब सार्वजनिक जग्गा नै बाँकी छैन ।’

बार र समय तोकेर सडकमा व्यापार गर्न दिने हो भने केही व्यवस्थित हुने उनको तर्क छ । उनका अनुसार, स्थान परिवर्तन गरेर बिहान र बेलुका फुटपाथमा व्यापार गर्न दिन सकिन्छ । 

‘जहाँ बिहान–बेलुका बढी मानिस हिँड्छन्, त्यस्तो ठाउँमा केही समय खाली राख्नुपर्छ । हप्तामा एक दिन सडक किनाराका विभिन्न ठाउँमा हाट–बजार जसरी बजार राख्न दिन सकिन्छ । तर एकै स्थानमा सधैँ दिनु हुँदैन,’ उनी भन्छन्, ‘एकै ठाउँमा दियो भने उनीहरू किलो गाडेर बसिदिन्छन् ।’

उनका अनुसार, एक दिन कमलपोखरी क्षेत्रमा, अर्को दिन नारायणचौरमा, अर्को दिनमा खुला मञ्चमा व्यापार गर्न दिन सकिन्छ । ‘दिनभर बजार लगाउन दिने होइन कि समय तोकेर दिन सकिन्छ,’ उनी भन्छन्, ‘तत्कालका लागि सडक व्यापारको व्यवस्थापन यसरी नै गर्न सकिन्छ । हटाएर मात्र समाधान होइन । सहरमा गरिब पनि बस्छन्, धनी पनि बस्छन्, सबैलाई न्याय हुने काम हामीले गर्नुपर्छ ।’

पहिले सडक व्यापार व्यवस्थापनका लागि भृकुटीमण्डपलाई छुट्ट्याइएको थियो । एक स्थानका सडक व्यापारीलाई अर्को स्थानमा पठाए पनि त्यहाँ नयाँ व्यक्ति आइहाल्ने समस्या रहेको तिवारी बताउँछन् । ‘खुलामञ्चमा पनि हामीले सुरु गरेका थियौँ । तर त्यहीँ किलो गाडेर बस्न थाले । यो गलत हो । अस्थायी रूपमा बस्ने व्यापारीलाई अस्थायी रूपमै बस्न दिनुपर्छ,’ उनी भन्छन् । विभिन्न ठाउँमा बार र समय तोकेर हाटबजार जस्तो गरी व्यापार गर्न दिने हो भने सहर व्यवस्थित हुने उनको तर्क छ । ‘यसरी व्यापार गर्न दिए पनि व्यवस्थापनका लागि महानगरले कुनै दिन रोक्न पनि सक्छ,’ उनी भन्छन्, ‘व्यवस्थापन नगर्ने भन्ने प्रश्नै उठ्दैन । व्यवस्थापन गर्नैपर्छ ।’

डा. तिवारीका अनुसार, विदेशतिर धेरै स्पेस भएको ठाउँमा यातायात र मानिसको आवागमनलाई असर नपर्ने गरी व्यापार गर्न दिइन्छ । हामीकहाँ पनि नदी किनाराको करिडोरमा व्यापार गर्न दिन सकिन्छ । ‘तर, असन गल्ली, न्युरोडजस्ता स्थानलाई च्यापेर व्यापार गर्न पल्केकाहरू करिडोरतिर जान चाहन्नन्,’ डा. तिवारी भन्छन्, ‘पाएसम्म फुटपाथमै बसेर व्यापार गर्ने र धेरै नाफा कमाउने ध्याउन्न राख्छन् । त्यसले गर्दा यो व्यवस्थित गर्न त्यति सहज छैन । सहज छैन भनेर व्यवस्थित नगर्ने भनेको होइन ।’

सडकको व्यापार हटाउँदैमा सहर सुन्दर बन्छ त ? यस प्रश्नको जवाफमा तिवारी भन्छन्, ‘पहिलो कुरा राजधानी सहर राजधानी जस्तो हुनुप¥यो । यसलाई हामीले मेक्सिको सिटी बनाउन भएन । मेक्सिको सिटीलाई स्लम सिटी पनि भन्ने गरिन्छ । राजधानीलाई स्लम सिटी बनाउन हुँदैन । गरिब नै भए पनि व्यापार गरेर खान सक्ने हुनुप¥यो । रातदिन ठेलागाडा छाडिदिएर काठमाडौंलाई ठेलागाडाको राजधानी बनाउने त ? फुटपाथभरि पसल थाप भनेर छोड्ने ?’ 

