आहार विज्ञान  : कुन आहार कस्तो र कसरी गर्ने ?

person explore access_timeकात्तिक २६, २०७९ chat_bubble_outline0

प्रसङ्ग निकै पुरानो हो । एक पटक महान् आयुर्वेदाचार्य महर्षि चरक संसारका वैद्यहरूले आयुर्वेद शास्त्र के कति पढेका धन्, यसका बारेमा के कति विज्ञता हासिल गरेका छन् भन्ने कुराको जानकारी लिने उद्देश्यले भेष बदलेर देश विदेशको भ्रमणमा निस्केका थिए । निकै दिनको हिँडाइपछि एउटा गाउँमा पुगेर त्यहाँका जानेमाने वैद्यलाई सोधे–


‘वैद्यजी ! तपार्ईँ आयुर्वेद विद्याको विद्वान् हुनुहुन्छ रे हो ?’



उनको कुरा सुनेर ती वैद्यले तत्कालै उत्तर दिए–



‘हो मलाई सबैले त्यसै भन्छन् ।’

‘तपार्ईँलाई चाहिँ कस्तो लाग्छ नि ?’

‘मलाई पनि त्यस्तै लाग्छ ।’

‘लागेको मात्रै ?’

‘होइन यस विद्याको ज्ञाता पनि हुँ ।’

‘यसको कुनै आधार पनि छ  कि ?’

‘छ किन नहुने ।’

‘जस्तै ?’

‘जस्तै यही कि अहिलेसम्म धेरै मानिसको उपचार गरिसकेको छु ।’

‘त्यसो भए यो बताउनुस् कि संसारमा के कस्ता मानिस निरोगी हुन्छन् ?’

‘ल त्यति पनि थाहा छैन ? जसले नियमितरूपमा वसन्ती मालती नामक वनस्पतिको रस सेवन गर्ने गरेका छन् त्यस्ता मानिस सदा निरोगी रहन्छन् ।’

‘ए हो र ?’

‘हो त नि ।’

त्यसपछि उनी केही दिनको हिँडाइपछि अर्को गाउँमा पुगेर त्यस गाउँका वैद्यलाई पनि त्यसैगरी सोधे–

‘वैद्यजी ! तपाईँ यस गाउँको ठूलो वैद्य हुनुहँुदो रहेछ होइन ?’

‘हो ।’ उनले आफ्नो ज्ञानको प्रशंसा गर्दै भने–

‘यस गाउँमा मभन्दा ठूलो वैद्य अर्को छैन । अहिलेसम्म गाउँका सबै विरामीको उपचार गर्ने मै हुँ । मेरो अगाडि परेपछि जस्तो सुकै मैहुँ भन्ने वैद्यहरू पनि शिर झुकाउन वाध्य हुन्छन् ।’

‘ए खुसी लाग्यो, मैले तपाईँजस्तै वैद्यलाई खोजेको हुँ ।’

‘खोज्नुको कारण ?’

‘एउटा कुराको जानकारी चाहिएको थियो ।’

‘भन्नुस् न कस्तो जानकारी हो ।’

‘यही कि संसारमा के कस्ता मानिस सदा निरोगी हुन्छन् होला ।’

‘प्रष्टै छ नि जसले नित्य मकरध्वज नामक वनस्पतिको रस सेवन गर्ने गरेका छन् त्यस्तै मानिस नै सदा निरोगी रहन्छन् । उनीहरूलाई कहिल्यै रोग लाग्दैन ।’

त्यसपछि उनले अन्य विभिन्न गाउँमा पुगेर त्यहाँका वैद्यहरूसँग पनि यही प्रश्न गरे । सबैले यस्तैयस्तै भिन्नभिन्न उत्तर दिए । कसैले केही भने कसैले केही ।

अन्त्यमा वाग्भट्ट नामक अर्का प्रसिद्ध वैद्यसमक्ष गएर भने–

‘वैद्यजी ! एउटा कुरा सोध्नु थियो–

‘भन्नुस् के कुरा हो ।’

‘यही कि मानिसले सदा निरोगी हुन के खानुपर्ला ?’

उनको कुरा सुनेर वाग्भट्टले एकै छिन सोचे जस्तो गर्दै भने–

‘यसका लागि आयुर्वेद शास्त्रका हितभुक, मितभुक र ऋतभुकको नियमलाई पछ्याउनुपर्छ । अर्थात् जसले हितकारी खाना खाने गरेको छ, जुन मानिसले शुद्ध कमाइको खाना खाने गरेको छ र जो जसले नियमितरूपमा थोरैथोरै गरेर खाना खाने गरेका छन् त्यस्तै मानिस नै सदा निरोगी रहन सक्छन् ।’

यो एउटा दृष्टान्त हो । पहिलो कुरा त खाने कुरा सन्तुलित हुनुपर्छ, जसलाई सात्विक खाना भनिन्छ । दोस्रो कुरा ठीक समयमा खाने गर्नुपर्छ कहिले चाँडै र कहिले ढिलो गरेर खानुहुँदैन । तेस्रो कुरा ठीक्कसँग खाने वानी बसाउनुपर्छ । कहिले धेरै र कहिले थोरै गरेर खानुहुँदैन ।

भाइबहिनीहरूलाई लागेको होला सात्विक आहार भनेको के हो र कस्तो हुन्छ । यसको जानकारी खोज्नुपूर्व आहार कति किसिमका हुन्छन् र के गर्छन् भन्ने कुराको पनि जानकारी राख्नु आवश्यक हुन्छ ।

खासगरी आहार तीन किसिमका हुन्छन् । यिनमा सात्विक आहार, राजसिक आहार र तामसिक आहार पर्छन् । सात्विक आहारमा दाल, चामल, गहुँ, मकै, मुग, मसुरो, चना, रायो, चमसुर, पालुङ्गो, काउली, बन्दा, करकलो, सिस्नु, हरिया सागपात, फर्सी, चिचिन्डो, करेला, गोलभेँडा, स्कुस, काँक्रो, आलु, मूला, गाँजर, तरुल, पिँडालु, सिमी, बोडी, भटमास, केराउ, बकुल्ला, दाल, भात, तरकारी, दूध, दही, घिऊ मोही, ढिँडो, पानीरोटी, खिर, जाउलो, मौसम अनुसारका ताजा फलफूल, अमला, कागती, मह, मिस्री, उखु, नरिवल, तिल, तुलसी, मेवा, मसला आदि चीजबीज पर्छन् ।

त्यस्तै राजसिक आहारमा अत्यधिक चिल्लो, पीरो, अमिलो, नुनिलो, अति रुखा, सुखा, निरस आदि चीजबीज पर्छन् भने तामसिक आहारमा बासी, सडेगलेको, दुर्गन्ध आउने, मुख बिगार्ने, ज्यादा तातो ज्यादा चिसो, मिसावट गरिएको, जाँड, रक्सी, मदिरा, माछा, मासु, बोसो, चुरोट, गाँजा, चरेस, म्याद नाघेको, काचो, कचिलो, टर्रो, ओइलिएको, कुहिएको, चोरी, ठगी, जालझेल, विश्वासघात, घुसपैठ, अपहरण जस्ता आपराधिक कार्य गरेर कमाएको पैसाद्वारा खरीदबिक्री भएका अन्न आदि चीजबीजहरू पर्छन् ।

यीमध्ये सात्विक आहार ताजा, सुपाच्य र हल्का प्रकृतिका हुन्छन् । यस्ता खानाले शरीसलाई बलियो बनाउँछ, मनलाई शान्त राख्न सहयोग पु¥याउँछ । बल, वीर्य, ओज वृद्धि गरी आयृ आरोग्य बढाउँछ तर सेवन गर्न नजानेको अवस्था भने यिनले पनि तामसिक आहार बनेर दुःख दिन सक्छन् । त्यस्तै राजसिक आहार गरिष्ट, ढीलो पच्ने खालका हुन्छन् । यस्ता खानाले मन्दाग्नि गराउने, उत्तेजित गराउने, चाँडै रिसाउने, धैर्य र संयम टुटाउने आदि कार्य गर्छन् । 

जहाँसम्म तामसिक आहारको कुुरा छ । यो निकै गरिष्ट हुन्छ । सितिमिति पचाउन सकिन्न । यस्ता आहारलाई रोगको घरै मान्दा पनि हुन्छ । यसले मन्दाग्नि, अपच आदिका समस्या निम्त्याउँछ । निद्रा, आलस्य आदिको शिकार बनाउँछ । धैर्य टुटाउँछ । आत्मसंयम हराउँछ । रोग बढाउँछ, आयु घटाउँछ, अनुशासन हराउँछ,  यौन दुराचार, हत्या, हिँसा, आतङ्क, चोरी, डकैती, भ्रष्टाचार आदि मनोवृत्तिलाई सघाउँछ । शरीर तथा मस्तिष्कलाई जर्जर पारी चाँडै नै मृत्युको मुखमा धकेल्न सक्छ । आज समाजमा जुन किसिमको असामाजिक प्रवृत्तिका बोलबाला देखिएका छन् तिनका मूल कारण यही तामसिक आहारको बाहुल्यता नै हो । त्यसैले आहारका बारेमा सचेत रहनु अत्यावश्यक हुन पुगेको छ । 

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।