डा. तिवारीका अनुसार, सहरमा आम्दानीका धेरै सम्भाव्यता छन् । तर, मानिसले ठेलागाडाकै व्यापारमा आम्दानी देखे । मान्छेले जीविकोपार्जनका लागि मात्रै सडकमा उभिएर व्यापार गरेका छैनन् । ‘जीविकोपार्जन नै हो भने गाउँमा खेती गर्ने खेतीयोग्य जमिन प्रशस्त छन् । देशभरिको जग्गाको हिसाब गर्ने हो भने एकतिहाइ खेतीयोग्य जमिन अझै बाँझो छ,’ तिवारी भन्छन्, ‘अन्य सम्भावना पनि प्रशस्त छन् । अन्य पेसा गरेर पनि सहज रूपमा जीवनयापन गर्न सकिन्छ ।’

गाउँका मानिस सानो सहर छिर्ने, सानो सहरबाट ठूलो सहर र राजधानीबाट अमेरिका, कोही क्यानडा, कोही अस्ट्रेलिया पुग्ने प्रवृत्ति नै रहेको तिवारी बताउँछन् । ‘जहाँ सहज रूपमा जीवनयापन र कमाई हुन्छ मानिस त्यहीँ जान चाहन्छ,’ उनी भन्छन्, ‘यसकारण अहिले भइरहेका सडक व्यापारीलाई अन्यत्र व्यवस्थापन गरे पनि नयाँ मान्छे फेरि सडकमा देखिन्छन् । त्यस कारण सडक व्यापारीलाई लाइसेन्स दिएर अस्थायी रूपमा बार र समय तोकेर विभिन्न स्थानमा व्यापार गर्न दिन सकिन्छ ।’

‘पहिले घरदैलो गर्नुपर्थ्यो ’

केही समयअगाडि महानगरले वीर अस्पताल अगाडिका अवैध संरचना भत्कायो । त्यहाँका फार्मेसी हटे । वीरका बिरामीका लागि औषधि किन्न टिचिङ अस्पतालसम्म पुग्नुपरेको थियो । डा. तिवारीले भने आवश्यकता अनुसार अब त्यहाँ अन्य औषधि पसल खुल्ने बताउँछन् । ‘यो क्षणिक समस्या हो । वीर अस्पतालमै औषधिको कमी भयो भने महाबौद्ध वरिपरिका अहिले अन्य सामान बेचिरहेका पसल स्वतः औषधि पसलमा परिणत हुन्छन्,’ तिवारी भन्छन्, ‘जहाँ जे को डिमान्ड हुन्छ, सोही अनुसार मानिसले व्यापार गर्छन् ।’

काठमाडौंका मेयर बालेन शाहले गर्नैपर्ने काम गरिरहेको डा. तिवारी बताउँछन् । ‘यो गर्नैपर्ने काम हो । अहिले छाडापन आयो । नभत्काउने, नहटाउने हो भने मान्छेले सडकमै आफ्नो घर बनाउने र व्यवसाय गर्ने तथा सटर हाल्ने अवस्था आउन लाग्यो,’ उनी भन्छन्, ‘जब सडकको क्षेत्राधिकारको कुरा आउँछ, त्यतिबेला सडकको राइट अफ वेलाई सम्झाउनुपर्छ । राइट अफ वे सधैँ क्लिअर हुनुपर्छ । एकजनाले बनाउन थालेपछि अर्कोले पनि देखासिकी गर्छ । अहिले महानगरले भत्काउन थालेपछि कतिपयले आफूले बनाएका संरचना आफैँ हटाइरहेका छन् ।’ विगतमा पनि अहिलेकै जस्तो जनप्रतिनिधि भइदिएको भए र हातेमालो गर्नसकेको भए धेरै सुन्दर काठमाडौं भइसक्ने उनको तर्क छ । 

सहरी विकासका योजनाकार डा. तिवारीले प्रशंसा गरेजस्तो महानगरको कामलाई सबैले स्वागत भने गरेका छैनन् । महानगरको कामको विषयमा नागरिक विभाजित छन् । कतिपयले बालेनले जंगी शासन ल्याउन खोजेको र तानाशाह बनेको आरोप पनि लगाइरहेका छन् । यस सम्बन्धमा डा. तिवारी भन्छन्, ‘मेयरको कामको थालनी राम्रो छ । कतिपय ठाउँमा जनता अलिकति आक्रोशित बनेका छन् । अहिले राजनीतिक संयन्त्रहरू छन् । वडामा सात–सात जनप्रतिनिधि छन् । घरदैलो कार्यक्रम गरेर अवैध संरचना हटाउन भनेको भए अझै राम्रो हुन्थ्यो । अझै पनि बिग्रिएको छैन, घरदैलो कार्यक्रम गर्न सकिन्छ । र, अवैध संरचना हटाउँदै जान सकिन्छ ।’

महानगरले नक्सापास नगरिएका गुठी वा सार्वजनिक संरचनामा पनि क्षति पु¥याएको भन्दै विरोध भएको थियो । डा. तिवारी भने जनताको विरोधलाई ‘अरुले गरेको काम कुरा काट्न नेपालीलाई बानी परेको बताउँछन् । ‘जसले वर्षौंदेखि अवैध रूपमा सार्वजनिक जग्गा वा सार्वजनिक स्थान ओगटेर व्यवसाय गरेका छन्, कमाउने धन्दा बनाएका छन्, तिनीहरूलाई रिस उठ्छ,’ उनी भन्छन्, ‘तिनीहरूले विरोध गर्छन् । नियमसम्मत गरेको काममा विरोध होइन साथ दिनुपर्छ ।’

मास्टर डिग्री पढेका र सम्पत्ति भएका मानिस पनि सुकुम्बासी बस्तीमा टहरा बनाएर बसेको आफूले देखेको तिवारी बताउँछन् ।

मास्टर पास गरेका उनका एक साथी सुकुम्बासी बस्तीमा बसेका थिए । २०६० मा बागमती कोरिडोर खुला गरियो, रगतको खोलो बग्छ भनेर ती साथी पनि आन्दोलनमा आएका थिए । त्यतिबेला तिवारीले ती साथीलाई भने– साथीहरू, रगतको खोलो होइन, दिसा–पिसाबको खोलो बगेछ । तपाईंहरूले नै अस्तव्यस्त पारिदिनुभयो । 

ती साथीले सोधे– यसको विकल्प के त ? तिवारीले भने– तपाईं र म एउटै उमेरको मान्छे, मैले बुवाले दिनुभएको पैसाले घरभाडा दिएर पढेर बसेँ र दुःख गरेँ । तपाईंले बुवाले दिनुभएको पैसा के गर्नुभयो, के गरेर सकाउनुभयो, के गर्नु भएर खोलाको किनारमा बस्नुभयो ? त्यो मन आफूले दरिद्र बनाएको हो । अहिले स्वरोजगार कार्यक्रम छ, गरिबी निवारणका लागि सरकारले अनेक सुविधा दिएको छ । कृषिमा ऋण दिएको छ, अध्ययनका लागि ऋण दिएको छ । यो सुविधाको सदुपयोग गर्नुप¥यो । सडक नै च्यापेर सडकमै व्यापार गर्छु, सडकमै ठेलागाडा बनाएर बस्छु र सरकारी जग्गामै घर बनाउँछु भनेर पाइएन ।

हामीले जुन बेलामा सडक बिस्तारको काम सुरु गरेका थियौँ, त्यति बेला ‘गरिखान देउ’ भनेर लेखेको ब्यानर बोकेर मानिसहरू निस्कन्थे । जे पनि गरिखान पाइयो, तर अरुलाई दुःख हुने गरेर गरी खान पाइएन । केही विपत प¥यो, घरबार छैन, अहिले के खाउँ भरे के खाउँ भन्ने समस्या छ भने मानिसहरू केही समय सडकमा आएर व्यापार गरेर खान सक्छन् । तर हामीकहाँ वर्षौं सडकमा मकै पोलेर तीनटा घर बनाउने पनि छन् ।’ 

‘सकारात्मक कामको अनुशरण’

आफू पदमा रहँदा सहरी विकासको योजनाकार तिवारीले बाहिरी चक्रपथ र काठमाडौं उपत्यकाको वरपर चारवटा नयाँ सहरको परिकल्पना गरेका थिए । २०७२ को भूकम्पपछि काठमाडौं उपत्यकामा ६ मिटर, तराईमा ६ मिटर चौडाइको बाटो हुनैपर्ने, त्याभन्दा सानो कित्ताकाट गर्न नपाउने नियम बनाइएको थियो । पहाडी इलाकामा भौगोलिक विकटता भएको ठाउँमा चार मिटरभन्दा सानो बाटो काट्न नपाउने भनिएको थियो । ‘सरकारले प्लानिङ गर्दा पनि न्यूनतम ६ मिटरको बाटो राख्नैपर्ने बनाइदियो, व्यक्तिले गर्दा पनि उक्त चौडाइको बाटो अनिवार्य गरियो,’ उनी भन्छन्, ‘त्यही अनुसारको अवधारणा राखेर काठमाडौंको चार कुनामा चारवटा नयाँ सहरको परिकल्पना गरियो, १ लाख ३० हजार रोपनी जग्गा क्षेत्रफलमा । तर त्यो योजनालाई सरकारले अहिलेसम्म स्वीकृत गरेको छैन ।’

नयाँ सहरको स्थापना र सहरी विकासको योजनामा सरकारको ध्यान नगएको उनको आरोप छ । पहिले सडक विस्तार गरिएकाले काठमाडौंले अहिलेसम्म जेनतेन धानेको छ । तत्काल नयाँ सहरको योजना अगाडि नबनाउने हो भने अब बिस्तारै काठमाडौंमा उकुसमुकुस सुरु हुने उनी बताउँछन् । ‘जग्गाको कित्ताकाट गर्दा पनि आठ आनाभन्दा कम गर्न नपाउने भनेर रोकिदिएका थियौँ । भौतिक परिवर्तन गर्न सानोभन्दा सानो कित्ता काट्न नपाउने गरेर रोकिदिएका थियौँ । तर भित्रभित्रै सबै कुरा मिल्दो रहेछ,’ उनी भन्छन्, ‘चार आना र तीन आना जग्गा पनि कित्ताकाट भएको छ । सरकारले नयाँ सहरको अवधारणालाई स्वीकृत नै गर्न सकेन । पहिलेको बाटो विस्तारले अहिले केही सहज बनाइदिएको छ, श्वास फेर्न केही सजिलो भएको छ । अहिलेसम्म त त्यो चौडाले जेनतेन धानेको छ । अब पनि हामीले अरु नयाँ सहरको बिस्तार गर्न सकेनौँ भने अहिलेको काठमाडौं फेरि उकुसमुकुस र कुनै बेलाको गोंगबु जस्तै अस्तव्यस्त बन्छ ।’ 

बाहिरी चक्रपथको योजना पनि थन्किएकाले सहरमा चाप बढेको र पछि झनै अस्तव्यस्त हुने उनको आकलन छ । बाहिरी चक्रपथको योजना उत्तरतर्फ अब कठिन भइसकेको छ । यद्यपि दक्षिणतिरको सम्भावना अझै सकिएको छैन । सतुंगलदेखि सूर्यविनायकसम्म एउटा रेडियल रोड बनाएर जोड्न अहिले पनि सकिने उनी बताउँछन् ।

उनका अनुसार बाहिरी चक्रपथबाहेक काँठ क्षेत्रमा पनि चक्रपथको कुरा उठेको थियो, तर त्यो अगाडि बढेको छैन । यी विभिन्न कारणले राजधानीलाई राजधानीजस्तै बनाउन नसकिएको उनी बताउँछन् । ‘मन्त्रीहरू कुर्सीमा हुँदासम्म निर्णय गर्दैनन् । कुर्सीबाट बाहिर आएपछि यो भएन, त्यो भएन भनेर बोल्छन् । यस्तो थितिले गर्दा राजधानीलाई राजधानीजस्तो बनाउन सकिएको छैन,’ तिवारी भन्छन्, ‘सडक विस्तार अभियान राजधानीबाट सुरु भयो, तर पछि नेपालभर सडक विस्तार अभियान आयो । सकारात्मक काम थालनी भए सबैले अनुसरण गर्छन् । सडक विस्तार, सभ्य र व्यवस्थित सहरको थालनी राजधानीबाटै गर्नुपर्छ ।’ 

काठमाडौंका मेयरले अहिले जे गरिरहेका छन्, त्यसको सिको अरु नगरपालिकाले पनि गर्न थालेको उनी बताउँछन् । उनी एउटा उखानको सहारा लिन्छन्– ‘शिर सङ्लो भयो भने पुच्छर आफैँ सङ्लो हुन्छ ।

‘बालेनले हतार गरे’

हात्तीसार क्षेत्रमा भूमिगत टुकुचामा डोजर चलाउन भने बालेनले हतार गरेको तिवारी टिप्पणी गर्छन् । अन्यत्र सबैतिर राइट अफ वे क्लिअर गरेर दायाँ–बायाँ रुख रोपेपछि हात्तीसार क्षेत्रमा टुकुचा उत्खनन गरेको भए उत्तम हुने तिवारीको तर्क छ । ‘सबैतिर बगैँचा बनाएर खुला गरेको भए हात्तीसार क्षेत्रका बासिन्दाले आफैँ टुकुचा उत्खनन गरेर खुला गर्ने थिए,’ तिवारी भन्छन्, ‘राणाको पालामा लालमोहर नै लगाएर खोला थुनिएको कागजात फेला परे भन्ने सुन्नमा आएको छ । हामीले पनि खोला यकिन गरिदिनका लागि नापी कार्यालयमा पत्राचार गरेका थियौँ । नापीले नक्सा र फिल्डमा खोला नदेखिएको जवाफ दियो ।’

तिवारीका अनुसार, मेयर बालेनले यतिखेर टुकुचा क्षेत्रमा हात हाल्न जरुरी थिएन । किनभने यस क्षेत्रभन्दा माथि र तल फोहोर नाला छन् । ‘दुर्गन्धित नभएको ठाउँमा एकैचोटि खोलेर दुर्गन्धित बनाउनुचाहिँ राम्रो देख्दिनँ म । उहाँको राम्रै गर्ने योजना हो भने पहिले टुकुचाको तल्लो भाग र माथिल्लो भागको दायाँबायाँ पार्क बनाउने र खोला सफा बनाउने काम गर्नुपथ्र्यो,’ उनी भन्छन्, ‘खोला वरपर हरियो बनाउने गर्नुपथ्र्यो । बालेनजीको नेतृत्वमा भयो कि अरुले उक्साएर भयो, एकैचोटि गर्न नहुने काम गर्नुभयो ।’ खोला छोप्न नपाउने मापदण्ड छ तर अलि व्यावहारिक हुनुपर्ने उनको भनाइ छ । 

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।